शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बालुवाटारमा ‘वारपार’ : ‘वामदेव कार्ड’ को छिनोफानो हुँदै

शनिबार, २० वैशाख २०७७, १० : ४५
शनिबार, २० वैशाख २०७७

काठमाडौं । केही दिनयता नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र निकै चर्चा र बहसको विषय बनेकोे ‘वामदेव कार्ड’ को सम्भवतः आज शनिबार छिनोफानो हुदैछ । अपरान्ह बस्ने पार्टीको हेडक्वार्टर मानिने नौ सदस्यीय सचिवालय बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले अघि सारेको वामदेव कार्डको छिनोफानो हुने एक सचिवालय सदस्यले बताए ।

‘उठेका विषय र आएका प्रस्तावहरुमा ठोस छलफलपछि निर्णय हुन्छ । उठेका विषयहरु सार्वजनिक भैसकेका छन् । आउने प्रस्तावहरु कस्ता हुनेछन् त्यो हेर्न बाँकी छ,’ ति सदस्यको भनाइ छ ।

बैशाख ८ मा सरकारले ल्याएको अध्यादेशपछि उत्पन्न विवादको समाधान खोज्न शनिबार बस्ने सचिवालय बैठक निर्णायक हुने भएकाले यसलाई नेकपाका लाखौँ नेता–कार्यकर्ताले गम्भीर चासोका साथ हेरेका छन् ।

गत बुधबारको बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीको राजीनामा माग्ने मनसायले बालुवाटार पुगेका नेताहरुलाई अध्यक्ष ओलीले पद वाँडफाँड गर्ने प्रस्ताव गरेपछि नेकपाभित्रको राजनीति एकाएक युर्टन भएको थियो । तर, ओलीले उक्त प्रस्ताव मनदेखि राखेका हुन् वा अल्मल्याउने प्रयासमात्र हो भन्ने निक्र्योल भने शनिबारको उनको प्रस्तुति, प्रस्ताव र सामुहिक निर्णयबाट मात्रै टुङ्गो लाग्नेछ । 

त्यहीँ भएर शनिबारको बैठकमा प्रधानमन्त्रीसमेत रहेका ओलीले गौतमलाई प्रधानमन्त्री छोड्ने, वरिष्ठ नेता माधवकुमार नेपाललाई तेस्रो अध्यक्ष दिने बुधबारकै प्रस्ताव दोहोर्याउलान् वा अब आफू सच्चिएर जाने, सैद्धान्तिक र नीतिगत कुरामा पार्टीको निर्देशन मान्नेलगायतमा प्रतिबद्धता जाहेर गर्लान् ? सोही कुराले नेकपाको भविश्यसमेत निर्धारण गर्नेछ ।


बुधबारको सचिवालय बैठकपछि अध्यक्ष तथा प्रधानमन्त्री ओलीसँग कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । तर ती भेटवार्तामा के कुराकानी भए भन्ने खुलेको छैन । तर, नेता माधवकुमार नेपालले ओलीले गरेको तेस्रो वरियताको प्रस्ताव अस्वीकार गरेको उनी निकटका नेताहरुले बताउँदै आएका छन् । उता कोरोना संक्रमणपछि प्रधानमन्त्री बन्ने आश्वसन पाएका गौतम भने पहिलेको तुलनामा ओलीप्रति नरम बन्दै राजनीतक र कानुनी परामर्शमा जुटेका छन् ।

अहिलेको अवस्थामा गौतमलाई प्रधानमन्त्री बन्न सहज नभएको सुझाव धेरैले दिएपनि उनमा आएको अडान परिवर्तनले भैँसेपाटी गठबन्धनमा एकमत भएका नेताहरु सशंकित बनेका छन् । अहिलेको संविधान अनुसार प्रधानमन्त्री बन्न प्रतिनिधि सभाको सदस्य हुनु अनिवार्य छ ।

यदि ओलीको प्रस्ताव कार्यन्वयन गर्ने हो भने गौतम प्रतिनिधि सभा सदस्य नभएको अवस्थामा कुनै एक क्षेत्र खाली गराएर उपनिर्वाचन गर्नुपर्ने हुन्छ । र, त्यहाँबाट उनले जित्ने ग्यारेन्टी पनि हुनुपर्छ । यो विवादपछि गौतमले जुनसुकै स्थानमा खाली गराएर चुनाव लडेपनि उनलाई हराउन धेरै शक्ति एकीकृत हुनेछ । अर्को सम्भावित बाटो भनेको संविधान संशोधन गरेर राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बनाउने र त्यसमा खाली रहेको एक पदमा गौतमलाई पठाउने हुनसक्छ ।

तर यो संविधान संशोधन गर्ने विषय थप जटिल छ । किनभने कुनै एक व्यक्तिको रहर पुरा गर्न संविधान नै संशेधन गर्न थालियो भने मुलुक अस्थिरतातर्फ जानेमात्रै होइन यसले भयानक दुर्घटना समेत निम्तिन सक्छ । यो सवै बुझेका प्रधानमन्त्री केपी ओलीले कुन विकल्प रोज्छन् र कस्तो प्रस्ताव सचिवालयमा लैजान्छन् भन्ने कुराले धेरै ठुलो अर्थ राख्छ ।

नेकपाका एक सचिवालय सदस्यका अनुसार शनिबार बस्ने सचिवालय बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले आत्मालोचना गर्दै सरकार र पार्टी सञ्चालनका क्रममा भएका कमजोरीप्रति आत्मालोचनासहित सरकारले अबदेखि गर्ने महत्त्वपूर्ण निर्णयमा पार्टीको छलफल र सुझावलाई शिरोधार्य गर्ने प्रतिबद्धता जनाए धेरै कुराको समाधान हुनेछ । नत्र पुरानै शैली र ढर्रामा जान खोजे वा इगो साँधेर अघि बढ्न खोजे अवस्था थप असामान्य हुनसक्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप