शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भोकको लङमार्च

शुक्रबार, १९ वैशाख २०७७, २२ : ४४
शुक्रबार, १९ वैशाख २०७७

 

 

ध्यान दिएर हेर यी पैतालाको गति
ध्यान दिएर सुन यो भोकको संगीत
ध्यान दिएर सुँघ यो पसिनाको सुगन्ध

संसारभरका शासकहरूले टक्क सास रोकेर
संसार ठप्प पारेको यो समयमा
कसले बजाइरहेको छ यो दु:खको दुन्दुभी
कानै खाने यो चर्को संगीत केको हो?

रोकेर इतिहासको प्रवाह
थुनेर देशका झ्याल ढोका
मनाइरहेको बेला महाव्याधिको मौन उत्सव
कसका पैतालाले सडकमा बजाइरहेको छ संगीत?

यो संकटमा, यो सन्त्रासमा
भोकको दमाहा बजाउने यी को हुन्
अवज्ञाको सहनाई फुक्ने यी को हुन्
महाव्याधlलाई चुनौती दिँदै
सयौं किलोमिटरको लङमार्चका लागि
सडकमा उत्रिएका यी पैताला कस्का हुन् ?

झिटी गुन्टा बोकेर यिनीहरू कहाँ गइरहेका हुन्
यो माओको लङ मार्च होइन, न गान्धीको साल्ट मार्च
फेरि यो पदयात्रा कहाँसम्मको हो ?

ध्यान दिएर हेर यी पैतालाको गति
ध्यान दिएर सुन यो भोकको संगीत
ध्यान दिएर सुँघ यो पसिनाको सुगन्ध

ओ भयभीत शासकहरू हो !
आक्रोशको आगोमा भोक पकाएर
अभावको आंशुमा पीडा मिसाएर
उनीहरू नयाँ युग ल्याउन हिडेका सिपाहीहरू हुन्
उनीहरू यो देशका मजदुरहरू हुन् ।

यो भोकको लङमार्च हो ।
यो क्रान्तिको पूर्वाभास हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोहेज खतिवडा
रोहेज खतिवडा

खतिवडा पत्रकार हुन् ।

लेखकबाट थप