बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

ओलीको राजीनामाको एजेण्डाबाट पछि नहट्न प्रचण्ड र माधव नेपालमाथि चर्को दवाव

शुक्रबार, १९ वैशाख २०७७, १९ : ४८
शुक्रबार, १९ वैशाख २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बुधबार बसेको सचिवालय बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाल र वामदेव गौतमलाई क्रमशः तेस्रो वरियताको अध्यक्ष र कोरोनापछिको प्रधानमन्त्री दिने प्रस्ताव गरेसँगै ओलीपक्ष र इतरका नेताहरु लगातार छलफलमा जुटेका छन् । ती छलफलमा आ–आफ्नै अनुकुलका व्याख्या र विश्लेषण हुने गरेका छन् ।

यसैक्रममा कार्यकारी अध्यक्ष प्रचण्ड र नेता नेपाललाई ओलीको राजीनामा र स्थायी समिति बैठकको आफ्ना एजेण्डाबाट पछि नहट्न चर्को दवाव बढेको छ ।  

स्थायी समिति सदस्यहरुले दुवै नेताहरुलाई ओलीको भुलभुलैयामा नपर्न भन्दै उनको राजीनामा र स्थायी कमिटीको बैठकको एजेण्डाबाट पछि हटे दुर्भाग्य हुने चतावनी समेत दिएका हुन् । 

बिहीबार र शुक्रबार स्थायी समिति सदस्यहरुले अध्यक्ष प्रचण्ड र नेता नेपाललाई भेटेर कुनै हालतमा एजेण्डाबाट पछि नहट्न दवाव दिएका हुन् । 

शुक्रबार अध्यक्ष प्रचण्ड र नेता नेपालसँग स्थायी समिति सदस्यहरुले चारवटा विषयमा गम्भीर छलफल गरेका छन् । जसमा सरकारले अध्यादेश ल्याएर पार्टीमा विभाजनको मनोविज्ञान सिर्जना गरको भन्दै उक्त मनोविज्ञान समाप्त गरेर पार्टीलाई कसरी एकतावद्ध बनाएर अगाडि लैजाने भन्ने विषयमा छलफल भएको छ ।

 त्यस्तै ओलीले वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने र माधव नेपाललाई तेस्रोे वरियताको अध्यक्ष बनाउने प्रस्तावका विषयमा विभिन्न कोणबाट पनि छलफल भएको छ ।  शनिबारको बैठकमा प्रधानमन्त्री पहिलाको बचनमा कायम रहन्छन् या रहँदैनन् र रहेको खण्डमा कानुनी तथा प्रकृयागत कुरा के हुन्छ भन्नेबारेमा पनि छलफल भएको छ । 

स्थायी समिति सदस्यहरुले प्रधानमन्त्री र अध्यक्ष भएको नाताले अरुले गुटगत भेला गरेपनि नगर्नु भन्नुपर्नेमा उनले आफै बालुवाटारमा सांसदहरुको गुटगत भेला गर्ने, राज्यशक्तिको दुरुपयोग गर्ने र पार्टीका सांसदहरुलाई धम्क्याउने जस्ता काम गरेको निष्कर्ष समेत निकालेका छन् । 

त्यस्तै ओली पक्षले हस्ताक्षर गर्न थालेपछि इतर पक्षले पनि हस्ताक्षर थाल्नुपर्ने हो भनेर प्रश्न गरेका थिए । 

त्यस्तै २० जना सथायी कमिटी सदस्यले बैठक बोलाउन माग गरेपनि अध्यक्षले चासो नदेखाएकोमा आपत्ति जनाउँदै आफ्ना मागका सम्बन्धमा सचिवालय सदस्य र कार्यकारी अध्यक्षबाट शनिबारको सचिवालय बैठकमा गम्भीर रुपमा राखियोस् भनेर सुझाव दिएका छन् । 

उनीहरुले पार्टीको विधि र प्रणालीप्रति ध्यानाकर्षण गराउन समेत सुझाव दिएका छन् । कार्यकारी अध्यक्षले आजै बालुवाटारमा प्रधानमन्त्री समेत रहेका ओलीसँग कुराकानी भएपनि सकारात्मक नभएको भनेर जानकारी गराएका थिए । 

यसरी दवाव दिनेमा गत साता स्थायी समिति बैठकको माग गर्दै लिखित पत्र बुझाएका २० सदस्यलगायत अन्य पनि थपिएको उनीहरुले बताएका छन् । नेताहरुको दवावपछि कार्यकारी अध्यक्ष प्रचण्ड र नेता नेपालबीच समेत छलफल भएको छ तर शीर्ष नेताले यसबारे मुख भने खोलेका छैनन् ।

‘ओलीले अघि सारेका दुवै प्रस्ताव कार्यान्वयन नगर्ने र भुलभुलैयामा राख्ने किसिमका छन् । त्यस्ता हास्यस्पद प्रस्तावका पछि नलाग्न नेताहरुलाई हामीले खवरदारी गरिरहेका छौ’ स्थायी समिति सदस्य बेदुराम भुषालले रातोपाटीसँग भने । 

उनले पदका लागि बैठकको माग  नगरिएको भन्दै पार्टीलाई विधि र पद्धतिमा हिँडाउनु पर्छ भन्दा पद दिएर अल्मल्याउने प्रवृतिको झन् कडा ढंगले विरोध गर्नुपर्ने अवस्था आएको बताए । 

‘राजीनामा र स्थायी समितिको बैठकको विकल्प छैन भनेर हामीले भनिरहेका छौ,’ अर्का स्थायी समिति सदस्य भीम रावलको भनाइ छ । 

उनले पार्टीलाई विधि र पद्धतिमा हिँडाउनुको सट्टा पद बाँडदै गल्ति छोप्ने प्रयास अस्वीकार्य हुने समेत बताए । प्रचण्ड र वरिष्ठ नेता नेपालबाहेक स्थायी समिति सदस्यहरुले उपाध्यक्ष गौतमलाई पनि ओलीको जालमा नपर्न सुझाव दिएका छन् । 

‘बामदेव गौतमलाई हामीले नेता मानेका छौ । उहाँले पार्टीलाई विधि र पद्धतिमा हिँडाउनुपर्छ भनेर हामीलाई सिकाउनुभएको हो । र अहिले हामी त्यही कुरा गर्दैछौ । उहाँ ओलीको माकुरी जालमा पर्नुहुन्छ होला जस्तो लाग्दैन । यदि पर्नुभयो भने उहाँप्रतिको हाम्रो विश्वास रहन्न’ स्थायी समिति सदस्यहरुको भनाइ छ । 

भएन कुनै गृहकार्य 
उता, बुधबारको सचिवालय बैठकपछि उच्चस्तरमा गृहकार्य गर्ने भनिएपनि नेताहरुबीच कुनै गृहकार्य हुन सकेको छैन । 

प्रवक्ता नारायणकाजी श्रेष्ठले बुधबारको बैठकपछि सञ्चारकर्मीसँग पार्टीभित्रको विवाद र उठेका विषयबारे उच्चस्तरमा गृहकार्य गरेर शनिबार बस्ने सचिवालयले निर्णय गर्ने बताएका थिए । 

‘शनिबारको सचिवालय बैठकले यी सबै विषयमा अहिलेको आवश्यकतासँग मेल खाने, पार्टीलाई एकताबद्ध ढंगले अघि बढाउने र जनताले दिएको जनादेशअनुसार सामाजिक–आर्थिक रूपान्तरण प्रक्रियालाई पनि अगाडि बढाउने सन्दर्भमा उपयुक्त निर्णय लिनेछ,’ श्रेष्ठले भनेका थिए, ‘यसबीच पार्टीको नेतृत्व टोलीले अनौपचारिक गृहकार्य पनि गर्नेछ।’

तर प्रवक्ता श्रेष्ठले यसो भनेपनि बितेका तीन दिन विवाद समाधान गर्नेबारे नेकपामा कुनै किसिमको गृहकार्य नभएको नेताहरुले बताएका छन् ।

अध्यादेशपछि आक्रोशित बनेका सचिवालय सदस्यहरु बुधबार प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीले उपाध्यक्ष बामदेव गौतम र वरिष्ठ नेता माधवकुमार नेपाललाई क्रमश प्रधानमन्त्री र तेस्रो अध्यक्ष बनाउने प्रस्ताव गरेपछि रनभुल्लमा परेका थिए । 

उक्त बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता नेपाल र झलनाथ खनालले स्थायी समितिको बैठकबाटै विवादित विषयबारे छलफल र निर्णय गर्नुपर्ने बताएपनि उपाध्यक्ष गौतमसहित नेता ईश्वर पोखरेल, विष्णु पौडेल लगायतले ओलीको प्रस्तावमा समर्थन जनाएका थिए । 

जुटे गौतम परामर्शमा 


उपाध्यक्ष गौतमलाई भैंसैपाटी गठबन्धनका सदस्य तथा अन्य स्थायी समिति सदस्यहरुले ओलीको प्रस्तावमा भर नपर्न सुझाव दिएपनि उनी भने प्रधानमन्त्री हुने लालसामा कानुनी परामर्शमा जुटेका छन् । 
गौतम निकट स्रोतका अनुसार गौतमले नेपाल बार एशोसिएसनका बामपन्थी निकट कानुनव्यवसायीसँग कानुनी अड्नबारे परामर्श गरेका हुन् । 

त्यसक्रममा कतिपय कानुन व्यवसायीहरुले गौतमलाई यस्तो बेला प्रधानमन्त्री हुने रहर नगर्दै राम्रो हुने सुझाव दिएको बुझिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप