केन्द्रीय संस्करण

नेपालमा अनलाइन स्कुलिङका चुनौती र सम्भावना

person explore access_timeबैशाख १९, २०७७ chat_bubble_outline0

कोभिड–१९ को विश्वव्यापी महामारीले १५ अप्रिल २०२० सम्ममा एक सय ९१ मुलुकका एक अर्ब ६० लाखभन्दा बढी बालबालिका र युवायुवतीलाई स्कुलबाहिरै रहन बाध्य बनाएको छ । यो संख्या विद्यालय÷कलेजमा भर्ना भएका विश्वभरका करिब ८० प्रतिशत विद्यार्थीको हो । विद्यालय भर्ना भएकै बालबालिकाले पनि जीवन चलाउन अत्यावश्यक सीप नपाइरहेको विश्वव्यापी समस्या हामीले बेहोर्दै आएकै छौँ । त्यसमाथि अहिले त विद्यालयहरू नै बन्द छन् । र, विश्वभरका मानिस घरभित्रै कैद छन् । अनि यहीवेला अनलाइन पठनपाठनको अभ्यास तीव्र बनेको छ । नेपालमा पनि निजी विद्यालयहरू आफूलाई अनलाइन मोडमा लैजान आतुर छन् । त्यसका दुई कारण देखिन्छन् । पहिलो– टाढैबाट भए पनि उनीहरू विद्यार्थीलाई सिकाइ क्रियाकलापमा ‘इंगेज’ गराइरहन चाहन्छन् । त्यससँगै स्कुल क्यालेन्डरको व्यवस्थापन पनि गर्नुछ, उनीहरूलाई । दोस्रो हो– प्रतिस्पर्धी स्कुलहरूको दबाबमा परेका छन् । त्यसैले जसरी पनि अनलाइन कक्षा सुरु गर्नुछ, परिणाम जेसुकै होस् ।

दूरशिक्षाका लागि नेपालका निजी विद्यालयहरूले समातेको ट्रेन्ड असंगत महसुस हुन्छ । कतिपय यस्ता विद्यालय छन्, जोसँग अनलाइन शिक्षा प्रणालीमा प्रवेश गर्न पर्याप्त स्रोत, साधन उपलब्ध छ । अनि विज्ञ र अभिभावकहरूको साथ–सहयोग पनि । उनीहरूसँग शिक्षकहरूलाई प्रविधियुक्त बनाउन सक्ने इच्छाशक्ति मात्र छैन, दक्ष शिक्षक पनि साथमा छन् । र, दूरशिक्षाको रणनीति पनि हातमा छ । ती बाहेकका विद्यालयहरूले भने उचित योजना र पर्याप्त परामर्शबिनै हाँपझाँप गर्दै विद्यार्थी र अभिभावकलाई अनलाइन कक्षा शुरु गर्न बाध्य बनाए । आफ्ना सन्तानका लागि घरबाटै अनलाइन शिक्षा प्रणाली अपनाउन अभिभावकसामु दबाब सृजना गराए । नेपालका अधिकांश अभिभावक र विद्यार्थी (राजधानी काठमाडौंमै पनि) सँग घरमा कम्प्युटर र इन्टरनेट सुविधा उपलब्ध छैन । अचानक आएको अनलाइन कक्षाको बाढीमा हेलिन उनीहरू बाध्य भएका छन् । यो चुनौती उनीहरूले लाचार बनेर स्वीकार्नु परेको छ । शिक्षाको यो डिजिटल विभाजनले एउटा ठूलो असमानतालाई उदांगो बनाएको छ, जसका कारण शिक्षामा समानताको अपेक्षालाई अझ बढी जटिलतातर्फ धकेल्छ ।

दूरशिक्षाको माहोलमा यस असमानतालाई दूर गर्नु नेपालजस्ता विकासशील मुलुकका लागि ठूलो चुनौतीको विषय हो । विद्यार्थीहरूको पृष्ठभूमिको विविधताबीच निजी विद्यालयहरूले विविध आयामहरूमा रूपान्तरित गर्नुपर्ने आवश्यकता देखिन्छ । कम आय भएको परिवारका, विशेष आवश्यकतावाला, दूरदराजका, घरको जोखिमपूर्ण स्थितिलगायत विविध अवस्थाका छात्रछात्राहरूलाई एउटै मालामा उन्ने रणनीतिको आवश्यकता पनि देखिन्छ । दूरशिक्षाको यो मोडेल कहिलेसम्म लम्बिने हो भन्ने पनि निश्चित छैन । किनकि, हालै शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले स्थिति सामान्य भएपछि पनि शैक्षिक संस्थाहरू अन्तिममा मात्र खुल्ने बताएका छन् । विद्यालयहरू नियमित हुन २–३ महिना लाग्ने अनुमानसम्म गर्न सकिन्छ ।

उच्च वर्ग र उच्च मध्यम वर्गका बालबालिका अनलाइन शिक्षाको रणनीतिमा अगाडि बढ्न तम्तयार छन् । तथापि, शिक्षक र अभिभावकले धेरै प्रयत्न गर्न बाँकी छ । मध्यम आय र गरिब परिवारका बालबालिकाबीचमा एकदमै मिश्रित अवस्था देखिन्छ । उनीहरूको अवस्थालाई ठीक ढंगले सम्बोधन गर्न सकिएन भने ठूलो असमानता बढ्ने निश्चित छ । कतिपय बालबालिकासँग घरमा डेस्क, किताब, अलग्गै अध्ययन कक्षा, इन्टरनेट कनेक्टिभिटी, कम्प्युटर र अध्ययनमा सहयोग गर्ने बाबुआमा हुँदैनन् । अवसरको यस असमानताका कारण बालबालिकामा सिकाइ क्रियाकलापप्रति नै अधिक नकारात्मक भाव पैदा नहोस् भनेर सजग हुनु आवश्यक देखिन्छ । जतिसक्दो असमानताको यस खाडललाई घटाउने प्रयत्न अत्यावश्यक देखिन्छ । अनलाइन शिक्षातर्फ अगाडि बढ्ने उच्च माग रहेका अधिकांश शिक्षकले आफ्ना स–साना बच्चाहरूको पनि हेरचाह गर्नु परिरहेको छ, जो सिकाइको पूर्ण नयाँ तरिका सिकिरहेका छन् । उनीहरू सामु आफ्नो विद्यालयलाई यस अवस्थामा सहयोग गर्नुपर्ने बाध्यता पनि छ । अनलाइन कक्षाका लागि कम्युटर र इन्टरनेटजस्ता आधारभूत पूर्वाधार मात्र होइन, अनलाइन सामग्री, उपकरण र स्रोत जुटाउनुपर्ने चुनौती शिक्षकहरू सामु छ । बालबालिकालाई अनलाइन शिक्षामा रुचि जगाउन ती सबै अत्यावश्यक छन् । जुममा उपलब्ध एकतर्फी व्याख्यानले मात्र उद्देश्य परिपूर्ति हुँदैन । यदि विद्यार्थीलाई बसेर चुपचाप भिडियो हेर या कागजात पढ भनेर मात्र शिक्षण–सिकाइ क्रियाकलापको उद्देश्य पूरा हुँदैन । त्यस्तो पद्दति एकांकी र उपदेशात्मक मात्र हुन जानेछ । त्यस्तो शिक्षण–सिकाइ क्रियाकलाप वास्तवमै सुस्त बन्नेछ । निष्क्रिय बसेर सुन्नु सिकाइको सबैभन्दा खराब तरिका हो । त्यही हाम्रा अधिकांश विद्यालयले अपनाइरहेका छन् ।

सार्वजनिक र सामुदायिक विद्यालयमा अध्ययनरत देशभरका बालबालिकाको अवस्थाबारे एक नजर लगाऔं । कोभिड–१९ को यस महामारीबीच भलै नेपालका केही निजी विद्यालयहरू कम्प्युटरमार्फत अनलाइन कक्षामा प्रवेश गरिरहेका हुन् । सँगसँगै नेपालमा तत्काल शिक्षण–सिकाइ क्रियाकलापमा असमानताको गहिरो खाडल देखा पर्छ । गरिब परिवारका बालबालिकामा यसको नकारात्मक प्रभाव असम्मानजनक रूपमा पर्नेछ ।

शैक्षिक सत्र ढिलो सुरु गर्दा या अवरुद्ध हुन जाँदा धेरै बालबालिका, अभिभावक र शिक्षकको ऊर्जा पनि अवरुद्ध हुन जानेछ । त्यसैले शिक्षा मन्त्रालयले यसमा तत्काल पहलकदमी लिनु जरुरी छ । नेपाल मात्र होइन, अधिकांश मुलुकले वर्तमानमा उपलब्ध सबै पूर्वाधारलाई सम्भावित वितरण प्रणालीसँग जोड्न सक्नुपर्छ । र, त्यसका लागि उपयुक्त रणनीति तय गर्नुपर्छ । छात्रछात्रा र शिक्षकहरूसम्म पाठ योजनाहरू, भिडियो, शिक्षण–सिकाइ क्रियाकलाप र अन्य स्रोतसाधन ठीकसँग पुग्यो कि पुगेन भनेर हेर्न पनि त्यस्तो रणनीति अत्यावश्यक देखिन्छ । कम डाटा उपयोगबाट पनि पहुँच पु-याउन सकिने पोडकास्टलगायत साधन पनि यसमा आवश्यक देखिन्छन् । नेपाल टेलिकम र एनसेलजस्ता टेलिकम सेवा प्रदायक कम्पनीहरूले शून्य दरको पोलिसी ल्याउनु आवश्यक छ, जसले स्मार्ट फोनहरूमा शिक्षण–सिकाइ सामग्री डाउनलोड गर्न मद्दत पुगोस् । त्यसपछि मात्र बढीभन्दा बढी छात्रछात्रालाई अनलाइन कक्षामा सहभागी गराउन सकिनेछ ।

यस पाटोमा रेडियो र टेलिभिजन पनि बलिया आधार हुन सक्छन् । सामाजिक सञ्जालहरू, ह्वाट् एप या एसएमएसजस्ता हामीसँग अहिले रहेको अनुकुलताको पूर्ण लाभ उठाउन सक्नुपर्छ । अनि, सामुदायिक रेडियो या टेलिभिजनद्वारा उपलब्ध गराइने सामग्रीहरूको उपयोग गर्न सिक्ने प्रक्रियामा शिक्षा मन्त्रालयले अभिभावक र शिक्षकहरूसम्म प्रभावकारी रूपमा गाइड लाइन र संरचनाहरू पु¥याउन सक्छ । दूरशिक्षा केवल अनलाइन अध्ययन मात्र होइन, बरु यो त मिश्रित मिडिया शिक्षा पनि हो । र, यसको उद्देश्य अधिकाधिक छात्रछात्रासम्म पुग्ने हुनुपर्छ ।

विद्यालयहरू पुनः सञ्चालनमा ल्याउने प्रक्रिया ढिलै अगाडि बढ्ने सम्भावना देखिन्छ । किनकि, सरकार महामारी नियन्त्रणमा लिन चाहन्छ । र, महामारीको दोस्रो तरंग उत्पन्न हुने सम्भावनाप्रति पनि विशेषज्ञहरूले भविष्यवाणी गरिरहेका छन् । यस्तो अनिश्चित परिस्थितिमा अल्पकालीन होइन, दीर्घकालीन प्रभाव छाड्ने निर्णय या रणनीति तय गर्नु अत्यावश्यक छ । त्यसले हाम्रो शिक्षा प्रणालीमा सुधार, पहलकदमी र लगानीको सुखद खबर पनि ल्याउन सक्छ । र, शिक्ष प्रणालीमा दीर्घकालीन प्रभाव पनि छाड्न सक्छ ।

यो अवसरले शिक्षकहरूको डिजिटल कौशलमा वृद्धि गराउन सक्छ । र, राष्ट्रिय शैक्षिक लक्ष्य प्राप्तिमा महत्वपूर्ण भूमिकाका लागि रेडियो र टेलिभिजनहरूले आफूलाई एकपटक अब्बल सावित गराउन सक्छन् । राष्ट्रिय शिक्षा लक्ष्य हासिल गर्न रेडियो र टेलिभिजनको अहम् भूमिका हुन सक्छ, यतिबेला । आशा गरौं, यही पक्षलाई ध्यान दिँदै रेडियो र टेलिभिजनले आफ्नो सामाजिक उत्तरदायित्वलाई ध्यानमा राख्दै आफ्ना कार्यक्रमहरूको गुणस्तरमा वृद्धि गर्नेछन् ।

यतिबेला अभिभावकहरू आफ्ना बच्चाको शैक्षिक प्रक्रियामा बढीभन्दा बढी संलग्न हुनु आवश्यक छ । र, विद्यमान प्रविधिको उपयोगमा कनेक्टिभिटी, हार्डवेयर, पाठ्यक्रममा डिजिटल टुल्सको समायोजन र शिक्षकको इच्छाशक्तिलगायत विविध चुनौति र रिक्तताबारे शिक्षा मन्त्रालयले स्पष्ट समझदारी बनाउनु अत्यावश्यक छ । यी सबैले नेपालको भविष्यको शिक्षा प्रणालीलाई मजबुत बनाउने निश्चित छ ।

डा. मनिष थापा युनिभर्सिटी अफ वार्साका भिजिटिङ प्रोफेसर हुन् । उनले कोस्टारिकास्थित युनाइटेड नेसन्स युनिभर्सिटी अफ पिसमा विभिन्न अनलाइन कोर्सहरूमा अध्यापन पनि गराएका छन् ।

श्रीमती प्रमिला केसी कोस्टारिकास्थित युनाइटेड नेसन्स युनिभर्सिटी अफ पिसमा डिस्ट्यान्स एजुकेसन प्रोग्राम अफिसर हुन् ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.