बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

लकडाउनमा राजधानीमा गुणस्तरीय तरकारी र फलफूल बिक्री थालियो

शुक्रबार, १९ वैशाख २०७७, १४ : ३५
शुक्रबार, १९ वैशाख २०७७

काठमाडौं । देशभर कोरोनाको सन्त्रास छाइरहेको बेला दैनिक भान्सामा प्रयोग हुने तरकारी तथा फलफूल स्वस्थ होस् भन्ने सबैको चाहना हुन्छ । 

कतिपय उपभोक्तामा तरकारीबाटै कतै कोरोनाको संक्रमण हुने त होइन भन्ने त्रास पनि रहेको पाइन्छ । यस्तो अवस्थामा राजधानीमा उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै स्यानिटाइज (निर्मलीकरण)  गरिएको पानीले पखालिएको तरकारी तथा फलफूल बिक्रीवितरण थालिएको छ । 

गैरआवासीय नेपाली संघ (एनआरएनए) को कृषि समितिअन्तर्गतको मुना कृषि लिमिटेडले राजधानीमा स्वस्थ तरकारी तथा फलफूल बिक्री थालेको हो । 

गत वैशाख ६ गतेदेखि बसुन्धारास्थित यति पार्टी प्यालेसमा रहेको केन्द्रबाट तरकारी तथा फलफूल बिक्रीवितरण थालिएको मुना कृषिका अध्यक्ष युवराज गुरुङले रातोपाटीलाई जानकारी दिए । 

उनकाअनुसार हाल बिक्रीकेन्द्रबाट काउली, फर्सी, आलु, करेला, खुर्साली, गोलभेडा, गाँजर, घिरौला, भिन्डी, ब्रोकाउली, केरा, अंगुर, मेवालगायतका  विभिन्न ३५ भन्दा बढी थरीका फलफूल तथा तरकारी बिक्री गर्ने गरिएको छ । स्यानिटाइज गरिएको तरकारी तथा फलफूल उपभोक्ताको घरसम्म नै डेलिभरीको व्यवस्था समेत मुना कषिले गरेको छ ।

‘कोरोनाको त्रास रहेका बेला उपभोक्तालाई ढुक्क बनाउन हामीले स्यानिटाइज गरेकाे पानीले पखाल्ने र त्यसपछि प्याकिङ गरी सुरक्षित फलफूल तथा तरकारी बिक्री गरिरहेका छौं’, उनले भने, ‘अहिले हामीले १२ जना कर्मचारी र केही भोलेन्टिर साथीबाट होम डेलिभरी समेत गर्दै आएका छौं, स्यानिटाइज गरिएको हुनाले उपभोक्ताले ढुक्क भएर आफ्नो भान्सामा प्रयोग गर्न सक्नुहुन्छ ।’ 

उनले अगाडि थपे, ‘ फलफूल तथा तरकारीलाई सुरक्षित ढंगले उपभोक्तसम्म पुर्याउन हामीले विभिन्न खानयोग्य केमिकल प्रयोग गरेर पानीमा धाेइ स्यानिटाइज गर्छौ, त्यसपछि प्याकेजिङ गरेर उपभोक्तासम्म पुर्याउने गरेका छौं ।’


काठमाडौं महानगरपालिकाको सहजीकरण र समन्वयमा बिक्री थालिएको सेनिटाइज गरिएको तरकारी तथा फलफूलको माग उच्च रहेको त्यसमा आवद्ध दिपक तिमल्सिनाले जानकारी दिए । लकडाउनको बीच पनि हाल गुणस्तरीय तरकारी र फलफूल आफूहरुले ग्राहकसम्म पुर्याइरहेको तिमल्सिनाले बताए । 

 अहिले मुना कृषिले बिहान र बेलुकाको समयमा एकीकृत बस्तीहरुमा भ्यानमार्फत बिक्रीवितरण गरिरहेको छ ।  यस्तै सीतापाइला, धुम्बाराही, चुनदेवी र  धापासीमा ‘सेल प्वाइन्ट’ पनि स्थापना गरेको छ भने हाललाई रिङरोडभित्रका उपभोक्ताले मुना कृषिको अनलाइन पोर्टल सप मुना मार्फत पनि अर्डर गर्न सक्छन् ।  मुना कृषिले बिक्रीवितरण गर्ने अधिकांश तरकारी तथा फलफूल खुद्रा बजारमा पाइने भन्दा केही सस्तो पर्ने पनि अध्यक्ष गुरुङको भनाइ छ । 

उनका अनुसार अधिकांश कृषि उपज सिधै किसानबाट खरिद गरिने गरिएको छ भने थोरै सामाग्री कालीमाटी फलफूल तथा तरकारी बजारबाट पनि खरिद गर्ने गरिएको छ ।

 ‘हाम्रो जोड सिधै किसानबाट खरिद गर्ने हो, अहिले लकडाउन भएकाले कालीमाटीमा पनि भर परिएको छ’, गुरुङले भने, ‘केही आइटम खुद्रा बजारभन्दा केही महँगो पर्न सक्छ, तर अधिकांश मुना कृषिको आइटम खुद्रा बजार भन्दा १–२ रुपैयाँ सस्तो नै पर्न जान्छ ।’

नेपाली कृषि उपज विदेश निर्यात गर्ने लक्ष्य
नेपाली कृषि उपजको प्रवर्द्धन र बजारीकरण गर्नेगरी एनआरएनएको कृषि समिति अन्तर्गतको मुनाकृषि र बागमति प्रदेश सरकारबीच सम्झौता यसअघि नै सम्झौता भइसकेको छ । 

 जसअनुसार मुना कृषिले किसानहरुको उत्पादन सिधै खरिद गरी त्यसको बजारीकरण गर्ने जिम्मेवारी लिन्छ ।  मुना कृषिले निकट भविष्यमै काठमाडौंमा प्रशोधन केन्द्र खोल्नुका साथै काठमाडौंबाहिर कलेक्सन सेन्टर स्थापना गर्ने अध्यक्ष गुरुङले जानकारी दिए । 

यस्तै उपत्यकामा साना ठूला आउटलेट खोल्ने जस्ता  पनि गरिएको छ । लकडाउनका कारण यी योजनाहरु अघि बढाउन ढिलाइ भएको भन्दै गुरुङले लकडाउनकै बीच पनि तरकारीको आउटलेट खोल्न सफल भएको बताए ।  लकडाउन सकिएलगत्तै सबै काम तीव्र गतिमा अघि बढाइने मुना कृषिले जनाएको छ । 

उनले नेपालमा उत्पादिन कृषि उपजहरुलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने लक्ष्यका साथ आफूहरुले काम गरिरहेको पनि जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप