शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीको ‘वामदेव’ कार्ड : अन्त्य होला त धोकाको शृङ्खला ?

शुक्रबार, १९ वैशाख २०७७, १३ : ५८
शुक्रबार, १९ वैशाख २०७७

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा निकै हक्की र निडर स्वभावका नेतामध्येमा पर्छन् वामदेव गौतम । गौतमका समकक्षी नेताहरु माधव नेपाल, केपी ओली, पुष्पकमल दाहाल प्रचण्ड र झलनाथ खनाल प्रधानमन्त्री भइसकेका छन् । पछिल्लो समय नेकपामा बढेको विवादसँगै गौतम एकाएक प्रधानमन्त्री बन्ने प्रस्ताव आएपछि उनीबारे चर्चापरिचर्चा भइरहेको छ । यद्यपि यसबारे ठोस निर्णय भइसकेको छैन । सम्भवतः गौतम बारेको निर्णय वैशाख २० गते बस्ने नेकपाको सचिवालय बैठकले गर्नेछ ।

२० गतेअघि त्यसका लागि नेकपाका शीर्ष नेताहरु सहमति जुटाउन गृहकार्यमा जुट्ने निर्णय वैशाख १७ कै बैठकले गरिसकेको छ ।

अध्यादेश प्रकरणपछि प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टीभित्रैबाट राजीनामा मागिएका बेला बुधबार बसेको नेकपा सचिवालय बैठकमा उनै प्रधानमन्त्री ओलीले आफूले राजीनामा दिएर गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेपछि नेपाली राजनीतिमा गौतम प्रकरणले नयाँ तरङ्ग छाएको छ ।

कसरी आयो गौतमको प्रस्ताव ?

नेताहरु कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजीबीच गत २३ पुसमा उपाध्यक्ष गौतमको निवासमा बैठक बस्यो । जुन बैठकमा प्रधानमन्त्री केपी ओली स्वेच्छाचारी ढङ्गले अघि बढेको भन्दै पार्टी नीति र निर्देशनको पालनाका लागि पनि ओली सच्चिन जरुरी रहेको निष्कर्ष निकाल्यो । त्यसयता नेताहरुले प्रधानमन्त्री ओलीलाई पटक पटक सच्चिन दबाब दिँदै आए पनि उनी सच्चिन तयार भएनन् । फलस्वरूप पछिल्लो पटक वैशाख ८ गते सरकारले दुई अध्यादेश ल्याएपछि वैशाख ११ गते भैँसेपाटी गठबन्धनको बैठक पुनः बस्यो । सो बैठकले अध्यादेश खारेज र प्रधानमन्त्री तथा अध्यक्ष दुवै पदबाट ओली हट्नुपर्ने निष्कर्ष निकाल्यो । यो मागमा पार्टीका अन्य स्थायी समिति सदस्यले साथ दिए । सचिवालय र स्थायी समितिमा समेत अल्मतमा परेका ओलीले आफू दुवै पदबाट नहट्ने अडान दोहोर्यए ।


‘बामदेव गौतमलाई प्रधानमन्त्री र नेता नेपालाई तेस्रो अध्यक्ष बनाउँछु  भनेर प्रम ओलीको भनाइ हास्यास्पद छ । यसको कतैबाट पनि पुष्टि हुँदैन’, नेता रावलले रातोपाटीसँग भने, ‘सांसदका लागि सचिवालयले गरेको निर्णय नै कार्यान्वयन नगर्नेले आफै छोडेर प्रधानमन्त्री नै दिन्छु भन्नु र सुन्नेले पत्याउनु दुवै मजाक मात्रै हो ।’


ओलीलाई पद छोड्नुपर्ने दबाब कायमै रहेका बेला गत बुधबार बसेका सचिवालय बैठकमा ओलीले एकाएक नेता गौतमलाई प्रधानन्त्री र अर्का नेता माधवकुमार नेपालाई तेस्रो अध्यक्ष बनाउने प्रस्ताव अघि सारे । जुन प्रस्तावलाई नेकपामा गौतमबाहेक अरूले आश्चर्यजनक रूपमा लिए । ओलीको यो प्रस्ताव भैँसेपाटी गठबन्धन तोड्ने अस्त्रका रूपमा फालिएको बहुमत सचिवालय सदस्यहरुले तत्कालै बुझे पनि गौतम दङ्ग परेपछि थप छलफल हुन पाएन र बैठक २० गतेलाई बोलाइयो ।

गौतमलाई अघि सार्दा किन आश्चार्य ?

तत्कालीन एमालेको नवौँ महाधिवेशनमा गौैतमकै साथ पाएर अध्यक्षमा निर्वाचित भएका ओली भैँसेपाटी गठबन्धन भत्काएर गौतमलाई आफ्नो पक्षमा पार्न चाहन्थे । गौतम आफ्नो पक्षमा आउनेवित्तिकै भैँसेपाटी गठबन्धन भत्किने ओलीको बुझाइ थियो । सोही योजनाअनुसार ओलीले एकाएक गौतमलाई प्रधानमन्त्री दिने प्रस्ताव अघि सार्नु स्वाभाविक थियो । तर त्यही बेलादेखि ओलीबाट पटक पटक धोेखा खाएका गौतम चाहिँ किन ओलीको प्रस्तावमा मख्ख पर्छन् नेकपाकै नेताकार्यकर्ताहरुले बुझ्न सकेका छैनन् ।  त्यसो त संविधानमा नै प्रधानमन्त्री हुन सङ्घीय संसदको सदस्य हुनुपर्छ । सङ्घीय संसदको सदस्य नभएको व्यक्ति प्रधानमन्त्री हुन सक्दैन । त्यसका लागि संविधान नै संशोधन गर्नुपर्छ । संविधान संशोधन पनि तत्काल सम्भव छैैन । अर्कोतर्फ यसअघि सचिवालयबाट राष्ट्रिय सभामा मनोनित गर्न सिफारिस भएका गौतमलाई उनै ओलीले सिफारिस नगरेर अड्काइरहेका छन् । गौतमका लागि सांसद बन्न समेत हलो अड्काएका ओलीले आफै छोडेर प्रधानमन्त्रीका लागि पहल गर्छन् भन्ने पत्याउन कठिन हुने नेकपाका स्थायी समिति सदस्य तथा नेता भीम रावलको भनाइ छ ।

‘बामदेव गौतमलाई प्रधानमन्त्री र नेता नेपालाई तेस्रो अध्यक्ष बनाउँछु  भनेर प्रम ओलीको भनाइ हास्यास्पद छ । यसको कतैबाट पनि पुष्टि हुँदैन’, नेता रावलले रातोपाटीसँग भने, ‘सांसदका लागि सचिवालयले गरेको निर्णय नै कार्यान्वयन नगर्नेले आफै छोडेर प्रधानमन्त्री नै दिन्छु भन्नु र सुन्नेले पत्याउनु दुवै मजाक मात्रै हो ।’


माधव नेपाल निकट भनेर चिनिएका नेता जगन्नाथ खतिवडाले अध्यक्ष तथा प्रधानमन्त्री ओली सुनियोेजित तरिकाले गुटबन्दी र पार्टी फुटाउने रणनीतिमा लागेको भन्दै ओली सच्चिए नेता नेपालले प्रधानमन्त्री र पार्टी अध्यक्ष केही नलिने दाबी गरे । ‘ओलीले निरङ्कुशता र गुबन्दी छाड्नुपर्छ । पार्टी विधान र पद्धति अनुसार चल्नुपर्छ । त्यसका लागि सिस्टमको कुरा गरिएको हो । त्यसरी कसैलाई अध्यक्ष र प्रधनमन्त्री दिन्छु भनेर हुँदैन । त्यो मान्य छैन,’ खतिवडाको भनाइ छ ।


गौतमलाई धोका शृङ्खला

२०६५ फागुनमा तत्कालीन एमालेको नवौँ महाधिवेशन आयोजना भयो । जसमा अध्यक्षका दाबेदारका रूपमा केपी ओली र माधवकुमार नेपाल मैदानमा उत्रिए । यो माहाधिवेशनमा नेपाललाई हराउन ओली–गौतमबीच गठबन्धन भयो । नवौँ महाधिवेशनमा ओलीले आफूलाई अध्यक्षमा गौतमले सहयोग गरे आफू प्रधानमन्त्री बनेपछि कार्यकारी अध्यक्ष दिने आश्वासन दिए । सोही आश्वासनमा परेर गौतमले ओलीलाई अध्यक्षमा जिताए । नभन्दै ओली प्रधानमन्त्री पनि भए । तर गौतमले कार्यकारी अध्यक्ष पाएनन् ।

१. बर्दियामा पराजय

पछिल्लो संसदीय निर्वाचनमा तत्कालीन एमाले र माओवादीबीच गठबन्धन गरे । सोही गठबन्धनबाट झण्डै दुई तिहाइ सदस्य जित्न सफल यो गठबन्धनमा गौतमले पराजय भोगे । बर्दिया बर्दिया १ बाट काँग्रैसका सञ्जय गौतमसँग ७५३ भोटले पराजित गौतम आफू पराजित हुनुमा ओली निकटका नेताहरूले अन्तरघात गरेको भन्दै छानबिनको माग नै गरेका थिए । तर गौतमको यो माग कतै सुनुवाइ भएन ।

२. डोल्पादेखि काठमाडौँसम्म अवरोध

प्रतिनिधि सभामा पराजय भए पनि गौतमको संसद प्रवेशको चाहाना कम भएन । त्यसका लागि उनले अनेक उपाय खोज्दै गए । बाँके र दैलेखसम्म पनि गौतमले उपनिर्वाचन लड्ने इच्छा प्रकट गरे । तर त्यहाँ पनि उनले सोचेजस्तो परिणाम हात लागेन । कारण थिए ओली । किनभने ओली गौतमलाई उचल्ने र पछार्ने रणनीतिबाट पछि हटेका थिएनन् । त्यस्तै डोल्पाका सांसद धनबहादुर बुढाको राजीनामा गराउनेदेखि काठमाडौैँमा रामवीर मानन्धरलाई राजीनामा गर्न लगाएर पनि संसदमा जाने गौतमले निकै प्रयास गरे । त्यसका लागि बुढा र मानन्धर तयारी भए पनि अन्ततः ओलीकै कारण दुवैले राजीनामा गरेनन् । त्यसबाहेक गौतम कास्की २ का रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि उपनिर्वाचन लड्ने चर्चामा समेत आए । अन्ततः कास्कीबाट गौतम आफै पछि हटे ।

३. राष्ट्रियसभामा ओलीकै अनिच्छा

उपनिर्वाचनमा कतैबाट पनि संसद प्रवेश नपाएपछि गौतमले शीर्ष नेताहरुकै सुझावमा राष्ट्रिय सभामा जाने चाहाना देखाए । त्यसमा गौतमलाई सचिवालयका बहुमत सदस्यले समर्थन पनि जनाए । सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय पनि गर्यो । तर उक्त निर्णयको कार्यान्वयन गर्न ओलीले अनिच्छा देखाएपछि सचिवालयको उक्त निर्णय दुई महिनादेखि अलपत्र छ ।

प्रचण्डसमेत सशङ्कित

पछिल्लो पटक ओलीले अघि सारेका दुई प्रस्ताव गौतमलाई प्रधानमन्त्री र नेपाललाई तेस्रो अध्यक्षप्रति कार्यकारी अध्यक्ष प्रचण्डसमेत सशङ्कित बनेका छन् । प्रचण्डले गौतम नेपाललाई अघि सारेर भैँसेपाटी गठबन्धन कमजोर पार्ने रणनीति अख्तियार गरेको प्रचण्डको बुझाइ छ । ‘नेताहरुलाई किस्तीमा राखेर पद दिँदै आफू विरुद्धको शक्ति कमजोर पार्ने योजनामा ओेली लागेका छन् । यो कुरा नेताहरुले बुझेका छन्,’ एक स्थायी समिति सदस्यले रातोपाटीसँग भने, ‘यसरी लोभमा फस्यो भने ओलीले झन पेल्छन्, यसमा सतर्क हुनुपर्छ ।’

उता माधवकुमार नेपालले समेत आफू तेस्रो अध्यक्ष नबन्ने जनाउ दिइसकेका छन् । नेपाल निकटका नेताहरुले तेस्रो अध्यक्ष नबन्न सुझाव दिएपछि नेपाल ओलीको प्रस्ताव अस्वीकार गर्ने पक्षमा पुगेका हुन् । नेपालले बिहीबार ओलीलाई बालुवाटारमा भेटेर ओलीको प्रस्ताव अस्वीकार गरेका हुन् । 

माधव नेपाल निकट भनेर चिनिएका नेता जगन्नाथ खतिवडाले अध्यक्ष तथा प्रधानमन्त्री ओली सुनियोेजित तरिकाले गुटबन्दी र पार्टी फुटाउने रणनीतिमा लागेको भन्दै ओली सच्चिए नेता नेपालले प्रधानमन्त्री र पार्टी अध्यक्ष केही नलिने दाबी गरे । ‘ओलीले निरङ्कुशता र गुबन्दी छाड्नुपर्छ । पार्टी विधान र पद्धति अनुसार चल्नुपर्छ । त्यसका लागि सिस्टमको कुरा गरिएको हो । त्यसरी कसैलाई अध्यक्ष र प्रधनमन्त्री दिन्छु भनेर हुँदैन । त्यो मान्य छैन,’ खतिवडाको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप