बिदा संस्कृति अन्त्य गरी परिश्रमी प्रवृत्तिको विकास गरौँ
भीमप्रसाद काफ्ले
अध्ययनका लागि एक वर्षअघि कोरिया आउँदा अध्ययन सँगसँगै विकासका बारेमा थाहा पाउने हुटहुटी थियो । हरेक समय कलेजमा अध्ययन सँगसँगै अन्य समग्र पक्षको बारेमा जान्न अतिरिक्त क्रियाकलापमा धेरै चासो राखे । सुरुका केही दिन असहज महसुस भए ।
एक दिन कक्षामा पढाउँदै गर्दा एक जना प्रोफेसरले ‘वी डन्ट ह्याभ एनी रिसोर्स, ओपेक कन्ट्रिज क्यान ड्रिल ल्यान्ड टु डेभलाप देयर इकोनोमी, वी ह्याभ टु ड्रिल आवर ब्रेन’ भनेको कुराले देशमा अथाहा स्रोत साधन हुँदाहुँदै पनि हामीले केही गर्न नसकेको देख्दा आफैलाई हीनताबोध भयो । हामी कहिल्यै उपनिवेश नभएको मुलुकका नगरिक भनेर गर्व गर्ने एउटा मात्र आधारबाहेक अरु केही छैन । अनि आफै सोच्थँे के उपनिवेश भोग्नु आवश्यक छ त विकासका लागि ? उपनिवेशले राजनीतिज्ञमा देश भक्तिको भावना थप जागृत गराउँथ्यो होला, जसले परिवार, नातागोता र पार्टीभन्दा माथि उठेर देशको लागि सोच्नेथे । अध्ययनको सिलसिलामा बाहिर बस्दा, अन्य देशको विकास, अवस्था र व्यवस्था देखेर वा भोगेर देशभक्तिको भावाना थप मजबुत हुन्छ ।
कोरियनहरु काम भए काम नभए मोबाइल चलाएको मात्र देखिन्छ । तर उनीहरुको अनुशासन र परिश्रम विशिष्ट खालको छ । उनीहरु अति मिहिनेति र अनुशाशित हुन्छन् । टेबलमा भएको कलम सफा गरेपछि जस्तो थियो त्यस्तै, जुन दिशामा थियो उही दिशामा राख्छन् । यस देशमा श्रमको सम्मान छ । जो मानिस जे कामका लागि राखिएको हो, त्यो काम मात्र गर्छ । अन्य काम लगाउँदा थप भुक्तानी गर्नुपर्छ । हामीकहाँ कार्यालय सहयोगी एवं तल्लो तहका कर्मचारीलाई विना पारिश्रमिक व्यक्तिगत काममा लगाउने संस्कारकै रुपमा विकास भएको छ । सुरक्ष निकायका माथिल्लो तहका कर्मचारी एवं राजनीतिज्ञले सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीलाई व्यक्तिगत तथा घरायसी काममा विनापारिश्रमिकमा लाउने विषय बेलाबेला सञ्चारमाध्यममा प्रकाशित हुँदै आएको पनि छ ।
हामीमा परिश्रम गर्नेभन्दा सहज तरिकाले सफल हुनेबाटो खोज्छौँ । हरेक वर्ष नेपालमा रोजगार बजारमा करिब ४ लाख युवा उत्पादन हुन्छन् तीमध्ये ३ लाख जति वैदेशिक रोजगारीमा जान्छन् । सरकारी तथा निजी स्तरबाट वैदेशिक रोजगारीबाट र्फकने र बाँकी १ लाखलाई थप रोजगारी सृजना हुँदैन । उनीहरु नै कुनै न कुनै राजनीतिक दलको पूणकालीन एवं रोजिरोटीका लागि समेत कार्यकर्ता बनेर हिँड्न बाध्य छन । विदेशमा आफैले गरको काम नेपालमा फर्केर गर्न नचाहने प्रवृत्ति हावी छ । केही वर्ष कमाएर लगेको पैसाले घर बनायो बस्यो । जीवन चलायो भन्ने मानसिकता हावी छ । पछिल्ला दिनमा विदेशमा सिकेको सीप उपयोग गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । तथापि यथेष्ट मात्रामा भएको छैन ।
कोरियामा दैनिक १६ घण्टा काम गरेको मानिस नेपाल र्फकेपछि दैनिक उही गतिमा ८ घण्टा पनि काम गर्न सक्दैन । देश विकासको लागि नागरिक, व्यापारी, कर्मचारी, एवै राजनीतिज्ञले हरेकले समयको उत्तम उपयोग गरे देश समृद्ध हुन धेरै वर्ष कुर्नु पर्दैन ।
कर्मचारीतन्त्रमा ढिलो निर्णय गर्ने प्रवृत्ति छ । सकभर गर्नै नपरोस, गर्नै परे अन्तिम घडीमा निर्णय गर्ने प्रवृत्ति अति घातक छ । आम नागरिकहरु पनि विभिन्न दाता, गैरसरकारी संघसस्थाका मुख ताकेर चरम परर्निभर भएका छन् ।
इभ्ऋम् ले २०१४ मा गरेका अध्ययनमा वार्षिक रुपमा सबैभन्दा बढी काममा खटिनेमा म्याक्सीकोका नागरिक पर्छन् । उनीहरुको वार्षि औसत कार्यघण्टा २२२८ छ भने दोस्रोमा कोस्टारीकाका नागरिकले वार्षिक औसत २२१० घण्टा काम गर्छन । यसैगरी तेस्रोमा कोरियन प्रर्छन । कोरियनले वार्षिक औसत २१२४ घण्टा काम गर्दा रहेछन् । यो सङ्गठित संस्था र सरकारी संयन्त्रको कार्य समयको आधारमा गरिएको अध्ययन हो । निजी क्षेत्रमा कार्यरत कोरियन योभन्दा बढी नै काम गर्छन् ।
सोचौँ त हामी वार्षिक कति घण्टा काम गर्छांै ? १०–५ कार्यालय जानेको हकमा २०७४ मा ३६५ दिनमध्ये १०० दिन शनिबारसहित सार्वजनिक बिदा छ । बाँकी २६५ दिनमा दैनिक ७ घण्टाका दरले १८५५ घण्टा कार्यालय समय छ । यसमा आकस्मिक रुपमा हुने बिदा समावेश गरिएको छैन । ती बिदासमेत समावेश गर्दा त्यस्तै १८०० घण्टाभन्दा पनि कम हुन आउछ । यसमध्ये कति उपयोग गर्छौं । हामी आफै अनुमान लगाउन सक्छाँै । गौरा पर्वको उपलक्ष्यमा राज्यभर बिदा दिएकामा मेरा एक जना मित्रले बिदा कसरी मनाउने थाहै नपाएको पर्वको भनेका थिए । यो आइतबार पुनः इदको उपलक्ष्यमा बिदा भएको छ । हामी बिदा भएको मन पराउँछाँै । यो हाम्रो संस्कृति भैसकेको छ । राष्ट्रपति विदेश भ्रमणमा जाँदा होस् या छिमेकी मुलुकका राष्ट्रपति नेपाल आउँदा हामी बिदा गरेर सम्मान गर्छांै ।
अगस्ट २१, २०१७ मा अमेरिकी अर्थतन्त्रमा सूर्यग्रहण हुँदा दिइएको सार्वजनिक बिदाका कारणले रु ४४८६ करोड घाटा भएको र्फोब्स न्युजले प्रकाशन गरेको थियो । यहाँ न राष्ट्रपति विदेश भ्रमण गर्दा बिदा हुन्छ न त कुनै देशका रास्ट्रपति यहाँ आउँदा । यतिसम्म समयप्रति सजक छन् कि पढाउने प्रोफेसरले एकमिनेट चाँडो र ढिलो गरेको थाहा छैन । सार्वजनिक बिदाले अर्थतन्त्रमा पर्ने असरबाट सचेत छन् । हामी बिदा रुचाउँछौँ परिश्रम नगरी आम्दानी होस् भन्ने अपेक्षा गर्छौं ।
अतः अरुलाई दोष लगाउने आफूलाई नसुर्धार्ने, परिश्रम नगर्ने हो भने कसले गर्छ हाम्रो पद्धति र कहिल हुन्छ विकास । प्राकृतिक स्रोत साधनले सम्पन्न एवं सुन्दर मुलुक, हामीले कोरियन प्रोफेसरले भनेजस्तो न अरबियन राष्ट्रको जस्तो जमिन खन्नुपर्छ, न त दिमाग नै, केवल हामीले हाम्रा पर्यटकीय सम्पदाको प्रचार प्रसार गरेर देखाइदिए पुग्छ । यसका लागि श्रमलाई सम्मान गर्ने, नैतिकता र निष्ठायुक्त दृष्टिकोणसहितको सुसंस्कृत राजनीतिक संस्कार, परिश्रमी नागरिक एवं चुस्त र्कमचारीतन्त्र बनाउन र बन्न सके समृद्धिका लागि धेरै कुर्नु पर्ने छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
-
कम्बोडिया भ्रमण सकेर सभामुख घिमिरे स्वदेश फिर्ता
-
प्राइम सहकारी ठगीमा पक्राउ परेका एमाले नेता कारागार चलान
-
अवैध तरिकाले नेपाल प्रवेश गर्न खोज्ने दुईजना चिनियाँसहित ३ पक्राउ
-
देशद्रोहको आरोपमा जेल पठाइए बंगलादेशको इस्कोनसँग सम्बद्ध चिन्मय कृष्ण दास
-
स्थानीय महिलाका लागि उपयोगी ‘शनिबारीय मेला’