बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ऋषि कपुरका परिवारले भने, ‘अन्तिम समयसम्म पनि डाक्टर र स्वास्थ्यकर्मीलाई मनोरञ्जन दिइरहे’

बिहीबार, १८ वैशाख २०७७, १२ : २९
बिहीबार, १८ वैशाख २०७७

ऋषि कपुरको अवसान भएको छ । उनी ६७ वर्षका थिए । उनी ल्यूकेमिया अर्थात् रगतको क्यान्सरसँग जुधिरहेका थिए । बिहिबार बिहान एचएन रिलायन्स फाउन्डेशन अस्पतालमा उनको निधन भएको हो । बुधबार इरफान खानको निधनको खबरले स्तब्ध भएको बलिउड ऋषि कपुरको निधनले थप मर्माहित बनाएको छ । पारिवारिक श्रोतका अनुसार उनले अन्तिम समयसम्म पनि आफ्नो बानी छोडेनन् । अस्पतालमा डाक्टर–मेडिकल स्टाफलाई हँसाइरहे, उनीहरुलाई मनोरञ्जन प्रदान गरिरहे ।

यसअघि गत बिहिबार पनि उनको स्वास्थ्य खराब भएको थियो । उनलाई अस्पतालमा भर्ना गरिएको थियो तर चार घण्टापछि उनलाई डिस्चार्ज गरिएको थियो । पछि उनलाई छातीको संक्रमण, सास फेर्न समस्या र ज्वरो आएका कारण उनलाई पुनः अस्पताल भर्ना गरियो । उनको स्थिती बिग्रिएपछि उनलाई भेन्टिलेटरमा राखियो । बिहिबार बिहान ३ बजेदेखि उनले केही पनि प्रतिक्रिया नदिएको बताइन्छ । जब उनले अन्तिम सास फेरे तब उनीसँग श्रीमती नीतू र छोरा रणबीर उपस्थित थिए ।

परिवारले भने, ‘ल्यूकेमिया हुँदासमेत परिवार, साथीभाइ, फिल्म र खानामा उनको ध्यान केन्द्रीत थियो’

ऋषि कपुरको निधन पछि परिवारको तर्फबाट एउटा सन्देश जारी गरियो जसमा लेखिएको थियो, ‘दुई वर्षसम्म ल्यूकेमियासँगको युद्धपछि हाम्रा प्यारा ऋषि कपुरको आज बिहान ८ बजेर ४५ मिनेटमा निधन भयो । अस्पतालका डाक्टर तथा स्वास्थ्यकर्मीले अन्तिम समयसम्म आफूहरुलाई मनोरञ्जन दिइरहेको बताए । दुई महाद्वीपमा उनको दुई वर्षसम्म उपचार चल्यो र यतिबेला उनले निकै हँसीमजाक गरिरहे । परिवार, साथीभाइ, खाना र फिल्म उनको फोकसमा रह्यो । ’

‘संसारभरीबाट पाएको प्रशंसकको प्रेमप्रति उनी ऋणी थिए । उनको निधनपछि सबै प्रशंसकले यो बुझनेछन् कि ऋषि आँसुसहित होइन, मुस्कानसहित याद गरिनेछन् । यो क्षतीबीच हामीले यो बुझिरहेका छौं कि संसार अहिले निकै मुश्किल अवस्थाबाट गुज्रिरहेको छ । मानिसहरुको आवतजावत र एकै स्थानमा जम्मा हुन प्रतिबन्ध छ । हामी उनका सबै प्रशंसक, शुभ चिन्तक र आफन्तलाई नियम कानूनको सम्मान गरिदिन आग्रह गर्छौं ।’

२ वर्ष अघि भएको थियो क्यान्सरः

सन् २०१८ मा ऋषि कपुरलाई क्यान्सर भएको थियो । उपचारका लागि उनी अमेरिका गएका थिए । त्यहाँ ११ महिना बसेपछि गत वर्ष सेप्टेम्बरमा भारत फर्किएका थिए । अमेरिकामा उनीसँग उनकी श्रीमती नीतू थिइन् । रणबीर थुप्रै पटक उनलाई भेट्न न्यूयोर्क गएका थिए । केही दिन अघि ऋषि कपुरले एक अन्तरवार्तामा भनेका थिए, ‘अब म निकै राम्रो महसुस गरिरहेको छु । र जे पनि काम गर्न सक्छु । सोचिरहेको छु कि अभिनयलाई पुनः सुरु गरुँ । थाहा छैन, मानिसहरुलाई अब मेरो काम मनपर्छ वा पर्दैन । न्यूयोर्कमा थुप्रै पटक ममाथि रगत चढाइएको थियो । त्यतिबेला मैले नीतूलाई शरीरभरी नयाँ रगत हुँदासमेत अभिनय बिर्सने छैन भन्ने गर्दथे ।’

फेब्रुअरीमा दुई पटक अस्पताल भर्ना भएका थिए ऋषिः

ऋषि कपुर फेब्रुअरीमा दुई पटक अस्पताल भर्ना भएका थिए । एकपटक जब उनी दिल्लीमा एक पारिवारिक कार्यक्रममा भाग लिन गएका थिए तब उनलाई त्यहाँ एक अस्पतालमा भर्ना गरिएको थियो । त्यतिबेला ऋषिले आफू संक्रमणद्वारा पीडित भएको बताएका थिए । मुम्बई फर्किएपछि उनलाई पुनः भाइरल ज्वरोका कारण अस्पताल भर्ना गरियो तर उनको स्वास्थ्यमा चाँडै नै सुधार भएपछि उनलाई छुट्टी दिइएको थियो ।

एक महिनादेखि सोसल मिडियामा केही पोष्ट गरेका थिएनन्ः

सोसल मिडियामा बौद्धिक र आक्रामक कमेन्टका लागि चर्चित ऋषिले अप्रिल २ पछि ट्वीटर अकाउन्टमा केही पनि पोष्ट गरेका थिएनन् । उनले केही दिन अघि दीपिका पादुकोणसँग हलिउड फिल्म ‘द इन्टर्न’ को रिमेकमा काम गर्न लागेको घोषणा गरेका थिए ।

पृथ्वीराज कपुरका नाती र राज कपुरका छोराः

चिन्टु नामबाट चर्चित ऋषिको जन्म ४ सेप्टेम्बर  १९५२ मा मुम्बईको चेम्बूरमा भएको थियो । उनी राज कपुरका माहिलो छोरा र पृथ्वीराज कपुरका छोरा थिए । उनले मुम्बईको क्याम्पियन स्कूल र अजमेरको मेयो कलेजमा आफ्ना दाजुभाइसँग पढे । रणधीर कपुर उनका दाइ थिए भने उनका भाइ राजिव कपुर हुन् । ऋषि र नीतूका दुई सन्तान छन् – रणबीर र रिदीमा ।

ऋषिको फिल्मी यात्राः

ऋषि कपुरले सन् १९७० मा बुवाको फिल्म ‘मेरा नाम जोकर’ बाट डेब्यू गरेका थिए । यो फिल्ममा ऋषिले आफ्नो पिताको बाल्यकालको भूमिका निभाएका थिए । ऋषि कपुर सन् १९७३ मा रिलिज भएको बबी नामक फिल्ममा नायकको भूमिकामा देखिए । आफ्नो करियरमा सन् १९७३–२००० सम्म ९२ फिल्ममा रोमान्टिक हिरोको भूमिका निभाए । सोलो लिड एक्टरको रुपमा ५१ फिल्ममा अभिनय गरे । ऋषि आफ्नो जमानाको चकलेटी हिरोमध्येका एक थिए । उनले श्रीमती नीतूसँग १२ वटा फिल्ममा अभिनय गरिन् ।

ऋषिले निर्देशनमा पनि आफ्नो हात अघि बढाए । उनले सन् १९९८ मा अक्षय खन्ना र ऐश्वर्या रायद्वारा अभिनित फिल्म ‘आ अब लौट चले’ फिल्म निर्देशन गरे । ऋषि कपुरले आफ्नो करियरको सुरुवात रोमान्टिक भूमिकामा निभाएका थिए तर फिल्म ‘अग्निपथ’ मा उनलाई खलनायकको भूमिका देख्दा सबैजना अचम्मित भएका थिए । ऋषिले यसका लागि आइफा बेस्ट नेगेटिभ रोलको अवार्ड पनि हात पारेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप