केन्द्रीय संस्करण
नीतिकथा

महर्षि आश्वलायन र देवदत्त

person explore access_timeबैशाख १८, २०७७ chat_bubble_outline0

 

—मुक्तिबन्धु

महर्षि आश्वलायन आफ्नो समयमा चौतर्फी रुपमा कहलिएका गुरु थिए  । उनले पढाएको हरेक विद्यार्थी राष्ट्रको प्रतिभाशाली र यशश्वी व्यक्तित्वमा गनिएको थियो । कोही प्रतिभाशाली प्रधानमन्त्री थियो, कोही सफल सेनापति थियो, कोही सहकारमुखी कृषिविज्ञ थियो त कोही विख्यात चिकित्साकर्मी थियो । आफ्ना चेलाहरुका यी सफलतालाई लिएर महर्षि आश्वलायनलाई बडो गर्व थियो ।

महर्षि आश्वलायन सदाचार तथा सनातन संस्कृतिसम्बन्धी विभिन्न सूत्रग्रन्थका प्रणेता थिए । उत्तरवैदिक कालीन भारतवर्षमा एक वहुआयामिक विज्ञ गुरुका रुपमा महर्षि आश्वलायनको ख्याति  साँच्चिकै बेजोड थियो ।

एक दिन ऋषि अअश्वलायनले सुने, ‘उनले पढाएका प्रतिभाशाली  विद्यार्थीमध्येको एक देवदत्त कुरुजनपदनजिक एक जङ्ंगलमा भयङ्ंकर दस्यु बनेर जनतालाई दुःख दिइरहेको छ । उसका क्रूर कर्मले गर्दा कुरुजनपदका जनता त्राहिमामको अवस्थामा छन् । राज्यका सेना र सेनापतिले पनि उसलाई नियन्त्रण गर्न सकेका छैनन् ।’

यो समाचार सुनेपछि महर्षि आश्वलायन कुटीमा सुत्न निदाउन सकेनन् । आफ्ना विद्यार्थी देवदत्तलाई भेट्न उ रहेको जंङ्गलतिर जान हिँडे । परिजनहरुले रोक्न खोजे । महर्षि रोकिएनन् । जाँदाजाँदै रात पर्‍यो । रात भयङ्ंकर अन्धकारमय थियो । आकाशमा बादल गर्जिरहेको थियो । महर्षि आश्वलायन रोकिएनन् । सरासर त्यसै जङ्गलभित्र छिरे, जहाँ देवदत्त अखाडो बनाएर बसेको थियो ।

अन्धकार रातमा आफूतिर आँउँदैको एक कालो छाया देखेर दस्यु देवदत्तले ललकार्दै भन्यो, “खबरदार ! अगाडि नबढ् !! अगाडि बढिस् कि मरिस् !!! म भयङ्कर खड्गधारी दस्यु देवदत्त बोल्दै छु ।”

घना अन्धकारमा दस्यु देवदत्तको आवाज घननन्न घन्कक्दै गुन्जियो । महर्षि आश्वलायन किन्चित् रोकिएनन् । केही कदम अगाडि बढ्नासाथ आश्वलायनका थाप्लोमा दस्यु देवदत्तको तरवार बज्रिन आइपुग्यो । महर्षिले ऐया पनि भनेनन् । उनका थप्लोबाट रगतका अजस्र धारा छुटे ।

ठीक यसैबेला आकाशमा झललल्ल बिजुली चम्क्यो । बिजुलीको उज्यालोमा दस्यु देवदत्तले गुरु आश्वलायनलाई राम्रैसित देख्यो र चिन्यो । उसलाई तत्काल भयङ्कर अपराधबोध भयो । “माफ पाउँ गुरु !” भन्दै गोडामा छाँद हाल्यो ।

किन्चित् विचलित नभई गुरु आश्वलायनले भने, “मैले तिमीबाट यथोचित सजाय पाएँ । चेला खराब बनिननुको सजाय गुरुले नपाए कसले पाउने ? मजस्ता गुरुले तिमीजस्ता चेलाबाट यसरी यस्तै सजाय पाउनै पर्थ्यो, हैन र ? जे भयो, हुनैपर्ने भयो । मसँग तिमीले माफी माग्नुको कुनै तुक छैन ।  म सजाय पाउनकै लागि यहाँ आएको थिएँ । पाएँ । मेरो निर्णयमा मलाई कुनै दुविधा पनि छैन ।”

गुरु आश्वलायनको भनाइबाट दस्यु देवदत्तको घैँटोमा झलमल्ल घाम लाग्यो । त्यसै क्षणबाट उ रुपान्तरित भयो । अव जीवनमा यस्ता आततायी र परपीडक काम नगर्ने प्रतिज्ञा गर्दै गुरुसँग भन्यो, “म जीवनभर सेवाव्रती बनेर यस अपराधको प्रायश्चित्त गर्छु,  गुरु , आशीर्वाद पाऊँ ।”

(पहिलेका गुरु आश्वलायनका चेला दस्यु देवदत्त त आफ्ना गुरुमाथि तरबाट प्रहारको अपराधपछि चेत खुलेर रुपान्तरित भएको थियो । उसको घैँटोमा त घाम लागेको थियो । अहिलेका हाम्रा सत्तासीन देवदत्तहरु आफ्ना गुरु तथा जन्मदाता आम जनतामाथि आफूले पटक पटक गरेका भयङ्कर आघात र त्यसबाट घटित जन–जनको छट्पटी देखेर पनि किन्चित् रुपान्तरित भएको देख्न पाइएको छैन । यिनीहरुका घैँटामा घाम लागेको देख्न पाइएको छैन । बरु अरु उन्माद थपिएको स्थितिमा थप नाङ्गो नाचमा निमग्न देख्न पाइएको छ । धन्य छ चेतनाहीनताको करामात !!)

१६ बैशाख २०७७ ।

 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.