आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

बामदेवपत्नी तुलसाद्वारा ओलीको पक्षमा हस्ताक्षर गर्न अस्वीकार

बुधबार, १७ वैशाख २०७७, १८ : ४५
बुधबार, १७ वैशाख २०७७

काठमाडौं । पार्टीभित्रको विवाद बढ्दै जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलमा आफ्नो बहुमत देखाउने प्रयासलाई जारी राखेका छन् । त्यसका लागि उनले आफ्ना निकटस्थमार्फत सांसदहरुको हस्ताक्षर अभियाननै चलाएका छन् । 

नेकपा संसदीय दलमा आफ्नो बहुमत देखाएर प्रधानमन्त्री पदमै रहिराख्ने योजनाअनुरुप ओलीले यो कसरत थालेका हुन् । पार्टीभित्र प्रधानमन्त्री र अध्यक्ष दुवै पद छाड्न ओलीमाथि चर्को दवाव छ । विशेषतः दुई विवादास्पद अध्यादेश ल्याएपछि ओलीमाथि दवाव बढेको हो । 

आफूमाथि पद छाड्ने थप दवाव बढेपछि बुधबार बिहानमात्रै पनि ओलीले झण्डै एक दर्जन सांसदहरुलाई बालुवाटर बोलाएर हस्ताक्षर गराएका छन् । 

 ओलीको बोलावटमा बुधबार बिहान बालुवाटार पुगेका सांसदहरुले आफूले खाली कागजमा हस्ताक्षर गरेको बताएका छन् । 

बालुवाटामा बोलाइएकामध्ये नेकपा उपाध्यक्ष वामदेव गौतमपत्नी तथा सांसद तुलसा थापा (गौतम) ले भने हस्ताक्षर गर्न अस्वीकार गरेकी छिन् । 

हस्ताक्षर अभियान चलाउँदा पार्टीभित्र थप समस्या आउने ठानेर आफूले हस्ताक्षर नगरेको थापाले रातोपाटीलाई बताइन् । ‘पार्टीकै एक सांसद साथीले बालुवाटार आउन खबर गरेपछि म पनि पुगेको थिएँ’, रातोपाटीसँग उनले भनिन्, ‘एकाएक हस्ताक्षर गर्न भनियो, मैले यो उचित कार्य होइन भनेर हस्ताक्षर गरिनँ ।’

करिब एक घण्टा बालुवाटार बस्दा आफूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटघाट गरेको बताइन् । तर सो भेटका क्रममा सामान्य राजनीतिक अवस्थाबारे कुरा भएको तर प्रधानमन्त्रीले चाहिँ हस्ताक्षर गर्न दवाव नदिएको उनले दावी गरिन् ।

 तर स्रोतका अनुसार थापाले प्रधानमन्त्रीलाई ‘हस्ताक्षरको तमासा बन्द गर्नुस्, यसले पार्टीलाई थप गुटबन्दीतर्फ लैजान्छ’ भन्दै जवाफ दिएकी थिइन् ।  तर ओलीले भने पूर्वएमाले सबै एकठाउँमा रहेकाले हस्ताक्षर गर्न सुझाएका थिए । यसविषयमा रातोपाटीले जिज्ञासा राख्दा उनले भनिन्, ‘म बालुवाटार गएको हो र प्रधानमन्त्रीलाई भेटेको पनि हो । तर मैले हस्ताक्षर गर्न उचित ठानिनँ, नगरी आएँ ।’ 

यसअघि प्रम ओलीविरुद्ध पनि केही सांसदहरुले हस्ताक्षर अभियान चलाएको समाचार आएका थिए । 

तर, हिजो प्रधानमन्त्रीसँग अर्का अध्यक्ष पुष्पकमल दाहालसँगको भेटपछि उक्त हस्ताक्षर अभियान भने रोकिएको बताइएको छ ।

प्रतिनिधिसभामा नेकपाका १७४ सांसद छन् । संसदीय दलमा आफ्नो बहुमत देखाउनका लागि ओलीलाई ८८ सांसद चाहिन्छ । ओली पक्षको दावीअनुसार उनको पक्षमा अहिले ७८ छ  । बाँकी संख्या पुर्याउन ओली अहिले तीव्र दौडधूपमा लागेका हुन् । संसदीय दलमा आफ्नो बहुमत देखाउन सके प्रधानमन्त्री र पार्टी अधयक्ष पद दुवै सुरक्षित रहने ओलीको बुझाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप