शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘नेकपाले ओलीको विकल्प दिनुपर्छ, काँग्रेसले स्वागत गर्छ’

मङ्गलबार, १६ वैशाख २०७७, १५ : ३६
मङ्गलबार, १६ वैशाख २०७७

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सरकार परिवर्तन गर्न सक्ने हैसियतमा छैन । काँग्रेसले सरकार परिवर्तनको राजनीतिक एजेन्डा पनि बनाएको छैन । तर २०७७ साल सुरु भएसँगै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र सत्ता परिवर्तनको खेल सुरु भएको गन्ध आउने थालेको छ । योसँगै काँग्रेसका नेताहरुले पनि नेकपाले वर्तमान सरकारको विकल्प दिनुपर्नेमा जोड दिन थालेको छन् । काँग्रेस उपसभापति विमलेन्द्र निधिले रातोपाटीसँगको कुराकानीमा नेकपाले वर्तमान सरकारको विकल्प दिनुपर्नेमा जोड दिएका छन् । प्रस्तुत छ रातोपाटीले निधिसँग गरेको कुराकानी : 

मुलुक लकडाउनमा छ तर नेपाली राजनीति निकै गर्माएको छ । यसलाई कसरी हेरिरहनु भएको छ ?
–विश्व कोरोनासँग लडिरहेको बेला सरकारका तर्फबाट दुईवटा अध्यादेश आए । कोरोना महामारीविरुद्ध लड्नुपर्ने बेला लोकतन्त्र र संविधानकै विरुद्धमा पदीय राजनीति अगाडि बढ्नु नराम्रो थियो । हामीले पनि विरोध गर्यौँ । जनताले पनि विरोध गरे, नेकपाको अन्तरविरोध देखियो । हामीले प्रतिपक्षी दलको बैठक पनि गर्यौँ । त्यसपछि उहाँ (प्रधानमन्त्री केपी ओली)ले अध्यादेश फिर्ता लिनुभयो ।

त्यसका दुईवटा सन्देश छन् । यो सरकार जुन दिन गठन भयो त्यो दिनदेखि सङ्घीयता, लोकतन्त्र, यो प्रणाली, यो संविधानप्रति प्रतिबद्ध छैन । यो सरकार एक दलीय र व्यक्तिवादी प्रणालीतिर उन्मुख छ भनेर हामीले सुरुदेखि नै भन्दै आएका थियौैँ । त्यो पुष्टि भएको छ ।

अर्कोतिर यो शुभ सङ्केत पनि हो । किनभने नेपाली जनता, राजनीतिक दल, नागरिक समाज र मिडियाले कुनै पनि अधिनायवादी र निरङ्कुश प्रवृत्ति आउनथाल्यो भने हामी प्रतिरोधमा उत्रिन्छौँ भन्ने सन्देश दिएका छन् ।
यही भएर नै सरकार अध्यादेश फिर्ता लिन बाध्य भएको हो । तर हामीले खतार टुङ्ग्यो भनेर लिएका छैनौँ । कुनै पनि बेला फेरि दोहोरिन सक्छ । यो प्रवृत्ति हो । यो प्रवृत्तिको अन्त्य नभएसम्म यस्तै रहन्छ । 
योबीचमा प्रधानमन्त्रीकै संलग्नतामा सांसद अपहरण कुरा छ ।

पूर्वआईजीपी सर्वेन्द्र खनाल, नेकपाका सांसद महेश बस्नेत, किसान श्रेष्ठबाट सांसद डा. सुरेन्द्र यादवको अपहरण भएको छ ।  फेरि सुनियो, प्रहरीले मुद्दा पनि दर्ता गर्न मानेन रे । यो त अच्चम भयो । जाहेरी दिँदा पनि मुद्दा दर्ता नगर्ने यो कुन शासन हो ? देशमा संविधान नै छैन ? यो मनपरी तन्त्र हो ? यसले झन् खतरा कायमै छ भन्ने मैले ठानेको छु । हामी सबै सचेत हुनुपर्दछ ।

तपाईंले सरकार वर्तमान राज्य व्यस्थाप्रति बफादार नभएको कुरा गर्नुभयो । काँग्रेस यो सरकारको विकल्प खोज्ने पक्षमा हो ? 

–काँग्रेससँग विल्कप छैन तर देशले विकल्प खोजिरहेको छ । सरकार बदल्नका लागि संविधान सम्मत जानुपर्यो । संविधान सम्मत जनका लागि हामीसँग बहुमत हुनुपर्यो । हामीले कसैलाई समर्थन गरेपछि कोही अर्को प्रधानमन्त्री बन्छ भने त्यो सम्भावना हुनपर्यो । हामीले हावाका कुरा गर्नु भएन । जसले वास्तविकताको धरातलका उभिएर सोच्छ, वास्तवमा क्रान्तिकारी र राजनीति नेता पनि त्यही हो । संसदभित्रको हाम्रो साइज हामीलाई थाहा छ ।

काँग्रेसले आफ्नो तर्फबाट विकल्प दिन सक्दैन । यसमा लाज मान्ने कुरा पनि छैन । चुनावमा जनताले जति भोट दिए त्यसले हामी परिवर्तन गर्नसक्ने अवस्थामा छैनौँ । तर देशलाई विकल्प चाहियो । अहिलेको सरकारको नेतृत्वबाट देशको अधोगति भइराखेको छ । सरकारमा बस्नेहरुमा यो दुःखद् घडीमा मानवीय संवेदनशीलता पनि देखिएन ।

जनताको ज्यान जोगाउने बेलामा पदीय र दलीय राजनीतिलाई प्राथमिकता दिनु भनेको सरकारको अयोग्यता, अदूदर्शिता हो । अब यसको विकल्प खोज्नैपर्छ । अहिलेको अवस्थामा विकल्प दिने पनि नेकपाले नै हो । नेकपा विकल्प दिन तयार छ कि छैन, प्रश्न यहाँनिर छ ?

त्यसो भए नेकपामा विकल्पको खोजी होला ? त्यसमा काँग्रेसको भूमिका कस्तो रहन्छ ?

–नेकपाले वैकल्पिक नेतृत्वको खोजी गर्यो भने काँग्रेसको साथ रहन्छ । यो नेकपाको आन्तरिक कुरा पनि हो । अहिलेको नेतृत्व कोरोनाको विरुद्धमा लड्न सक्दैन । नागरिकको ज्यान जोगाउने कुरामा लड्न सक्दैन । राजानीतिलाई सही दिशा दिन सकिरहेको छैन ।

लोकतन्त्रलाई सुदृढीकरण गर्नुको साटो आक्रमण भइरहेको छ ।अहिलेको सरकारको नेतृत्वबाट लोकतन्त्रलाई कमजोर र खतरामा पर्ने काम भइरहेको छ भने संविधानलाई असफल बनाउने काम भइराखेको छ ।यो सरकारको विकल्प खोज्ने ठाउँ भनेको नेकपा र संसद हो । नेकपाले यसको विकल्प दियो भने हामीलाई केको आपत्ति ?

नेकपाभित्रका गतिविधि नियालि राख्नुभएको छ होला । तत्काल सरकार परिवर्तन हुने सङ्केत देख्नुभएको छ ?

–नेकपाभित्रको सबै गतिविधि त मलाई जानकारी छैन । २० जनाले स्थायी समितिको बैठक माग गरेको सुनेको छ । झलनाथ खानलजी, माधव नेपालजी, प्रचण्डजी एक ठाउँमा आएको सुनेको छु । ओलीजीसँग नजिकका मान्छे पनि छैनन् भन्ने सुनेको छु । मसँग अरू खासै सूचना छैन ।

सरकारको विकल्प खोज्ने विषयमा चर्चा भइरहेको छ । यस विषमा सत्तारुढ दलका केही नेताहरुसँग तपाईंहरुले छलफल गर्नु भएको छ ?

–केही छलफल भएको छ । प्रधानमन्त्रीजीसँग हाम्रो पार्टी सभापतिजीको छलफल भएको हो । बेलाबखत नागरिकहरुले कोरोना महामारी कारण हामी समस्यामा छौँ भनेपछि त्यसको सहजीकरणका लागि गृहमन्त्री, परराष्ट्रमन्त्रीसँग फोन गर्नुबाहेक मैले छलफल गरको छैन ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि तपाईंहरुले पार्टीभित्र आन्तरिक छलफल गरी सरकारको ध्यानाकर्षण गराइराख्नु भएको छ, सरकारी तहबाट कत्तिको सुनुवाइ भइरहेको छ ? 

–सरकार न आफू कुनै काम गरिरहेको छ न अरूले दिएको सुझाव मानिहरेको छ । कोरोना रोकथामका लागि सरकारले गरेको एउटै राम्रो काम भनेको लकडाउन गर्नु मात्र हो । तर सरकारसँग तत्काल योजना केही छैन । लकडाउन लगाएर सामाजिक दूरी कायम गर्ने हो । त्यो ठीक छ । त्योबाहेक सरकारले केही गरेको छैन । 

पहिले परीक्षणको दायर बढाउन काँग्रेसले आग्रह गरिरहेको थियो । फेरि ¥यापिड टेस्ट रोक्न किन माग गरियो ?

–कोरोना परीक्षणका लागि पीसीआर विधि नै प्रभावकारी मानिन्छ । त्यसैले ¥यापिड टेस्टमाथि विश्वभर आशङ्का उत्पन्न भइरहेको छ । हाम्रोमा त झन् गुणस्तरहीन भन्ने छ । -यापिड टेस्टको रिजल्ट पनि राम्रो आएको देखिँदैन । त्यसैले काँग्रेसले रोक्न आग्रह गरेको हो ।

हामीले पीसीआरको दायरा बढाउन पनि माग गरेका छौँ । तर पीसीआरबाट प्राप्त मात्रामा परीक्षण भइराखेको छैन । 
केही ठाउँमा पीसीआर परीक्षणका उपकरणले पनि काम गरिहेको छैन । गुणस्तरहीन पीसीआर किनेर पठाइएको छ । त्यसले राम्रोसँग काम गर्ने कुरा भएन । वीरगञ्जमा पठाइएको पीसीआरको ठूलो मेसिन काममै आएको छैन ।

त्यसका लागि चाहिने आवश्यक सामान नै छैन । ¥यापिड टेस्टिङको किट नक्कली आएको छ । आइतबार हामीले केही स्वास्थ्य क्षेत्रका विज्ञसँग कुरा ग¥र्यौं । उहाँहरुले भन्नुभयो, ¥यापिड टेस्टिङ पनि चाहिन्छ तर त्यसका लागि गुणस्तरीय उपकरण हुनुपर्छ । त्यो नहुँदा गलत रिपोर्ट आइरहेको छ । क्वारेन्टाइन पनि मापदण्ड अनुसार बनाइएको छैन । पहिले पहिले गाउँघरतिर  बिहेमा जन्ती ल्याएर एउटै हलमा २ सय, ३ सय जना राखे जसरी क्वारेन्टाइनमा राखिएको छ । न शौचालय छ न केही छ । क्वारेन्टाइन नै सङ्क्रमणको हट स्पोर्ट हुन थालेको छ । 

आईसीयू बेर्ड छैन, भेन्टिलेटर छैन । यसको योजना बनाउनुपर्यो पनि सरकारले ? भोलि सोझै आउट ब्रेक भयो भने के गर्ने ? यता लकडाउन लगाएको यति दिन भइसक्यो । यत्रो दिनमा गर्नुपर्ने काम नगरेर निकम्मा सावित भएको छ । कोरोना सङ्क्रमितको उपचार भइरहेको छ । तर कोरोना बाहेकका बिरामीको उपचारको कुनै प्रबन्ध मिलाइएको छैन । उनीहरुको इलाज हुनु पर्दैन ? 

स्वास्थ्यकर्मीका लागि चाहिने सुरक्षा सामग्रीको पनि पर्याप्त प्रबन्ध गरिएको छैन । सरकारसँग पैसा नभएको होइन । काँग्रेसले दिएको छ, जनताले दिएका छन्, निजी क्षेत्रले दिएको छ ।
सरकारले अन्य विकासको बजेट काटेर यतै खर्च गर्दा हुन्छ । जनता बाँचे पो विकास गर्ने हो ? यसबारे काम गरेको छैन । सरकार निकम्मा भएको छ । हामी गम्भीर भएको छौँ ।

सरकारले कसैको कुरा सुनेन र सुझाव ग्रहण गरेन भन्ने हो ?
–प्रधानमन्त्रीले कसैको सुझावलाई वास्ता गर्नु भएको छैन । हामी गरिहेको छौँ भन्नुबाहेक केही गर्नुभएको छ ? कोरोनासँगको लडाइँमा हामीले सुरुदेखि नै सरकारलाई सहयोग गरेका छौँ । सरकारले हामीसँग कुनै सरसल्लाह गरेको छैन । 
विशेषज्ञसँग पनि सरसल्लाह गरेको छैन । आइतबार हामीले १५, २० जना डाक्टरसँग छलफल गरेको थियौँ । उहाँहरुको भनाइ अनुसार सरकारले समन्वयकारी भूमिका  देखाएको छैन । 
उहाँले काँग्रेसको सरकार भएको बेला कतै पदाधिकारी थिए भने यो त काँग्रेसी हो । यसको सल्लाह लिनु हुँदैन भन्ने देखिन्छ ।

जिल्ला जिल्लाबाट आएको रिपोर्ट पनि त्यहीँ छ । राहत वितरण र कोरोना भाइरसँगको लडाइँमा पनि भेदभाव भइरहेको छ । यो सरकार विचित्रको छ ।

सरकारले कोरोनासँग मुकाविला गर्न बनाउन लागिएको पोलिसीमा पनि विषय विशेषज्ञ छैनन् । यसमा पब्लिक हेल्थाका र भाइरोलोजी सम्बन्धी डाक्टर प्राथमिकतामा परेका छैनन् । कोरोनाको विषयसँग असम्बन्धित डाक्टरहरु राखेर छलफल भइरहेको छ । सरकारको यस्तो काम देखेर छक्क परेका छौँ ।

कोरोना रोकथाममा सरकार गम्भीर भएको पाउनु भएन त्यसो भए ?
–प्रधानमन्त्री यस विषयमा गम्भीर हुनुहुन्न भन्ने कुरा त एक्सनबाट बुझिन्छ । देशभर रहेका अस्पतालले सेवा दिरहेका छन् कि छैनन् ? सरकार बालुवाटारमै हराएर हुन्छ ? जम्मै अस्पताल बन्द छन् । अर्कोतिर सय जनाभन्दा बढी आइसोलेसनमा राख्नुपर्ने बिरामी आए भने हालत खराब हुने स्थिति छ । कहाँ राख्ने ? यसबारे सरकारले सोच्नुपर्दैन ?

वर्तमान सरकारबाट कोरोना महामारी पार लाग्दैन भन्ने तपार्इंको निष्कर्ष हो ?
म त्यस्तै अवस्थामा छु । हामी त भगवान भरोसामा बाँचिराखेका छौँ । लकडाउन खोलेपछि फेरि यो विस्फोट हुन्छ । हामी त्यसपछि नियन्त्रण नै गर्न सक्दैनौँ । सरकारको नेतृत्वको सक्रियता, योजना र काम कारबाहीबाट कोरोना रोकिएको होइन । 

त्यसो भए कोरोना महामारीकै बीचमा नयाँ सरकार बनाउनुपर्ने तपार्इंहरुको माग हो ?
–सरकार बनाउने कुरा हाम्रो राजनीतिक एजेन्डा होइन । तर अहिलेको सरकार कोरोना महामारी नियन्त्रण गर्न सक्षम छैन । यसको वैकल्पिक सरकार दिने काम नेकपाकै हो । नेकपाले विकल्प दियो भने त्यसलाई हामीले स्वीकार गर्छौँ ।

नयाँ सरकारको स्वागतका लागि काँग्रेस आतुर छ ?
 स्वभाविक रूपमा हामी स्वागत गर्छौं ।

अन्त्यमा केही भन्नु छ ?

कोरोना भाइरस भगवानको कृपाले हाम्रो देशमा थोरै देखिएको छ । तर हामी विस्वस्त हुने अवस्थामा छैनौँ । कुनै दिन यो भयानक विस्फोटका रूपमा आयो भने हाम्रो यो तयारीबाट नियन्त्रण गर्न सम्भव छैन ।

अहिलेको सरकारले योभन्दा थप केही गर्छ भन्ने पत्यार पनि छैन । वर्तमान सरकारको विकल्प नेपाल कम्युनिस्ट पार्टीले दिनुपर्छ । यो सरकार त अक्षम सावित भइरहेकै छ । सत्ताधारी दल पनि असफल हुन्छ । सत्ताधारी दल चनाखो हुनुपर्यो  । योजनासहित आउनुपर्यो ।

अब हामी नेपाली दाजुभाइ र दिदीबहिनी पनि चनाखो हुनुपर्यो । हामी आफैले आफ्नो ज्यान जोगाउन आफ्नो ठाउँबाट सजक हुने काम गर्नुपर्यो । संसारमा कोरोना नियन्त्रणको जुन तरिका छ, त्यो तरिका अबलम्बन गर्नुबाहेक हामीसँग कुनै उपाय छैन । त्यो उपाय अवलम्बन गर्न दाजुभाइ दिदीबहिनीलाई अपिल गर्नु चाहन्छु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप