पर्यटन क्षेत्रको ११३ अर्ब लगानी उच्च जोखिममा, मासिक एक अर्ब ८० करोड डुब्दै
काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) का कारण नेपालको पर्यटन क्षेत्रका करिब सवा एक खर्ब रुपैयाँ बराबरको लगानी उच्च जोखिममा परेको छ ।
पर्यटन होटल, रेस्टुरेन्ट, एयरलाइन्सदेखि ट्राभल, ट्रेकिङ, क्लाइम्बिङ, -याफ्टिङ लगायतका विविध क्षेत्रमा भएको लगानीको रकम यस्तो जोखिममा परेको हो ।
कोरोनाबाट प्रमुख प्रभावित क्षेत्र नेपालको पर्यटन क्षेत्रमा केकति लगानी छ र कति हानि नोक्सान भयो भन्ने विषयमा पर्यटन बोर्डले तयार गरेको रिपोर्टले यस क्षेत्रमा कुल एक खर्ब १३ अर्ब रुपैयाँ बराबरको लगानी रहेको र हालसम्म झण्डै १० अर्ब बराबरको नोक्सान भएको देखाएको छ ।
बोर्डको नेतृत्वमा विभिन्न व्यावसायिक सङ्घ संस्थाहरुले निकालेको रिपोर्टमा सबै गरी कुल एक खर्ब १३ अर्ब ६२ करोड ४५ लाख ६५ हजार ४ सय ६४ रुपैयाँ लगानी रहेको र कोरोनाका कारण मासिक एक अर्ब ८० करोड रुपैयाँका दरले नोक्सान हुँदै गएको उल्लेख गरिएको छ ।
उक्त अनुसन्धानले होटल, पर्यटन व्यवसाय र एभियसन (हवाई) क्षेत्रको लगानी समेत जोडेर यस्तो तथ्याङ्क निकालेको हो । उक्त लगानीमा बैङ्किङ क्षेत्रबाट मात्र ५४ अर्ब रुपैयाँ बराबरको कर्जा लगानी रहेको अनुसन्धानले देखाएको छ ।
गत फागुन मसान्तसम्म पर्यटन क्षेत्रमा कुल ५३ अर्ब ७६ करोड ८९ लाख ६ सय (रु. ५३,७६,८९,२२,६००) रुपैयाँ बैङ्किङ कर्जा रहेको रिपोर्टले देखाएको छ । जसबापत मासिक ८० करोडभन्दा माथि ब्याज उठ्ने गरेको र यसबाहेक सवारी भाडा, खर्च, व्यावसायिक भाडा, कर्मचारीको तलब, भत्ता लगायतको खर्चमा मासिक एक अर्ब बराबरको खर्च हुने गरेको रिपोर्टमा उल्लेख छ ।
विविध स्रोत साधनको भाडामा मात्र मासिक १२ करोडभन्दा माथिको खर्च हुने गरेको रिपोर्टमा देखाइएको छ । यसैगरी फ्रन्टलाइनमा रहेर काम गर्ने करिब २३ हजार कर्मचारीसहित करिब ५ लाख कर्मचारीहरुको खर्च रिपोर्टमा देखाइएको छैन ।
कोरोनाका कारण पूर्णतः प्रभावित पर्यटन क्षेत्रको मूल्याङ्कन तथा भावि रणनीतिको प्रोटोकलमा प्रारम्भिक तथ्याङ्कहरु समेटिएको र सोही अनुरूप पर्यटनको उत्थानका लागि योजना बनाउन मन्त्रालयमा सो प्रोटोकल बुझाइएको बोर्डका कार्यकारी निर्देशक (सीईओ) धनञ्जय रेग्मीले बताए ।
‘कोरोनाका कारण पर्यटन क्षेत्र ठूलो घाटामा छ । खर्बाैंको लगानी रहेको यो क्षेत्र डुब्ने अवस्था आए सरकारलाई नै ठूलो नोक्सान पर्छ,’ सीईओ रेग्मीले भने, ‘पर्यटनको घाटा कसरी कम गर्न सकिन्छ र कसरी व्यवसाय सुचारु गर्न सकिन्छ भनेर हामीले योजना बनाएका छौँ । त्यो हामीले तयार गरेर मन्त्रालयमा बुझाएको प्रोटोकलमा उल्लेख गरेका छौँ ।’
रेग्मीका अनुसार एकैपटक उठाउन सम्भव नभएको पर्यटन क्षेत्रको व्यवसाय विस्तारै माथि उकास्न क्रमशः एक एक क्षेत्र गर्दै व्यवसाय खोल्ने रणनीति प्रोटोकलमा तयार गरिएको छ । सम्भव भएका र जोखिम कम भएका क्षेत्रलाई विस्तारै सामाजिक दूरी कायम गर्दै सुचारु गर्नुपर्ने मागसहित मन्त्रालयको ध्यानाकर्षण गरेको उनको भनाइ छ ।
‘हामीले एकैपटक सबै क्षेत्र खोल्नुपर्छ भनेका छैनौँ र त्यो सम्भव पनि छैन । विस्तारै कम प्रभावित क्षेत्रलाई सुचारु गर्दै लान सकिन्छ । यस मानेमा हामीले सामाजिक दूरी कायम गर्दै १, २, ३ गर्दै व्यवसाय क्रमशः खोल्दै जान सकिन्छ’ सीईओ रेग्मीले भने ।
त्यसो त कोरोनाका कारण सबैजसो क्षेत्र प्रभावित हुँदा तुलनात्मक रूपमा अझ बढी प्रभाव नेपाली पर्यटन क्षेत्रमा परेको छ । सन् २०१९ को डिसेम्बरमा नै चीनमा देखिएको कोरोना महामारीका कारण सुरुदेखि नै पर्यटन क्षेत्र प्रभावित हुँदै आएको छ । डिसेम्बरदेखि अप्रिलसम्म आइपुग्दा यो क्षेत्रले ठूलै नोक्सानी बेहोरिसकेको छ ।
पर्यटन क्षेत्रलाई पुरोना अवस्थामा फर्काउन सरकारको दरिलो साथ चाहिन्छ
कोरोनाका कारण नेपाली पर्यटन क्षेत्र संकटको अवस्थामा पुगेको र अब यसको पुनरजीवनका लागि सरकारको दरिलो साथ चाहिने निजी क्षेत्रका पर्यटन व्यवसायीहरुको भनाइ छ । सरकारको साथबिना अब पर्यटनले सितिमिती स्वास नफेर्ने समेत उनीहरुको भनाइ छ ।
विषम परिस्थितिलाई मध्यनजर गर्दै सरकारले पर्यटन क्षेत्रको बैङ्किङ कर्जा, कर्जाको ब्याज, भुक्तानी र अन्य सेवा सुविधालाई ध्यानमा राखी नीतिगत व्यवस्था गर्नुपर्ने होटल व्यवसायी सङ्घ, होटल एसोसिएसन अफ नेपाल (हान)का अध्यक्ष सृजना राणाले बताइन् ।
‘कोरोनाका कारण पर्यटन क्षेत्रको सवा एक खर्ब बराबरको लगानी जोखिममा परेको छ । मासिक एक अर्ब ८० करोडको नोक्सान व्यहोर्दै छौँ । भने हाम्रो अवस्था कस्तो होला ? अहिलेको अवस्थामा त हाम्रो व्यवसाय पछारिएको अवस्था हो । अब सितिमिती त्यसै यो क्षेत्र माथि उठ्न सक्ने अवस्था छैन । यसका लागि सरकारको विशेष साथ र सहयोगको आवश्यकता पर्छ ।’ अध्यक्ष राणाले भनिन्, ‘हामी सरकारसँग पूर्ण आशावादी छौँ ।’
अध्यक्ष राणाका अनुसार अहिलेको अवस्थामा जति पनि व्यवसायीहरुले बैङ्कबाट ऋण लिएर व्यवसाय सञ्चालन गरेका छन् ती व्यवसायीहरुलाई ब्याजमा छुट र भुक्तानीको समयावधि केही समय पर लम्ब्याइदिनुपर्छ । त्यस्तै, व्यवसाय पुनस्र्थापित गराउन चाहिने लगानीको सहुलियत दरका पुनरकर्जाको प्रबन्ध गरिदिनुपर्छ ।
‘हामीले हुनै नसक्ने र दिनै नसक्ने गरी त भन्न भएन तर यस्तो कर्जा कम्तीमा ५ देखि ७–८ प्रतिशतसम्म भयो भने व्यवसाय पुनरस्थापित गर्न सकिन्थ्यो कि भन्ने हो । यस्तो अवस्था नरहे धेरै होटल व्यवसाय डुब्ने र टाट पल्टने अवस्था आउन सक्छ ।
सन् २००४–२००५ मा जसरी विषम परिस्थितिका कारण शेर्पा होटल, रुष्टा होटेल, उड्लेन होटल, नारायणी होटल जस्ता तारे होटल बन्द भए त्यसैगरी अहिलेको यो समस्याले पनि कयौँ व्यवसाय बन्द हुन सक्छन् । त्यसैले यी सम्भावनालाई मध्यनजर गर्दै सरकारले उचित राहत प्याकेजको नीति ल्याउनु पर्छ,’ राणाले भनिन् ।
यता निजी क्षेत्रकै पर्यटन व्यवसायीहरुको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष खुम सुवेदी अहिलेको विषम परिस्थितिको सङ्कटबाट पर्यटन क्षेत्रलाई माथि उठाउन सरकारले व्यवसायीहरुलाई सहुलियत ब्याजदर सहितको पुनरकर्जाको विशेष व्यवस्था गर्नुपर्ने बताउँछन् ।
निजी क्षेत्रको व्यवसायीहरुलाई कम्तीमा २० लाख रुपैयाँ बिना धितो कर्जा उपलब्ध गराउनु पर्ने उनको भनाइ छ ।
‘पहिलो कुरो जीवन बाँच्नु प¥यो र व्यवसाय टिक्नुप¥यो । अनि समग्र पर्यटन उद्योगको कुरो आउँछ । यहाँ त व्यवसाय नै चौपट भएको अवस्था छ । यस्तो अवस्थामा अब सामान्य रुपमा व्यवसाय पुनरजीवित हुने अवस्था छैन ।’ अध्यक्ष सुवेदीले भने, ‘थला परेको पर्यटन व्यवसाय उकास्न व्यवसायीलाई सरकारले कम्तीमा २० लाख रुपैयाँ बिना धितो कर्जा उपलब्ध गराउनुपर्छ ।’
‘सबै व्यवसायीहरु सम्पन्न र सक्षम कहाँ छन् र ? त्यस्ता कमजोर व्यवसायीलाई अवस्था हेरी कम्तीमा एक वर्षका लागि २० लाख रुपैयाँ उपलब्ध गराउनुपर्छ, अध्यक्ष सुवेदीले भने ।
सुवेदीका अनुसार यस्तो अवस्था नरहे पर्यटन क्षेत्र पहिलेकै गतिमा फर्कन नसक्ने र पर्यटन उद्योगमा दीर्घकालीन प्रभाव पर्ने छ ।
‘कि त सरकारले सके गर नसके मर भन्नु प¥यो, कि त उचित वातावरण मिलाई दिनु प¥यो । नत्र साना तथा मध्यम स्तरका व्यवसायीहरु बाँच्ने अवस्था रहँदैन,’ अध्यक्ष सुवेदीले भने, ‘यदि सरकार आफैले सक्दैन भने विदेशी फन्ट, विश्व बैङ्क, एसियाली विकास बैङ्क, विभिन्न दातृ निकायहरुसँग जमानी बसेर व्यवसायीहरुलाई यस्तो कर्जा व्यवस्था गरिदिनुपर्छ’ अध्यक्ष सुवेदीले भने ।
कर्मचारीलाई तलब १२.५ प्रतिशत मात्रै
कोरोनाका कारण होटल क्षेत्र नराम्रोसँग प्रभावित हुन पुगको छ । छिमेकी मुलुक चीनमा कोरोना सुरु भएदेखि नै प्रभावमा परेको होटल क्षेत्रले आजको दिनसम्म आइपुग्दा झण्डै ४ अर्ब बराबरको नोक्सानी बेहोरिसकेको छ ।
व्यवसाय नहुँदा पनि बैङ्किङ (फाइनान्सिङ) कर्जाको ब्याज, भाडा, सवारी, स्टाफ (कर्मचारी) खर्च लगायतका विविध खर्चले होटलको लगानी जोखिममा परेको हानका अध्यक्ष राणाको भनाइ छ ।
स्टाफकै खर्च भन्ने हो भने पनि अहिले होटलहरुले खुवाउने अवस्था छैन । व्यवसाय नभएको अवस्थामा पनि सरकारले एक महिनाको तलब जसरी पनि खुवाउनु भनेको थियो । हामीले जसोतसो खुवायौँ । तर अब खुवाउने अवस्थामा व्यवसायीहरु छैनन् ।’ अध्यक्ष राणाले भनिन् अब हामीले १२.५ प्रतिशत मात्र खुवाउँछौँ । बाँकी तलबको सट्टा सर्भिस चार्जको रकम छ । त्यही बाँड्दै छौँ । यसले पनि कम्तीमा एक कर्मचारीलाई ३०–४० हजार रुपैयाँसम्म पुग्छ । अहिले तत्कालका लागि समस्या छैन’ अध्यक्ष राणाले भनिन् ।
पर्यटन बोर्डले तयार गरेको रिपोर्टअनुसार होटल क्षेत्रमा कुल ७९ अर्ब ७८ करोड बराबरको लगानी छ । यसमा २८ अर्ब ६८ करोड बराबरको बैङ्किङ कर्जा रहेको छ । बैङ्किङक कर्जाको व्याज, भाडा, कर्मचारी खर्च लगायत गरी मासिक ५० करोड बराबरको खर्च निस्कन्छ । हाल नेपालमा साना ठूला (तारे) होटल गरी २ सय ५६ वटा होटल रहेको तथ्याङ्कमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा नयाँ उद्योग दर्ताभन्दा खारेजको सङ्ख्या धेरै
-
कांग्रेस सभापति देउवा आज धनुषा जाँदै
-
बागमतीमा मन्त्रालयका लागि भवन अभाव, भत्काउन तयारी गरिएको घरमा २ मन्त्रालय
-
प्रधानमन्त्रीले बोलाएको बैठकमा बाबुराम नजाने, सामाजिक सञ्जालबाटै दिए सुझाव
-
मधेस प्रदेशमा डेंगु सङ्क्रमण न्यून, के भन्छन् विज्ञ ?
-
आजको राशिफल : कस्तो रहला आज तपाईंको दिन ?