‘साना उद्यमीलाई सम्बोधन गर्न ढिला नगर सरकार’
विन्द्रा कक्षपति प्रधान
चीनको हुवेइ प्रान्तको ऊहान शहरमा पहिलो पटक देखिएको कोरोनाभाइरस (कोभिड–१९) स्पेन, इटाली, फ्रान्स, बेलायतलगायत यूरोप, अमेरिका, एशिया तथा विश्वको अधिकांश देशहरुमा फैलिसकेको छ ।
हाल भारतमा तिव्र रुपमा फैलिरहेको कोभिड–१९को चपेटामा नेपाल पनि परेको छ । भारतसँगको खुल्ला सीमा, भौगोलिक निकटता र सामाजिक सम्वन्धले गर्दा पनि नेपालमा अझ धेरै सतर्कता अपनाउनु पर्ने देखिन्छ ।
कोरोनाभाइरसको महामारी नियन्त्रण तथा रोकथामका लागि विश्वले अपनाएको उत्तम मोडेल हो लकडाउन । नेपालमा पनि संक्रमित देखिन थालेपछि सरकारले सोही मोडल (लकडाउन)लाई अवलम्बन गर्यो । सुरुका दिनमा कोरोनाभाइरस संक्रमणको डरले बाचेका जनता अब लामो लकडाउनले आफ्नो जीविकोपार्जन र दिनचर्यामा समेत कठिनाई आइपरेकाले थप मर्कामा परिरहेका छन् ।
यो महामारीको प्रतिकुल असर विश्वव्यापी छ र अधिकांश मुलुक यसको प्रभावबाट मुक्त छैनन् । यसले आर्थिक र सामाजिक रुपमा मात्र हैन, मानिसहरुलाई मानसिक रुपमा समेत प्रभावित पारिरहेको छ । कोरोनाका कारण के कति क्षति भए, यकिन भन्न सकिने अवस्था छैन । तर विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुले अध्ययन गरी प्रतिवेदन प्रकाशित गर्न थाले पनि महामारी बढ्दै गएकाले यसको प्रभाव अझ बढ्ने प्रक्षेपण गर्न सकिन्छ । कोभिड—१९ को निदान गर्न कुनै पनि औषधि वा खोप पत्ता लागि नसकेको अवस्थामा विश्वले ठूलो नोक्सानीको सामना गर्नुपर्ने देखिन्छ ।
महामारीबाट विश्वको अर्थतन्त्र नराम्ररी थला परेकोे छ र यसले लामो समय प्रभावित गर्ने निश्चित छ । अर्थतन्त्रलाई बचाउनका लागि भारतलगायत विभिन्न देशले राहत प्याकेजको घोषणा गरिसकेका छन् । यता नेपाल सरकारले पनि राहत प्याकेज ल्याएर अर्थतन्त्रलाई माथि उठाउने दिशामा कदम चाल्न अत्यन्त आवश्यक छ ।
सरकारले साना ऋणीहरुका लागि भने केही व्यवस्था गरे पनि विशेष प्याकेज ल्याएर साना तथा मझौला व्यवसायीलाई माथि उठाउन पहल गर्नुपर्छ । राष्ट्र बैंकले ऋणीहरुका निम्ति भनेर आफ्नो प्रावधानहरुलाई केही खुकुलो बनाएको छ । यता निजी क्षेत्रले पनि उद्योगधन्दा संचालनका लागि र साना ऋणीका लागि भनेर राहतको घोषणा गरिरहेका छन्, यो निकै सराहनीय छ । तर यतिले मात्र ठप्प अर्थतन्त्रलाई ब्यूताउँन सम्भव छैन । यसमा सरकारले बेलैमा सोच्नु पर्छ ।
देशका विभिन्न तह र तप्काबाट पनि सरकारलाई विभिन्न सुझावहरु प्रस्तुत भइरहेका छन् । तर अबको अवस्थामा सुझावले मात्र नपुग्ने भएकाले सरकारलाई साना तथा मझौला उद्योग तथा व्यवसाय विस्तारका लागि दबाब दिनुपर्ने देखिन्छ ।
खासगरी देशका उद्योगी व्यापारीहरुका संगठनहरु नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल उद्योग परिसंघले अहिले पनि सरकार र नेपाल राष्ट्र बैंकलाई सुझावहरु दिएको जानकारीमा आएको छ । सरसर्ती हेर्दा ती सुझावहरु बैंकको ऋण सुविधा र सहुलियतमा मात्र केन्द्रित भएको पाइन्छ ।
यहाँ विचारणीय कुरा के छ भने उद्योगी व्यवसायी बैंकको कर्जा उपभोग गर्ने संस्थामात्र होइन, देशका व्यवसायी भन्नाले ठूला उद्योगीहरु सँगसँगै साना, मझौला तथा लघु उद्योगीहरु पनि हुन् । बैंकबाट कर्जा नलिए पनि अधिकांश साना व्यवसायीहरुले आफ्नो श्रम, धन अनि शिप लगानी गरेका छन् र अहिले व्यवसाय गर्न नपाएर नोक्सानी बेहोर्न बाध्य छन् ।
कोरोनाभाइरस र त्यसका कारण गरिएको लकडाउनले गर्दा थुप्रै स्व–व्यवसाय गरिरहेका स्वरोजगार नागरिक र साना उद्यमीहरु, पेशाकर्मीहरु जसले साना फर्महरुबाट आफ्नो व्यवसाय गरिरहेका छन्, तिनीहरु पनि लामो समयसम्मको कारोबार स्थगनको मारमा परेका छन् । राज्यको नजरबाट टाढा र राज्यको ढोकासम्मको पहुँच नभएका यस्ता उद्यमी व्यवसायीहरुको अवस्थाबारे राज्य बेखबरजस्तै देखिएको छ ।
त्यस्ता साना, मझौला र लघु उद्योग तथा स–साना पसलहरु जो संगठित र असंगठिन जे भएपनि यी सबै राज्यको चलायमान अर्थव्यवस्थाका आधारहरु हुन् । यिनीहरुले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा रोजगारी प्रदान गर्नुका साथै देशका विभिन्न क्षेत्रमा आफ्नो सेवा र उद्यममार्फत योगदान गरिरहेका छन् ।
हाल यी क्षेत्रहरुले आफ्नो सामान्य तथा प्रशासनिक खर्च, कर्मचारीको तलब व्यहोर्न पनि कठिनाइ भोगिरहेका छन् । सरकारले आगामी दिनमा सवैलाई समेट्ने गरी राहत प्याकेज दिनुपर्ने आवश्यकता देखिन्छ । साथै यस्ता साना उद्यमीहरुलाई सम्बोधन गर्न ढिला गर्नु हुँदैन । सरकारले विशेष प्याकेज ल्याएर साना र लघु उद्यमी, पेशाकर्मीहरुको समस्या र आवश्यकताको अर्थपूर्ण सम्बोधन गर्नुपर्छ ।
यतिबेला विभिन्न उद्योग तथा व्यवसायिक संस्थासँग आवद्ध श्रमिक, मजदुर निजी संस्थाका ज्यालादारी कर्मचारीहरु पनि प्रत्यक्ष रुपमा आफ्नो रोजगारीबाट बञ्चित भएको अवस्था छ । यसरी समस्यामा परेकाहरुको आधारभूत आवश्यकता पूरा गर्ने व्यवस्था तत्काल गर्नुपर्ने देखिन्छ । आफ्नो श्रमबाट नै जीविकोपार्जन गर्नेहरु नै उद्योग व्यवसायका सजिव उपकरण हुन् ।
लकडाउनले सवैभन्दा बढी मारमा विपन्न र मजदुर वर्ग नै परेका छन् । उनीहरु आज भोकै बस्नुपर्ने अवस्था आएको छ । विपन्न र मजदुर वर्ग जो भोक सहन नसकी गाउँ फर्किरहेका छन्, यस्तो अवस्थामा विशेष सतर्कता अपनाएर साना तथा घरेलु उद्योग संचालन गर्न सकेमा यस्ता वर्गलाई दुई छाक टार्न सहज हुने थियो । मजदुरहरु आज भोकभोकै राजमार्गमा हिँडिरहेका खबरले सरकारलाई किन छुन सकेको छैन ? अब सरकारले मौनता तोड्नु पर्छ, ती मजदुरहरुलाई सम्बोधन गर्नुपर्छ । त्यस्ता वर्ग जो दिनभरी काम गरेर छाक टार्नुपर्ने अवस्थामा छन् ती वर्गलाई आपत विपतको समयमा गाँस बासको व्यवस्था गरिनु पर्छ ।
व्यावसायिक वातावरण खल्बलिन नदिन र देशको अर्थतन्त्रले प्रतिकुल परिणाम भोग्नु पर्ने अवस्थालाई भरथेग गर्नकै लागि ठूला उद्योग सँगसँगै साना र लघु उद्योगी व्यवसायी तथा श्रमिकहरुको हितमा राहत ल्याउन सरकारले ढिला गर्नु हुँदैन ।
समस्यामा परेका वर्गलाई ध्यानमा राखेर सरकारले तत्काल गर्नुपर्ने अल्पकालीन तथा दिर्घकालीन योजना निर्माण र त्यसको तदारुकताका साथ कार्यान्वयन गर्नुपर्ने देखिन्छ ।
प्रत्येक सत्र आफ्ना योजना तथा कार्यक्रमहरुमा सरकारले साना व्यवसायलाई प्रोत्साहन गर्ने र देशलाई आत्मनिर्भर बनाउने बाचा गरेको हुन्छ । त्यस्तो योजनालाई आत्मसाथ गर्दै अहिलेको समयमा सरकारले साना र लघु व्यवसायीहरुलाई तदारुकतापूर्वक सहयोग र सहुलियत दिएर बचाउनुपर्छ । भोलिका दिनमा यी व्यवसायीले आफू सवल भएर राज्यलाई फेरि पनि योगदान अवश्य गर्ने नै छन् ।
विन्द्रा कक्षपति प्रधान इन्टेरियर डिजाइनर एसोसियशन अफ नेपाल (आइडिया नेपाल) की अध्यक्ष तथा तथा उद्यमी हुन्