शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बालबाटिका स्कुलले थाल्यो अनलाइन कक्षा, विद्यालयमै गएर पढेभन्दा कम छैन

मङ्गलबार, १६ वैशाख २०७७, ०९ : ३४
मङ्गलबार, १६ वैशाख २०७७

काठमाडौं । वैशाख दोस्रो साता सुरु भइसक्दा धेरै विद्यार्थीहरु अहिले घरमै सीमित छन् ।  कोरोनाभाइरस (कोभिड–१९) को महामारीका कारण मुलुक लकडाउनमा रहेकाले नियमित विद्यालय जानुपर्ने विद्यार्थीहरु घरमै सीमित हुनुपरेको हो । 

सामान्य अवस्था भएको भए अहिले विद्यालयहरुको पनि भर्ना अभियान सक्याएर पठनपाठन सुरु हुने समय भइसक्यो । तर, कोरोनको त्रासका कारण विद्यालयले भर्ना अभियानमात्रै नभएर अघिल्लो शैक्षिक सत्रको नतिजा समेत निकाल्न सकेका छैनन् । 

सरकारले भर्ना अभियानका साथै पठनपाठन सञ्चालनबारे स्पष्ट निर्देशन दिइनसकेपनि अहिले अनलाइन कक्षालाई जोड दिन थालिएको छ । 

राजधानीका कतिपय विद्यालयहरुले कोरोनाको महामारीका बीच पनि प्रविधिलाई उपयोग गर्दै अनलाइन कक्षा सञ्चालन गर्न थालेका छन् । 

यस्तैमा राजधानीको बालाजुस्थित बालबाटिका इन्टरनेशनल स्कुलले पनि अनलाइन कक्षा सुरु गरेको छ । विद्यालयको विद्यार्थीको पढाइप्रतिको चिन्ता, अभिभावकको आग्रह र शिक्षक तथा सहकर्मीको सहयोगमा आइतबारदेखि अनलाइन कक्षा सञ्चालन थालिएको स्कुलका संस्थापक तथा प्रिन्सिपल राजेश खकुरेलले जानकारी दिए । 

अहिलेको अवस्थामा जो जहाँ रहेको छ, त्यहीँबाट अनलाइन प्रविधिको प्रयोगमार्फत कक्षा सञ्चालन गरिएको खकुरेलको भनाइ छ । अनलाइन कक्षामा विद्यालयमा सामान्य अवस्थामा अध्ययन गर्न आउनेमध्ये अधिकांश विद्यार्थी सहभागी छन् । 

‘लामो समय घरमै बस्नुपर्दा कतिपय स–साना विद्यार्थीले घरमा पढ्न मन नपर्ने र विद्यालय पनि नखुल्दा अभिभावकलाई समस्या परेको रहेछ । हामीले अनलाइन कक्षा सञ्चालन गर्दा निकै सकारात्मक प्रतिक्रिया दिनुभएको छ’, खकुरेलले भने, ‘लकडाउनको अवधिभर अनलाइन कक्षलाई थप प्रभावकारी बनाउँदै लैजाने हाम्रो सोच छ ।’

उनकाअनुसार अहिले विद्यार्थीहरुलाई एकापसमा छलफल गराउँदै शिक्षक–शिक्षिकले विद्यार्थीलाई ‘जुम’ नाम एप प्रयोग गरेर अनलाइनमार्फत नै कक्षा लिइरहेका छन् । अनलाइनमार्फत नै पाठ्यपुस्तक पठाउने, नयाँ नयाँ कुरा सिकाउने, होमवर्क दिने, उनीहरुलाई रचनात्मक क्रियाकलापमा प्रेरित गर्ने जस्ता कार्य भइरहेको छ । 

नयाँ प्रविधिको प्रयोग गर्दै अध्यापन गराउँदा छुट्टै रमाइलो लागेको र विद्यार्थीहरु पनि यसरी अध्ययन गर्न पाउँदा उत्साहित रहेको पाइएको शिक्षिका रुचि गुरुङले जानकारी दिइन् । 

‘लकडाउन जस्तो भयावह परिस्थितिमा पनि विद्यालयले विद्यार्थी भाइबहिनीहरुसँग जोडिएर आफूले जानेको सिकाउने जुन अवसर प्रदान गरेको छ, त्यसबाट हामी उत्साहित भएका छौं’, उनले भनिन्, ‘लकडाउनको यो समयमा हामीले विद्यार्थीको लागि पनि सोच्नुपर्ने हुन्छ । यो समयमा अनलाइन कक्षा सञ्चालन गर्दा हामीले केही सिर्जनात्मक कुरा सिकाउन र विद्यार्थीले पनि सिक्ने अवसर पाएका छन् ।’ 

घरमा आफूसँगै बसेर पढिरहँदा आफ्नो बालबालिकाको पढाइप्रतिको रुचि र सक्रियताबारे अभिभावकले पनि राम्ररी बुझ्ने अवसर पाउने उनको भनाइ छ । 

यसैगरी सो विद्यालयका एक अभिभावक दीनबन्धु फुयालले सामाजिक दुरी कायम राख्नुपर्ने अहिलेको समयमा बालबालिका विद्यालय गएर पढ्न सक्ने अवस्था नरहेकाले विद्यालयले अनलाइन कक्षा सञ्चालन गर्नु प्रसंशनीय कार्य भएको बताए । 

 ‘सामाजिक दुरी कायम गर्नुपर्ने अहिलेको अवस्थामा बालबालिका विद्यालय गएर कक्षाकोठामा अध्ययन गर्न उपयुक्त नहुने हुँदा घरमै बस्नुपर्ने बाध्यता छ, यस्तो अवस्थामा बालबाटिका स्कुलले अनलाइन कक्षा सुरुवात गर्नु हामी अभिभावकका लागि खुसीको कुरा हो,’ उनले भने ।  आफ्नो छोराले घरमै बसेर अनलाइनमार्फत विद्यालयमा जसरी नै सिकिरहेको देख्न पाउँदा खुसी लागेको समेत फुयालले प्रतिक्रिया दिए । 

निरन्तर कक्षा थप्दै जाने लक्ष्यका साथ यस वर्षदेखि कक्षा ७ सञ्चालन गर्न लागेको विद्यालयले सबै कक्षामा अनलाइनमार्फत पठनपाठन थालिसकेको हो । अहिले अनलाइनमा समेटिएका तथा समेटिन नसकेका विद्यार्थीलाई कक्षा खुलेपछि पनि यसबारे थप अभ्यास गराउने विद्यालयको योजना छ । 

अनलाइनमा अध्ययनका लागि निश्चित समय निर्धारण गरिएको र हाल केही दिनका लागि अघिल्लो शैक्षिक सत्रमा जसको जुन कक्षा थियो सोही कक्षाको पाठ्यक्रम पढाइएको तथा केही दिनपछि उत्तीर्ण भएर जाने कक्षाकै पाठ्यपुस्तक सञ्चालन गरिने प्रिन्सिपल खकुरेलले जानकारी दिए । 

लकडाउन कहिलेसम्म लम्बिने र विद्यालय पनि कहिले खुल्ने भन्ने निश्चित नरहेकाले अनलाइन पठनपाठनलाई थप परिस्कृत गराउँदै लैजाने योजनाका खकुरेल र अध्यक्ष रमेश प्रसाईँलगायतको टीम अनलाइन केन्द्रीत विशेष पाठ्यसामग्री बनाउन समेत लागिपरेको छ । 

बालाजु क्षेत्रमा अधिकांश विद्यालय अनलाइन प्रविधिबारे मौन रहेका बेला बालबाटिकाले यसमा सक्रियता देखाएसँगै यसअघि बालबालिका अन्यत्र पढाएका अभिभावकले समेत आफ्नो स्कुलमा भर्नाका लागि चासो राख्न थालेको प्रिन्सिपल खकुरेलको भनाइ छ । 

बालबाटिका मन्टेश्वरी विधिमार्फत पठनपाठन गराइने बालाजु क्षेत्रको उत्कृष्ट विद्यालयमध्ये एक मानिन्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप