कोरोनाभाइरसः ‘गलत समाचार फैलाए, त्यसपछि पुलिससमक्ष गरे आत्मसमर्पण’
माइकल लेन ब्रेन्डिनलाई लागेको थियो कि उनको फेसबुक पोस्टले हलचल मच्चाउनेछ । तर उनले सायद यी कुराको अन्दाजसमेत गरेका थिएनन् कि यसकै कारण उनी पक्राउ पर्नेछन्, जागिर गुमाउनेछन् र यस्तो मुद्दामा फस्नेछन् जसले उनलाई जेलसमेत पठाउनसक्छ ।
मार्चको त्यो अपरान्ह यसै पनि थोरै सुस्त थियो । त्यसदिन माइकलको पूरा टाइमलाइन कोभिड–१९ फैलने स्थितीमा यसको सामना गर्ने तरिकामाथिको बहसले भरिएको थियो ।
तसर्थ माइकलले उनकै शब्दमा भन्नुपर्दा ‘सोशल एक्सपेरिमेन्ट’ गर्ने निर्णय गरे । ब्रेन्डिनले फेसबुकमा एउटा पोष्ट हाले । यसमा उनले आफूलाई कोरोनाभाइरसको संक्रमण देखिएको र डाक्टरले उनलाई कोरोना भाइरस हावामार्फत् फैलने चेतावनी दिएको पनि बताए ।
तर यो ब्रेन्डिनले आफूले रचेको कहानी थियो ।
ब्रान्डिनका अनुसार उनी यसो गरेर अनलाइनमा पढिने हरेक कुरामा विश्वास गर्न हुँदैन भनेर देखाउन चाहन्थे ।
कोरोनाभाइरसबारे फेसबुक पोस्ट हाल्नेबित्तिकै ब्रेन्डिनले सहानुभूति पाउन थाले । केही व्यक्ति उनको यो पोष्ट पढेर हैरान थिए । कतिले यो पोस्टमा आफ्नो प्रतिक्रिया दिएका थिए ।
ब्रेन्डिनले भने, ‘मेरा थुप्रै साथीहरुले मलाई मेसेज पठाएर मेरो अवस्थाबारे सोधे । तर मैले उनीहरुलाई आफ्नो पोस्टमा जेजति कुरा लेखिएका छन्, ती सबै झुटो भएको बताएँ ।’
यता ब्रेन्डिनले आफ्ना अनलाइन साथीहरुलाई यसको वास्तविकताबारे जानकारी दिइरहेका थिए, उता यो पोस्टले अफलाइन दुनियाँमा खलबली मच्चाएको थियो । उनको यो झुटो समाचार टेक्सासको टाइलर काउन्टीमा जंगलको आगोसरह फैलियो । ब्रेन्डिन यहिँ बस्छन् ।
यो घटना लकडाउन लागू हुनु केही दिन अघिको थियो, तर मानिसहरु अत्यधिक चिन्तित भएका थिए र स्थानीय अस्पतालमा फोन गरेर यसको वास्तविकताबारे सोध्न थालेका थिए ।
मानिसहरु हावाबाट फैलने यो अदृश्य प्राणघातक भाइरसबाट आफूलाई कसरी बचाउन सकिन्छ भनेर जान्न चाहन्थे ।
गिरफ्तारीको वारेन्टः
टाइलर काउन्टीको शेरिफ कार्यालयले पनि यो झुटो खबरका कारण निम्तिएको त्रासबारे थाहा पायो ।
प्रहरीले ब्रेन्डिनलाई सम्पर्क गरे र उनलाई तुरुन्त फेसबुक पोस्ट सच्याउन आदेश दिए । ब्रेन्डिनले ढिला नगरी आफ्नो फेसबुक पोष्ट सच्याए तर त्यतिबेलासम्म झुटो खबर सोसल मिडियामा भाइरल भइसकेको थियो ।
अब अर्को फेसबुक पोस्ट राख्ने पालो थियो पुलिसको । काउन्टी शेरिफले फेसबुक फलोअर्सलाई स्पष्ट रुपमा झुटो खबर फैलाएको आरोपमा २३ वर्षका ब्रेन्डिनमाथि आपराधिक मुद्दा दर्ता गरिएको जानकारी दिए ।
ब्रेन्डिनमाथि झुटो खबर फैलाएको आरोप लाग्यो । पुलिसका अनुसार उनले यस्तो खबर फैलाए जसको कुनै आधार थिएन ।
त्रास फैलाउने यो पोष्टपछि पुलिस र मेडिकल अधिकारीले उनलाई तुरुन्त कारवाही गर्नुपर्यो । यसैबीच, ब्रेन्डिनले पुलिससमक्ष आत्मसमर्पण गरिदिए ।
ब्रेन्डिनले भने, ‘मलाई उहाँहरुले (अधिकारीहरुले) न्यायाधीस भोलि बिहानमात्रै आउने भएकोले रातभरी जेलमा बस्नुपर्छ भन्नुभयो । म यसका लागि अत्यधिक चिन्तित भएँ ।’
एक रात जेलमा बिताएका ब्रेन्डिनलाई अन्त्यमा हजार डलरको मुचुल्कामा रिहा गरियो र अब उनी आफ्नो मुद्दा सुरु हुने प्रतिक्षामा छन् ।
ब्रेन्डिन भन्छन्, ‘मैले आम–सञ्चारमा बीएमसीको डिग्री लिएको छु । कुनै पनि फेसबुक पोष्टले कतिसम्मको त्रास फैलाउन सक्छ भनेर प्रमाणित गर्नका लागि आफ्नो फेसबुकमा यस्तो झुटो खबर पोष्ट गरेको थिएँ ।’
‘म यो बताउन चाहन्थेँ कि सोसल मिडियामा जे पनि पढिन्छ वा सुनिन्छ त्यो साँचो नै हुन्छन् भन्ने हुँदैन भनेर बताउन चाहन्थेँ । यस्ता कुनै पनि कुराको वास्तविकता जान्नका लागि थप जानकारी जुटाउनु र आफ्नो अनुसन्धान गर्नु अत्यावश्यक छ । तर यस्तो प्रकारको झुटो फेसबुक पोष्ट राखेका कारण मैले आफ्नो जागिर गुमाएँ । मलाई हेल्थ बेनिफिट्सबाट अलग गराइयो र पैसा नभएका कारण मैले आफ्नो मास्टर डिग्रीको पढाई समयमा नै सुरु गर्न सकिनँ ।’
ब्रेन्डिनका अनुसार यो घटनाले उनको पूरा परिवारलाई आर्थिक बोझमा पारेको छ किनभने सबै मिलेर उनको खर्च उठाउने कोसिस गरिरहेका छन् ।
स्रोतः बीबीसी