केन्द्रीय संस्करण
शिक्षा बहस

अनलाइन कक्षा चलाउने त्रिविको तयारी : सम्भव कति ?

अनलाइन कक्षा दुई–चार दिनको रमाइलो भएको शिक्षाविद्को टिप्पणी

person explore access_timeबैशाख १६, २०७७ chat_bubble_outline0

त्रिभुवन विश्वविद्यालयले आइतबार अनलाइन कक्षा सञ्चालनसम्बन्धी निर्देशिका २०७७ जारी ग¥यो । विश्वविद्यालयहरुमा लामो समयदेखि पठनपाठन हुन नसकेको र लकडाउनको समय अझै थपिने संकेत पाएपछि विश्वविद्यालयले आइतबार निर्देशिकाको परिपत्र गर्दै आगामी सातादेखि नै अनलाइनका माध्इमबाट कक्षा सञ्चालनको तयारी गर्न विभिन्न संस्थान, संकाय, विभाग, क्याम्पस तथा स्कुलहरुमा पठायो । र, एक साताको समय दिएर बाध्यकारी जस्तै बनाएर अनलाइन कक्षा सञ्चालन गर्न निर्देशनसमेत दिएको छ ।

विश्वविद्यालयले विद्यार्थीको शैक्षिक क्यालेण्डर बिग्रन सक्ने भन्दै अनलाइनका माध्यमबाट सैद्धान्तिक कक्षा सञ्चालन गर्ने र व्यवहारिक कक्षाका लागि विश्वविद्यालय खुलेलगत्तै गराउने गरी तयारी गरेको छ ।

विश्वविद्यालयले बनाएको निर्देशिकामा केही संकायहरुमा गत चैत १० गतेदेखि सुरु भएको अनलाइन कक्षाको ‘क्रेडिट आवर’ जोडी हाजिरीसमेत राख्ने गरी अगाडि बढाउने बताएको छ । यसअघि अनलाइन कक्षा सञ्चालन नभएको कलेजहरुमा भने आगामी सातादेखि नै कक्षा सञ्चालन गर्ने गरी तयारी भएको छ ।

शैक्षिक क्यालेन्डर नभत्कियोस् भनेर अनलाइन कक्षा सञ्चालनमा : पेशल दाहाल, रजिष्टार त्रिभुवन विश्वविद्यालय

त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार प्राध्यापक डाक्टर पेशल दाहाल विद्यार्थीहरुको शैक्षिक क्यालेण्डर नबिग्रियोस् भनेर अनलाइन कक्षा सुरु गर्न लागिएको बताउँछन् । दाहाल भन्छन्, ‘पहिलो कुरा चैत ११ गतेबाट सुरु भएको लकडाउन तत्कालका लागि वैशाख २५ सम्म जारी गरिएको छ । तर त्यसपछि पनि कहिलेसम्म लकडाउन हुने हो भन्ने निश्चित छैन । काठमाडौं र हिमाली भूभागमा कोरोनाको संक्रमण थिएन । तर यस्तो अवस्थामा पनि सरकारले कुनै रिस्क लिन चाहेन । काठमाडौं र हिमाली भागमा लकडाउन केही खुकुलो हुन्छ कि भन्ने लागेको थियो, तर सरकारले त्यस्तो भएन । दोस्रो कुरा, लकडाउन खुलिहाल्यो भने पनि निश्चित स्थान र क्षेत्रहरुमा मात्रै खुल्ने हो र काठमाडौंमा पनि त्यस्तै होला । तराई क्षेत्रमा त तत्कालै खुल्ने अवस्था पनि देखिँदैन । त्यसकारण हामी शैक्षिक क्यालेन्डर नबिग्रियोस् भनेर बाध्य भएर अनलाइन कक्षा सञ्चालनमा गएका हौँ ।’


रजिष्ट्रार दाहालका अनुसार यदि समयमै अनलाइन कक्षा सञ्चालन गरिएन र अनलाइन कक्षा सञ्चालन गर्दा पनि कम्तीमा ५० प्रतिशत विद्यार्थी सहभागी भएनन् भने कम्तीमा एक सेमेष्टर वा ६ महिनाका लागि शैक्षिक क्यालेण्डर धकेलिन सक्छ ।


शैक्षिक क्षेत्र साउनसम्म नखुल्ने देखियो

त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार दाहाल लकडाउन तत्कालै खुलेपनि शैक्षिक क्षेत्रहरु साउन महिनासम्म खुल्ने सम्भावना कम नै रहेको बताउँछन् । उनी भन्छन्, ‘विश्व स्वास्थ्य संगठनले भनेको पनि लकडाउनका कारण तिमीहरु केही सुरक्षित छौ भनेको हो । सरकारी पक्षका केही जिम्मेवार व्यक्तिहरुसँग कुराकानी गर्दा पनि अबको दुई तीन महिना यो नर्मल हुनसक्ने अवस्थामा छैन । साउनसम्म पनि जान सक्ने अवस्था नदेखेपछि हामीले बाध्य भएर अनलाइन कक्षा सञ्चालनमा ल्याएका हौँ ।’

कम्तीमा ६ महिना अध्यापनमा समस्या

रजिष्ट्रार दाहालका अनुसार यदि समयमै अनलाइन कक्षा सञ्चालन गरिएन र अनलाइन कक्षा सञ्चालन गर्दा पनि कम्तीमा ५० प्रतिशत विद्यार्थी सहभागी भएनन् भने कम्तीमा एक सेमेष्टर वा ६ महिनाका लागि शैक्षिक क्यालेण्डर धकेलिन सक्छ । उनी भन्छन्, ‘अब कम्तीमा ५ वा ६ महिनासम्म शैक्षिक क्यालेन्डर बिग्रने खतरा देखेपछि हामीले बाध्य भएर अनलाइन कक्षा सञ्चालनमा ल्याएका हौँ । यसको उद्धेश्य भनेको शैक्षिक क्यालेन्डर भत्कन नदिने र सैद्धान्तिक विषयहरुलाई अनलाइनमार्फत् अध्ययन गर्दै जाने र व्यवहारिक विषयहरुलाई पछि विश्वविद्यालय खुलेपछि अगाडि बढाउने उद्देश्य नै हो ।’

अनलाइन कक्षाका लागि पूर्वाधार तयार पारेका छौँ

अहिले अनलाइन कक्षा सञ्चालनका लागि पूर्वाधार सबैभन्दा महत्वपूर्ण कुरा हो । आखिर के छ त भौतिक पूर्वाधारको अवस्था भन्ने रातोपाटीको प्रश्नमा रजिष्ट्रार दाहालले भौतिक पूर्वाधार निर्माण भइरहेको र शिक्षकहरुलाई तालिमको व्यवस्था गरिएको बताउँछन् । दाहालले भने, ‘शिक्षकहरुलाई भौतिक पूर्वाधारहरु उपलब्ध गराउने कुरामा हामी प्रतिवद्ध छौँ । शिक्षकलाई इन्टरनेट लगायतका पूर्वाधार दिइसकेका छौँ । अहिले हामीले शिक्षकहरुलाई ट्रेनिङ पनि दिइरहेका छौँ र आगामी साताबाट अनलाइन कक्षा पूर्णरुपमा सञ्चालन गर्ने गरी तयारी गरेका छौँ । किनभने यहाँ दुईवटा कुरा हुन्छ । ल ठीकै छ, ६ वा ८ महिना नपढाउ न त, एक सेमेष्टर वा एक वर्ष पछाडि धकेलिने त हो नि भन्ने पनि हुन्छ । अर्को पाटो भनेको यो क्राइसिस म्यानेज्मेण्ट हो र क्राइसिस म्यानेज्मेण्ट कसरी गर्ने भन्ने कुरा पनि हुन्छ । तर पनि हामी न्युनतम क्षति मात्रै बेहोरेर कसरी अगाडि बढ्न सक्छौँ भनेर यो गरिरहेका छौँ ।’

दाहालका अनुसार कक्षाकोठामै अध्ययन गरेको जस्तो हुन नसकेपनि यसले केही सहजता ल्याउने भएको कारण यो सुरु गरिएको हो । उनी भन्छन्, ‘अब कक्षाकोठामै प्रत्यक्ष पढेको जस्तो त कहाँ नै हुन्छ र । शिक्षकहरुले विद्याथीसँग प्रत्यक्ष साक्षात्कार गर्न पाउँदैनन् । शिक्षकले कुनै विद्यार्थीलाई उठेर ‘यो के हो ? भन त’ भन्न सक्दैन । पुस्तकालयमा जान पाउँदैनन् । तर मुख्य कुरा के हो भने यो क्राइसिस म्यानेज्मेण्ट नै हो र विद्यार्थीको ६ महिना खेर नजायोस् भनेर हामी यसमा लागिरहेका छौँ ।’


‘औपचारिक पोशाक भनेको कलेजको ड्रेस भनेको होइन । घरमै बसेर अनलाइन कक्षा लिँदा स्याण्डो, हाफपाइन्ट वा आपत्तिजनक पोशाक नलगाउने भनेको हो । फर्मल ड्रेस भनेको युनिफर्म होइन, सम्मानजनक कपडा लगाउने भनेको हो । त्यो के हो भन्ने विद्यार्थीहरुले बुझेकै हुन्छन् ।'   


५० प्रतिशत विद्यार्थी सहभागी नभए मिहेनत खेर जाने संकेत

अहिले त्रिभुवन विश्वविद्यालयले करिब ५० प्रतिशत विद्यार्थी सहभागी भएपनि कक्षा सञ्चालन गर्ने तयारी गरेको छ । यदि अनलाइन कक्षामा ५० प्रतिशत विद्यार्थी उपस्थित भएमा कक्षा सञ्चालन गरी क्रेडिट आवर जोड्ने विश्वविद्यालयको तयारी छ । दाहाल भन्छन्, ‘हाम्रो एकमात्रै उद्देश्य शैक्षिक क्यालेण्डर नबिगार्ने भन्ने नै हो । तर पनि अनलाइन कक्षामा ५० प्रतिशत विद्यार्थी पनि भएनन् भने के गर्ने भन्ने सवाल पनि छ । तर आदि विद्यार्थी र आदि मात्रै क्लास लिन सकिए पनि हामीले आदि क्षति हुनबाट त बचायौँ नि भन्ने बुझ्नुपर्छ । यो मुख्यतः विद्यार्थीका लागि नै केन्द्रीत गरी बनाएकाले पहिलो कुरा त विद्यार्थी नै सक्रिय हुनुपर्यो । विद्यार्थी नै तातिएनन् भने हामी मात्रै तातिनुको अर्थ रहँदैन । विद्यार्थीले साथ दिएमा यो सफल हुन्छ जस्तो मलाई लाग्छ ।’

विद्यार्थीको हाजिरी र अनलाइनमा आउन नसक्ने विद्यार्थीका लागि के गर्ने त भन्ने रातोपाटीको प्रश्नमा उनले भने, ‘विद्यार्थीको हाजिरी पनि जोडिन्छ । जो विद्यार्थी बस्न सकेनन् र समस्या आयो भने पछाडि व्यवस्थापन गर्न पनि सकिन्छ । तर ५० प्रतिशत विद्यार्थी पनि उपस्थित भएनन् भने अब ६–७ महिनामा क्लास खुल्छ र त्यसपछि क्लास सुरु गर्नुपर्छ । त्यो बाहेकको अरु विकल्प त बाँकी छैन नै ।’

विद्यार्थीबाटै सहयोगको आग्रह

विश्वविद्यालयले विद्यार्थीहरुले अनलाइन अध्यापनमा सहयोग गर्छन् भने आफूहरुलाई लागेको रजिष्ट्रार दाहालले बताए । उनले भने, ‘यदि विद्यार्थीको पाटोबाट सहयोग भएन भने एक शैक्षिक सत्र बिग्रन्छ र पछाडि धकेलिन्छ । किनभने हामीले सक्दो प्रयास गर्ने नै हो । अहिले विद्यार्थी नेता र क्याम्पस प्रमुखहरुसँग कुराकानी पनि भइरहेको छ । हामीले प्रत्येक क्याम्पसका विद्यार्थीको ट्रेसिङ गर्ने काम पनि गरिरहेका छौँ । उनीहरु कस्तो अवस्थामा छन्, अनलाइन कक्षामा बस्न सक्छन् कि सक्दैनन् भनेर कुराकानी गरिरहेका छौँ । तर विद्यार्थीले साथ नै दिएनन् भने त केही पनि गर्न सकिँदैन, विश्वविद्यालयले गर्नुपर्ने सबै काम गरेको छ र गर्नेछ ।’


‘विश्वविद्यालयका विद्यार्थीहरुलाई मैले एउटै कोटीमा राख्दिन । कोहीसँग अनलाइन सुविधा होला, कोहीसँग रेडियो वा टेलिभिजनको सुविधा होला । कसैसँग केही पनि सुविधा छैन । त्यसकारण अनलाइन मात्रै भनियो भने त्यो बिना चिन्तनको काम हो । त्यसकारण अहिले विश्वविद्यालय म्यानेज्मेण्टले जे कुरा बोल्यो त्यो हावादारी कुरा हुन् । किनभने अनलाइन मात्रै समस्याको समाधान होइन र सिक्ने माध्यम पनि अनलाइन मात्रै होइन ।’


औपचारिक पोशाक भनेको कलेज ड्रेस होइन

त्रिभुवन विश्वविद्यालयले जारी गरेको आचारसंहितामा अनलाइन कक्षामा बस्दा औपचारिक पोशाक लगाउनु पर्ने बताएको छ । यसको अर्थ के हो त भनेर सोध्दा रजिष्ट्रार दाहालले सम्मानजनक पोशाक भएको बताए । दाहालले भने, ‘औपचारिक पोशाक भनेको कलेजको ड्रेस भनेको होइन । घरमै बसेर अनलाइन कक्षा लिँदा स्याण्डो, हाफपाइन्ट वा आपत्तिजनक पोशाक नलगाउने भनेको हो । फर्मल ड्रेस भनेको युनिफर्म होइन, सम्मानजनक कपडा लगाउने भनेको हो । त्यो के हो भन्ने विद्यार्थीहरुले बुझेकै हुन्छन् ।'   

यो दुई चार दिनको रहर मात्रै हुन्छ : शिक्षविद् डा. विद्यानाथ कोइराला

त्रिभुवन विश्वविद्यालयले अनलाइन कक्षा सञ्चालन गर्ने तयारी गरी सञ्चालन निर्देशिका जारी गरेपछि शिक्षाविद् डाक्टर विद्यानाथ कोइरालाचाहिँ यसलाई दुई चार दिनको रहर मात्रै भएको बताउँछन् ।

सबै विद्यार्थीसँग त्यो सुविधा नभएकाले अनलाइन मात्रै नभएर विभिन्न विधिबाट कक्षा सञ्चालन गर्न सकिने भएपनि अनलाइन मात्रै भन्दा केही दिनमै कक्षा बन्द हुने उनको दाबी छ । कोइराला भन्छन्, ‘विश्वविद्यालयका विद्यार्थीहरुलाई मैले एउटै कोटीमा राख्दिन । कोहीसँग अनलाइन सुविधा होला, कोहीसँग रेडियो वा टेलिभिजनको सुविधा होला । कसैसँग केही पनि सुविधा छैन । त्यसकारण अनलाइन मात्रै भनियो भने त्यो बिना चिन्तनको काम हो । त्यसकारण अहिले विश्वविद्यालय म्यानेज्मेण्टले जे कुरा बोल्यो त्यो हावादारी कुरा हुन् । किनभने अनलाइन मात्रै समस्याको समाधान होइन र सिक्ने माध्यम पनि अनलाइन मात्रै होइन ।’

अन्य माध्यमबाट पनि पढाउन सकिन्छ

शिक्षाविद् डाक्टर विद्याथनाथ कोइराला अन्य विधिबाट पनि अध्यापन गर्न सकिने बताएँछन् । उनी भन्छन्, ‘अहिले रेडियो, टिभी, इमेल, अफलाइन आदि सबै विधि प्रयोग गर्न सकिन्थ्यो । त्यसबाहेक पहिले नै तयार पारिसकिएको पाठ्यसामाग्री प्रयोग गरेर विद्यार्थीको हातमा पुराउने पनि धेरै विधिहरु थिए, त्यो ढङ्गबाट गएको भए पनि सायद राम्रै हुन्थ्यो होला । त्यो तरिकाले एकैचोटी बहुरुपमा गयो भने काम लाग्छ । अब अनलाइन मात्रै भन्यो भने त सेवा नै पुग्दैन, केही पनि हुँदैन । विद्यार्थीले हामीले बुझेनौ भन्छन्, शिक्षकसमेत यसका लागि तयार छैनन् । रेडियो, टेलिभिजन, अनलाइन र प्रिन्ट मटेरियल आदि सबै सँगै जान सकियो भने म उनीहरुलाई सलाम ठोक्छु, होइन भने सबैले अनलाइन अनलाइन मात्रै भन्यो भने यो दुई चार दिनको रहर मात्रै हुन्छ ।’

अनलाइनमा ५ प्रतिशत विद्यार्थी आएपनि उपलब्धि

त्रिभुवन विश्वविद्यालयले ५० प्रीतशत विद्यार्थी अनलाइन कक्षामा सहभागी हुन्छन् भन्ने अपेक्षा गरेको देखिन्छ । तर शिक्षाविद् कोइराला भने त्यस्तो सम्भव नभएको बताउँछन् । कोइराला भन्छन्, ‘५० प्रतिशतको आंकलन गरेको वुद्धि देखेर मलाई पुर्परोमा हात लगाउन मन लागेको छ । उहाँको वुद्धिलाई म के भनु ? तर मलाई के लाग्छ भने ५० प्रतिशत होइन, ५ प्रतिशत विद्यार्थी आए पनि हुन्छ । यदि ५ प्रतिशत विद्यार्थीहरु अनलाइन कक्षामा आए भने ५ प्रतिशत विद्यार्थी अनलाइनको दायरामा रहेछन् भन्ने वुद्धि पनि उनीहरुलाई हुन्छ । त्यसपछि १० प्रतिशत अफलाइनबाट हुन्छ भन्ने वुद्धि उहाँहरुलाई आउनुपर्छ । १५ प्रतिशत सामाजिक सञ्जालबाट हुन्छ भन्ने वुद्धि उहाँहरुलाई हुनुपर्छ । १० प्रतिशत टेलिफोनबाट हुन्छ र बाँकी प्रतिशत प्रिन्ट मटेरियलबाट हुन्छ भन्ने वुद्धि उहाँहरुलाई आयो भने यो काममा सफल भइन्छ । होइन भने उहाँहरुको रमाइलोलाई मैले शुभकामना मात्रै भन्न सकेँ । लड्न लागेको गोरुलाई राम –राम भन्न सकिन्छ, काँध थाप्न सकिँदैन ।’

शैक्षिक सत्र धकेल्नु हुँदैन

शिक्षाविद् कोइराला शैक्षिक सत्रलाई अन्तिम अवस्थासम्म पनि धकेल्न नहुने तर्क गर्छन् । उनी भन्छन्, ‘विद्यालय वा विश्वविद्यालयको शैक्षिक सत्र धकेल्नु हुँदैन । यदि त्यस्तो भयो भने ती मानिसहरु हामीसँग रहेछन्, जो क्रान्तिकारी होइनन्, उनीहरु समय बुझ्ने र समयसँग चल्ने पनि होइनन् र यिनीहरुले कुनै प्रविधि पनि जानेका रहेनछन् । अनि उनीहरु केही नबुझेको र नजानेको मानिसहरुको जमात रहेछन् र यिनीहरुले हामीलाई अगाडि लैजाने होइन, पछाडि धकेल्ने रहेछन् भनेर म ढुक्क हुन्छु । म त के भन्छु भने एकदिन पनि विद्यार्थीको समय बर्वाद गर्नु हुँदैन र विद्यार्थीलाई एकैचोटी बहु मिडियाबाट जानसक्ने डिजाइन गरिदिनुपर्छ । जबसम्म कोरोना जित्न सक्दैनौ तबसम्म विद्यार्थीलाई घरमै बसेर पढ भन्नुपर्छ र जब जितिन्छ तबमात्रै क्लास सुरु गर्नुपर्छ ।’

कोरोना हटेपनि बिना बिदा पढाई गर्नुहुँदैन

कतिपयले अहिले बिदा नै दिइरहने र कोरोनाको समस्या समाधान भएपछि बिदा नदिइ अध्यापन गराउने कुरा पनि गरिरहेका छन् । तर शिक्षाविद् कोइराला भने त्यस्तो गर्न नहुने बताउँछन् । उनी भन्छन्, ‘कोरोना हटेपछि बिदा नै नदिई कक्षा सञ्चालन गर्ने कुरा पनि पुरातन सोच मात्रै हो, यस्तो कुरा नबोकौं । मानिसलाई विदा त चाहियो नि । परिवारका सबै सदस्य कतै घुम्न निस्केका हुन्छन् तर एकजना विद्यार्थी स्कुल वा कलेज छ भनेर जान सक्छन् र ? मान्छे भनेको त सामाजिक पनि हो, मनोवैज्ञानिक पनि हो । कसरी मेसिन मात्रै बुझिरहेका हुन् उनीहरुले ? त्यसकारण अहिले पूरै आराम गरेर पछि विदा नदिई पढ्ने वा पढाउने भन्ने होइन, त्यो गलत हुन्छ ।’

बहु मिडियाबाट अध्यापन गर्नुपर्छ

शिक्षाविद् कोइराला अनलाइनबाट मात्रै कक्षा सञ्चालन गर्ने कुरा गरेमा त्यो अपरिपक्व हुने भन्दै बहु मिडियाबाट जानुपर्ने सुझाउँछन् । उनले भने, ‘बरु आजैबाट सुरु गरौं न । शिक्षामन्त्री, शिक्षा सचिव, विश्वविद्यालयका भिसी, रजिष्ट्रार आदि लाग्नुपर्ने होइन । चिच्याएर उहाँहरुले भन्नुपर्छ कि ए शिक्षक साथीहरु हो तपाइँहरु लाग्नुपर्यो । तपाइँले नै तपाइँको विद्यार्थी कहाँ छ जान्नुस्, तपाइँसँग टेलिफोन छ फोन गर्नुहोस् । तपाईंको विद्यार्थीलाई भन्नुस् कि तपाईंलाई रेडियोबाट पठाउँ कि, टेलिभिजनबाट पठाउँ ? अनलाइनबाट पठाउँ कि प्रिन्ट म्याटेरियल तपाइँको घरमा आइपुग्ने गरी डिजाइन बनाइदिउँ कि के बाट पठाउँ भनेर तपाइँको विद्यार्थीलाई सोध्नुहोस् । म तपाइँहरुसँग सोध्न चाहन्छु भनेर शिक्षकले विद्यार्थीलाई सोधौं र त्यही अनुसारको म्याटेरियल बनाएर पठाउने व्यवस्था मिलाउँ । शिक्षक र प्राध्यापकहरुलाई भनौं । ल मित्रहरु तपाइँहरु म्याटेरियलहरु बनाउँदै जानुस्, त्यो पास पनि हुँदै जान्छ र त्यसलाई कम्पाइल पनि गर्दै जानुस्, तपाइँहरुले जे जे बनाउनुहुन्छ त्यो म पोर्टलमा राखिदिन्छु, अफलाइन र प्रिन्टमा राखिदिने व्यवस्था मिलाउनेछ भनेर विश्वविद्यालयले भन्नुपर्यो नि ।’

अनलाइन मात्रै भने दिन बिगार्ने मेलो

शिक्षाविद् कोइराला कतिपय विद्यार्थीहरु अहिले ग्रामिण भूभागमा पुगेको र सबैको हात वा साथमा इन्टरनेटको पहुँच पनि नहुन सक्ने बताउँछन् । यस्तो अवस्थामा अनलाइन मात्रै भनिए फेल भइने भन्दै सबै प्रकारबाट सोच्नुपर्ने उनको भनाई छ ।

कोइराला भन्छन्, ‘उहाँहरुको (त्रिविका पदाधिकारी) बुद्धि छ भने सही ढङ्गमा जानुस् र बुद्धि छैन भने त मैले सोझो बाटो जाने कि घुमाउरो बाटो जाने भन्ने नै हो । कातर छ भने घुमाउरो बाटो जान्छ र साहशी छ भने छोटो बाटो जान्छ । अनलाइन मात्रै भन्ने हो भनेचाहिँ म दिन बिगार्ने मेलो मात्रै भन्छु । त्यो भन्दा बढ्ता उपलब्धि केही हुनेवाला छैन ।’

त्रिभुवन विश्वविद्यालयले आफू मातहत रहेका संकाय, संस्थान, विभाग वा क्याम्पसहरुमा आगामी सातादेखि नै अनलाइन कक्षा सञ्चालन गर्ने गरी तयारी गर्दै आइतबार मात्रै सूचना प्रकाशन गरेको थियो । र, त्यसको परिपत्र पनि मातहतका निकायहरुलाई दिइसकेको थियो । यद्यपि यसको जटिलता धेरै भएको कारण यो सञ्चालनमा आउँला वा नआउँला भन्ने चिन्ता भने बढेको छ । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.