आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

किम पछि उत्तर कोरियामा को बन्ला सर्वोच्च नेता ?

मङ्गलबार, १६ वैशाख २०७७, ०१ : ४५
मङ्गलबार, १६ वैशाख २०७७

-एलिस्टेयर कोलमैन

एजेन्सी । उत्तरकोरियाको सरकारी मिडियाले आफ्नो देशमा सबै कुरा ठिक रहेको भन्ने सन्देशसहितको समाचार प्रसारण गरिरहेका बेला विश्वका अन्य मुलुकहरुमा भने त्यहाँका सर्वोच्च नेना किम जोङ उनको स्वास्थ्य स्थितिबारे विभिन्न अनुमान गरिराखिएको अवस्था छ । किम गम्भीर रुपमा बिरामी भएका देखि मृत्यु भएकासम्मका हल्लाहरुले विश्व बजार तातिरहेको छ । उनको स्वास्थ्य स्थितिका बारेमा १५ अप्रिलदेखि विभिन्न अड्कलबाजीहरु भैरहेका छन् । उक्त दिन उनका हजुरबुबा अर्थात उत्तरकोरियाका संस्थापक नेता किम इल सुङको जन्मजयन्ती समारोहमा किम उपस्थित भएनन् ।

त्यसलगत्तै अमेरिका र दक्षिण कोरियाका अधिकारीहरुले उत्तरकोरियामा किमको चहलपहल रोकिएको दाबी गर्र्दै उनी गम्भीर रुपमा बिरामी भएको वा मृत्युनै भएको हुनसक्ने  अनुमान गरेका खबरहरु सार्वजनिक भए । उत्तरकोरियाको सरकारी मिडियाले त्यहाँको आधिकारिक समाचार अझै बाहिर नल्याएसम्म यो अफवाह जारी रहने अनुमान गरिएको छ । यदि यी अफवाहहरु सही हुन् भने उत्तरकोरियाको नेतृत्वको विषयमा एउटा गम्भीर सवाल अघि आउँछ । किम जोङ उनपछि उत्तरकोरियामा सत्ताको नेतृत्व कसले गर्ला ? 

उत्तरकोरियामा किम पछि सत्ताको नेतृत्वमा आउन सक्ने केही व्यक्तिहरुबारे यहाँ चर्चा गरिन्छ ।

किम यो जोङ
किम यो जोङ किम जोङ उनकी कान्छी बहिनी हुन् । यदि उनपछि उत्तरकोरियाको नेतृत्वमा आउन सक्ने शक्तिशाली दाबेदार किम यो जोङ हुन् । उनी देशको नयाँ नेताको रुपमा उदाउने प्रबल सम्भावना रहेको छ । ३१ वर्षीया किम यो जोङले स्वीट्जरल्यान्डमा अध्ययन गरेकी हुन् । उनी उत्तरकोरियाली सत्तारुढ दल वर्कस पार्टीमा पोलिटब्युरो सदस्यको हैसियतमा रहेकी छिन् । उनले प्रचार तथा आन्दोलन विभागको सहायक निर्देशक समेत हुन् । जोङलाई किम जोङ उनको ‘सेक्रेट डायरी’ भनेर समेत चिनिन्छ । जोङले नेता उनका दैनिक कामकाजमा महत्वपूर्ण भूमिका खेलिरहेकी हुन्छिन् भने नीतिगत विषयमा समेत सल्लाह दिने गरेको विश्वास गरिन्छ । जोङ तथाकथित ‘माउन्ट पेक्टु रक्तरेखा’ का सदस्य पनि हुन्, जुन किम परिवारको वंशसँग प्रत्यक्षरुपमा जोडिन्छ ।

जसको उत्तरकोरियाको राजनीतिमा महत्वपूर्ण भूमिका रहेको छ । तर जोङमा केही कमजोरीहरु पनि देखिन्छन् । उनी सबै कुरामा हतार गर्न खोज्छिन् । जसका  कारण उनीबाट गल्ती गर्ने सम्भावना बढी हुनसक्छ भन्ने विश्वास गरिन्छ । यसको उदाहरणको रुपमा पछिल्लोपटक किम जोङ उन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच हनोईमा भएको बैठकको एक दृष्यलाई लिन सकिन्छ । उक्त भेटघाटका क्रममा जोङले नेताहरुलाई पछाडिबाट चियाएको तस्बिर संसारभर भाइरल भएको थियो । जसका कारण उनी लज्जित हुनुपरेको थियो । तर जोङले यस्तो व्यवहार गरेको पहिलोपटक भने होइन । उनको यो आफ्नो व्यक्तिगत बानी पनि हो ।

अब यहाँ अर्को प्रश्न पनि उठ्छ कि उत्तरकोरिया महिला नेतृत्वका लागि तयार छ ? त्यहाँ राजनीतिक र सामाजिक सेटअपमा महिलाहरुको अत्यन्तै महत्वपूर्ण भूमिका रहेको छ तर शक्तिशाली स्थानहरुमा भने तिनीहरुको उपस्थिति एकदम कम देखिन्छ । यस्तो अवस्थामा किम परिवारकी सदस्य जोङले के पितृसतात्मक समाजको चुनौतीलाई पार गर्न सक्छिन् त ? यो प्रश्न पनि गहन भएर अघि आउँछ ।

किम जोङ चोल 


किम जोङ चोल किम जोङ उनका जेठा भाई हुन् । उनका बुबाले चोललाई पहिले नै उत्तरकोरियाको भावी नेताको रुपमा पदोन्नती गरेका थिए र सत्तामा स्थापित गर्न खोजेका थिए । तर चोलले सेना र राजनीतिमा कुनै उत्साह देखाएनन् । त्यसैले त्यसबेला नै किम जोङ उनलाई उनको स्थानमा ल्याइएको हो । चोल सार्वजनिक कार्यक्रमहरुमा समेत देखा पर्दैनन् । उनी सन् २०१५ मा एकपटक लन्डनमा आयोजितक एक कन्सर्टमा देखा परेका थिए । उनी गितारबादक समेत हुन् । उनलाई देशको कमाण्ड गर्ने जिम्मेवारी सुम्पिने सम्भावना निकै कम छ ।

किम प्योंग इल


इल उत्तरकोरियाको दोश्रो सर्वोच्च नेता किम जोङ इलका सौतेनी भाइ हुन् । वंशमा उनी किम जोङ उनका काका पर्छन् । उनी उत्तरकोरियाका पहिलो सर्वोच्च नेता किम इल सुङका छोराका रुपमा ‘माउन्ट पेक्टु रक्तरेखा’ का सदस्य हुन् । एक समय उनलाई किम जोङ इलका लागि खतरा ठानिन्थ्यो । त्यसैले इललाई चार दशकसम्म विभिन्न युरोपियन मुलुकहरुमा राजदूतको रुपमा राखिएको थियो । किम जोङ इलले उनलाई उत्तरकोरियाबाट बाहिरनै राख्न खोजेको अनुमान त्यसबेला गरिएको थियो । इल ६५ वर्षको उमेरमा अवकाश लिएपछि गत वर्ष प्योङयाङ फर्किएका हुन् । यदि उनले उत्तरकोरियाको नेतृत्व लिए भने देश सुरक्षित हातमा पुगेको अनुमान गर्न सकिन्छ ।

चोय रेयोङ हे
उपाध्यक्ष मार्शल चोय किम जोङ उनका दाहिने हात मानिन्छन् । उनी उत्तरकोरियाको संसद माथिल्लो जनसभाको अध्यक्ष समेत हुन् । ७० वर्षीय चोयलाई देशको शक्तिशाली व्यक्तिहरुमध्ये एक मानिन्छ । किम जोङ उनलाई शीर्ष स्थानमा सुरक्षित गर्न उनको महत्वपूर्ण भूमिका रहँदै आएको छ । त्यसर्थ किमले उनलाई धेरै सम्मान पनि गर्ने गर्छन् ।

सन् २०१२ मा  किम जोङ उनले सत्ता सम्हालेको केही महिनापछि चोयलाई एकैसाथ धेरै जिम्मेवारी प्राप्त भएको थियो । यसबाट पनि बुझिन्छ कि किमले उनको महत्वलाई निकै नजिकबाट अनुभूति गरेका छन् । किम परिवार बाहिरबाट चोय उत्तरकोरियाका एक यस्ता नेता हुन्, जसको नाम त्यहाँको सरकारी मिडियामा नियमित रुपमा देखिन्छ र प्रसारण गरिन्छ । उत्तरकोरियामा किम परिवारभन्दा बाहिरका सदस्यहरुले पनि सरकारको उच्च तहको नेतृत्व गर्न सक्छन् भन्ने चोय एक उदाहरण पनि हुन् । त्यस्तो अवस्थामा चोय उपयुक्त दावेदार पनि हुन् । 

किम जेय रेयोङ
किम जेय रेयोङ पनि किम परिवारका सदस्य होइनन् । उनी उत्तर र दक्षिण कोरियाका साझा नामका रुपमा चिनिन्छन् । धेरै मानिसहरुलाई सन् २०१६ अघि रेयोङका बारेमा केही थाहा थिएन । त्यसपछि उनले उत्तरकोरियाली राजनीतिमा लगातार सफलताहरु हासिल गर्दै गए । एक वर्षअघि उनी अचानक कोरियाको संसदमा प्रतिनिधित्व गर्न पुगेका थिए ।

त्यसको एक महिनापछि उनी लगत्तै प्रधानमन्त्री चुनिएका थिए । त्यससँगै उनले पार्टीको पोलिटव्युरो सदस्य र केन्द्रीय सैन्य आयोगका जिम्मेवारी पाएका थिए । उनी त्यहाँको सत्ताधारी परिवारको सदस्य नभएपनि सत्ता नेतृत्वका लागि उपयुक्त ठानिन सक्छन् ।

उत्तरकोरियामा उत्तराधिकारीको चुनाव कसरी हुन्छ ?

सन् १९४८ मा उत्तरकोरियाको स्थापना भएयता किम परिवारको शासन निरन्तर चल्दै आएको छ । त्यहाँ नयाँ नेताको आधिकारिक घोषणा संसदको माथिल्लो जनसभाले गर्ने चलन छ । यद्यपि, उक्त संसद वर्कस पार्टीको प्रभुत्वमा रहेको छ । संसदले आधिकारिक घोषणा गर्नु एक महिनाअघि वा एक वर्षअघि नै नेता चुनिन सक्छ । किम जोङ उनका बुवा किम जोङ इल सन् १९९४ मा संस्थापक नेता किम इल सुङको निधनपछि नेता बनेका थिए । किम इल सुङ इलका पिता हुन् । उनले आफ्नो शासनकालमा उत्तरकोरियाको राजनीतिमा किम परिवारको प्रमुख भूमिका सुनिश्चित गरेका थिए । उनले उत्तरकोरियामा यो मिथक स्थापित गरेकी किम परिवारहरु माउन्ट पेक्टुका महान परिवारहरुमध्य एक हुन् ।

माउन्ट पेक्टु पर्वतले कोरियाली सभ्यताको पक्षपोषण गर्छ । जसलाई त्यहाँका मानिसले पवित्र ज्वालामुखी पहाड भनेर चिन्छन् । यही मिथकले किम परिवारलाई उत्तरकोरियामा यस्तो स्थानमा स्थापित गर्दियो, जहाँ उनीहरुका परिवार शासन गर्न मात्र जन्मिएका हुन् । त्यसपछि किम इल सुङले किम जोङ इललाई आफ्नो उत्तराधिकारी रुपमा छनौट गरे । किम जोङ इलले आफ्नो छोरो किम जोङ उनलाई शक्ति प्रदान गरे । किम जोङ उनको पनि आफ्नै परिवार छ । तर उनका कुनै बालबच्चा अहिलेसम्म सार्वजनिक रुपमा देखिएका छैनन् । न त कोही सत्ता लिन तयार छ । सत्य यो हो कि उत्तरकोरियाका कुनै पनि जनतालाई किम जोङ उनका बच्चाहरुको नाम थाहा छैन । यता, किमलाई प्रतिस्थापन गर्न कसैलाई पनि सम्भावित नेताको रुपमा तयार गरिएको छैन । त्यसर्थ किमपछि उत्तरकोरियामा राजनीतिक सत्तामा शून्य सृजना हुन सक्छ, जुन भर्न निकै गाह्रो हुन सक्छ । –बीबीसीबाट रातोपाटीका लागि अनुवादः रङ्गलाल रिमाल 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप