मङ्गलबार, २० कात्तिक २०८१
ताजा लोकप्रिय

कसरी किन्न सक्छौ आकाशलाई ?

वाशिङ्टन सरकारलाई चीफ सियाटलको खुलापत्र : प्राकृतिक स्रोत–साधन र वातावरण संरक्षणबारे संसारकै अनौठो र महत्वपूर्ण दस्तावेज
सोमबार, १५ वैशाख २०७७, ०९ : ०२
सोमबार, १५ वैशाख २०७७

अमेरिकाको नाम आउनासाथ हाम्रो मनमस्तिष्कमा अति महाशक्ति राष्ट्रको छवि आउँछ, पुँजीवादी विकासको चुचुरोमा रहेको अति धनी मलुकुको छायाँ नै छाउँछ । तर, हाम्रो मनमस्तिष्कमा अमेरिकाभित्रै ‘थुप्रै अमेरिका’ रहेको चित्र कमै मात्र आउँछ, अति महाशक्ति राष्ट्र अमेरिकाभित्रै पनि ‘अर्को अमेरिका’ पनि भएको तस्बिर साह्रै कम मात्र आउँछ ।

साहित्यकार बाल्जाकले भनेका थिए, ‘प्रत्येक विशाल सम्पत्तिको पछाडि कुनै न कुनै अपराध लुकेको हुन्छ ।’ अति महाशक्ति राष्ट्र अमेरिकाको शक्ति र समृद्धिको पछाडि पनि अनगिन्ती अपराध लुकेका छन्, अरु धेरै अमेरिकाको रगत–पसिना–बलिदान छिपेको छ ।

‘दी इनेमी’का लेखक फेलिक्स ग्रीनका अमेरिकाको अनुसार पुँजीवादी समृद्धि र सम्पत्ति दासहरूलाई कल्पनातीत वेदना दिएर, बेदखल गरिएका तथा मारिएका रेड इन्डियन तथा आप्रवासीलाई कल्पनाभन्दा परको कष्ट दिएर आर्जन गरिएको हो ।

हो, तिनीहरूबाटै बनेको छ ‘अर्को अमेरिका’, जहाँ अमेरिकाका खास आदिवासी अमेरिकीहरू बस्छन्, युरोपबाट पसेका गोरा शासकहरूद्वारा दिइएको ‘रेड इन्डियन’को पहिचान भिरेर । गोरा शासकहरूले क्रिस्टोफर कोलम्बसमार्फत् ‘अमेरिका पत्ता लगाउनु’भन्दा हजारौं वर्षअघिदेखि अमेरिकी भूमिमा स्वेच्छापूर्वक विचरण गर्थे ती ‘रेड इन्डियनहरु’ । तिनीहरूलाई युद्धमा हराएर, उनीहरूविरुद्ध ठूलठूला नरसंहार गरेर, उनीहरूको देश, उनीहरूको भूमि र उनीहरूको संस्कृति लुटिएको थियो । र, नियोजित रुपमा गरिएको उनीहरूको सामूहिक विनाशको मूल्यमा गोरा शासकहरूको ‘सभ्य, सुसंस्कृत र समृद्ध अमेरिका’ बनाइएको हो ।


तिनीहरूबाटै बनेको छ ‘अर्को अमेरिका’, जहाँ अमेरिकाका खास आदिवासी अमेरिकीहरू बस्छन्, युरोपबाट पसेका गोरा शासकहरूद्वारा दिइएको ‘रेड इन्डियन’को पहिचान भिरेर । गोरा शासकहरूले क्रिस्टोफर कोलम्बसमार्फत् ‘अमेरिका पत्ता लगाउनु’भन्दा हजारौं वर्षअघिदेखि अमेरिकी भूमिमा स्वेच्छापूर्वक विचरण गर्थे ती ‘रेड इन्डियनहरु’ । तिनीहरूलाई युद्धमा हराएर, उनीहरूविरुद्ध ठूलठूला नरसंहार गरेर, उनीहरूको देश, उनीहरूको भूमि र उनीहरूको संस्कृति लुटिएको थियो ।


गोरा शासकहरूको नयाँ अमेरिकी सभ्यता र समृद्धिका लागि खासमा आदिवासी अमेरिकीहरूले आफ्नो देश, आफ्नो भूमि र आफ्नो संस्कृतिको अपहरणको मूल्य चुकाउनुपर्‍यो । सन् १८८० सम्म आइपुग्दानपुग्दै युरोपका गोरा शासकका लागि ‘नयाँ मुलुक’ अमेरिकामा ती आदिवासी मुठ्ठीभर कबिलाका रुपमा जीवित रहे । उनीहरूको भूमि र भूमिभित्र सम्भावित सुनको खानी लुट्न आतुर गोरा शासकहरूको औपनिवेशीकरण र नरसंहारका कारण आदिवासी अमेरिकीहरू रोग र भोकको सिकार भएपछि अन्ततः लोपोन्मुख जातिमा परिणत भए, जो पहिले दस लाखको संख्यामा रहेका थिए । गोराहरू र गोराहरूको सरकारले लुट्ने, हडप्ने र किन्ने उपक्रमका साथ उनीहरूको भूमि खोसेकाले आज उनीहरू ‘क्यान्टोन्मेन्ट’मा मात्रै सीमित छन्, चिडियाघरको सट्टा ‘मानवघर’मा बन्दीजस्तै अभिशप्त जीवन जिउँदै ।

अमेरिकाका आदिवासी जनताका पीडा र संघर्षलाई सम्बोधन गर्ने काम न संवैधानिक सम्मेलनले गर्‍यो, न त त्यसले बनाएको संविधान र संघीयताले नै गरे । सीमान्तीकृत रेड इन्डियनहरूलाई समावेश गर्ने उद्देश्यले अमेरिकामा संघीयता निर्माण गरिएकै थिएन त त्यसले समावेशी राज्य कसरी बनाओस् !

पुँजी भएका गोराहरूका वाणिज्य व्यापारलाई प्रवर्धन गर्ने र राष्ट्रिय सुरक्षालाई जगेर्ना गर्ने उद्देश्यले बनाइएको थियो अमेरिकी संघीयताको ढाँचा । त्यस्तो संघीयतामा, सुनलाई खेलौना ठान्ने, सुनलाई पुँजीको रुपमा विकास गर्न नपाएका र अमेरिकी राष्ट्रको परिभाषाको घेराभन्दा बाहिर परेका ती रेड इन्डियनको हक–हितको सुरक्षा कसरी हुन्छ ?

हुन त सङ्घीय सरकारको निर्माणको सुरूआतदेखि नै इन्डियन जातिलाई सार्वभौम राजनीतिक स्वशासित निकायको रूपमा मान्यता दिइएको छ । त्यसको अर्थ उनीहरुको हक–हित सुरक्षित रहेको कसरी मान्न सकिन्छ ?

विभिन्न स्वतन्त्र र सम्प्रभु राज्यहरूले आपसी सहमति र सम्झौताद्वारा सामान्य र साझा विषय संघबाट सञ्चालन गर्ने अभिप्रायले बनाइएको थियो अमेरिकाको संघीय संरचना । संघ र राज्यका अलग–अलग सरकार हुने, अलगै प्रशासन हुने, दोहोरो नागरिकता हुने, दोहोरै न्यायप्रणाली पनि हुने जटिल किसिमको संघीयताको ढाँचाले पनि रेड इन्डियनहरूलाई हालसम्म कुनै सरकारको अनुभूति दिन सकेको छैन, न त कुनै मानवीय न्याय नै ।

जब क्षेत्रीयतालाई मात्रै संघीयता निर्माणको आधार बनाइन्छ, आदिवासी जनजातिगत र भाषिक आधारलाई पूरै बेवास्ता गरिन्छ भने त्यस्तो संघीयताले रेड इन्डियनहरूका जातिगत र भाषिक समस्यालाई कसरी सम्बोधन कसरी गर्न सक्छ ? अमेरिकाका सबै संघीय र राज्य सरकारले पुँजीपति वर्गको हित र स्वार्थ रक्षार्थ प्राकृतिक स्रोत–साधन दोहन र मानवीय शक्तिको शोषण मात्रै गर्दै आएका छन् । यस्तो स्थितिमा आदिवासी अमेरिकीहरूद्वारा वर्षौंवर्षअघिदेखि उठाइएको प्रकृति–प्रेम हास्यास्पद नभए के हुन्छ ?

https://upload.wikimedia.org

अमेरिकाका मूल आदिवासी रेड इन्डियनका एक नाइके चीफ सियाटलले गोरा शासकहरूसामु उठाएका प्रश्न पनि धेरैलाई हास्यास्पद लाग्न सक्छ । तर रेड इन्डियन कबिलाका एक नाइकेका हैसियतले उनले ११ मार्च १८५४ मा मूल आदिवासीहरूका सबै जमिन किन्न चाहने वाशिङ्टन डिसीको गोरा सरकारसामु उठाएका सवाल आज पनि जायज छन् ।


अमेरिकाका मूल आदिवासी रेड इन्डियनका एक नाइके चीफ सियाटलले गोरा शासकहरूसामु उठाएका प्रश्न पनि धेरैलाई हास्यास्पद लाग्न सक्छ । तर रेड इन्डियन कबिलाका एक नाइकेका हैसियतले उनले ११ मार्च १८५४ मा मूल आदिवासीहरूका सबै जमिन किन्न चाहने वाशिङ्टन डिसीको गोरा सरकारसामु उठाएका सवाल आज पनि जायज छन् ।

रेड इन्डियनहरूको जमिन किन्ने, लुट्ने वा खोस्ने काममा सक्रिय सरकारले उनीहरूलाई भूमिबापत हालसम्म ‘मानवधर’बाहेक केही उपहार दिएको छैन । हो, आम अमेरिकीभन्दा कम औसत आयु, न्यून जीवनस्तर र उच्च गरिबी–दरबाहेक अरु कोसेली दिएको छैन । र, बेरोजगारी, बेदखली, बेघरबार, स्वास्थ्य समस्या र युवा आत्महत्याबाहेक अरु केही दिएको छैन ।

यस्तो अवस्थामा चीफ सियाटलले आजभन्दा डेढ सय वर्षअघि लेखेको पत्र सान्दर्भिक हुनु स्वाभाविकै छ । त्यसबेला वाशिङ्गटन सरकारको नाममा पत्र लेख्दै चीफ सियाटलले आदिवासी भूमि र प्राकृतिक स्रोत–साधनको संरक्षण र अधिकारबारे मार्मिक प्रश्न उठाएका थिए । यो त्यस्तो ऐतिहासिक पत्र हो, जसलाई प्राकृतिक स्रोत–साधन र वातावरण संरक्षणबारे संसारकै अनौठो र महत्वपूर्ण दस्तावेज मानिन्छ । 

....................

‘तिमी कसरी किन्न सक्छौ आकाशलाई ? चीफ सियाटलले सोध्यो ।
तिमी हावा र पानीका मालिक कसरी बन्न सक्छौ ?

मेरी आमाले मलाई भनेकी थिइन्,
यो जमिनका हरेक टुक्रा मेरा मानिसलाई पूज्य छ ।
रुखविरुवाका एक–एक पात, हरेक बलौटे किनार,
सन्ध्याकालीन कुइरोले ढाकिएको जङ्गल,
घाँसे मैदान अनि भमराहरूको गुञ्जन,
यी सबै पवित्र र पूज्य छन्,
र हामी आदिवासीको स्मृति र जीवनसँग बाँधिएका छन् ।

मेरा पिताले मलाई भनेका थिए,
रुखविरुवाका रेसा–रेसामा बगिरहेको रसलाई
म आफ्नो नसा–नसामा बगिरहेको रगतजस्तै जान्दछु ।

हामी पृथ्वीकै एउटा हिस्सा हौं र यो माटो हाम्रै एउटा अंश हो ।
यी सुगन्धित फूल हाम्रै बहिनी हुन् ।

यी मृग, यी घोडा, यी विशाल चील, यी सबै हाम्रै भाइ हुन् ।
लेक र पहाडका चुचुरा, मैदानको हरियाली
र घोडाका बच्चा– यी सबै एकै परिवारका सन्तान हुन् ।

मेरा पूर्वजका आवाजले मलाई भन्छन्,
नदी र झरनामा बगिरहेका निर्मल जल
केवल पानी होइन, बरु मेरा पूर्वजको रगत हो ।
अनि तालतलैयामा प्रतिविम्बित हुने हरेक छायाँमा लुकेका छन्
मेरा पूर्वजका जीवनका सम्झना र गाथा ।

पानीको कलकलमा सुनिन्छन् मेरो पूर्वजका आवाज ।
यिनै नदी हाम्रा मित्र हुन् ।
यिनले हाम्रो प्यास मेटाउँछन् ।
यिनका लहरमा खेल्छन् हाम्रा सस्याना डुङ्गा,
अनि यिनले नै मेट्छन् हाम्रा बच्चाका भोक र तिर्खा ।
यसैले तिमी यी नदीलाई त्यत्तिकै लाडप्यार दिनू
जति तिमी आफ्ना साख्खै भाइलाई दिन्छौ ।

मेरा बाजेले मलाई भनेका थिए,
यो हावा बहुमूल्य छ ।
यही हावाले नै सबै जीवलाई पोस्ने गर्छ ।
अनि सबैको हात–हातमा आफ्नो आत्मालाई बाँड्ने गर्छ ।
यही हावामै हाम्रा पुर्खाले लिएका थिए आफ्नो पहिलो सास ।
तिमी यही भूमि र हावालाई पवित्र बनाइराख्नू,
जसबाट तिम्रा मानिसहरूले पनि सुगन्धित वायुको अनुभूति गर्न सकून् र शीतल हावाको आनन्द पाउन सकून् ।

जब अन्तिम रेड इन्डियन पुरुष र नारी जङ्गली सम्पदासँगै हराउनेछन्,
तब हरियो मैदानमा एउटा बादलको टुक्राजस्तै
उनीहरूको स्मृति धूमिल भएर रहने छ ।
के तबसम्म नदीको किनार र जङ्गल बाँकी रहनेछन् ?
के मेरा मानिसहरूका आत्मा तबसम्म बाँचिरहनेछन् ?
मेरा पुर्खाले मलाई भनेका थिए, र यो हामी सबैलाई पनि राम्ररी थाहा छ–
हामी यस धर्तीका मालिक होइनौं ।
हामी यस पृथ्वीका केवल एक अङ्ग हौं ।

मेरी बज्यैले भनेकी थिइन्,
आफ्ना बच्चाहरूलाई त्यही सिकाउनू, जुन तिमी आफैले सिकेका थियौ ।
यो धर्ती हाम्री आमा हुन् ।
जेजति धर्तीको हुनेछ, त्यही नै हुनेछ धर्तीका बच्चाहरूको पनि ।

मेरो कुरा र मेरा पूर्वजको भनाइ ध्यान दिएर सुन,
चीफ सियाटलले भने ।
गोरेहरूको नियति अहिलेसम्म पनि मेरा लागि एउटा रहस्य हो ।
के होला त्यतिखेर, जतिखेर सबै भैंसी मारिनेछन् ?
र, सबै जङ्गली धोडा पाल्तू बनाइनेछन् ?
के होला त्यतिखेर, जतिखेर जङ्गलका हरेक कुनाकाप्चा
मानिसको पाइतालाबाट नराम्ररी कुल्चिनेछन् ?

जतिखेर पहाडका सुन्दर दृश्य ढाकिनेछन् टेलिफोनका तारहरूबाट ।
त्यतिखेर के हुनेछन् जङ्गललाई, हरियालीलाई ? हो, नष्ट हुनेछन् ती ।
के होला ती शक्तिशाली चीललाई ? हो, खत्तम हुनेछन् ती ।
के होला त्यतिखेर, जतिखेर तेज घोडा र अरु सिकारको अन्त्य हुनेछ ?
त्यतिखेर जीवनको अन्त्य हुनेछ र बाँचिरहने कोसिस मात्रै बाँकी रहनेछ ।

एउटा कुरा हामीलाई थाहा छ– सबै चिज एक–अर्कासँग जोडिएका छन् ।
मानिसले बुनेको होइन जीवनको तानाबाना
मानिस त त्यस्तो तानाबानाको एउटा कमजोर धागो मात्रै हो ।
हामीमाथि पनि त्यही हुनेछ, जुन हामी तानाबानासँग गर्छौं ।

हाम्रा मानिस यो धर्तीलाई त्यत्तिकै प्रेम गर्दछन्,
जति आमाको ढुकढुकीलाई नवजात शिशुले माया गर्दछ ।
त्यसैले यदि हामीले तिमीलाई जमिन बेच्यौं भने
तिमीले त्यसरी नै माया गर्नू, जसरी ग¥यौं हामीले ।
हामीले जुन अवस्थामा आफ्नो भूमि तिमीलाई दियौं
त्यसको स्मृतिलाई आफ्नो मनमा सधैं ताजा राख्नू ।

यस जमिनलाई, यी हावालाई, यी नदीलाई
सम्हालेर राख्नू आफ्ना बालबच्चाका लागि,
अनि तिनलाई त्यही लाडप्यार दिनू, जुन हामीले दियौं ।’

(इसमता डटकमबाट)

Title photo: https://upload.wikimedia.org

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेन्द्र महर्जन
राजेन्द्र महर्जन
लेखकबाट थप