लकडाउन बेला दलितमाथि हुने विभेदबारे हुन थाल्यो सर्वेक्षण
अस्ट्रेलिया । कोरोना भाइरसको महामारीको कारण दलित समुदायले जातिय विभेदको सामना गर्नुपरेको समाचार सार्वजनिक भएको भन्दै तथ्यांक संकलनको लागि संक्षिप्त सर्वेक्षण सुरु गरिएको छ।
अनुसन्धान र विकास सेवाले कोरोना भाइरस र यसबाट उत्पन्न प्रतिकुल अवस्थामा दलित समुदायले भोग्नु परेको जातीय भेदभावले कस्तो असर पारेको छ र त्यस्को सत्यतथ्य जानकारी लिएर सरकारलाई सचेत गराउने उद्देश्यले संक्षिप्त अनलाइन सर्वेक्षण शुरु गरिएको हो ।
कोरोना भाइरसले प्रत्यक्ष रूपमा नेपाल लगायत विश्वभरीका मानव सबैलाई प्रभाव पारिरहेको छ र निरन्तर लम्बिएको लकडाउनले दलित, दैनिक ज्याला, मजदुरी गर्ने तथा अति गरिब समुदायको दैनिकीमा प्रतिकुल असर परेको देखिन्छ ।
यस्तो विषम परिस्थितिमा पनि छुवाछुत तथा भेदभावको घटना सार्वजनिक हुनु अत्यन्तै गम्भीर स्थिति रहेको संस्थाले जनाएको छ । अनुसन्धान र विकास सेवाका अनुसार यो अध्ययनको निष्कर्ष नेपाल सरकारलाई पेश गर्ने जर्नल लेख वा प्रतिवेदनको रुपमा प्रकाशित गर्ने र तथ्यमा आधारित रहेर जनवकालत गर्न समेत प्रयोग हुने संस्थाले बताएको छ ।
यो अनलाइन सर्वेक्षणमा भाग लिने सबै उत्तरदाताको परिचिय गोप्य रहने छ भने कुनै उत्तरदाताको अभिव्यक्ति राख्नै पर्ने देखिएमा स्वीकृति लिएर राखिने छ । लेख पढ गर्न असमर्थ भएका सहभागीको हकमा अन्य लेख पढ गर्न सक्ने व्यक्तिको सहयोगमा यो फारम भर्न सकिने छ ।