बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

वितेका ६ दिनमा नेकपामा तीव्र उतारचढाव, कहिले के भयो ?

आइतबार, १४ वैशाख २०७७, ११ : ५८
आइतबार, १४ वैशाख २०७७

काठमाडौँ । पार्टीमा छलफल नै नगरी सरकारले दुई अध्यादेश ल्याएपछि तरङ्गित बनेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक शक्ति सङ्घर्ष र धु्रवीकरण थप चुलिएको छ । 

अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीको एकल चाहनामा गत सोमबार ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ र राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७७ मन्त्रिपरिषदबाट निर्णय गर्दै सोही दिन राष्ट्रपतिले प्रमाणीकरण गरेपछि नेकपाभित्रको आन्तरिक राजनीतिमा तीव्र उतारचढाव आएको हो ।

प्रधानमन्त्री ओलीले एकलौटी ढङ्गले गरेको अध्यादेशबारे निर्णयप्रति पार्टीभित्र र बाहिर चर्को विरोध मात्रै भएन प्रधानमन्त्रीमाथि हिटलर र भष्मासुरको समेत आरोप लाग्यो । अध्यादेशपछि केके भयो त विगत ७ दिनमा ? यस्ता छन् मुख्य घटनाक्रम :
 
वैशाख ८ गते सोमबार 
१. बालुवाटारमा मन्त्रिपरिषद् बैठक । बैठकमा प्रधानमन्त्रीबाट पार्टी फुटाउने दल गठन सम्बन्धी र संवैधानिक परिषद् सम्बन्धी संशोधन गर्ने निर्णय । 

२. मन्त्रिपरिषदको निर्णय लगत्तै दुवै अध्यादेश राष्ट्रपतिबाट प्रमाणीकरण ।

३. छलफल नै नगरी अध्यादेश ल्याएको भन्दै प्रचण्डको पहलमा नेकपा सचिवालयको बैठक आह्वान । बैठकमा अध्यादेशको नेताहरुबाट विरोध ।

५. सचिवालय बैठक चल्दै गर्दा राष्ट्रपतिबाट अध्यादेश प्रमाणीकरण भएको समाचार आएपछि सचिवालय बैठक समापन नै नगरी स्थगित । 

६. नेकपामा मात्रै होइन अन्य पार्टीमा पनि अध्यादेशको तरङ्ग । समाजवादी, राजपा र काँग्रेस लगायतका विपक्षी दलको विरोध ।

वैशाख ९ गते मङ्गलबार

१. पार्टी स्थापना दिवसका अवसरमा नेकपाका तीन नेता पुष्पकमल दाहाल, माधवकुमार नेपाल र केपी शर्मा ओलीबाट छुट्टाछुट्टै वक्तव्य ।

२. नेकपाका शीर्ष नेताहरूबीच आन्तरिक छलफल । स्थायी समिति बैठक बोलाउनुपर्ने बहुमत सचिवालय सदस्यको निष्कर्ष ।
 
वैशाख १० गते बुधबार 

१. अध्यक्ष प्रचण्ड र नेता माधवकुमार नेपालबीच भेटवार्ता ।

२. प्रधानमन्त्री केपी ओलीको बालुवाटारमा सङ्घीय सांसदहरुसँग छलफल । छलफलमा अध्यादेशको प्रधानमन्त्रीबाट बचाउ । 

३. रामबहादुर थापा बादल र प्रचण्डबीच भेटवार्ता ।

४. २० स्थायी समिति सदस्यहरूद्वारा बैठक माग गर्दै अध्यक्षलाई पत्राचार । 

५. राजपा र समाजवादी एकताका लागि तीव्र छलफल । 

६. मध्यराति राजपा र समाजवादी एकता घोषणा गर्दै जनता समाजवादी पार्टीको नामकरण ।

वैशाख ११ गते बिहीबार

१. समाजवादीका असन्तुष्ट सांसदको पार्टी विभाजन प्रयास असफल

२. पूर्वस्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवलाई पूर्वआईजीपी सर्वेन्द्र खनाल, नेकपा सांसदहरू महेश बस्नेत र किसन श्रेष्ठले जनकपुरबाट उठाएर काठमाडौँ ल्याई नक्सालस्थित होटल मेरियाटमा राखेको खुलासा । 

३. मेरियट होटलबाट फुत्केर डा. बाबुराम भट्टराईको सम्पर्कमा ।

४. प्रचण्ड– माधव नेपाल कोटेश्वरमा नेपाल निवासमा भेटवार्ता ।

५. प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच बालुवाटारमा भेट । 

६. अध्यादेश फिर्ता लिन र स्थायी समिति बैठक बोलाउन ओलीसँग नेपालको माग । 

७. प्रधानमन्त्री ओलीद्वारा सांसदहरूसँगको छलफल स्थगित गर्दै कानुन व्यवसायी र आफूनिकट नेताहरूसँग छलफल ।

८. भैँसेपाटीस्थित वामदेव गौतमको निवासमा सचिवालयका ६ नेताको छलफल । अध्यादेश फिर्ता गर्नुको विकल्प नभएको निष्कर्ष ।

९. राष्ट्रपति–प्रधानमन्त्री भेटवार्ता ।

वैशाख १२ गते शुक्रबार  

१ मन्त्रिपरिषद् बैठक, दुवै अध्यादेश फिर्ता लिने निर्णय ।

२. राष्ट्रपतिबाट अध्यादेश खारेजको घोषणा ।

३. अध्यादेश फिर्ता लिने सरकारको निर्णयको नेताहरुबाट स्वागत । 
वैशाख १३ गते शनिबार

१. अध्यादेश फिर्ता लिए पनि स्थायी समिति बैठक नबोलाउने ओलीको सङ्केत बुझेपछि इतरका नेताहरु आन्तरिक छलफलमा । 

२. प्रचण्ड निवास खुमलटारमा प्रचण्ड र वामदेव गौतमबीच भेटवार्ता ।

३. प्रचण्ड, माधव नेपाल र वामदेव गौतमबीच पुनः अर्को भेटवार्ता । 

४. प्रधानमन्त्री ओलीसँग पालैपालो प्रचण्ड, नेपाल, गौतम र महासचिव विष्णु पौडेलको भेटवार्ता, बैठक बोलाउन माग । 

५. बैठक बोलाउन ओली सकारात्मक नभएपछि उपाध्यक्ष वामदेव गौतमद्वारा अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा गर्न सुझाव । ६. प्रधानमन्त्रीबाट कुनै हालतमा राजीनामा नदिने अडान ।

रणनीति बनाउँदै दुवै समूह 
विगत एक सातामा सतहमा देखिएका हुन् माथिका घटनाक्रमहरु । यी घटनाक्रमहरुले के देखाउँछ भने नेकपामा शक्ति सङ्घर्ष र जोड घटाउ तीव्र छ । त्यसका लागि प्रधानमन्त्री ओली पक्ष र प्रचण्डसहितका बहुमत सचिवालय सदस्य आन्तरिक जोडघटाउमा लागेका छन् ।

यसैक्रममा प्रधानमन्त्री ओलीले ५ नम्बर प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेललाई समेत काठमाडौँ बोलाएका छन् । तीन दिनअघि मात्रै काठमाडौँ आएका पोखरेलले माधव नेपाल लगायतका नेताहरुसँग भेटवार्ता गरिसकेका छन् । पोखरेलले नेपाललाई भेट्नुको अर्थ भनेको स्थायी समिति बैठकको मागबाट पछि हट्न दबाब दिने एक मात्र उद्देश्य रहेको नेकपाभित्रकै नेताहरु बताउँछन् ।

४५ सदस्यीय स्थायी कमिटीमा कोे कता ?
नेकपाको स्थायी समिति सङ्ख्या ४५ सदस्यीय रहेको छ । अग्नि सापकोटा सभामुख भएपछि हाल ४४ सदस्यीय मात्रै छ । जसमध्ये बहुमत सङ्ख्या ओलीको विपक्षमा छ । ओली समूहमा स्थायी कमिटी सदस्य ईश्वर पोखरेल, शङ्कर पोखरेल, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, किरण गुरुङ, विष्णु रिमाल, सुवास नेम्वाङ, छविलाल विश्वकर्मा, सत्यनारायण मण्डल लगायत मात्र छन् ।

बाँकी बहुमत सदस्य प्रचण्ड–नेपाल पक्षमा भएकाले स्थायी समितिमा ओलीको राजीनामा मागिने निश्चित छ । त्यही भएर ओली स्थायी समिति बैठक पछि धकेल्ने प्रयासमा छन् । अहिले लकडाउन र बजेटको तयारीसमेत गर्नुपर्ने भन्दै ओली बैठक पन्छाउन चाहन्छन् । तर ओली इतर समूह कुनै पनि हालतमा बैठक बोलाउनुपर्ने अडानमा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप