गाईपालक कृषकको कथाः लकडाउनको चुनौतीलाई अवसरमा बदले
काठमाडौँ । लकडाउनले असर नगरेको मान्छे त अहिले को नै होला र ? अहिले एउटा भनाइ प्रचलित भइसकेछ, ‘कोरोनाको असर र पीर नभएको मान्छे यो संसारमा छैन’ । कृषि क्षेत्रमा त झन् यसको असर ठूलो छ । तर नेपालमै यस्ता किसान पनि छन् जसले लकडाउनले निम्त्याएको चुनौतीलाई अवसरमा बदलेर देखाएका छन् ।
उनी हुन शशी पौडेल । रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका वडा नं १४ तिकुलीगढका गाईपालक किसान हुन् उनी । लुम्बिनी एग्रो एन्ड रिसर्च सेन्टर प्रालि नामको एकल कम्पनीअन्तर्गत रहेको उक्त फार्ममा दुहुना र अन्य समेत गरी अहिले करिब साढे ५ सय गाई छन् । आफूलाई देशकै सबैभन्दा ठूलो गाईपालक किसान बताउने पौडेल भन्छन्, ‘तर त्यो दाबी मैले गरेको होइन, अरूले नै गरिदिएका हुन् ।’
उनको फर्ममा साढे ५ सय गाईमध्ये २०० वटा गाई दुहुना छन् । ती गाईले औसतमा पनि साढे २ हजारदेखि २२ सय लिटर दूध दिन्छन् । लकडाउनअघि ती गाईका लागि दाना, हरियो घाँस र परालको व्यवस्था गर्नु, दूध दुहुनु, बजारमा पठाउनु उनको दैनिकी हुन्थ्यो । बुटवल र भैरहवाको बजारमा उनको आफ्नै ग्राहकहरु छन् । उनी आफ्नो फर्मबाट उत्पादन गर्ने दूध सबै आफ्नै ग्राहकलाई बेच्छन् ।
तर लकडाउन सुरु भएपछि अवस्था फेरिएको छ । लकडाउन सुरु भएपछि उत्पादन भएका जति सबै दूध बिक्री नहुने अवस्था आयो । सुरुमा दाना प्रशस्त हुँदासम्म सामान्यजस्तै दैनिक २२ सय लिटर दूध नै उत्पादन हुन्थ्यो । तर बजारमा भने माग निकै कम हुन थाल्यो । उत्पादन भएकोमध्ये आधा दूधको पनि माग नआएपछि दुई दिनसम्म त्यो दूध गाईलाई नै खुवाए पनि ।
तर सधैँ त्यसरी त चल्दैन । ३० जना कामदारको दैनिक खर्च, गाईलाई खुवाउने दाना पानीको खर्च सबै धान्न समस्या हुने देखियो । लकडाउनको अवधि पनि अनिश्चित हुने देखेपछि के गर्ने भनेर घोरिँदा उनको दिमागमा एउटा आइडिया फुर्यो – आफैँ बाइप्रोडक्ट बनाउने र बजारमा बेच्ने ।
डेरी उद्योग खोल्ने भूत सवार भएपछि एक वर्षअघि नै उनले डेरी उद्योगलाई चाहिने सबै इक्विपमेन्टहरु किनेर राखेका थिए । सबै गरेर त्योबेला ३० लाख जति खर्च गरेर सामान ल्याएको उनले सुनाए । तर त्योबेला नै उनले उद्योग सञ्चालन गर्ने कुरा सम्भव पनि भएन । बजारबाट कच्चा दूधको माग नै प्रशस्त भएको अवस्था र अन्य किसानहरुले पनि अरू उद्योगलाई नै दूध बिक्री गरिरहेको अवस्थामा उनले त्यो उद्योग चलाउन सकेका थिएनन् । त्यसमाथि काम गर्ने मान्छे नपाइने समस्या पनि त्यस्तै थियो ।
त्यसैले त्योबेला त्यतिकै भएको थियो । तर, त्योबेला पूरा हुन नसकेको उनको योजना लकडाउनले पूरा गरिदिएको छ । चुनौतीसँगै आएको सुनौलो अवसरलाई उनले सदुपयोग गरेका छन् । उनले अहिले दूधका साथै खुवा, पनिर र घिउ बजाएर बजारमा बिक्री गरिरहेका छन् । त्यसमाथि डेरी उद्योगलाई आफैँ दूध बिक्री गर्ने भएकाले उनलाई बजारमा बेच्न सजिलो पनि थियो ।
पौडेल भन्छन्, ‘यो अवधिभरि नाफा त हुँदैन तर घाटा नहुने अवस्था मात्रै बनाउन सकियो भने पनि अवस्था सहज भएपछि समस्या हुँदैन ।’
तर लकडाउन लम्बिँदै जाँदा उनको फर्मले गर्ने दूधको उत्पादनमा निकै कमी आएको छ । पोषणयुक्त दाना सहजै आउन छाडेपछि अहिले त्यस्तो दानामा कटौती गर्नुपरेकाले उत्पादन ६० प्रतिशतसम्म घटेको उनको भनाइ छ । पौडेल भन्छन्, ‘हामी दुहुनो गाईलाई दैनिक ६ किलो ग्रेन–फिड खुवाउँथ्यौँ । अहिले दाना समस्या भएपछि यसलाई दैनिक दुई किलोमा झार्नुपरेको छ । पहिले २२ देखि २५ सय लिटर उत्पादन हुने दूध अहिले हजार लिटरको हाराहारीमा झरेको छ ।’
बाइप्रोडक्ट बनाउन थालेको अवस्थामा उत्पादन समेत घट्न थालेकाले अहिले उनले आफ्नो वरपरको बजारबाट समेत दूध लिएर किसानलाई थप सहज बनाइदिएका छन् । उनको फर्म नजिकै दुईवटा दूध सङ्कलन केन्द्र छन् । ती सङ्कलन केन्द्रले ३, ४ हजार लिटर दूध सङ्कलन गरेर डीडीसी लगायत दूध कम्पनीलाई बेच्थे तर ती कम्पनीहरुले समेत ‘मिल्क होलिडे’ भन्दै कहिले दूध उठाउने र कहिले नउठाउने गर्न थालेपछि समस्यामा रहेका किसानहरुलाई केही दूध उठाइदिएर आफूले सहयोग गरेको उनको भनाइ थियो ।
‘बाइप्रोडक्ट बनाउँदा हाम्रो अहिलेको उत्पादनले मात्रै बजार धान्न पर्याप्त भएन, अहिले दैनिक ३ सय लिटर दूध ती केन्द्रबाट लिइदिने गरेका छौँ’, उनले भने, ‘सकेसम्म नियमित रूपमा बिक्री गर्नेलाई नै बिक्री गर्नुस्, बिक्री नभए मात्रै यहाँ ल्याउनुस् भनेको छु । अहिले ३ सय लिटर जति दूध बाहिरबाट लिइरहेका छौँ ।’
सुरुमा धेरै दिनसम्म बिक्री गर्न सकिन्छ भनेर बाइप्रोडक्ट बनाउन सुरु गरे पनि अहिले ती सबै उत्पादनहरु एकै दिनमा बजारमा बिक्री हुने गरेको उनले सुनाए । ‘घिउ बनाए ६ महिनासम्म केही हुँदैन । पनिर, खुवा, क्रिम बनाए पनि तापक्रम मिलाएर एक हप्तासम्म राख्न सकिन्छ भनेर सुरु गरेका थियौँ तर ती सबै एकै दिनमा बजारमा बिक्री भइरहेको छ, स्टक राख्नु परेको छैन ।’
लकडाउनमा नाफा छैन, पछि छिटै रिभाइभ हुन्छ
त्यति गर्दा पनि लकडाउनको समयमा फर्म नाफामा भने छैन । उत्पादन नै आधा हुँदा उनलाई दूधमा मात्रै दैनिक ५० हजार रुपैयाँ भन्दा बढी नोक्सान हुँदै आएको छ । तर बाइप्रोडक्ट बनाएर बेच्दा त्यसबाट हुने नाफाले उनी ‘ब्रेक इभेन’मा पुग्ने प्रयास गरिरहेका छन् । ‘ब्रेक इभेनमा पुग्न अलि नसकिएला तर हामीले दूध उत्पादन गर्ने मात्रै होइन, हाम्रो ‘ब्रेदिङ सेन्टर’ पनि छ । हामी वार्षिक २, साढे २ करोडको गाई बेच्छौँ, त्यसो गर्दा हामी घाटामा नजाने अवस्था बन्न सक्छ ।’
संसारका मानव प्राणीलाई नै समस्या रहेको अवस्थामा आफ्नो फर्ममा आएको असहजतालाई उनी नौलो मान्दैनन् । ‘हाम्रो क्षेत्र त्यसै पनि धेरै नाफा हुने क्षेत्र होइन । अर्काको प्राण जतन गरेर दूध निकाल्नुपर्ने भएकाले अरू क्षेत्रजस्तो धेरै नाफा गर्न सकिँदैन । तर हामी सञ्चालन मुनाफामा भने छौँ । तर यो अवस्थामा ब्रेक इभेनमा मात्रै रहन सक्यौँ भने पनि राम्रो कुरा हो । लकडाउन खुला भएपछि फेरि आफ्नो लयमा फर्किन धेरै समय नलाग्ने उनको विश्वास छ ।
त्यसो त लकडाउन खुलेपछि ठूलो स्केलको उद्योग सञ्चालन गर्ने अवसर पनि जुटेको छ । त्यस्तो अवस्थामा दूध जुटाउन समस्या पनि हुन्न । सो नगरपालिका क्षेत्रमा ९० प्रतिशत किसानले दूध उत्पादन गर्छन् । आफूलाई चाहिने दूध राखेर अरु बिक्री गर्दै आएका छन् । उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने हो भने सबै दूध आफैँले लिइदिन पनि सम्भव रहेको उनी बताउँछन् ।
गाई पाल्न केले प्रेरित गर्यो ?
त्यसो त उनी अरू क्षेत्रमा केही गर्न नसकेर गाईपालक किसा नबनेको भने होइन । समाजशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका उनीलाई यो क्षेत्रले नै तान्यो । त्यसैले ११ वर्षअघिदेखि यो क्षेत्रमै उनी लागेका हुन् । सुरुमा २५ करोड रुपैयाँ लगानीबाट सुरु गरेको उनको यो फर्मको मूल्य करिब डेढ अर्बको रहेको उनी बताउँछन् । त्योबेला उनले करिब १० करोड रुपैयाँजति बैङ्कबाट ऋण लिएका थिए भने बाँकी स्वपुँजीमा सञ्चालन गरेका थिए ।
उनी कुनै घटना घटेर वा हन्डर ठक्कर खाएका व्यक्ति भने होइनन् । सबैले व्यावसायिक कृषिको कुरा मात्रै गर्ने तर काम चाहिँ कसले गर्ने त भनेर आफूले यो व्यवसाय सुरु गरेको उनको भनाइ थियो । अहिलेसम्म उनले सरकारबाट दुई पटकसम्म पुरस्कार पाइसके । रामवरण यादव राष्ट्रपति हुँदा एक पटक र विद्यादेवी भण्डारीको पालामा अर्को पटक गरी उनले राष्ट्रपति कृषक पुरस्कार जितेका हुन् । त्यसबाहेक विश्व बैङ्क लगायत थुप्रै सङ्घसंस्थाबाट उनले एक सयभन्दा बढी पटक पुरस्कार र सम्मान पाइसकेका छन् ।
केही वर्षअघि प्रोजेक्ट अफ एग्रिकल्चर कमर्सियलाइजेसन एन्ड ट्रेड (प्याक्ट) नामक आयोजनाबाट ३० लाख रुपैयाँ अनुदान प्राप्त समेत उनले गरेका थिए । यद्यपि एक डेढ अर्बको फर्मलाई यो अनुदानले कुनै अर्थ नराख्ने उनको भनाइ थियो । त्योभन्दा अरू सहयोग सरकारबाट प्राप्त गरेका भने उनले छैनन् ।
सरकारप्रति गुनासो
सरकारबाट पुरस्कार र अनुदान समेत लिइसकेका उनी पछिल्लो सरकारी व्यवहारबारे सन्तुष्ट भने छैनन् । सरकारले कृषि क्षेत्रलाई संरक्षण र प्रवद्र्धन गर्ने विषयमा कुनै पनि काम गर्न नसकेको उनको गुनासो छ । कृषि मन्त्रालयमा आएको ४ महिनासम्म पनि कृषिमन्त्रीले सिक्दैछु भनेकोप्रति उनको असहमति रहेछ । ‘कृषि मन्त्रालय कुनै प्रयोगशाला र पाठशाला होइन सिक्ने र प्रयोग गरेर हेर्ने, यहाँ जानेका मान्छे आउनुपर्छ, मिनेट मिनेटलाई महत्त्वपूर्ण मानेर काम गर्नुपर्छ ।’
किसानहरुले बाटोमा दूध पोखेर गरेको विरोधको शैलीप्रति उनको सहमति छैन । तर सरकारले नसुनेपछि र नदेखेपछि किसान बाध्य भएको हुनसक्ने उनको मत छ । ‘हिजोसम्म विदेशबाट दूधको पाउडर ल्याउनपर्छ भनेर बहस गर्ने सरकार आज किसानको दूध नबिकेको देख्दैन ।
हिजोसम्म किसानलाई सकेको उत्पादन गर हामी किनिदिन्छौँ भन्ने सरकार अहिले दूध लिन गाडी पठाउँदैन । सरकार बहिरो पनि हुँदो रहेछ, राम्रोसँग राखेको माग नसुनेपछि त्यसो गरिएको हुन सक्छ । नत्र दूध बाटोमा किन पोख्नुपर्यो र ? गाईवस्तुलाई नै ख्वाइदिए पशुको स्वास्थ्य राम्रो हुन्छ’, उनी भन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि र छविसहित १० जनाविरुद्ध फेरि पक्राउ पुर्जी जारी
-
रुसी आक्रमणको धम्कीपछि युक्रेनी संसदको बैठक स्थगित
-
अवरूद्ध कर्णाली राजमार्ग सञ्चालनमा
-
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइँदै
-
१० बजे १० समाचार : नारायणहिटीको आँगनबाट ओलीको ‘गाली’देखि अदालतमा दुर्गा प्रसाईंसम्म
-
आईपीटीपीमा सहभागी हुन सभामुख कम्बोडिया प्रस्थान