शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कविता : सरकार !

शनिबार, १३ वैशाख २०७७, १० : २०
शनिबार, १३ वैशाख २०७७

-गोपाल खनाल

सरकार तिम्रो अध्ययन 
कहिले सकिन्छ ?
कहिले निस्कन्छ निष्कर्ष ?
लाग्छ
तिम्रो अध्ययन नसकिँदै
हामी भोकले सकिन्छौँ ।।

सरकार
न सर्वोच्चको आदेश मान्छ ।
न नागरिक जोगाउन कुनै पहल गर्छ ।
कमिसनको चक्करमा फसेको यसले
हामी भुइँमान्छेलाई मात्र आँखा तर्छ
चुनावको बेला यसो नजिक सर्छ ।।

यो देशमा सरकार रहेको
अनुभूति हामी गरिब जनताले
कहिले गर्न पाउने ?
हाम्रै पौरखले सिँगारिएको सिंहदरबार र बालुवाटारले
हाम्रो मर्म किन बुझ्दैन ?

भोक भोकै सडक कति दिन नापिएला ?
स्वार्थी सहरले त 
हामीलाई केही दिन पनि 
पाल्न सक्दो रहेनछ,
सहरको रहर पाल्नु त
बेकार रहेछ हामीले ।।

बाँचे न रोगको डर हो
रोगभन्दा पनि भोक विकराल
बनेर देखिँदै छ हाम्रा लागि
कानमा तेल हालेर सुतेको
सरकारी संयन्त्र कतै भए 
सुनाइदिनुहोस् न हजुर ।।

लकडाउनका लागि लगाइएको बार
पार गर्न लाग्दा काका लडेर मरे अरे ।
रोग या भोक सबैले 
हामीलाई नै लखेट्ने त रहेछ ।
सरकार के रोगबाट बचाएर 
भोकको लास हेर्न चाहन्छ ?
विपत्तिमा काम नलाग्ने 
जनताको पसिना, रगत चुस्ने
महँगो
यत्रा सरकारी संयन्त्र केका लागि ?

जन्मथलोमा नपुग्दै देह ढलेछ भने
सरकार !
हाम्रै लासमाथि 
फोहोरी राजनीति नगर्नू है ।। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप