आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओली र सभापति देउवाबीच भेटवार्ता हुँदै

शुक्रबार, १२ वैशाख २०७७, १४ : ३३
शुक्रबार, १२ वैशाख २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दलका सभापति शेरबहादुर देउवालाई छलफलका लागि बोलाएका छन् । प्रधानमन्त्री ओलीले देउवालाई शुक्रबार दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफलका लागि बोलाएको काँग्रेस सहमहामन्त्री प्रकाशशरण महतले रातोपाटीलाई जानकारी दिए । 

प्रधानमन्त्री ओली र काँग्रेस सभापति देउवाबीच कोरोना भाइरसबाट उत्पन्न लकडाउनपछि पहिलोक पटक कुराकानी हुन लागेको हो । 

महतका अनुसार उनीहरुबीच सरकारले वैशाख ८ गते जारी गरेका राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पछि उत्पन्न परिस्थित र कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणबारे छलफल हुने छ ।

सरकारले चौतर्फी विरोध भएपछि विवादास्पद दुई अध्यादेश फिर्ता लिने निर्णय भने गरिसकेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दल र संवैधानिक परिषद्स‍म्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको हो । तर यसको राजनीतिक प्रभाव अझै सेलाइ नसकेको छैन ।

सरकार संकटमा पनि संवेदनहीन भनेको र निरंकुशमा अग्रसर भएको भन्दै सभापति देउवाले बुधबार प्रतिपक्षीहरुसँग छलफल गरेका थिए । काँग्रेस उच्च स्रोतका अनुसार विहीबार मात्र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सभापति देउवाबीच भेटवार्ता भएको थियो ।

त्यसपछि आज विहान ११ बजे प्रधानमन्त्री ओलीले फोन गरेर देउवालाई तीन बजे भेटवार्ताका लागि बालुवाटार बोलाएको बुझिएको छ ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले काँग्रेससँग कुनै छलफल नगरेभन्दै काँग्रेसले निरन्तर गुनासो गर्दै आएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप