शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘शंकास्पद’ होटल मेरियटमा अर्को विवादास्पद गतिविधि

सांसद अपहरण प्रकरणमा शशीकान्तको पनि कनेक्सन !
शुक्रबार, १२ वैशाख २०७७, २२ : ३७
शुक्रबार, १२ वैशाख २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी अध्यदेश मन्त्रिपरिषदबाट पास गराई राष्ट्रपतिबाट समेत प्रमाणीकरण भएसँगै गर्माएको राजनीतिक माहोल ‘सांसद अपहरण’ प्रकरणसम्म पुग्यो ।
अध्यादेशलाई टेकेर समाजवादी पार्टी नेपाललाई विभाजन गर्न भएको उक्त असफल प्रयासमा पूर्वस्वास्थ्य राज्यमन्त्री तथा सोही पार्टीका सांसद डा सुरेन्द्र यादवको ‘अपहरण’ गरिएको विषय पनि अध्यादेशसँगै जोडिएको थियो, जसले विवाद थप बढ्न पुग्यो । 

महोत्तरीस्थित घरमा रहेका सांसद यादवलाई पूर्वआईजीपी सर्वेन्द्र खनाल, सांसदद्वय महेश बस्नेत र किसन श्रेष्ठले अपहरण गरेर काठमाडौं ल्याएको आरोप लाग्यो । 

डा यादव शुक्रबार बिहान मेरियटबाट भागेर पार्टीको सम्पर्कमा पुगेपछि समाजवदी पार्टी विभाजनको योजना तुहिनुका साथै समाजवादी पार्टी र राजपा नेपाल मिलेर जनता समाजवादी पार्टी, नेपाल गठन भइसकेको छ । 
बुधबार बिहान महोत्तरीस्थित घरमै पुगेर काठमाडौं ल्याइएका भनिएका यादवसहितको टोलीलाई राजधानीको पाँचतारे होटल मेरियटले संरक्षण दिएको थियो । मेरियटकै मालिक शशीकान्त अग्रवाल आफैले होटलको ८ वटा कोठा बुक गरेर अपहरण र पार्टी विभाजनमा सघाएको स्रोतको दावी छ ।  

 मुलुक पूर्णरुपमा बन्दाबन्दीको अवस्थामा रहेको बेला मेरियटले भने लकडाउनकै धज्जी उडाउँदै पार्टी फुटाउने प्रयोजनका लागि होटल उपलब्ध गराएको हो । अहिले राजधानीका प्रायः सबै होटल बन्दजस्तै अवस्थामा रहेको भएपनि मेरियटमा भने लकडाउनको उलंघन गर्दै भिडभाड गरिरहेको त्यहाँकै कर्मचारीहरु बताउँछन् । 

होटल सञ्चालकले कोरोनाभाइरसको संक्रमणविरुद्ध बच्न न पर्याप्त सावधानी अपनाएको देखिन्छ न सरकारी तहबाट आवश्यक अनुगमन नै भएको देखिन्छ, बरु राज्य संयन्त्रले नै होटललाई छुट दिएको छ । 
पूर्वआईजीपी खनालसहितको टोलीले बिहीबार बिहानीपख यादवलाई होटल मेरियट पुर्याएको थियो । त्यहाँ कम्तीमा ८ वटा कोठा बुक भएका थिए । ‘आठवटा कोठा बुक भएका रहेछन् । म रुम नम्बर ७०३ मा बसेँ’, सांसद यादवले भनेका छन्, ‘महोत्तरीबाट हामी सिधै यही आएका थियौं ।’ 

डा यादवलाई प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटाउने र आवश्यक सबै चाहना पुर्याउने आश्वासन र दवाव दिएर काठमाडौंसम्म ल्याइएको थियो । शुक्रबार प्रकाशित एक राष्ट्रिय दैनिकमा डा यादवले दिएको ‘बयान’मा पूर्वआईजीपी खनालसहितको टोलीले उनलाई अपहरणकै शैलीमा ल्याएको देखिन्छ ।

यादवलाई त्यहाँ राखिएपनि सो होटलमा सोअघि देखिनै भिडभाड र चहल पहल हुने गरेको होटलका कर्मचारीहरु बताउँछन् । ‘डा यादव आउनुअघि पनि होटलमा भिडभाड नै छ । तर सुरक्षा सावधानी भने पर्याप्त छैन’, होटलका ती कर्मचारीले रातोपाटीलाई भने, ‘कुनबेला रोग सर्ने हो कि भन्ने चिन्ता एकातिर छ अर्कोतिर तलब पनि समयमा दिइँदैन ।’
यसो त सो होटलले सरकारी निर्देशन उलंघन गर्दै जिमखाना समेत चलाएको खुलासा भएको थियो । 

चैत ५ गतेको सरकारी निर्णयको बुँदा नम्बर २ मा स्पष्टरुपमा ‘सिनेमाहल, सांस्कृतिक केन्द्रहरु, रंगशाला, खेलस्थल, जिम, हेल्थक्लब, म्युजियम, स्विमिङ पुल, मनोरञ्जनस्थल, डान्सबार तथा क्लब आदिलाई ३० अप्रिलसम्म बन्द गर्ने’ भनिएपनि मेरियटले अटेरी गरेको पाइएको थियो । 

 सरकारी निर्णय कार्यान्वयन भए–नभएको अनुगमन गर्ने जिम्मा पाएको गृह, संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले पनि मेरियटमा भएको गतिविधिमाथि खासै चासो दिएको पाइँदैन।  
मन्त्रालयका सहसचिव तथा सूचनाअधिकारी सुरेश आचार्यले मेरियटमा अन्य होटलको तुलनामा चहलपहल बढेको स्वीकारे । तर, सुरक्षा सावधानी अपनाएर कसैले निश्चित पाहुनालाई सेवा दिन्छ भने त्यसमा समस्या नहुने बताए । 

‘अहिले अधिकांश होटलहरु प्रभावित भएका छन्, पाहुनानै नभएपछि लकडाउन हुने अवस्था त रहेन । हामीले अनुगमनका क्रममा खासै समस्या भेटेका छैनौं’, उनले भने ।

मेरियटका सन्दर्भमा राखिएको जिज्ञासामा उनले भने, ‘चहलपहल भएको जानकारी आएको छ, तर सामाजिक दूरी कायम गरेर र पर्याप्त स्वास्थ्य सुरक्षा सावधानी अपनाउँदा खासै फरक पर्दैन ।’ मेरियटका सन्दर्भमा खासै बोल्न नचाहेका उनले मन्त्रालयको काम नीतिगत व्यवस्था गर्नेतर्फ भएकाले त्यसतर्फ नै केन्द्रीत रहेको बताए । 

उनकाअनुसार लकडाउनपछि होटल व्यवसायहितका सबै पर्यटन क्षेत्रका मजदूरहरु प्रभावित हुने देखिएकाले उनीहरुलाई कसरी व्यवस्थान र सहज वातावरण बनाउने भन्नेमा योजना बनाउन मन्त्रालय केन्द्रीत छ । 
यसैगरी हेटल संघ नेपाल (हान) की अध्यक्ष सिर्जना राणाले असहज परिस्थिति भएमा कुनै पनि होटलले आफ्नो स्वःनिर्णय गरी होटल बन्द पनि गर्न सक्ने तर पर्याप्त सावधानी अपनाएर सञ्चालन गर्दा कुनै समस्या नहुने बताइन् । यद्यपि अहिले होटल व्यवसाय अस्तव्यस्त बनेको छ । 

गत चैत ९ गते नै बसेको होटल संघ र होटल ट्रेड युनियनहरुको संयुक्त बैठकले कर्मचारी तथा श्रमिक कटौती गर्ने निर्णय गरेको थियो । तर अति आवश्यक काममा खटिने कर्मचारी तथा श्रमिकहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै कोभिड १९ को महामारीको प्रकोप रहेसम्म होटलहरुमा अत्यावश्यक (मास्क, ज्वरो नाप्ने यन्त्र, स्यानिटाइजर र पन्जा) प्रबन्ध गरी काममा लगाउने समझदारी भएको थियो । 

मेरियटमा नौलो होइन विवादास्पद गतिविधि ! 

होटल मेरियट बनाउँदादेखि नै विवादमा तानिएको होटल हो । स्थानीय आफूहरुको सहमतिविपरित नै राज्यशक्तिलाई समेत दुरुपयोग गरेर होटल बनाएको भन्दै चर्को विरोध गरेका थिए । सो होटलमा विवादास्पद व्यापारी शशीकान्त अग्रवालको लगानी रहेको छ ।

अग्रवाल उखु किसानलाई दिनुपर्ने बक्यौता रकम भुक्तानी नदिएर दुःख दिने व्यक्ति समेत हुन् । उनैले  विद्यमान सरकारी ऐन कानुनविपरीत सम्बन्धित सरकारी निकायबाट स्वीकृति नै नलिई भारतमा उत्पादित नुनको बिक्री वितरणको प्रयास गरेका थिए । यस्तै उनी चिनीको कालोबजारीका नाइके समेत रहेको आरोप लाग्ने गरेको छ । 

उखु किसानको अर्बौ ठगेर रातारात धनी बनेको र किसानको नाममा लिएको अनुदानको रकमलाई व्यक्तिगत रुपमा होटल र अपार्टमेन्टमा उनले लगानी गरेको बताइन्छ । 

उखु किनासको विकास र वृद्धिमा लगानी गर्ने भन्दै सरकारसँग अर्बौँ रुपैयाँ सहुलियत लिएर उनले सो रकम व्यक्तिगत लगानीमा खर्च गरेको जानकारहरुको भनाइ छ । 

अग्रवालले नक्सालको होटल मेरियटसहित ठमेलको त्रिदेवीमार्गमा रहेको होटलमा संकास्पद गतिविधि गर्ने गरेको गरेको स्रोतको दावी छ । समाजवादी फुटाउन भएको सांसद अपहरणको खेलमा शशीकान्तको समेत सहयोग गरेको उच्च स्रोत बताउँछ । यस विषयमा शशीकान्तलाई सम्पर्क गर्दा आफू बोल्न मूडमा नरहेको भन्दै बीचैमा फोन काटिदिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप