आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

कोरोनाभाइरसः आखिर संक्रमितलाई घोप्टो पारेर सुताउनुको महत्व के हो ?

शुक्रबार, १२ वैशाख २०७७, ०९ : ३३
शुक्रबार, १२ वैशाख २०७७

कोभिडड–१९ संक्रमित बिरामीको उपचारमा संसारभरी प्रोनिङ प्रविधी अपनाइँदै छ जसमा बिरामीलाई घोप्टो पारेर सुताइन्छ ।

संसारभरी कोभिड–१९ संक्रमितको संख्या लगातार बढिरहेको छ ।

यस्तो अवस्थामा विभिन्न देशका अस्पतालको तस्बिर पनि सार्वजनिक भइरहेका छन् ।

यी तस्बिरमा इन्टेन्सिभ केयर युनिटमा अत्याधुनिक भेन्टिलेटरमा सुतिरहेका बिरामी देखिएका छन् ।

भेन्टिलेटरमा उनीहरुलाई सास फेर्न सजिलो हुन्छ तर सार्वजनिक भएका तस्बिरहरु सबैमा तरिका अपनाइएको छ र यसैमा विशेष नजर अडिएको छ ।

धेरैजसो बिरामी घोप्टो परेर सुतिरहेका देखिएका छन् ।

वास्तवमा यो एउटा निकै पुरानो तरिका हो जसलाई प्रोनिङ भनिन्छ । यसमार्फत् सास फेर्न समस्या भएका बिरामीलाई फाइदा पुगेको देखिएको छ ।

यो मुद्रामा सुत्दा फोक्सोसम्म धेरै अक्सिजन पुग्छ । तर यो तरिकाको आफ्नै खतरा पनि छ ।

धेरै अक्सिजन पाइन्छः

बिरामीलाई प्रोन पोजिशनमा थुप्रै घण्टासम्म सुताइन्छ ता कि उनीहरुको फोक्सोमा जम्मा भएको तरल पदार्थ त्यहाँबाट हट्न सकोस् । यसो गर्दा बिरामीलाई सास फेर्न सहज हुन्छ ।

इन्टेन्सिभ केयर युनिटमा कोभिड–१९ का बिरामीमाथि यो प्रविधीको प्रयोग अत्यधिक बढेको छ ।

जोन होपकिन्स युनिभर्सिटीका सह–प्राध्यापक र फोक्सो तथा क्रिटिकल केयरका मेडिसिन एक्सपर्ट पानागिस गालियातस्तोसले भने, ‘धेरैजसो कोभिड–१९ बिरामीको फोक्सोसम्म पर्याप्त अक्सिजन पुग्न सक्दैन र यसले खतरा निम्त्याउँछ ।’

डा. गालियातस्तोसले भने, ‘यस्ता बिरामीलाई अक्सिजन दिँदासमेत धेरै पटक यो पर्याप्त हुँदैन । यस्तो स्थितीमा हामी उनीहरुलाई घोप्टो पारेर सुताउँछौं । यसो गर्दा उनीहरुको फोक्सो बढ्ने गर्छ ।’

गालियातस्तोसका अनुसार मानिसको फोक्सोको गह्रुङ्गो हिस्सा पिठ्यूँतर्फ हुन्छ त्यसकारण जब कोही उत्तानो परेर सुत्छ तब फोक्सोमा धेरै अक्सिजन पुग्ने सम्भावना कम हुन्छ ।

यसको साटो यदि प्रोन पोजिशनमा सुत्दा फोक्सोमा धेरै अक्सिजन पुग्छ र फोक्सोको विभिन्न हिस्सा काम गर्ने स्थितीमा रहन्छन् ।

डा. गालियातस्तोसले भने, ‘यसो गर्दा परिवर्तन देखियो । हाम्रो यो तरिकाले थुप्रै बिरामीलाई फाइदा पुगेको पनि देखिएको छ ।’

एक्युट रेस्पिरेटरी डिस्ट्रेस सिन्ड्रोम (एआरडीएस) भएका कोभिड–१९ बिरामीका लागि मार्च महिनामा विश्व स्वास्थ्य संगठनले १२ देखि १६ घण्टासम्म प्रोनिङको सिफारिस गरेको थियो ।

विश्व स्वास्थ्य संगठनका अनुसार यो प्रविधी बच्चाका लागि पनि प्रयोग हुनसक्छ तर यसलाई सुरक्षित गर्नका लागि प्रशिक्षित व्यक्ति र अतिरिक्त विशेषज्ञता चाहिन्छ ।

अमेरिकी थोरासिस सोसाइटीले चीनको ऊहानस्थित जियानतान अस्पतालमा फेब्रुअरी महिनामा एआरडीएस भएका १२ कोभिडका बिरामीमाथि अध्ययन गर्यो । यो अध्ययन अनुसार जो व्यक्ति प्रोन पोजिशनमा सुतिरहेका थिए उनीहरुको फोक्सोको क्षमता धेरै थियो ।

यो तरिकाको खतराः

यद्यपि, यो तरिका सजिलो देखिएपनि यसका आफ्नै खतरा पनि छन् । बिरामीलाई घोप्टो परेर सुत्न समय लाग्छ । यसमा अनुभवी स्वास्थ्यकर्मीको आवश्यकता पनि हुन्छ ।

डा. गालियातस्तोसले भने, ‘यो सजिलो छैन । यसलाई प्रभावकारी ढङ्गले गर्नका लागि चारदेखि पाँच अनुभवी स्वास्थ्यकर्मीको आवश्यकता हुन्छ ।’

अस्पतालमा यो निकै मुश्किल हुन्छ किनभने यहाँ पहिलेदेखि नै कर्मचारीको कमी हुन्छ र कोभिड–१९ बिरामीको बढ्दो संख्याले उनीहरुको मुश्किल बढाएको छ ।

डा. गालियातस्तोसका अनुसार जोन्स होपकिन्स अस्पतालमा कोरोनासंक्रमित बिरामीको बढ्दो संख्यालाई मध्यनजर गर्दै प्रोनिङका लागि एक भिन्न समूह तयार गरिएको छ ।

गालियातस्तोसले भने, ‘यदि कोभिड–१९ बिरामी भर्ना भएको इन्टेन्सिभ केयर युनिटमा सक्षम कर्मचारी छैनन् भने त्यहाँका कर्मचारीले विशेष टीममार्फत् कर्मचारी बोलाउन सक्छन् ।’

तर बिरामीले आफ्नो पोजिशन परिवर्तन गर्दा अन्य समस्या पनि सुरु हुनसक्छ ।

डा. गालियातस्तोसले भने, ‘हाम्रो सबैभन्दा ठूलो समस्या भनेको मोटोपना हो । हामीले छातीमा घाउ भएका बिरामीको पनि विशेष ध्यान राख्नुपर्नेहुन्छ । यसका साथै भेन्टिलेशन र क्याथेटर ट्युब राखिएका बिरामीमा सवधानी अपनाउनुपर्छ ।’

यद्यपि, यो तरिकाले हृदयघातको पनि खतरा बढ्ने गर्छ र सासमा अवरोध पनि पैदा हुनसक्छ ।

रातोपाटीद्वारा अनुवाद गरिएको बीबीसी हिन्दीमा प्रकाशित फर्नान्डा पलको लेख

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप