शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कोेभिड–१९ सँग लड्न नेपाली विद्यार्थीले बनाएको रोबोटको कथा

शुक्रबार, १२ वैशाख २०७७, ०८ : २४
शुक्रबार, १२ वैशाख २०७७

कोभीड–१९ ले विश्वमै सन्नाटा छाएको र मानिसलाई सामाजिक दुरी कायम राख्न बाध्य गराएको यो घडीमा हामीले बनाएको रोबोटबाट सानै संख्यामा भएपनि स्वास्थकर्मीहरु लाभान्वित हुने अपेक्षा गरेका छौँ । भविष्यमा, नेपालमा रोबोटको प्रयोग बढाउन यो महत्वपूर्ण साबित हुनेछ भन्ने आशा छ ।

हामीले बनाएको रोबोटमा औषधी र खाना राखेर अस्पतालमा बिरामीको बेडसम्म पठाउन सकिन्छ, यसको प्रयोग गर्दा स्वास्थकर्मी वा आफन्त बिरामीसमक्ष जानुपर्दैन । कोरोना सर्ने खतरा पनि कम हुन्छ । अन्य रोगका बिरामी, कोभीड–१९ बिरामी र शंकास्पद व्यक्तिको उपचारमा सहयोग पु¥याउनु नै यसको लक्ष्य हो ।

हामीले यस रोबोटमा थर्मल गन समेत सेट गरेर बिरामीको तापक्रम अटोमेटिक जाँच गर्न मिल्ने बनाउन खोजिरहेका छौं । कृष्ण केशवजी यसका लागि वर्कआउटमा हुनुहुन्छ र हामी आशावादी छौं ।

रोबोटको परीक्षण भने सशस्त्र प्रहरी बल (एपीएफ) को अस्पतालमा भइसकेको छ । स्वास्थ्य मन्त्रालयका अधिकारीहरुलाई पनि देखाइसकेका छौं र उहाँहरु खुसी हुनुहुन्छ । उहाँहरुले यस्ता रोबोट मास प्रडक्सनका लागि चाहिने भएकाले काम अघि बढाउनुस्, हामी सहयोग गर्छौ भन्नु भएको छ । सामाजिक दूरी कायम गर्नुपर्ने अहिलेको समय यस्ता रोबोटको उपयोगिता बढेको उहाँहरुको पनि ठहर छ ।

हामीले शुक्रराज ट्रपिकल सरुवा रोग केन्द्र टेकुमा एउटा रोबोट हस्तान्तरण गर्ने योजना बनाएका छौं । चितवन र विरगन्जका अस्पतालसँग पनि कुराकानी भइरहेको छ । हामी नाफा कमाउने भन्दा पनि प्रडक्सन कस्ट जुटाएर अहिले यस्ता रोबोट उत्पादन गर्ने र प्रयोग बिस्तार गर्ने सोचमा छौं ।

रोबोटिक्समा लागेको ३ वर्षजति भयो । यस अवधिमा प्रतिस्पर्धा र प्रदर्शनीमा धेरै भाग लियौं, तर हामीले मानिसको दैनिक जीवनमा काम आउनसक्ने रोबोट निर्माण गरेको यो नै पहिलो अवसर हो । तीन फरक समुहका चारजना मिलेर यो रोबोट निर्माण गरेका हौं ।

हामीसँग टिम कान्तिवीरका पंकज जप्रेल, रोबनाट्सबाट म (अनिल सिंह) र पृथ्वी चौधरी तथा ओजटेकबाट रिचन जोशी छौं । कान्तिविर कान्तिपुर इन्जिनियरिङ कलेजबाट सुरु भएको टिम हो । उहाँहरु पनि पछिल्लो २ वर्षदेखि रोबोटिक्समै सक्रिय हुनुहुन्छ र धेरै राष्ट्रिय प्रतिस्पर्धा जितिसक्नु भएको छ । ओजटेकका रिचन जोशी ड्रोन सम्बन्धी प्रतिस्पर्धाहरुमा पहिलेदेखि नै सहभागीता जनाउने गर्नुहुन्थ्यों, उहाँले धेरै  राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसक्नु भएको छ । ड्रोन सम्बन्धी  जानकार भएकाले उहाँलाई कन्ट्रोलिङको राम्रो आइडिया छ । हाम्रो क्यामेरा र कन्ट्रोलिङको जति पनि काम हुन्छ, उहाँले नै हेरिराख्नु भएको छ ।

जहाँसम्म रोबनाट्सको सवाल छ, यो टिमबाट पृथ्वी  र मैले प्रतिनिधित्व गरेका छौं, ट्रिनिटी कलेजमा साइन्स पढ्ने क्रममा हामीले यो समुह स्थापना गरेका थियौं । त्यसयता, विभिन्न प्रतिस्पर्धामा भाग लिइसकेका छौं, गत जनवरीमा रोबोटिक्स एशोसियन नेपालले आयोजना गरेको आठौं संस्करणको ‘यन्त्र’ प्रतिस्पर्धामा हामी प्रथम भएका थियौं । हामीले त्यस समय फुटबल खेल्ने रोबोट बनाएका थियौं ।  

यसबाहेक मुम्बईमा भएको अन्तर्राष्ट्रिय प्रतिस्पर्धा तथा मेक्सिकोमा रोबोटिक्स ओलम्पिकमा समेत हामीले सहभागिता जनायौं । यस्ता प्रतिस्पर्धा र प्रदर्शनीले हामीलाई आफ्ना कमजोरी पत्ता लगाउन र त्यसलाई सुधार्न सहयोग गर्छन् । नयाँ अनुभव  र एक्सपोजर पनि दिन्छ । अन्य सहभागीबाट धेरै सिक्ने अवसर पाइन्छ ।

रोबोटको क्रेज बढाउनुपर्छ

मानिसले आफुले गर्न नसक्ने वा मानिसको ज्यान जोखिममा पर्ने काममा सहयोग लिनका लागि प्रयोग गरिने स्वचालित यन्त्र नै रोबोट हो । जोखिमपूर्ण काम तथा समयको वचत गर्नका लागि यसको प्रयोग गरिन्छ । जस्तो– सामान ढुवानी गर्न, फोहोर उठाउन, बम डिस्पोजललगायतमा । हाम्रोमा रोबोट भन्नासाथ कतिपयको दिमागमा मानिसकै आकृति घुम्छ, मलाई पनि रोबोटिक्समा लाग्नुअघि त्यस्तै लाग्थ्यों । यो साँचो होइन । रोबोटिक्सबारे हामीमा कम जानकारी भएकाले यस्तो आकृति बनेको हो, अब हामीले पनि धेरै जान्ने कोसिस गर्नुपर्छ । अनि, रोबोट धेरै बनेपछि मानिसको काम खोसिन्छ भन्ने पनि कतिपयलाई लाग्छ । यो पनि साँचो होइन, रोबोट जति धेरै निर्माण हुन्छ, मानिसको काममा त्यति नै सजिलो हुन्छ ।

हाम्रोमा रोबोट ब्याटल वा रोबोटिक्सका प्रतिस्पर्धा हुँदा १ सयदेखि २ सयजना दर्शक बल्ल भेला भएका हुन्छन् । जबकी, भारतमा हामीले आईआईटीमा भाग लिदाँ प्रतिस्पर्धा हेर्न झन्डै १० हजार उपस्थित भएका थिए । त्यहाँ विज्ञान तथा आविस्कारमा सरकार तथा निजी क्षेत्रले ठूलो लगानी गरेको छ । उनीहरुको प्लेटफर्म ठूलो छ, उत्साह ठूलो छ । हाम्रोमा बल्ल हुँदैछ । जति धेरै मानिसले यस्ता प्रतिस्पर्धा हेर्छन्, त्यति नै समाजमा यसको महत्वबारे मानिसले बुझ्छन्, एक्सपोजर बढ्छ ।

हामीलाई अहिले रोबोटिक्स एशोसियन अफ नेपालले सहयोग गरिरहेको छ । स्वास्थय तथा जनसंख्या मन्त्रालयमा पनि हामीले नयाँ रोबोट देखाइसकेका छौं र उहाँहरुले साथ–सहयोग गर्ने वचन दिनुभएको छ, जसकारण हामी उत्साही छौं ।

मलाई लाग्छ, नेपालका युवाहरुले पनि प्रोत्साहन र सहयोग पाएमा धेरै क्षेत्रमा राम्रो गर्नसक्छन् । लुकेर बसेका प्रतिभाहरुलाई म भन्छु – ‘बाहिर निस्कनुस्, मलाई समाजले के भन्दैछ भन्ने सोचिरहनु भएको छ भने पनि फरक पर्नेवाला छैन । तपाईको त्यही सोचलाई प्रेरणामा बदलेर निस्कनुस्  ।’

आर्थिक अभाव

रोबोटिक्स भनेको अलि बढी नै महंगो कुरा हो र हामीलाई कुनै गेम गराउँदा वा भाग लिन जाँदा पनि राम्रो प्रयोजक चाहिएको हुन्छ, प्रायोजक नपाउँदा र सामान बिग्रँदा छाडिदिउ जस्तो पनि नलागेको पनि होइन । लगभग हरेक प्रतिस्पर्धामा भाग लिन जानुअघि यस्तै अवस्था हुन्थ्यों । यो मेरोमात्रै होइन आम विद्यार्थीको अवस्था हो । तर, हामीभित्रको प्रेरणा र इच्छाशक्तीले यो क्षेत्र छाडेर अन्यत्र जान पनि दिदैंन । कलेजले गर्ने केही सहयोग र अन्य प्रायोजक तथा साथीभाईको स्नेहले हामी बल्लतल्ल रोबोट बनाउथ्यौं । फेरि, रोबोटिक्सका प्रतियोगिता जित्यो भने त्यही पैसा लगानी गरेर अर्को नयाँ रोबोट बनाउन थाल्थ्यौं । केही कमायौं , तर कमाएको जति पनि रोबोटिक्समै लगायौं । यो अवस्थासम्म आइपुग्न धेरैले हामीलाई सहयोग गर्नुभएको छ । भविष्यमा यही क्षेत्रमा अझै धेरै गर्न बाँकी छ ।

(कुराकानीमा आधारित ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अनिल सिंह
अनिल सिंह
लेखकबाट थप