शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

झण्डै ११ वर्षपछि यसरी सम्भव भयो राजपा–समाजवादीबीचको एकीकरण

बिहीबार, ११ वैशाख २०७७, १७ : १८
बिहीबार, ११ वैशाख २०७७

झण्डै ११ वर्ष लामो प्रयासपछि दुई राजनीतिक धारबीच एकीकरण भएर जनता समाजवादी पार्टी, नेपाल गठन भएको छ । प्राविधिक रुपमा अहिले समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भए पनि यी दुवै दल पछिल्ला खण्डमा आ–आफ्ना राजनीतिक धारमा विभिन्न दलसँग एकीकृत हुँदै यहाँसम्म आइपुगेका हुन् ।

समाजवादी पार्टीको एउटा मुख्य राजनीतिक भँगालो तत्कालीन मधेसी जनअधिकार फोरम थियो । त्यस्तै राजपा नेपाल बन्नु अघि मधेसमा सक्रिय विभिन्न ६ राजनीतिक दल आ–आफ्नो राजनीतिक अस्तित्वमा थिए । यी दुई फरक धारबीच ११ वर्ष अघिदेखि एकीकरणका लागि पहल हुँदै आएको थियो ।

तर एउटा वैचारिक धारको नेतृत्व गर्ने तत्कालीन मधेशी जनअधिकार फोरम कालान्तरमा नेपाल संघीय समाजवादी फोरम हुँदै समाजवादी पार्टी बन्यो । अर्को वैचारिक धारमा रहेका सद्भावना पार्टीका विभिन्न घटक, तराई मधेश लोकतान्त्रिक पार्टी हुँदै राष्ट्रिय जनता पार्टी बन्यो । आ–आफ्ना वैचारिक धारमा एकीकृत हुँदै राजनीतिक प्रभाव बढाए पनि दुई राजनीतिक धारबीचको एकता प्रक्रियाले सार्थकता पाउन ११ वर्ष कुर्नु प-यो ।


यो ११ वर्षमा एकताका लागि कयौँ पहल र चर्चा भए पनि कुनै न कुनै बहानामा अन्तिममा आएर भाँडिन्थ्यो ।

तत्कालीन मधेशी जनअधिकार फोरम, राजपा नेपालमा रहेका तराई मधेश लोकतान्त्रिक पार्टी र सद्भावना पार्टीबीच २०६६ सालदेखि नै एकीकरणका लागि कुरा चलेको थियो ।

जुनबेलादेखि यी दलहरुको बीचमा वार्ता शुरु भएको हो, त्यो बेला ती सबै दल छुट्टाछुट्टै संगठित थिए । साविकको समाजवादी पार्टीको मुख्य हाँगा त्यतिबेला मधेशी जनअधिकार फोरम नेपाल थियो । र, साविकको राजपा नेपालमा समाहित तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) र सद्भावना पार्टी पनि त्यतिबेला अलग–अलग थिए ।

फोरम, तमलोपा र सद्भावनाको कुरा 
उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेशी जनअधिकार फोरम नेपाल र राजेन्द्र महतो नेतृत्वको तत्कालीन सद्भावना पार्टीबीच एकीकरणका लागि वार्ता र संवाद शुरु भएको थियो । यी दुई दलको बीचमा पटक–पटक छलफल भयो । सहमतिका आधार तयार भइसके पनि तत्कालीन तमलोपासँग पनि एकीकरण गर्ने भनेर तीनवटै दलको बीचमा वार्ता प्रारम्भ भएको थियो ।

त्यतिबेला पार्टीको नाम, झण्डा, चुनाव चिन्ह, राजनीतिक दस्तावेजमा समेत कुरा मिलिसकेको थियो । तर पार्टीको नेतृत्व कसले गर्ने विषयमा कुरा नमिल्दा एकीकरणमा पूर्णविराम लागेको थियो । 

त्यतिबेला तत्कालीन फोरमबाट उपेन्द्र यादवले एकीकृत पार्टीको नेतृत्व आफैले गर्ने दावी गरिरहेका थिए भने उताबाट महन्थ ठाकुरलाई अध्यक्ष बनाउनुपर्ने दावी भइरहेको थियो । महन्थ ठाकुरलाई वरिष्ठ नेता वा अभिभावक रुपमा स्वीकार गर्ने तर अध्यक्षमा स्वीकार नगर्ने उपेन्द्रको अडान थियो । यस्तै खिचातानीले त्यतिबेला एकीकरण सम्भव भएको थिएन । 

किन मिलेन कुरा ?
हुन त त्यतिबेला पनि तत्कालीन सद्भावना पार्टीका उपाध्यक्ष लक्ष्मणलाल कर्ण र तत्कालीन तमलोपाका उपाध्यक्ष हृदयेश त्रिपाठी एकीकरणप्रति सकारात्मक थिएनन् । कारण थियो, त्रिपाठी राजेन्द्र महतोलाई नेता स्वीकार गर्ने पक्षमा थिएनन् भने उता लक्ष्मणलाल कर्णले पनि आफ्नो पद सुरक्षित नदेखेका कारण एकीकरण प्रति सकारात्मक थिएनन् ।

उनीहरु सकारात्मक नभए पनि नेतृत्वमा कुरा मिलेको भए त्रिपाठी र कर्णलाई साइड लगाएर भए पनि एकीकरण हुने अवस्था थियो । तर, नेतृत्वमै कुरा नमिलेको कारण एकीकरण हुन सकेको थिएन ।

अशोक र उपेन्द्रको मिलन
तर एकीकरणका लागि प्रयासमा पूर्ण विराम लागेको थिएन । नेतृत्व तहबाट नभए पनि दोस्रो, तेस्रो तहका नेताहरु एकीकरणका लागि नियमित छलफलमै थिए । तर जहिले पनि नेतृत्वकै विषयमा आएर विवाद हुन्थ्यो । तत्कालीन मधेशी जनअधिकार फोरम नेपालले तत्कालीन सदभावना पार्टी र तमलोपासँग एकीकरणको कुरा जारी राखेकै बेला एमालेबाट अलग भएका अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टी नेपालसँग २०७२ जेठ ३२ गते एकीकरण गरेको थियो । 

मधेशी जनअधिकार फोरम नेपाल एकीकरणपछि संघीय समाजवादी फोरम नेपाल बन्यो । यो एकीकरण त्यतिबेला भयो जतिबेला तत्कालीन तमलोपा र सद्भावना पार्टीसँग एकीकरणको कुरा जारी नै थियो ।

राजपा नेपाल गठन
एकीकरणका लागि आपसमा संवाद र वार्ता जारी नै थियो । सँगै मिलेर दुवै दलले आन्दोलन पनि गरेका थिए । तर एकता सम्भव भएको थिएन । 

तत्कालीन फोरम नेपाल, तमलोपा र सद्भावनाबीच एकीकरण हुन नसके पनि तेस्रो मधेश आन्दोलन सकिएसँगै २०७४ वैशाख ७ गते तमलोपा, सद्भावना, रामसपा, फोरम गणतान्त्रिक, संघीय सद्भावना, तमसपा मिलेर राजपा नेपाल बन्यो । सो एकीकरणमा ती दलका नेताहरुले उपेन्द्र यादवलाई पनि सहभागी हुन आग्रह गरेका थिए, तर उपेन्द्र यादवले आफू पछि सहभागी हुने भनेर पछि हटेका थिए ।
राजपा नेपाल बनेपछि समाजवादी पार्टीसँग एकीकरण गर्ने भनि पटक पटक वार्ता र छलफल भयो । तर एकीकरण नहुनुमा एक अर्कालाई दोषी देखाउँदै दुवै दल पन्छिदै रहे । कहिले राजपाले समाजवादीलाई दोषी देखायो त कहिले समाजवादीले राजपा नेपाललाई दोषी देखायो । 

बाबुराम र उपेन्द्रको मिलन


राजपा र समाजवादी बीच एकीकरणको कुरा चलिरहँदा फोरम नेपालले २०७६ वैशाख २३ गते नयाँ शक्तिसँग एकीकरण गरी समाजवादी पार्टी बनाएको थियो । नयाँ शक्तिसँग एकीकरण हुने बेला फोरम नेपालले राजपा नेपाललाई बोलाएर एकीकरणमा सहभागी हुन आग्रह गरेको थियो । 

वैशाख २० गते तत्कालीन फोरम नेपाल र नयाँ शक्ति नेपालले राजपा नेपाल र राष्ट्रिय जनमुक्ति पार्टीलाई बोलाएर छलफल गर्नु औपचारिकता मात्र थियो । नयाँ शक्ति नेपाल र फोरम नेपालबीच एकीकरणको अन्तिम समय अर्थात् अन्तिम बिन्दुमा पुगेका बेला ‘राजपा नेपाललाई एकपटक सोधिहालौँ न’ भनेर बोलाएर सोधेकोमात्र थियो ।

उपेन्द्र यादव सिधा मनले राजपा नेपाललाई एकीकरणमा ल्याउने पक्षमा थिएनन्, त्यो औपचारिकताका लागि मात्र सोधिएको थियो । त्यसको जवाफमा राजपा नेपालका नेताहरुले ‘केही दिन पर्खौँ छलफल गरौँ’ भनेपछि उपेन्द्र यादवले हतार हतारमा नयाँ शक्तिसँग एकीकरण गरेका थिए ।

समाजवादी र राजपाको वार्ता
एकीकरण गरेको पहिलो बैठकबाट समाजवादी पार्टीले वार्ता समिति गठन गरी राजपा नेपालसँग एकीकरणका लागि वार्ता शुरु गरेको थियो । दुवै दलले वार्ताका लागि चिठी पनि अदान प्रदान गरेका थिए तर, त्यो वार्ता समितिले एक दिनपनि औपचारिक वार्ता गरेको थिएन । जहिले पनि शीर्ष तहमै वार्ता हुन्थ्यो । 

राजपा नेपालको तर्फबाट गठन भएको वार्ता समितिको संयोजक रहेका राजेन्द्र महतो एक्लैले समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र डा.बाबुराम भट्टराईसँग वार्ता गर्थे । वार्ता हुँदा विभिन्न कुराहरु बाहिर आएको थियो । एकीकरणको आज घोषणा हुन्छ, भोलि घोषणा हुन्छ भनि चर्चा हुन्थ्यो तर वार्ता जहिले पनि वार्तामै सीमित रह्यो, सकारात्मक नतिजा आउन सकेन ।

राजेन्द्र महतोले समाजवादी पार्टीसँग एकीकरणका लागि वार्ता गरेको तर पार्टीलाई त्यसबारे जानकारी नदिएको भनेर राजपा नेपालमा बारम्बार विवाद हुन्थ्यो । अनिल झा, राजकिशोर यादवलगायतका नेताहरु वार्ताप्रति त्यति सकारात्मक थिएनन् ।

राजपाले नेपालले समाजवादी पार्टीलाई सरकारबाट बाहिरिन दवाव दिइरहेको थियो । सरकारबाट बाहिरिए मात्र एकीकरण हुने अडानमा राजपा नेपाल थियो तर त्यतिबेला समाजवादी पार्टीले सरकारलाई एकताको बाधक नबाउन पटक पटक आग्रह गथ्र्यो । एकीकरण भइसकेपछि मात्र सरकारमा रहने वा नरहने भन्नेबारे टुंगो लगाउने समाजवादी पार्टीको तर्क थियो । यहाँसम्म कि समाजवादी पार्टीका नेताहरुले आफूहरु सरकारबाट बाहिरिएपछि राजपा नेपाल सरकारमा जान सक्छ भन्नेमा सशंकित थिए ।

तर राजपा नेपाल, खासगरी राजेन्द्र महतोले समाजवादी पार्टीले सरकार नछाडेसम्म पार्टी एकता हुन नसक्ने अडान राखिरहे ।


संयोग नै भन्नुपर्छ, सरकारसँग कुरा नमिलेपछि समाजवादी पार्टी सरकारबाट बाहिरिन बाध्य भयो । त्यसपछि राजपा नेपालका नेता राजेन्द्र महतोले एकता प्रक्रियालाई महत्व दिएनन् । आफूहरुले भनेको बेला सरकारबाट नबाहिरिएको, प्रधानमन्त्री केपी शर्मा ओलीले जबर्जस्ती निकालिदिएपछि पार्टी एकताका लागि समाजवादी पार्टीले चासो देखाएको भन्दै महतोले एकीकरणको पहलमा चासो देखाउन छाडेका थिए ।

राजेन्द्र महतो पछाडि हटेपछि सोही पार्टीका महेन्द्र राय यादव एकीकरणका लागि उपेन्द्र यादवसँग निरन्तर सम्पर्क र छलफलमा रहे । त्यो कुरा राजपा नेपालका नेता राजेन्द्र महतोसहित राजकिशोर यादव, अनिलकुमार झा, शरतसिंह भण्डारी, महन्थ ठाकुरलाई मन परेको थिएन । तर महेन्द्र राय यादवले आफ्नो प्रयास कहिल्यै छाडेनन् । यदि राजपा नेपाल र समाजवादी पार्टीबीच एकीकरण नभएको भए महेन्द्र राय यादव पार्टी विभाजन गरेर भए पनि समाजवादी पार्टीसँग एकीकरण गर्ने पक्षमा थिए ।

यसरी भयो सम्भव
संयोग नै मान्नुपर्छ, सरकारले राजनीतिक दल सम्बन्धी ऐन अध्यादेशमार्फत संशोधन गरेसँगै एकाएक एकताको माहोल बनेको हो । यसअघि पार्टी विभाजनका लागि संसदीय दल र केन्द्रीय समिति दुवैमा कम्तीमा ४० प्रतिशत सदस्यको समर्थन जुटाउनु पर्ने प्रावधान भए पनि अध्यादेशमार्फत संशोधित व्यवस्थामा संसदीय दल वा केन्द्रीय समितिमध्ये कुनै एकमा ४० प्रतिशत समर्थन भए पुग्ने प्रावधान राखियो ।

त्यसले गर्दा राजपा नेपाल र समाजवादी पार्टी दुवैमा हलचल ल्यायो । कुनै पार्टीमा को पहिला फुट्ने भन्नेजस्तो अवस्था सिर्जना भयो । समाजवादी पार्टीमा रेणु यादवको नेतृत्वमा छुट्टै पार्टी बनाउने तयारी भइरहेको थियो भने उता राजकिशो यादव र अनिलकुमार झा पनि राजपा नेपालबाट अलग हुने मनस्थिति बनाइरहेका थिए ।

यसबीचमा राजपा नेपाल र समाजवादी पार्टीले वैशाख १० गते मध्यरात हतार हतार एकीकरणको घोषणा गरे । उनीहरु ११ गते निर्वाचन आयोगमा पुगेर एकीकरणसम्बन्धी निर्णयको जानकारी गराउँदै निवेदन पनि दर्ता गराए । संघीय संसद सचिवालयलाई पनि पार्टी एकताबारे जानकारी गराइसकेका छन् ।

दुई पार्टीमा एकीकरण भएपनि अहिलेसम्म पार्टीको नाम, झण्डा र चुनाव चिन्हबाहेक अरु कुनै विषयमा कुरा मिलेको छैन । पार्टीको नेतृत्व कसले गर्ने, कुन मोडेलमा पार्टी सञ्चालन हुने, पार्टीको आधिकारिक राजनीतिक लाइन के हो लगायतका कुनै विषयमा कुरा मिलेको छैन । 

समाजवादी कार्यकारी राष्ट्रपति प्रणालीको पक्षमा रहेको छ भने राजपा नेपाल प्रधानमन्त्रीय प्रणालीकै पक्षमा छ । यो विषयमा पनि दुई दलको बीचमा सहमति भएको छैन । राजपा नेपालका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले यो बीचमा दुई दलबीच यी विषयहरुमा कुराकानी र छलफल गरेर टुंगो लगाउने र लकडाउन सकेपछि निर्वाचन आयोगमा दर्ताका लागि सबै कागजात पेस गर्ने बताए ।

अहिले एकीकृत पार्टीको पहिलो वरियताक्रममा महन्थ ठाकुर र दोस्रो डा.बाबुराम भट्टराई राख्ने सहमति भएको छ भने अन्य अरु पदहरुमा पनि सबै नेताहरुलाई सम्मानजनक तरिकाले समायोजन गर्ने सहमति भएको राजपा नेपालका प्रवक्ता केशव झाले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप