शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना महामारीको चिनियाँ अनुभव समेटिएको पुस्तक नेपालीमा

बिहीबार, ११ वैशाख २०७७, १६ : ३६
बिहीबार, ११ वैशाख २०७७

काठमाडौँ । कोरोना जोखिम नियन्त्रणका लागि मुलुक लकडाउनमा रहेका समयमा कोरोना महामारीको चिनियाँ अनुभव समेटिएको पुस्तक नेपाली भाषामा प्रकाशन भएको छ । 

“साहस र दृढ सङ्कल्पका कथाहरूः कोरोना भाइरसले बन्दी बनेको उहान” शीर्षकको अनूदित पुस्तक मकालु प्रकाशन गृहले प्रकाशन गरेको हो । 

चीनको विदेशी भाषा छापाखानाले तयार पारेको उक्त पुस्तकलाई नेपाली भाषामा अनुवाद गरी प्रकाशन गरिएको मकालु प्रकाशन गृहले जनाएको छ । 

चीनको उहानबाट उत्पन्न भाइरसको प्रकोप र यसको नियन्त्रणमा चीन सरकार र त्यहाँका जनताले गरेको निरन्तरको प्रयत्न र उनीहरूले हासिल गरेको सफलतालाई पुस्तकमा जीवन्त ढङ्गले प्रस्तुत गरिएको प्रकाशन गृहका प्रबन्ध निर्देशक वासुदेव ढकालले जानकारी दिए । 

कोरोनाको उपचारका लागि अग्रपङ्क्तिमा रहेर कार्य गर्ने चिकित्सक, सुरक्षाकर्मी, पत्रकार र स्वयंसेवकका साथै कोरोना प्रभावितहरूका व्यक्तिगत अनुभवसमेत समेटिएकाले नेपाली पाठकका लागि पुस्तक रुचिकर हुने विश्वास लिइएको ढकालले बताए । 

सन् २०१९ को डिसेम्बरमा उहानमा देखिएको कोभिड–१९ को सुरुवातीदेखि चीनले त्यसलाई नियन्त्रण गरेको अवस्थासम्मको वीरतापूर्ण अन्तरकथा पुस्तकमा समेटिएको छ । विदेशी भाषा छापाखानाले चिनियाँ, अङ्ग्रेजी र जापानी गरी तीन भाषामा प्रकाशन गरेको उक्त पुस्तक नेपालीलगायत पोर्तुगिज, रुमानियन र थाइ भाषामा पनि प्रकाशित भइसकेको छ भने अन्य विभिन्न भाषामा प्रकाशनका क्रममा रहेको छ । 

पुस्तकबारे लेख्दै उपप्रधानमन्त्री ईश्वर पोखरेलले मानव अस्तित्व नै सङ्कटमा पु¥याउने कोरोना महामारीले सिर्जना गरेको युद्धका विरुद्ध उभिन यस पुस्तकले नेपालीहरूलाई पनि प्रेरित गर्ने विश्वास लिएको जनाएका छन् । त्यस्तै नेपालका लागि चिनियाँ राजदूत होउ यान छीले अनूदित पुस्तकबाट नेपाली पाठकले महामारीको प्रतिकारमा चीनले भोगेका कथाहरूबारे अझ बढी जान्ने र बुझ्ने मौका पाउनुका साथै महामारी नियन्त्रणको सङ्घर्षमा नेपाली जनतालाई बल मिल्ने आशा लिएको उल्लेख गरेकी छन् । 

डा. विमल कुमार सुवेदीद्वारा अनूदित १२७ पृष्ठको उक्त पुस्तकमा रङ्गिन तस्बिरहरू समेत समावेश छन् ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप