केन्द्रीय संस्करण

मातातीर्थ औँसी : मातृभक्तिको अपूर्व पर्व

person explore access_timeबैशाख ११, २०७७ chat_bubble_outline0

वैशाख महिनाको कृष्ण पक्षको औँसी तिथि आमाको श्रद्धा, सम्झना र सम्मानको पावन दिन हो । जसलाई आमा दिवस, जननी सम्मान पर्व, आमाको मुख हेर्ने दिन भनेर पनि पुकारिन्छ । आम सनातनी यो दिन काठमाडौँस्थित चन्द्रागिरि नगरपालिकको दक्षिणतर्फ पहाडको फेदीमा गएर स्वर्गीय आमाको सम्झनामा तर्पण र श्रद्धा भर्छन् । कैयौँ आफ्ना जीवित आमाहरुको दर्शन गर्न नाना किसिमका उपहार, कोसेली, मरमसला, लत्ताकपडा तथा मिष्ठान्न लिएर मातृनिवासमा पुग्दछन् । यो पवित्र दिनले सृष्टिको रङ्गीन संसार देखाइदिने साक्षात सिर्जनाकी देवी मातृतागतको संस्मरण, ढोगभेट र मिलनले सन्ततिहरुमा अपूर्व श्रद्धाको चहलपहल गराउँछ । पद्मपुराणले  ‘सर्व तीर्थमयी माता, सर्व देवमयः पिता । मातरं पितरं तस्मात् सर्व यत्नेन पूजयेत् । भनेर मातापिताको महिमालाई त्यसै उद्घाटन गरेको होइन । हाम्रा उपनिषद् वाक्यले मातृदेवो भव भनी देवत्व शक्ति आमामा छ भनेर ठोकुवा गर्नुको रहस्य यही हो ।

‘माता भूमिः पुत्रः अहं पृथिव्याः’  भनेर आमालाई पृथ्वी जत्तिकै सम्मान बर्साएका छन् हाम्रा ऋषिमुनिहरुले । कूर्म पुराणले आमालाई साक्षात् देवताको रूपमा वर्णन गरेको छ । संसारमा हाम्री आमाको महत्त्व र उद्बोधन गराउँदै मनुस्मृति यसरी गर्जन्छ– उपाध्यायान् दशाचार्य आचार्याणां शतं पिता । सहस्रं तु पितृन् माता, गौरवेणातिरिच्यते ।। अर्थात् दस उपाध्यायभन्दा उत्तम एक आचार्य हुन्छन्, सय आचार्यभन्दा ठूलो एक पिता हुन्छन्, एक हजार पिताभन्दा पनि ठूलो त आमा हुन्छिन् । यसबाट आमाको उपल्लो स्थानको बोध राम्ररी थाहा लाग्छ । यो इन्द्रेणीजस्तो धराधाममा आमाभन्दा उच्च देव तत्व अरू कुनै पनि छैन । त्यसैले त जननी शक्ति स्वर्गभन्दा पनि गौरवपूर्ण हुन्छ भनेर मर्यादा पुरुषोत्तम रामले ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ पटक पटक लक्ष्मणलाई सुनाएर स्वर्णमयी लङ्कालाई गौँण छ भनेर सम्झाएको कुरा त्रेता युगदेखि गुञ्जन भएको भयै छ । कतिपय जानिफकार भन्दछन्– आमा प्राकृत र सत्यकी देवी हुन् तर पिता भनेको विश्वास र सम्झौताका पुरुष हुन् । अमरकोशले आमालाई जनयित्री, प्रसू, माता, जननी आदि नामले सम्मान गरेको छ ।


यो इन्द्रेणीजस्तो धराधाममा आमाभन्दा उच्च देव तत्व अरू कुनै पनि छैन । त्यसैले त जननी शक्ति स्वर्गभन्दा पनि गौरवपूर्ण हुन्छ भनेर मर्यादा पुरुषोत्तम रामले ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ पटक पटक लक्ष्मणलाई सुनाएर स्वर्णमयी लङ्कालाई गौँण छ भनेर सम्झाएको कुरा त्रेता युगदेखि गुञ्जन भएको भयै छ । कतिपय जानिफकार भन्दछन्– आमा प्राकृत र सत्यकी देवी हुन् तर पिता भनेको विश्वास र सम्झौताका पुरुष हुन् । अमरकोशले आमालाई जनयित्री, प्रसू, माता, जननी आदि नामले सम्मान गरेको छ ।


दस महिनासम्म विभिन्न कष्ट, विपद्, दुःख सहेर हामीलाई गर्भमा होसियारीपूर्वक राख्ने आमा धैर्यताकी देवी नै हुन् । प्रसूति वेदनाको चरम पीडा बिर्सिएर जन्मनेबित्तिकै आलो घाउको दर्द भुली हरक्षण हाम्रो सेवामा तल्लीन हुने आमा सेवा र संरक्षणकी साक्षात् भगवती हुन् । मान्नु वा पूजा अर्चना गर्नु भन्ने अर्थमा नै माता भनिएको कुरा व्याकरणकारहरु बताउँछन् । वास्तवमा ‘आमा’ शब्दको ‘आ’ उच्चारण गर्दा हाम्रो कण्ठ वा घाँटी खुला हुन्छ भने ‘मा’को लवजमा हृदय नै कम्पायमान हुँदै ओठ र नाकसमेत सक्रिय भएको अनुभव हुन्छ । त्यसैले त आमा गला, हृदय, ओठ नाकजस्ता सार्थक र संवेदनशील अङ्गकी बिम्ब बनेकी छिन् । वास्तवमा आमा– पार्वती, देवी र राधा तत्वको प्रतिनिधि पात्र हुन् । जसको आराधना ब्रह्मा, विष्णु, शिव, इन्द्रजस्ताले नुहेर गरेका छन् । त्यसैले त ‘आयुःपुमान् यशः स्वर्गं, कीर्ति पुण्यं बलं श्रियम् । पशुं सुखं धनं धान्यं, प्राप्नुयात् मातृवन्दनात्’ ।। भनेर नीतिकारहरुको मातृ गौरवगाथामा आफ्ना मस्तक झुकाएका छन् । वास्तवमा  आमा तागत जगत्जननी प्रकृति हुन्, संसारकी  पालिका र पिताभन्दा सयौँ गुना श्रेष्ठ र महान् छिन् भनेर ब्रह्मवैवर्त पुराण निर्देश गर्न पुगेको छ । 

सृष्टि संसारमा आमाको शीर्ष स्थान देखाउँदै हाम्रा मुनि भन्छन्– नास्ति मातृसमं तीर्थं पुत्राणां तारणाय च । हितायात्र परत्रार्थं यैस्तु माता प्रपूजिताः । अर्थात् छोराछोरीलाई तार्नका लागि, उनीहरुको हित, कल्याण र लोकपरलोक सुधारमा अग्रगामी हार्दिक भूमिका निर्वाह गर्ने सुपात्र यो संसारमा आमा नै भएको हुँदा उनी स्वयं तीर्थ हुन् अनि आराधनाकी पूजनीया देवी पनि । त्यसै भएर त प्रथम जगत्गुरु शङ्कराचार्यजस्ता वैरागीले बोले– जगन्मातर्मातस्तव चरणसेवा नरचिता, न वा दत्तं देवी द्रविणमपि भूयस्तवमया । तथापि त्वं स्नेहं मयि निरुपमं यत् प्रकुरुषे, कुपुत्रो जायेत क्वचिदपि कुमाता नभवति । भनेर कुपुत्र  जन्मन सक्छन् तर कुमाता कुनै पनि आमा  जन्मदैनन् भनेर ठोकुवा नै गरिदिएका छन् ।

आमाकै दुई स्तनबाट बहेका दसधारा दूधले हामी सबै खाले रोगव्याधिहरुसित कुस्ती खेल्न सामर्थ्य राख्छौँ । छातीमा रहेका ती दुई अमृत घडा हुन् । रगतकै प्रशोधित रूप दूध हो । नानीबाबुहरुलाई आमाको दूधजस्तो पौष्टिक र हरकिसिमका कीटाणुहरुलाई प्रतिरोध गर्ने शक्ति अरूमा छैन भनेर आजका वैज्ञानिकहरु भनिरहेका छन् ।


आमाकै दुई स्तनबाट बहेका दसधारा दूधले हामी सबै खाले रोगव्याधिहरुसित कुस्ती खेल्न सामर्थ्य राख्छौँ । छातीमा रहेका ती दुई अमृत घडा हुन् । रगतकै प्रशोधित रूप दूध हो । नानीबाबुहरुलाई आमाको दूधजस्तो पौष्टिक र हरकिसिमका कीटाणुहरुलाई प्रतिरोध गर्ने शक्ति अरूमा छैन भनेर आजका वैज्ञानिकहरु भनिरहेका छन् । आमा हाम्री प्रथम गुरु हुन्, जसले मधुर लोरीमा सङ्गीतका सारेगमपदनि प्रशिक्षण गराउँछिन् । नाता, इष्टमित्र, कुलकुटुम्ब, वस्तु, चिज, प्रकृतिका रहस्य र लौकिक सामाजिक जीवनको यावत् पक्षहरुको गम्भीर शिक्षा आफ्नै काखमा राखेर दिन्छिन् । कवि केपी भट्टराईले आमाको बारेमा लेखेको एक टुक्रा कति हृदय र मस्तिष्क हल्लाउँछ– ‘धर्तीमै छ सबै चीज, खोजे मिल्छ घरिघरि । तर जन्म दिने आमा पाइँदैन कसैगरी ।’ यस्ती कसैसित तुलना गर्नै नमिल्ने आमा जसरी आपत्विपद्मा आश्रयको शिरानी ठम्याएरै मान्छेले अय्या आमा ! आत्थो आमा ! मरेँ आमा ! आदि भनेर हामी आमालाई नै पुकारिरहेका हुन्छौँ । त्यसै भएर जहाँ नारीको पूजा हुन्छ त्यहाँ देवताहरु पनि खुसी हुन्छन् भन्ने कथन धेरै बेरको बौद्धिक र व्यावहारिक मथनबाट उब्जिएको त्रिकालदर्शी मुनिहरुको दिमागी र हार्दिक आबाज हो ।

आमा, बहिनीदिदी, जाया, भाउजू, बुहारी, भान्जी, हजुरामा, फुपू, सासू, साली, विभिन्न भूमिका निर्वाह गर्ने मातृ तागतको आजको विश्वमा पनि शोषण, दोहन, बलात्कार, भ्रूण मास्ने, बस्तुझैँ विनिमय र बिक्रीमा लैजाने जुन कुकाम भइरहेको छ त्यो मानवीय सभ्यताको कलङ्क हो, धुन्धुकारी वृत्ति हो र कंशीय त्रूmरता हो । यसरी मातृशक्तिको अपव्यय गरेर धराधाममा सास फेर्ने निशाद, पिचास र आतायीहरुमा मृत्युदण्डकै व्यवस्था हुनुपर्छ । त्यसैले आजको महादिनले सबैमा आमाप्रतिको कर्तव्यबोध र उनको गरिमाप्रति गर्व गरेर अपार ममता, वात्सल्यता स्नेह र सद्भावकी निःस्वार्थ देवीमा मुटुदेखि शिर झुकाएर नमन गरुँ । मातृभक्तिको अपूर्व पर्व हो मातातीर्थ औँसी ।           

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.