शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

तरकारीको बजार अर्थशास्त्र : खेत र भान्साबीच बढ्दैछ ‘दूरी’

थोक र खुद्रा बजारको मूल्यमा सर्वाधिक २ सय प्रतिशतसम्म फरक
बिहीबार, ११ वैशाख २०७७, ०९ : ३७
बिहीबार, ११ वैशाख २०७७

काठमाडौं । लकडाउनपछि खेतबारी र भान्छाबीचको दूरी बढ्दै गएको छ । ‘सप्लाई चेन’ मा आएको अवरोधका कारण दैनिक उपभोग्य तरकारी र फलफूलमा किसानले पाउने मूल्य र उपभोक्ताले तिर्नुपर्ने मूल्यको अन्तर फराकिलो हुँदै गएको हो । पहिले ४/५ गुणासम्म महँगो भएर उपभोक्तासम्म पुग्ने तरकारी अहिले ८/९ गुणा महँगो हुन थालेको छ । यसको अधिकांश जोखिम भने किसान र उपभोक्ताले नै व्यहोरिरहेका छन् ।

कसरी बढ्दैछ मूल्य ?

मूलतः तरकारीको माग, आपूर्तिको अवरोध र सन्दर्भ मूल्यको अभावका कारण अहिले तरकारीको मूल्य आकाशिएको सरोकारवालाहरु बताउँछन् ।

अहिले उपत्यकामा तरकारीको माग ह्वात्तै घटेको छ । कोरोनाको संक्रमणका कारण भन्दै लकडाउन घोषणा गर्नुअघि सरकारले विद्यालय, होटल, रेष्टुरेन्ट लगायत क्षेत्र बन्द गर्ने र २५ जनाभन्दा बढी भेला हुन नपाउने निर्णय गरेपछि उपत्यकाबाट बाहिरिनेको संख्या अत्याधिक भयो ।

लकडाउन घोषणापछि पनि लुकीछिपी उपत्यका छाड्नेको कमी भएन । त्यसैले अहिले उपत्यकामा तरकारीको माग आधाभन्दा पनि तल झरेको छ । सामान्य अवस्थामा कालिमाटीमा मात्रै दैनिक करिब ८ सय ५० टन तरकारी बिक्री हुन्थ्यो, अहिले त्यो ३ सय ५० टनमा झरेको छ ।

समितिका सूचना अधिकारी विनय श्रेष्ठ भन्छन्, ‘खुद्रा बजार सञ्चालन होउन्जेल त ५ सय टनसम्म आउँथ्यो । त्यो बन्द भएपछि माग झनै घटेको छ । यो ३ सय ५० टनको हाराहारीमा छ । खुद्रा बजार बन्द भएपछि कतिले तरकारी ल्याउनै छाडेका छन् । कतिपयले यहाँ नल्याएर सीधै खुद्रा बजारमा लगेर बेच्ने गरेको पनि हुनसक्छ ।’ संक्रमणको जोखिम नियन्त्रण गर्न भन्दै गत चैत २७ गतेदेखि समितिले यो क्षेत्रका खुद्रा पसल अर्को सूचना नभएसम्मका लागि भन्दै हटाएको थियो ।

अहिले तरकारी बेच्न सजिलो पनि छैन । सरकारले राति २ बजेदेखि बिहान ७ बजेसम्म तरकारी बेचिसक्न भनेको छ । त्यसभन्दा पछि बेचिएको पाइए कारबाही गर्छ । तर अधिकांश खुद्रा बिक्रेता र उपभोक्ता ५ नबजी बजारमा पुग्दैनन् । त्यसैले २ घन्टामा सबै तरकारी बिक्री गर्न सम्भव पनि हुँदैन । त्यसैले बजारमा माग कम भएको हो ।

अर्को समस्या भनेको सन्दर्भ मूल्यको हो । केही समय अघिसम्म कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सो बजारमा आउने तरकारीको थोक तथा खुला मूल्य सर्भेक्षण गथ्र्यो । सोही सर्वेक्षणको आधारमा सार्वजनिक गरेको मूल्यसूचीलाई सन्दर्भ मूल्य मानेर अन्य तरकारी बजारको मूल्यसमेत निर्धारण हुँदै आएको थियो । सङ्कलकहरुले पनि किसानलाई त्यही आधारमा मूल्य दिन्थे ।

तर खुद्रा पसल हटाउनुभन्दा केही समय अघिदेखि नै समितिले खुला बजारको मूल्य सर्वेक्षण गर्न छाडेको छ । त्यसैले अहिले खुद्रा पसलेहरुले कुनै मूल्यलाई सन्दर्भ मूल्य मान्न सकेका छैनन् । तरकारीको मूल्य निर्धारण अहिले बजारबाटै हुँदै आएको छ । तर कालिमाटीले प्रत्येक दिन बिहान बजार सर्भेक्षण गरेर बजारमा प्रचलित मूल्यलाई नै न्यूनतम र अधिकतम र औसत हिसाब गरेर मूल्य सार्वजनिक गथ्र्यो । तर अहिले त्यो गरिएको छैन । समितिका प्रवक्ता विनय श्रेष्ठ भन्छन्, ‘हामी आफैंले मूल्य तोक्ने होइन, बजारको मूल्य टिप्ने मात्रै हो । बजार नै नभएपछि मूल्यसूची सार्वजनिक गर्न छाडिएको हो ।’

तर यसले गर्दा एउटै तरकारीको मूल्य पनि कतै बढी र कतै कम हुने गरेको हो । तर समग्रमा तरकारीको मूल्य भने बढिरहेकै छ ।

विचौलिया हावी

उपभोक्ताले तिर्ने मूल्य महँगिदै जाँदा तरकारी उत्पादक किसानहरुको पीडा अर्कै छ । अहिले तरकारी सङ्कलकहरुले किसानलाई लिने तरकारीको मूल्य घटाएका छन् । बजारमा तरकारी बिक्नै छाडेको र आफूहरु पनि रिस्कमा भएको भन्दै उनीहरुले तरकारीको मूल्य घटाएका हुन् ।

धादिङको महादेवबेसीस्थित तरकारी सङ्कलक बलराम पौडेल भन्छन्, ‘अहिले तरकारी लैजान र बेच्न गाह्रो छ । कालीमाटी पहिलेजस्तो सजिलो छैन । अरु बजारमा पनि धेरै बिक्दैन । त्यसैले मूल्य घटाएर लिइरहेका छौँ ।’ सङ्कलकले किसानलाई दिने मूल्य घटे पनि अहिले तरकारीको होलसेल मूल्य घटेको छैन बरु बढिरहेकै छ । बैशाख लाग्दै गर्दा बर्खे तरकारीको सिजन सुरु भए पनि मूल्य घट्न नसकेको हो ।

त्यसो त, होलसेल बजार र खुद्रा बजारको मूल्यमा अहिले अन्तर बढ्दै गएको छ । खुद्रा बजार बन्द गर्नुभन्दा अघिल्लो दिन चैत २१ गते सो बजारमा बिक्री भएका ६५ प्रकारका तरकारीमध्ये हालसेल र खुद्रा बजारको मूल्यमा १४ प्रतिशत देखि १९१ प्रतिशतसम्म मूल्य फरक देखिएको छ ।

उक्त दिन मूलामा थोक र खुद्रा बजारको मूल्यमा सर्वाधिक १९१ प्रतिशतसम्म मूल्य फरक थियो । फर्सी र काँक्रोमा १५० प्रतिशत, सिमीमा १२५ प्रतिशत, काउली, बन्दा, भन्टा लगायतका १०० प्रतिशत, गोलभेँडा, हरियो केराऊ, बरेला, बकुल्ला लगातमा ७० प्रतिशत, प्याज, भारतीय सुन्तलामा ६० प्रतिशत, आलु, घिरौंला, भन्टा, गाँजर लगायतमा करिब ५० प्रतिशत मूल्य फरक रहेको पाइएको छ ।

खुद्रा बजारमा त्यसदिन सबैभन्दा कम मूल्यवृद्धि भएको तरकारी भनेको इमली र डल्लेच्याउ हो । ती तरकारीको मूल्य होलसेलको भन्दा १५ प्रतिशत मात्रै बढी थियो ।

त्यस्तै, तोफू, खुर्सानी, लसुन लगायतमा २० प्रतिशत, पुदिना, गुन्द्रुक, साग लगायतमा २५ प्रतिशत, हरियो प्याज, हरियो लसुन लगायतका ३० प्रतिशत तथा पाकेको फर्सी, केरा, धनियाँ, लोकल गाजर लगायतमा होलसेल मूल्यको तुलनामा खुद्रा बजारमा ४० प्रतिशत हाराहारीमा मूल्य अभिवृद्धि गरिएको देखिएको थियो । तर अहिले प्रत्येक तरकारीमा बिचौलियाको मूल्य फेरिएको छ । यसले भान्सा महँगो बन्दै गएको छ भने किसानहरुमा भने लागत नउठ्ने अवस्था छ ।

तर, बजारमा तरकारी बिक्दै नबिक्ने अवस्था भने छैन । मासुजन्य पदार्थको आपूर्ति कम हुँदा तथा भारतीय बजारबाट आउने तरकारी कम हुँदा धादिङ, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट लगायत क्षेत्रमा फल्ने तरकारी बजारमा भने गइरहेका छन् । तर सबै तरकारी नबिक्दा सडेर खेर जाने सम्भावना भने बढ्दै गएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शंकर अर्याल
शंकर अर्याल

अर्याल रातोपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप