केन्द्रीय संस्करण

यसरी खुकुलो गर्न सकिन्छ लकडाउन

person explore access_timeबैशाख १०, २०७७ chat_bubble_outline1

विषय प्रवेशः
     यतिखेर विश्व मानव समुदाय नै कोभिड–१९ को महाव्याधीबाट अक्रान्त छ । यसले आजसम्म मान्छेले लामो सङ्घर्षशील र कष्टसाध्य ऐतिहासिक प्रक्रियाबाट विकास गरेको सभ्यता अनि जटिल खोज–अनुसन्धान एवं प्रयोगद्वारा स्थापित गरेको वैज्ञानिक मान्यताहरुलाई सजिलै चुनौती दिइरहेको छ । अर्थात सिङ्गो मानव सम्यता, प्रविधि, मूल्यमान्यता र मनोवैज्ञानिक भाष्यहरु नष्ट हुने खतरा छ । सङ्क्रमण असाध्यै तीव्रतामा भइरहेको छ । झण्डै ४ महिनाको अन्तरालमा २४ लाखभन्दा बढी सङ्क्रमित र डेढ लाखभन्दा बढीको मृत्यु भइसकेको छ । यसको चढ्दो ग्राफलाई नियाल्दा भयावह अवस्थाको सङ्केत गर्दछ । यसबाट बच्न सबैखाले उपायहरु अवलम्बन गरिएको छ । तर पनि अपेक्षित सफलता हात लागेको देखिन्न ।

     अपवादमा केही मुलुकबाहेक महामारीलाई काबुमा ल्याउन विश्वका अधिकांश मुलुकले लकडाउनको विधि अपनाइरहेको छ । आज सिङ्गो विश्व नै बन्दाबन्दीको अवस्थामा छ । कसैले यसलाई निरपेक्षरूपमा लिएको देखिन्छ भने कसैले सापेक्षरूपमा । चीनले कडा लकडाउनको विधिमार्फत यसलाई एक हदसम्म नियन्त्रण गरेको छ । पछिल्लो समय प्रायः बहुसङ्ख्यक मुलुकहरुले चिनियाँ मोडेललाई अपनाइरहेको छ । यसको अपवादमा यता अमेरिका र दक्षिण कोरियाले भने कडा बन्दाबन्दीको विधि अपनाएको छैन । तर यस विधिबाट कोरिया सापेक्षित सफल भए पनि अमेरिकाको अवस्था भने विकराल बनिरहेको छ ।

     वस्तुतः महामारीलाई नियन्त्रण बाहिर जान नदिनका लागि मुख्य बचाउ विधि बन्दाबन्दी नै हो । तर यो पूर्ण वा एकल समाधन भने होइन । किनभने रूपमा बन्दाबन्दीमा कडाइ गरिए पनि भित्रभित्र लुकिछिपी एक दुई जना सङ्क्रमित छिरे वा कतै लुकेर बसे महामारीका लागि त्यही भयावह हुन्छ । त्यसैले बन्दाबन्दी भनेको कसैको निरपेक्ष नक्कल हुनसक्दैन । यो भनेको आफ्नो विशिष्टता अन्तर्गतको सापेक्षित पहल र प्रयत्न नै हो । अर्थात यो निरपेक्ष हल होइन । समुचित व्यवस्थापन, परिचालन, परीक्षण, प्रचार र अनुगमनहरुको कुल संयोजन र सन्तुलनद्वारा मात्रै बन्दाबन्दी प्रभावकारी हुन्छ । कडा नाकाबन्दी, व्यापक परीक्षण, सरकारको एकीकृत पहल एवं जिम्मेवारी बोध अनि हरेक नागरिकले कर्तव्य र अनुशासनको पालन गरे खुकुलो बन्दाबन्दीद्वारा पनि यो महामारीलाई परास्त गर्नसकिन्छ । यस आलेखमा बन्दाबन्दी खुकुलो बनाउन सकिने केही वस्तुगत आधारहरु बारे चर्चा गरिएको छ । 

नाकाबन्दीमा कडाइः 
     नेपालमा हालसम्म कोभिड–१९ बाट सङ्क्रमित हुनेहरु सबै विदेशबाट आएकाहरु छन् । यो महामारीको उद्गम पनि उत्तरी छिमेकी मुलुक चीनबाट भएको हो । त्यसपछि हाल युरोप हुँदै अमेरिकासम्म पुगिसकेको छ । पछिल्लो समय दक्षिणी छिमेकी भारतमा सङ्क्रमण बढ्नेक्रममा देखिन्छ । यस्तो वस्तुगत अवस्थामा मूलतः बाहिरी मुलुकसँगको आवत–जावत बन्द गर्नु पहिलो महत्त्वपूर्ण पाइला हो । त्यसमा पनि भारतसँगको खुला सिमाना असाध्यै संवेदनशील छ । यसकारण वैदेशिक सिमानाका पूर्णरूपमा बन्द गर्नु प्राथमिक सर्त हुनजान्छ । भारतसँगको आउजाउ हाम्रो लागि धेरै चुनौतीपूर्णछ ।

आज खुल्ला सिमानाको वैध र अवैध आउजाउ कति जोखिमपूर्ण हुन्छ भन्ने कुरा सबै नेपालीहरुले महसुस गर्न बाध्य भएका छन् । विगतमा पर्खाल र तारबार लगाउने कुरालाई उट्पट्याङको संज्ञा दिए पनि वस्तुगत आज यसको आवश्यकता पुष्टि भएको छ । सबै जोड र ध्यान यही खुल्ला सीमा निगरानीमा लगाउनुपर्दछ । सामान ढुवानीका लागि निश्चित नाका कडा सुरक्षा र स्वस्थ्य निगरानीसहित खुला गर्दै बाँकी खुला सीमा क्षेत्रमा सुरक्षाकर्मीलाई २४ घण्टा तैनाथ गर्नुपर्दछ । 

     यस अतिरिक्त उत्तरी नाका र त्रिभुवन विमानस्थललाई पनि पूर्णरूपमा बन्द गर्नुपर्दछ । विशिष्ट परिस्थितिहरुको सन्दर्भमा भने उच्च स्वस्थ्य निगरानीसहित आउजाउ गर्नसकिने विकल्प राख्नु पर्दछ । उदाहरणका लागि खाडी तथा मलेसिया लगायतका मुलुकहरुमा अलपत्र परेका कामदारहरुलाई विशिष्टता अनुरूप नेपाल ल्याउनुपर्दछ । तर उनीहरुको स्वस्थ्य परीक्षण लगायतका आवश्यक प्रक्रिया पूरा गरी क्वरेन्टाइनमा राख्नु पर्दछ । यसरी सीमा नाकाहरु कडाइको साथ बन्द गरी आन्तरिक रूपमा बन्दाबन्दीमा केही खुकुलो गर्दै कृषि, साना व्यवसाय, व्यापर लगायतका कारोबारहरु सञ्चालनमा ल्याउन सकिन्छ । तर हरेक गतिविधि बन्दाबन्दीको आधारभूत मर्म अनुरूप गर्नु गराउनु पर्दछ । यसो गरे कोरोना महामारी माथिको विजयसँगै मुलुकलाई आर्थिक महाविपत्तिबाट पनि उद्धार गर्न सकिन्छ ।

परीक्षणमा कडाइः
      कोभीड–१९ को सङ्क्रमण कम गर्ने अर्को मुख्य विधि भनेको व्यापक परीक्षण नै हो । प्राविधिक स्वस्थ्य जनशक्ति परिचालन, भौतिक पूर्वाधार, प्रविधि, सामग्री खरिद र व्यवस्थापनलाई उच्च प्राथमिकतामा राख्नुपर्दछ । स्रोत साधनहरुको  बृहत् व्यवस्थापन गर्दै देशभरि व्यापक परीक्षणको नीति लिनुपर्दछ । न्यूनतम रूपमा प्रत्येक स्थानीय तहबाट ¥यापिड डाइग्नोस्टिक्स टेस्ट (आरडीटी) र पोलिमरेज चेन रियाक्सन टेस्ट (पीसीआरटी) गर्ने व्यवस्था गर्नु पर्दछ ।

सम्भव भएसम्म वडा स्तरसम्मै सानो स्केलमा भए पनि आइसोलेसन वार्ड र क्वरेन्टाइनहरु निर्माण गर्नुपर्दछ । यो उल्लेख्य सङ्ख्यामा हुनुपर्दछ । स्वस्थ्य तथा सुरक्षाकर्मीहरुलाई भरपर्दो पीपीई उपलव्ध गराउनुपर्दछ । स्वस्थ्य प्रविधि र सामग्री, दिशानिर्देशन, समन्वय र अनुगमनमा अलिकति पनि कमि गर्नुहुँदैन । स्वस्थ्यकर्मी, राजनीतिक दल, सुरक्षाकर्मी, नागरिक समाज, समाजसेवी र उद्योगी व्यवसायीहरु बीच सन्तुलन, संयोजन र समन्वयात्मक परिवेश सिर्जना गर्नुपर्दछ । उच्च मनोबल र विश्वाससहित काम गर्न स्वस्थ्यकर्मी तथा सुरक्षाकर्मीहरुलाई प्रोत्साहन र हौसलाजन्य स्किमहरु ल्याउनुपर्दछ । अर्थात व्यापक ट्रयाकिङ र ट्रेसिङसँगै गरिएको आम परीक्षणको बलमा आन्तरिक रूपमा बन्दाबन्दी केही खुकुलो गर्न सकिने सम्भावना देखिन्छ ।  

सामाजिक दूरीमा कडाइः 
     कोभिड–१९ जस्ता महामारीबाट बच्नको लागि सामाजिक दूरी कायम गर्नु सर्वाधिक महत्त्वपूर्ण पक्ष हो । सामाजिक दूरी भनेको एक व्यक्तिबाट अर्को व्यक्ति बीचका सबैखाले सामाजिक तथा सांस्कृतिक सम्पर्क वा गतिविधिलाई बुझाउँछ । अर्थात समाजमा गरिने सबैखाले उठबस वा सम्बन्धहरु यसभित्र पर्दछ । यस्तो महामारीका बेला ठूलो स्केलको सामाजिक गतिविधिहरु उपयुक्त हुँदैन । ठूलो सङ्ख्याको जमघट, भेला, सम्मेलन लगायतका सामाजिक तथा सांस्कृतिक कार्यहरु सकेसम्म नगर्नु नै उत्तम हुन्छ । गर्नैपरेको खण्डमा पनि स्वस्थ्य मापदण्ड पूरा गर्दै सामाजिक दूरी कायम गर्नुपर्दछ । स्वस्थ्य विज्ञहरुको अनुसार यस्तो दूरी एकदेखि डेढ मिटरसम्म हुनुपर्दछ । सरकारी काम, सामाजिक कार्य, बन्दव्यापार, किनमेल लगायतको गतिविधिहरु गर्दा असाध्यै संवेदनशील र सचेत भएर दूरी कायम गर्नुपर्दछ । भिडभाड पटक्कै गर्नुहुँदैन । आडम्बरी, ढोँगी र तड्कभड्कपूर्ण कार्यहरुलाई निरुत्साहित गर्नुपर्दछ । मूलतः विवेकपूर्ण र अनुशासित भएर सामाजिक दूरी कडाइपूर्वक लागू गर्न तयार हुनुपर्दछ । त्यसपछि लकडाउन खुकुलो बनाउँदै लान सकिन्छ । 

 स्वस्थ्य मापदण्डमा कडाइः 
     कुनै पनि महामारी विरुद्धको अचुक अस्त्र भनेको स्वस्थ्यमा ख्याल गर्ने कुरा हो । सामन्यतय स्वस्थ्यसम्बन्धी मापदण्ड सधँैको लागि जरुरी हुन्छ । तर यस्तो सङ्कटको बेला अझ संवेदनशीलताको खाँचो पर्दछ । सबैखाले स्वस्थ्यमा सधैँभन्दा बढी ध्यान दिनुपर्दछ । सरसफाइमा जोड गर्नुपर्दछ । साबुनपानीले मिचिमिची हात धुने, नियमित नुहाउने, ज्वरो चेक गरिरहने, मास्क लगाउने अनि सेनिटाइजरको प्रयोग गर्नुपर्दछ । त्यति मात्र होइन, हातले मुख, नाक र आँखालाई छुनु हुँदैन । हाछ्युँ गर्दा र सिगान फ्याँक्दा रुमालको प्रयोग गर्नुपर्दछ । कुनै पनि कार्यालय, हाटबजार, मलामी लगायतको जमघटहरुमा उपस्थित हुँदा मास्क लगाउने र सेनिटाइजरको अनिवार्य उपयोग गर्नुपर्दछ । यसरी सबैले सबै परिवेश र स्थानहरुमा इमानदार र अनुशासित भएर स्वस्थ्य मापदण्ड पु¥याउने हो भने हाल लगाइएको लकडाउनलाई खुकुलो गर्न सकिन्छ । तर न्यूनतम स्वस्थ्य  मापदण्डको सन्दर्भमा सवै संवेदनशील हुुनैपर्दछ ।

जनचेतनामा वृद्धिः
     कोभिड–१९ को असर, प्रभाव, लक्षण र संवेदनशीलताको बारे व्यापक जनचेतनामूलक प्रचार–प्रसार गर्नुपर्दछ । यो भाइरसको लक्षण, सर्ने सम्भावित माध्यम, क्षति, बच्ने उपाय र त्यसबाट पर्न जाने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रभावको सन्दर्भमा व्यापक प्रचार–प्रसार अनिवार्य देखिन्छ । यसलाई औपचारिक प्रचारमा सीमित गर्नुहुँदैन । किनकि यो भाइरसको विषयमा धेरैलाई आधारभूत ज्ञान हुनसक्छ । तर केवल एकजनाले मात्रै कमजोरी गरे त्यो विश्वकै लागि चुनौती हुन्छ । जसको परिणाम अकल्पनीय हुन्छ । अर्थात केवल एक जनाको कमजोरीबाट  सिङ्गो विश्व नै प्रभावित हुनपुग्दछ । त्यसैले आम जनस्तरमा बृहत प्रचार–प्रसार  अनिवार्य गर्नुपर्दछ । यसमा देशविदेश आउजाउ, लकडाउनको मर्म, सामाजिक दूरीको महत्त्व, स्वस्थ्य मापदण्डको सवालमा  सबैलाई सारभूतरूपमा प्रशिक्षित र सचेत गराउनुपर्दछ । तब सम्पूर्ण नागरिकहरु कोभिड–१९ बारे सचेत र अनुशासित भई स्वविवेकमै रहने अवस्था सिर्जना हुन्छ । यस्तो एकरूपताको स्थितिमा बन्दाबन्दीलाई खुकुलो गर्न सकिन्छ ।

अन्य कडाइः 
     मुख्यतः यस्तो सङ्कटको बेला सर्वपक्षीय संयन्त्रहरुको एकीकृत पहल, प्रयत्न र विचार साटासाट धेरै प्रभावकारी हुन्छ । यसले सबैलाई जिम्मेवार र गम्भीर बनाउँछ । सरकारमाथि दोष थोपर्दै आफू पन्छिने अनि सस्तो चुनावी लोकप्रियताका लागि राजनीतिक धरालत बनाउने पुरानै परम्परागत प्रवृत्तिलाई पनि निरुत्साहित गर्दछ । यसतर्फ सरकारले उचित ध्यान दिनु जरुरी देखिन्छ । किनकि यो साझा शत्रु हो ।  साझा दुस्मनविरुद्ध लड्ने तरिका पनि साझा नै हुनुपर्दछ । यो युद्धको सार्वभौम नियम हो । अर्थात साझा सङ्टको बेला साझा समाधनको प्रक्रियाहरुलाई कडाइपूर्वक लागू गर्नुपर्दछ ।

     यस अतिरिक्त टाढाटाढाका गतिविधिहरु बन्द गर्नुपर्दछ । लामो दूरीको यात्रा वा सवारी साधनहरु चलाउँनु हुँदैन । महामारी अवधिभरि सबैको व्यक्तिगत विवरण अनिवार्य गराउनुपर्दछ । स्वस्थ्य प्रमाणपत्र प्रयोगलाई अनिवार्य बनाउनु पर्दछ । व्यापार व्यवसाय पनि स्थानीय  वा सीमित क्षेत्रमा मात्रै गर्नुपर्दछ । एक स्थानीय तह, प्रदेश र मुलुकबाट अर्को स्थानीय तह, प्रदेश र मुलुक बीचको दोहोरो भ्रमण, भेटघाट, अन्तरक्रिया, सामाजिक कार्य र बन्दव्यापारलाई बन्द गर्नुपर्दछ । कोरोना आशङ्काकै बीच कसैले कसैलाई लुकेर वा लुकाएर बस्नु वा राख्नु हुँदैन । राष्ट्रिय सङ्कटको बेला यसो गर्नु भनेको सार्वजनिक अपराध बराबर हो । त्यसैले यदि सबैले विवेकशील, अनुशासित र सचेत भएर आवश्यक मापदण्डहरु पूरा गर्ने हो भने आन्तरिक लकडाउन केही खुकुलो बनाउन सकिन्छ । तर यसका लागि तपाईं हामी सबै सचेत, संवेदनशील, विवेकशील र अनुशासित हुनु जरुरी हुन्छ ।

निष्कर्षः
कोभिड–१९ स्वस्थ्य सङ्कट मात्र होइन यो सिङ्गो सभ्यताकै सङ्कट हो । विज्ञान माथिकै चुनौती हो । यस अतिरिक्त यो राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक तथा सांस्कृतिक महासङ्कट हो । यो सिङ्गो मानव समाजको सग्लो वा साझा दुस्मन हो । यसको बहुआयमिक दूरगामी असरलाई नजरअन्दाज गर्नुहुँदैन । यसको रोकथामका लागि सबै उपायहरु अपनाउनु पर्दछ । यद्यपि यसको निरपेक्ष वा एकल समाधन लकडाउन मात्र होइन । भ्याक्सिनबाहेक महामारीको बनिबनाउ समाधन हुँदा पनि हुँदैन । बन्दाबन्दीले मानवीय गतिविधि वा सामाजिक दूरीलाई उल्लेख्य रूपमा कम गर्दछ यो साँचो हो । तर बन्दाबन्दीकै बीच पनि लुकिछिपी निषेधित गतिविधिहरु हुँदैन भनेर ठोकुवा गर्न सकिन्न । एकोहोरो आन्तरिक बन्दाबन्दीमा मात्रै निर्भर हुने तर नाकाबन्दी, व्यापक स्वस्थ्य परीक्षण  व्यवस्थापन र परिचालन लगायतका गम्भीर पक्षहरुमा नजरअन्दाज गर्ने हो भने सकरात्मक परिणाम आउँदैन । एकल बन्दाबन्दीले मात्र एकातिर मुलुक अस्तव्यस्त हुन्छ भने अर्कोतिर सङ्क्रमण रोकथाम प्रभावकारी पनि हुँदैन ।

     तसर्थ, महामारी रोकथामका लागि सबै विधिहरु सन्तुलित रूपमा अपनाउनु पर्दछ । कडा बन्दाबन्दीले आर्थिक पक्ष डामाडोल मात्र होइन पक्षघातको अवस्थामा पुग्ने खतरा छ । ठूलै हिस्सा नागरिकहरु बेरोजगार हुन्छन् । साथै व्यवस्थापकीय अवस्था नाजुक हुन्छ । कालो बजारले अर्को महामारीको रूप धारण गर्दछ । समग्र आर्थिक जीवन रेखाहरु धराशयी हुन्छ । सामाजिक तथा मनोवैज्ञानिक बुझाइको भाष्यहरु अस्तव्यस्त हुन्छ । तब महामारीको सन्त्रासमा दबेका आवाजहरु अराजक उभारमा अभिव्यक्त हुनसक्छ ।  यस्तो संवेदनशील अवस्थामा कुनै पनि स्तरको जनउभारहरु नियन्त्रण, निगरानी र व्यवस्थापन बाहिर जाने प्रबल खतरा हुन्छ । त्यसकारण कोभिड–१९ लाई परास्त गर्न सबै अस्त्रहरुको एकीकृत, सङ्गठित, सचेत, संवेदनशील, विवेकशील र अनुशासित रूपले परिचालन गरौँ अनि परिचालित होऔँ । बाह्य नाकाबन्दी र परीक्षणलाई कडाइ गरौँ । आन्तरिक बन्दाबन्दीलाई केही खुकुलो पारौँ । यो साझा दुस्मनविरुद्ध साझा विजयका लागि लडिएको साझा महायुद्धमा सबै सहभागी होऔँ । कोरोनालाई जसरी पनि जित्नु छ ।  

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

  1. April 23, 2020, 7:55 a.m. GYAN RAI
    Good ideas to make steaming
  2.  0 Reply

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.