कोरोनाभाइरसः यो महामारीबारे भविष्यवाणी गर्ने ती व्यक्ति
आज हामी जुन अवस्थाबाट गुज्रिरहेका छौं यसमा भोलिको कुनै टुङ्गो छैन । अहिले भय र त्रासले हाम्रो मन, मुटु र मस्तिष्कमाथि कब्जा जमाएको छ । सामाजिक मेलमिलापभन्दा टाढा हामी आफ्नो घरभित्र कैद छौं । यसो गरेर हामी कोरोनाभाइरसको संक्रमणको गतीलाई कम गर्ने प्रयास गरिरहेका छौं ।
यतिबेला साहित्यले हाम्रो एक्लोपनालाई टाढा बनाइदिएको छ । यसले हामीलाई वास्तविक दुनियाँबाट टाढा लगेर राहत महसुस गराउँछ । हाम्रो साथी बन्छ । तर यतिबेला महामारीबारे लेखिएको किताबको माग अत्यधिक बढेको छ । यस्ता थुप्रै उपन्यास छन् जसले महामारीको वास्तविताबारे निकै नजिक भएर जानकारी दिएका छन् । कति त महामारीको डायरी जस्ता छन् । ती उपन्यासमध्ये कतिले महामारीजस्तो भयानक स्थितीबाट मानिसहरु कसरी बाहिर निस्किए भनेर जानकारी दिने गर्छन् ।
बेलायती लेखक ड्यानियल डेफाले सन् १७२२ मा ‘अ जर्नल अफ द प्लेग इयर’ नामको पुस्तक लेखेका थिए । यसमा ड्यानियलले सन् १६६५ मा बेलायतको राजधानी लण्डनमा फैलिएको प्लेगको महामारीबारे बिस्तारपूर्वक लेखेका छन् । यो भयावह चित्रणले त्यतिबेलाको हरेक घटनाको हिसाबकिताब गरेको झैं देखिन्छ । र त्यो समय हामीले अहिले भोगिरहेको यो भाइरसको प्रकोपसँग मिल्दोजुल्दो पनि छ ।
ड्यानियल डेफोको किताब सेप्टेम्बर १६६४ देखि सुरु हुन्छ । त्यतिबेला होल्याण्डमाथि हमला हुन लागेको अफवाह फैलन्छ । त्यसको तीन महिनापछि अर्थात् डिसेम्बर १६६४ मा लण्डनमा पहिलो संदिग्धको मृत्यु भएको खबर पाइन्छ । वसन्तको आगमनसँगै लण्डनका विभिन्न चर्चमा मानिसहरुको मृत्युमा भारी वृद्धि हुन्छ ।
जुलाई सन् १६६५ आउनेबित्तिकै बेलायतमा नयाँ नियम लागू हुन्छन् । यो नियम ठ्याक्कै त्यस्तै छ जुन आज करिब सय वर्षपछि हामीमाथि लकडाउनको नाममा लागू गरिएको छ । त्यतिबेला पनि बेलायतमा सबै सार्वजनिक कार्यक्रम, बार, रेष्टुरेन्टमा मानिसहरु जम्मा हुन प्रतिबन्ध लगाइएको थियो । त्यतिबेला स्टेडियम पनि बन्द गरिएका थिए ।
ड्यानियल डेफोः
ड्यानियल डेफो लेख्छन्, ‘बेलायत निवासीहरुका लागि सबैभन्दा घातक कुरा के थियो भने उनीहरुले लापरवाही गर्न छोडेका थिएनन् । उनीहरु गल्लीतिर घुम्दथे । सामान खरिद गर्नका लागि भीड गर्दथे । जबकी उनीहरु घरमा नै बस्नु पर्दथ्यो । यद्यपि, यस्ता थुप्रै मानिसहरु पनि थिए जो यी नियमको कडा पालना गर्दै घरमा नै बस्दथे ।’
अगस्ट महिना सुरु हुँदाहुँदै ‘प्लेगले निकै हिंस्रक रुप धारण गर्यो । परिवारका परिवार, बस्तीका बस्तीलाई यो महामारीले निल्यो । ’ डेनियल डेफो भन्छन्, ‘तर डिसेम्बर सन् १६६५ आएलगत्तै महामारीको प्रकोप सुस्तायो । अब हावा सफा र चिसो थियो । जो बिरामी थिए तीमध्ये धेरै ठिक भएका थिए । शहरको स्वास्थ्य सुधारोन्मुख थियो । जब अन्तिम गल्ली पनि महामारीबाट मुक्त भयो तब बेलायत निवासी सडकमा निस्किए र भगवानलाई धन्यवाद दिन थाले ।’
चार सय वर्ष अघिको महामारीको स्थिती आज पनि केही हदसम्म मेल खान्छ । अहिले पनि लगभग त्यस्तै माहौल छ । तनाव बढेको छ ।
डेनियल डेफोले झैं अल्बर्ट कामूले पनि महामारीको बखान निकै राम्रो तरिकाले गरेका छन् ।
कामूले आफ्नो किताब ‘द प्लेग’ मा अल्जेरियाको ओरां शहरमा आएको प्लेगको महामारीबारे वर्णन गरे । १९ औं शताब्दिमा ओरां शहर प्लेगका कारण साँच्चै नै उजाडिएको थियो ।
कामूको चित्रणमा पनि हामी आजको झलक देख्न सक्छौं । सुरुमा त स्थानीय नेताले यो महामारीलाई मान्न अस्विकार गरिरहे । जबकी कामू लेख्छन्, ‘शहरको गल्लीमा मरेका मुसाको जताततै खात लागेको थियो । ’
उनको उपन्यासमा एक पत्रिकाका स्तम्भकारले प्रश्न उठाउँछन्, ‘के हाम्रा शहरका मालिकलाई मानिसका लागि यी मरेको मूसाको खात कति भयानक छन् भन्ने कुरा थाहा छ कि छैन ?’
यो किताबका पात्र डाक्टर बर्नार्डले स्वास्थ्यकर्मीको बहादुरीबारे भन्छन्, ‘मलाई थाहा छैन कि मृत्युले कुन पल मेरो प्रतिक्षा गरिरहेको छ । र अन्त्यमा के हुनेछ । अहिले मलाई यत्तिमात्रै थाहा छ कि मानिसहरु बिरामी छन् र उनीहरुलाई उपचारको आवश्यकता छ । र अन्त्यमा यो महामारीबाट बचेका मानिसहरुका लागि पाठ यो हो कि कुनै पनि मुश्किल अवस्थामा सबैभन्दा महत्वपूर्ण चिज भनेको मानिसलाई प्रेम गर्नु हो ।’
सन् १९१८ मा स्पेनिश फ्लूको महामारीले पनि संसारको रुप रङ फेरिदियो । यो महामारीका कारण संसारभरी कम्तीमा पाँच करोड बढी मानिस मारिएका थिए । जबकी यसको ठिक अगाडि भएको पहिलो विश्वयुद्धमा एक करोडले आफ्नो ज्यान गुमाएका थिए । तर युद्धको नाटकीय घटनाले यो महामारीको प्रभावलाई लुकाएको थियो ।
पहिलो विश्वयुद्धमा अनगिन्ती उपन्यास लेखियो । स्पेनिश फ्लूको महामारीबारे पनि अत्यधिक किताब लेखियो । आज लकडाउनका कारण मानिसहरु घरमा बसिरहेका छन् र सामाजिक दुरीको पालना गरिरहेका छन् । सन् १९३९ मा बेलायती लेखिका क्याथरिन एन पोर्टरले आफ्नो उपन्यास ‘पेल हर्स, पेल राइडर’ मा स्पेनिश फ्लूको महामारीको वर्णन गरेकी छ । पोर्टरको उपन्यासकी पात्र मिरान्डा जब बिरामी हुन्छिन् तब मिरान्डाका साथी एडमले उनलाई भन्छन्, ‘यो अत्यधिक खराब स्थिती हो । सबै थिएटर, पसल र रेष्टुरेन्ट बन्द छन् । रातभरी एम्बुलेन्स दौडन्छन् ।’
क्याथरिन पोर्टरले मिरान्डाको ज्वरो र औषधीमार्फत् हप्तौंसम्म चलेको रोगबारे जानकारी दिन्छिन् । जब उनी ठिक हुन्छिन् र बाहिर निस्किन्छिन् तब संसार युद्ध र फ्लूका कारण कतिसम्म परिवर्तन भइसकेको महसुस गर्छिन् । क्याथरिन आफैं पनि स्पेनिश फ्लूका कारण मर्दामर्दै बाँचेकी थिइन् ।
सन् १९६३ मा द पेरिस रिभ्यूलाई दिएको अन्तर्वार्तामा क्याथरिनले बताएकी थिइन्, ‘ममा अचम्मको परिवर्तन आएको थियो । मलाई पुनः बाहिर निस्किएर मानिसहरुसँग घुलमिल हुन र जीवनलाई पुनः सुचारु गर्न अत्यधिक समय लागेको थियो । मेरो साँच्चै नै बाँकी दुनियाँसँगको सम्पर्क विच्छेद भएको थियो ।’
२१ औं शताब्दिका महामारी जस्तै सन् २००२ मा सार्स, २०१३ मा मर्स र सन् २०१४ मा इबोला भाइरसको प्रकोपले पनि एक्ला शहर, ध्वस्त भएको जीवन र आर्थिक समस्यालाई बयान गर्ने मौका दिएको छ ।
मार्गरेट एटवुडले सन् २००९ मा द ईयर अफ द फ्लड नामको उपन्यासमा यस्तै दुनियाँको कल्पना गरेकी छिन् जसमा एक महामारीपछि मानिसको अस्तित्व समाप्त हुन्छ । यसमा एक यस्तो महामारीको वर्णन गरिएको छ जसले पानीबिना नै बाढी निम्त्याउँछ । जसले हावामा तैरिँदै थुप्रै शहर जलाइदिन्छ ।
यो महामारीबाट औंलामा गन्न मिल्ने जतिपनि मानिस बाँच्छन् उनीहरु कति एक्लो हुन्छन्, यसको वर्णन मार्गरेट एटवुडले निकै राम्रोसँग गरेकी छिन् । टोबी नामकी एक महिला छिन् जसले एक्लो देखिने आकाशतर्फ नियाल्दै सोच्छिन्, ‘अरु कोही पनि पक्कै बाँचेका होलान् । यो धर्तीमा म एक्लो मानिस त होइन होला नि । तर उनीहरु साथी होलान् वा दुश्मन । यदि कसैसँग भेट हुन्छ भने, के सोच्ने ?’
यो उपन्यासकी अर्की एक पात्र छिन् रेन । उनी नर्तकी हुन् । उनी यो महामारीबाट यसकारण बचिन् किनभने उनलाई कुनै ग्राहकबाट पाएको रोगका कारण क्वारेन्टाइनमा राखिएको थियो । उनी घरमा बसीबसी आफ्नो नाम लेखिरहन्छिन् । रेन भन्छिन्, ‘यदि तपाईं धेरै दिनसम्म एक्लो रहनुहुन्छ भने तपाईंले बिर्सनुहुन्छ कि तपाईं वास्तवमा को हो ।’
एटवुडको उपन्यास विगतमा पनि जान्छ । यतिबेला उनी बताउँछिन् कि प्राकृतिक र मानवीय सन्तुलन कसरी बिग्रियो । किनभने सत्ताधारी कम्पनीले बायो इन्जिनियरिङमार्फत् प्रकृतिको दोहन गरेको थियो । अर्थात्, मार्गरेट एटवुडले आफ्नो उपन्यासलाई वास्तविकताको निकै ठोस आधारशीलामा लेखेकी थिइन् ।
कुनै पनि महामारीमा आधिरित किस्साले यसकारण आकर्षित गर्छ किनभने मानिस एक–आपसमा मिलेर यसको सामना गर्छन् । दुश्मन यस्तो हुन्छ जुन मानव हुँदैन । तब दुनियाँमा राम्रो र नराम्रोको फरक भेटिँदैन । हरेक व्यक्तिसँग बच्ने बराबर मौका हुन्छ । यो एक तरिकाले समाजवादी दुनियाँ रहन्छ ।
चिनियाँ मूलकी अमेरिकी लेखिका लिंग माले सन् २०१८ मा ‘सिभरेन्स’ नामबाट उपन्यास लेखेकी थिइन् । यसमा अन्य देशबाट आएर अमेरिकामा बसेका मानिसहको कहानी पनि समावेश थियो । जसमा केन्ड्न्स चेन नामकी युवतीले कहानीलाई अगाडि बढाउँछिन् । उनी बाइबल छाप्ने एक अफिसमा काम गर्छिन् । सन् २०११ मा न्यूयोर्कमा हमला गर्ने काल्पनिक ‘शेन फिवर’ नामको महामारीमा ९ जनामात्रै बाँच्न सफल हुन्छन् । तीमध्ये एक केन्डेन्स पनि एक हुन्छिन् । लिंग मा लेख्छिन्, ‘महामारीपछि शहरको आधारभूत ढाँचा तहसनहस भइसकेको छ । इन्टरनेट बर्बाद भइसकेको छ । बत्तीको ग्रीड पनि बन्द भइसकेको छ ।’
लिंग माले आफ्नो उपन्यासमा जस्तो स्थितीको कल्पना गरेकी छिन् त्यस्तो स्थिती त हाम्रो सामू छैन । तर लिंग माले त्यो दुनियाँको पनि चित्रण गरेकी छिन् जब महामारीले विध्वंस मच्चाएर जान्छ । त्यसपछि सामाज निर्माणमा ठूलो चुनौती निम्तिने गर्छ । एक संस्कृतिको विकासबारे प्रश्न उठ्छ । जो बाँचेका छन् उनीहरुबीच सत्ता कसको हातमा हुनेछ ? कुन धार्मिक परम्परा मान्ने हो, यो कसले निश्चित गर्नेछ ? मानिसहरुको निजताको अधिकार कसरी बच्नेछ ?
यसैगरी एमिली सेनट जोन मंडेलको सन् २०१४ मा आएको उपन्यास स्टेशन इलेभेनको कहानी छ । एक अत्यधिक संक्रमित रोग जर्जिया नामको गणराज्यबाट सुरु हुन्छ । ठ्याक्कै त्यस्तै कुनै न्यूट्रन बम बिस्फोट भएको जस्तो । र यो महामारीले संसारको ९९ प्रतिशत जनसंख्या ध्वस्त हुन्छ । यो महामारीको सुरुवात त्यतिबेला हुन्छ जब सेक्सपियरको नाटक किङ लियरको एक भूमिका निभाइरहेका व्यक्ति मञ्चमा नै ढल्छन् । त्यसपछिको कहानी २० वर्षपछिको हो जब ती व्यक्तिकी श्रीमती स्टेशन इलेभेन नामको उक्त स्थानमा उपस्थित हुन्छिन् । स्टेशन इलेभेनका अन्य बाँचेका पात्रले खाली भएका सपिङ मल र साना शहरमा नाटक मञ्चन गर्दै मानिसहरुलाई मनोरञ्जन प्रदान गर्छन् ।
थुप्रै अर्थमा स्टेशन इलेभेनको कहानी १४ औं शताब्दीका बेलायती कवि चसरको चर्चित वा बदनाम भनौं, ‘क्यान्टबरी टेल्स’सँग अत्यधिक मिल्छ । चसरले लेखेको यो अन्तिम रचना थियो जसमा १४ औं शताब्दिमा युरोपलाई बर्बाद गर्ने ब्ल्याक डेथ वा प्लेगलाई आधार बनाएर लेखिएको थियो ।
एमिली सेन्ट जन मंडेल प्रश्न उठाउँछिन्, ‘कसले निश्चित गर्नेछ कि कला के हो ? के सेलिब्रिटीको व्यवहार संस्कृति हो ? जब कुनै भाइरसले मानवतामाथि आक्रमण गर्छ त नयाँ संस्कृतिको निर्माण कसरी हुनेछ ? पहिलेका विद्यमान कला र संस्कृतिमा के परिवर्तन आउलान् ?’
यसमा दुईमत छैन कि अहिलेको स्थितीमा पनि उपन्यासको भूमिका तयार भइरहेका छन् । अबको समयमा यो महामारीलाई कसरी वर्णन गरिएला ? उनीहरुले मानिसबीचको सामुदायिका भावनालाई कसरी व्यक्त गर्नेछन् ? हामीबीचका अनगिन्ती बहादुर व्यक्तिबारे के लेख्नेछन् ?
यो ती प्रश्न हुन् जब हामी यो समस्याबाट निस्कनेछौं तब पक्कै पढ्नेछौं । अहिलेका लागि हामी यो महामारीपछि उदाउने नयाँ दुनियाँका लागि आफैंलाई तयार गर्नेछौं ।
रातोपाटीले अनुवाद गरेको बीबीसी हिन्दीमा प्रकाशित जेन सियाबेटारीको लेख
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वसाधारण भन्छन्– धरहराको शुल्क बढी भयो
-
मिनी संसद्को दुःख : एकातिर विधेयकको थुप्रो, अर्कातिर कोरम नपुगेर बैठक बस्नै समस्या
-
विपद् व्यवस्थापन बारे बागमती सरकार र प्राधिकरण बिच छलफल
-
कालिमाटीमा महिलाको शव बोकेर हिँड्ने युवक पक्राउ
-
गलत तरिकाले दाँत माझिरहनु भएको त छैन ?
-
संभलमा जामा मस्जिद सर्वेक्षणको समयमा हिंसा, ३ जनाको मृत्यु