‘किसानसँग हात जोडेर बिन्ति गर्नुपर्ने अवस्था आएको छ’
काठमाडौं । सरकारले लकडाउन घोषणा गरे पनि अत्यावश्यक सेवालाई निरन्तरता दिने व्यवस्था गरेको छ । यही अत्यावश्यक सेवामध्येको एक हो दुग्ध अर्थात् डेरी व्यवसाय । तर, यो क्षेत्रको पीडा अत्यावश्यक सेवाभन्दा बाहिरको व्यवसायको भन्दा पनि बढी छ ।
लकडाउन सँगै आपूर्ति व्यवस्थामा समस्या हुँदा अहिले सामान्य अवस्थाको २० प्रतिशत दुध मात्रै बजारमा पुग्न सकेको छ । डेरी एशोसिएशनको तथ्याङ्क अनुसार अहिले देशभर दैनिक ६२ लाख लिटर दुधको आपूर्ति हुन्छ । सामान्य अवस्थामा त्यसको आधा अर्थात् ३१ लाख लिटर दुध बजारमा बिक्री हुन्थ्यो । अहिले त्यो ६ लाख लिटरको हाराहारीमा झरेको छ ।
डेरी एशोसिएसनका महासचिव प्रल्हाद दाहाल भन्छन्, ‘लकडाउन सुरु भएपछि पनि यो आपूर्ति निरन्तर छ, तर माग भने निकै घटेको छ । ३१ लाख लिटरमध्ये २५ लाख लिटर दुधको ओभरसप्लाई छ, कसैले खाइरहेका छन् । खान नसक्नेले गाईवस्तुलाई नै खुवाइरहेका छन् ।’
काभ्रे पनौतीका दुध संकलन रविन्द्र हुमागाईँले सामान्यतया दैनिक ४ हजार लिटर दुध संकलन गर्थे । अहिले सोमबार उनले १६ सय लिटर दुध बेचे । हुमागाइँ भन्छन्, ‘लकडाउन भएपछि दुध संकलन गर्ने विषयमा ज्यादै कठिन भयो, अहिले उत्पादन भएकाजति सबै दुध बजारमा लैजानसक्ने अवस्था छैन । हामी त अहिले किसानलाई हात जोडेर दुध नल्याइदिनुस् भनेर बिन्ति गर्नुपर्ने अवस्थामा छौँ ।’
यसअघि दुग्ध विकास संस्थानले काभ्रे जिल्लाबाट पनि दुध संकलन गथ्र्यो । तर डीडीसीले ३ दिन मिल्क होलिडे मनायो । मंगलबारबाट भने दुध संकलन सुरु गरेको छ । तर दुधको गुणस्तरमा कडाई गर्दै आएको छ । उता संकलक हुमागाइँ भने आफूले सामान्य अवस्थामा भन्दा आधा दुध लिँदै आएको बताउँछन् । ‘एकदिन होलिड गर्नु र एकदिन लिनुभन्दा दैनिक रुपमा आधा दुध संकलन गरिरहेका छौं । यसले गर्दा थोरै दुध उत्पादन गर्ने किसानले बाँकी दुध आफैंले उपभोग गर्न पाउनुहुन्छ, ग्राहकले पनि ताजा दुध नै पाउनुहुन्छ ।’
मागमा किन छ समस्या ?
अहिले दुध बिक्रीमा यसरी समस्याका आउनुको कारण भने माग र आपूर्ति व्यवस्था दुवैमा भएको कमी हो ।
अहिले बजारमा दुधको माग नै कम छ । कोरोनाभाइरसको संक्रमणपछि विद्यालय र अत्यावश्यक सेवाहरु बन्द गरिएपछि शहरका सबै गाउँतिर गए । त्यसैले अहिले शहरमा माग नै छैन । दुध संकलक हुमागाइँ भन्छन्, ‘अहिलेको अवस्थामा आधा डिमान्ड गर्नु नै ठूलो कुरा हो । बजारमा त्यति धेरै डिमान्ड छैन । हामी तैपनि केही बढी खपत गर्न सकिन्छ कि भनेर घ्यु, पनिर, बटरलगायत बाइप्रोडक्ट बनाइरहेका छौं, बजारको वास्तविक डिमान्ड धेरै कम छ ।’
अर्को समस्या भनेको ढुवानीको पनि हो । डेरी एशोसिएसनका महासचिव दाहाल भन्छन्, ‘सरकारले अहिलेसम्म डेरी क्षेत्रलाई दिएको पास भनेको जम्मा ४ वटा मात्रै हो । दुध बोक्ने गाडीलाई पासबिनै चल्न दिने भनिएको छ, त्यसमा पनि सजिलो छैन ।’
उनका अनुसार एउटा गाडीमा २ जना भन्दा बढीलाई चढ्न दिइँदैन । चालकबाहेक १ जनाले सबै काम गर्न सम्भव पनि हुन्न । त्यस्तो भेटिए बाटैबाट फर्काइदिने समेत गरिएको छ । त्यसैले जोखिम लिएर संकलकहरुले दुध संकलन गर्नै छाडेका छन् ।
अर्को समस्या भनेको बिक्रीको हो । व्यवसायीहरुका अनुसार अहिले खाद्य तथा डेरी पसलहरु दिनको २ घण्टा मात्रै खुल्न दिइन्छ । तर त्यो पर्याप्त छैन । छोटो समयमा सबै दुध नबिक्ने हुन थालेपछि पसलेहरुले नै डिमान्ड घटाएका छन् । दुध संकलक हुमागाइँ भन्छन्, ‘कतिपयले त पसल नै बन्द गर्नुभएको छ, पसल खोल्नेहरुले पनि डिमाण्ड कम गर्नुहुन्छ । ग्राहकले दुध किन्न जाँदा पनि दुध नपाउने अवस्था छ, यता किसानहरुको दुध विक्दैन ।’ दुधजस्तो व्यापारलाई कम्तीमा पनि बिहान र बेलुकी २÷२ घण्टा खोल्न दिनुपर्ने उनको भनाई थियो ।
व्यवसायी बन्न बाधा
समयमा दुध नबिक्दा व्यवसायिक रुपमा दुध उत्पादन गर्ने किसानहरु पलायन हुने खतरा समेत बढेको छ । अहिले अव्यवसायिक रुपमा १÷२ वटा गाइभैंसी पालन गर्नेलाई खासै समस्या छैन । तर एकैपटक ४०÷५० वटा गाईवस्तु पालेर दुध उत्पादन गर्नेलाई ज्यादै समस्या छ । उनीहरु न ती सबै दुध आफैंले खाएर सक्छन्, न अरु उत्पादन बनाएर बेच्न नै सकेका छन् । त्यसैले उनीहरुले नबिकेका दुध गाइवस्तुलाई नै खुवाउने गरेका समेत छन् ।
‘हामीले आधा दुध संकलन गरिदिँदा पनि उहाँहरुलाई घाटा नै छ । यति दुध बेचेर दाना खुवाउने पैसा पनि उठ्दैन । दुध नै नबेच्दा झनै घाटा हुने, बेच्दा पनि घाटा नै हुने भएपछि उहाँहरुलाई व्यवसाय गर्ने जाँगर नै हराएर जाने खतरा बढेको छ’ हुमागाइँ भन्छन्, ‘सरकारले व्यवसायिक कृषिको कुरा त गर्छ, तर अप्ठ्यारो अवस्थामा जीवननिर्वाहमा आधारित खेती किसानी नै सहज हुँदो रहेछ भन्ने समेत मान्छेलाई लाग्न थालेको छ ।’
पाउडर दुधको सम्भावना, तर खपत कम
दुधको माग र आपूर्ति व्यवस्थापन गर्न भन्दै अहिले पाउडर दुध उत्पादन गर्न थालिएको छ । विराटनगरमा दुग्ध विकास संस्थान, चितवनमा चितवन मिल्क र पोखरामा सुजल मिल्कको तीनओटा प्लान्टबाट त्यस्तो दुध उत्पादन गर्न सक्ने भए पनि त्यो पर्याप्त भने छैन । डिडिसी र सुजलले अहिले त्यस्तो दुध उत्पादन गरिरहेका छन् भने चितवन मिल्कको भने प्लान्ट बिग्रिएर बसेको छ । तर ती सबै पलन्स सञ्चालन भए पनि दैनिक २ लाख लिटर दुध मात्रै पाउडर बनाउने क्षमता छ, अहिलेको अवस्थामा त्यो पर्याप्त होइन । त्यसमाथि काठमाडौँ उपत्यका र त्यसको वरपर त्यस्तो प्लान्ट नभएकोले यो क्षेत्रका किसानहरु बढी समस्यामा छन् ।
संक्रमणको जोखिम छँदैछ
त्यसो त दुधको कारोबार गर्दा कोरोना भाइरसको संक्रमणको जोखिम पनि उत्तिकै छ । संकलन केन्द्रमा दैनिक रुपमा हुने भीडका कारण यो समस्या थप जटिल बनेको हो । ‘सरकारले २ घण्टा भन्दा बढी पसल खोल्न नदिएपछि सबै किसानहरु त्यही समयमा दुध बिक्री गर्न आउनुहुन्छ, एउटा संकलन केन्द्रमा १ सय भन्दा बढी एकैपटक आउँदा हामीलाई रिक्स त हुने नै भयो, लागत पनि बढ्ने भयो । सुरक्षित भएर काम गर्नैपर्यो’ संकलक हुमागाइँ भन्छन् ।
मन्त्रालयसँग छुट्टै माग
डेरी एशोसिएसनले मन्त्रालयसँग दुधजन्य पदार्थको सहज आपूर्तिका लागि ५ बुँदे माग समेत गरेको थियो । यसमा संक्रमणबाट जोगिन आवश्यक तयारीको व्यवस्था गर्नुपर्ने, दुग्ध पदार्थको बिनारोकतोक आपूर्तिको व्यवस्था गर्नुपर्ने, बिक्रीवितरण र कारोबार समय बढाउनुपर्ने, अन्तरप्रदेश आयात निर्यात रोक लगाइएकोमा त्यसलाई खुला गर्नुपर्ने तथा डेरी उद्योगमा लाग्दै आएको भ्याट छुट गर्नुपर्ने, ऋणीलाई ब्याज मिनाह गर्न, स्टोरको क्षमता बढाउने लगायतका मागहरु समावेश गरिएका थिए । एशोसिएसनका महासचिव दाहालका अनुसार, ‘कृषि क्षेत्रमा भ्याट नलाग्ने भए पनि अनुदान र सहुलियतका लागि भ्याटमा दर्ता नभई नहुने प्रावधान राखेका कारण आफूहरु समस्यामा परेको बताए ।’
अहिले कृषि क्षेत्रको कुल ग्राहस्र्थ उत्पालनको ९ प्रतिशत हिस्सा डेरी क्षेत्रले ओगट्छ । यो कुल ग्राहस्र्थ उत्पादनको करिब २ प्रतिशत हो । २५ अर्ब भन्दा बढी लगानी भएको यो क्षेत्रबाट वार्षिक १ अर्बको राजश्व उठ्ने र दैनिक ३ देखि ५ करोड रुपैयाँ शहरबाट गाउँमा प्रवाह हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रगति विवरण पेस गर्न खानेपानी मन्त्री यादवद्वारा निर्देशन
-
राम माधवलाई मात्र भेटेर दिल्लीबाट फर्किइन् परराष्ट्रमन्त्री आरजु
-
केही नेपाल ऐनको दफा ६४ फिर्ता लिने सरकारको निर्णयमा विप्लवले जनाए आपत्ति
-
रास्वपालक्षित कानुनमन्त्रीको टिप्पणी– सडक र सामाजिक सञ्जालबाट न्यायालय प्रभावित पार्न खोजियो
-
कोशी प्रदेश सभाको अधिवेशन माघ पहिलो साता
-
इसेवा वालेटमा समस्या, भएको के हो ?