बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

धादिङमा बिजुली सर्ट हुँदा आगलागी, दुई जनाको मृत्यु

मङ्गलबार, ०९ वैशाख २०७७, ०८ : ३६
मङ्गलबार, ०९ वैशाख २०७७

काठमाडौं – बिजुली सर्टका कारण धादिङमा दुईजनाको मृत्यु भएको छ । 

सोमबार राति धादिङको थाक्रे गाउँपालिका वडा नं ३ मोल्डुङ र लेखमोल्डुङ क्षेत्रको सामुदायिक विद्युत प्रसारण लाइनबाट प्रसारित विजुलीको ट्रान्समिटरमा आगो लाग्दा दुईजनाको घटनास्थलमै मृत्यु भएको हो । साथै करिब आधा दर्जन गम्भीर घाइते भएका छन् । 

थाक्रे गाउँपालिकाकी उपाध्यक्ष अम्बिका रुपाखेतीले अहिलेसम्म दुईजनाको मृत्यु भएको र ६/७ जनालाई उपचारका लागि लगिएको जनाकारी आएको बताइन् । 

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक रबिन्द्र रेग्मीले घटनाबारे जानकारी आएको बताउँदै प्रहरी र प्राविधिकहरुलाई त्यहाँ पठाउने तयारी गरिरहेको बताए ।

'हामीलाई राती खबर आयो, ट्रान्समिटर पड्किएको भनिएको छ । फेरि धेरै परपरका घरहरु समेत जलेका छन् भन्ने आएको छ, हामी प्रहरी र प्राविधिक टोलीलाई पठाउने तयारी गर्दैछौ' रेग्मीले भने ।

सो गाउँ पृथ्वी राजमार्गबाट ७ किलोमिटर माथि पर्छ । अहिले पानी परिरहेको र बाटो चिप्लो भएका कारण प्रहरीको गाडी घटनास्थलसम्म पुग्न नसक्ने भन्दै उनले प्रहरी र प्राविधिकलाई हिँडेरै पठाउन लागेको जानकारी दिए ।

‘हामी उद्दार र उपचारका लागि खटिएका छौं, त्यसपछि घटना किन भएको रहेछ, यसको कसले जिम्मेवारी लिने छानबिन गर्छौं । घटना गम्भीर छ, ट्रान्समिटर पड्किएर यसरी टाढाटाढाको गाउँ एकैपटक जलेको भन्ने थाहा थिएन’ प्रहरी उपरीक्षक रेग्मीले बताए ।

मृतकको पोस्टमार्टम र घाइतेको उपचारमा अहिले गाउँपालिका अध्यक्ष रामकुमार आचार्यसहितको टोली खटिएको छ । मृतकको शव अहिले खानीखोला प्रहरी कार्यालयमा ल्याइएको छ । घाइतेहरुलाई भने अस्पताल पठाइसकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप