शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

भारतमै अड्कियो नेपालको रेल

मङ्गलबार, ०९ वैशाख २०७७, ०६ : ३६
मङ्गलबार, ०९ वैशाख २०७७

काठमाडौं – कुर्था–जनकपुर–जयनगर खण्डमा सञ्चालन गर्नेगरी खरिद गरिएको रेल नेपालका लागि गुडे पनि लकडाउनका कारण भारतमै अड्किएको छ। 

रेल भारतको चेन्नाई स्थित उद्योगबाट गुडेर मध्य प्रदेशको जबलपुरमा आइसकेको रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए।

रेल विक्रेता भारतीय कम्पनी कोंकण रेलवे कर्पोरेसन र रेल विभागबीच २०७६ चैत १८ गते पहिलो रेल सेट हस्तान्तरण गर्ने सहमतिअनुसार रेल चेन्नाइस्थित उद्योगबाट गुडेको थियो। उनले भने, ‘लकडाउनका कारण जबलपुरबाट रेल अघि बढ्न सकेको छैन। रेलको यथास्थितिको बारेमा उद्योगका अधिकारीसँग फोनमा सम्पर्क भइरहेको छ। लकडाउन खुलेपछि नेपालका लागि हिडाइनेछ।’ 

लकडाउन खुले पनि रेल नेपाल भित्रिनका लागि थप १० देखि १५ दिन लाग्नेछ। नेपाल भित्रिने रेलका लागि डेडिकेटेड लाइन उपलब्ध हुने हो भने २ देखि ३ दिन भित्रमा आइपुग्छ। तर, भारतीय रेल गुड्ने समयमा नेपालको रेलले ट्रयाक ओगट्न पाउँदैन। ट्रयाक खाली भएको समयमा गुडाउनु पर्ने भएकाले रेल भित्रिन केही समय लाग्ने देखिएको छ।

रेल नेपाल भित्रिए लगत्तै सञ्चालनमा भने आउने छैन। रेल सञ्चालनका लागि नेपालको तर्फबाट कानुनी, प्राविधिक तथा कर्मचारीको व्यवस्था हुन बाँकी छ। सञ्चालन पूर्व रेल नेपालकै भूभागमा पर्ने जनकपुर वा कुर्थामा राखिने मि श्रले बताए। यी दुई मध्ये सुरक्षाका दृष्टिकोणले उपयुक्त हुने स्थानमा राखिनेछ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा निर्दोष घोरसाइनेले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप