शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पोस्टपेड मोबाइल प्रयोगकर्ता हुनुहुन्छ ? यी बुँदाबारे जानकारी राख्नुस्

सोमबार, ०८ वैशाख २०७७, १८ : ०१
सोमबार, ०८ वैशाख २०७७

काठमाडौं– पोस्टपेड बिलिङमा ग्राहकले गरेको प्रत्येक कल बराबरको रकमलाई अनबिल्ड एमाउन्टको रुपमा लेखांकन गरिन्छ र महिनाको अन्त्य (सामान्यतः अंग्रेजी महिनाको १५ तारिख) मा मात्र बिल तयार गरिन्छ । बिल तयार भइसकेको तर ग्राहकले भुक्तानी गर्न बाँकी रहेको रकमलाई अनपेड बिल भनिन्छ । 

उदाहरणको लागि मार्च २२ मा ९८५१०००००० को अनपेड बिल रु. १४२५ छ भन्नाले यस ग्राहकले मार्च १४ सम्म (फागुन महिना वा सो भन्दा अघि) को बिलमध्ये रु. १४२५ भुक्तानी गर्न बाँकी छ भन्ने बुझाउँछ । 


अनबिल्ड एमाउन्ट पोस्टपेड नम्बरको महिनाभरको प्रयोगको आधारमा महिनाको अन्त्यमा बिल तयार गरिने भए तापनि सिस्टमले हरेक कलपश्चात् उक्त कलवापत लाग्ने रकमको हिसाब गरिरहेको हुन्छ । यसरी बिल तयार गर्न बाँकी रहेको तर ग्राहकले चालु महिनामा गरेको सेवा उपभोग गरेवापतको रकमलाई अनबिल्ड एमाउन्ट भनिन्छ । 

उदाहरणका लागि मार्च २२ सम्ममा ९८५१०००००० नम्बरको अनबिल्ड अमाउन्ट रु. २४८ छ भन्नाले मार्च १५ (मार्च १४ सम्मको बिल तयार भए पश्चात्) भन्दा पछि मार्च २२ सम्म उपभोग गरेको सेवावापत तिर्नुपर्ने रकम रु. २४८ छ भन्ने बुझाउँछ । यस्तो महिनाभरको अनबिल्ड एमाउन्टका आधारमा चैत महिनाको अन्त्यमा (अप्रिल महिनाको १५ तारिख) प्रोसेसिङ गरी बिल तयार गरिन्छ । 

के हो ड्यू एमाउन्ट ?
सेवा प्रयोग गरेवापत ग्राहकले कम्पनीलाई बुझाउन बाँकी रकमलाई ड्यू एमाउन्ट भनिन्छ । ड्यू अमाउन्ट भनेको अनपेड बिल र अनबिल्ड एमाउन्टको योगफल हो । उदाहरणको लागि माथिको ९८५१०००००० नम्बरको ग्राहकको मार्च २२ का दिनमा ड्यू एमाउन्ट रु. १६७३ (रु.१४२५ रु.२४८) हुन्छ । आफ्नो यो सबै बिलिङ रकमको बारेमा जानकारी लिनका लागि *400# डायल गर्न सकिन्छ । यसरी कल गर्दा आउने एसएमएसमा देखिने अभाइलेबल क्रेडिट चाहिं अब ग्राहकले प्रयोग गर्न पाउने रकम हो । 

क्रेडिट लिमिट के हो ?
हाल नयाँ पोस्टपेड नम्बर लिंदा स्वामित्व करवापतको रकम रु. ५००, भ्याटवापत रु. ६५ र क्रेडिट लिमिटवापत रु. ३८० गरी जम्मा रु. ९४५ लाग्दछ । स्वामित्व कर र भ्याटवापतको रकम सरकारी कोषमा जम्मा हुन्छ भने रु. ३८० रकम ग्राहकले सेवा प्रयोग गर्न पाउने गरी कायम रहन्छ । यो रु. ३८० नै ग्राहकको क्रेडिट लिमिट हो । नयाँ पोस्टपेड मोबाइल लिंदा लाग्ने शुल्कमा समय सापेक्ष परिमार्जन हुँदै आएकोले विभिन्न ग्राहकको क्रेडिट लिमिट पनि फरक फरक हुने गर्दछ । 

रेन्टल चार्ज
पोस्टपेड मोबाइलका लागि मासिक रुपमा न्यूनतम रु. ३८३.०७ रेन्टल चार्ज तय गरिएको छ । यसको अर्थ ग्राहकले यो भन्दा थोरै रकमको सुविधा प्रयोग गरेपनि रु. ३८३.०७ तिर्नै पर्छ । यद्यपि कम्पनीले उपलब्ध गराएको कर्पोरेट युजर ग्रुप (सीयूजी) अफर वा अन्य विशेष अफर लिएका ग्राहकहरुको हकमा भने यो रकम फरक हुनसक्छ । 

पोस्टपेड मोबाइल प्रयोगकर्ताहरुले धेरै सुविधा उपयोग गर्ने भएकाले यो व्यवस्था पहिले देखि नै गरिएको हो । मासिक रुपमा यो भन्दा धेरै रकम प्रयोग गर्नेहरुले क्रेडिट लिमिट बढाउँदा राम्रो हुन्छ । 

यही रेन्टल रकमबाटै सामान्य रुपमा फोन गर्न, एसएमएस गर्न वा डाटा चलाउन पाइन्छ । तर पोष्टपेड प्याक बाहेक अन्य छुट्टै प्याक किन्दा थप पैसा तिर्नुपर्छ । पोस्टपेड प्याक लिनका लागि *1415*2# डायल गरी आफूलाई उपयुक्त प्याक खरिद गर्न सकिन्छ । 

साथै संचित रकम सकिएर कल गर्न रोकिएको पोस्टपेड नम्बरमा रिचार्ज गर्दा जम्मा भएको नेगेटिभ व्यालेन्स कट्टा गरी बाँकी रकम मात्र व्यालेन्समा देखिन्छ । सेवा एकतर्फी भएको मोबाइलमा पहिल्यै किनेको प्याक बाँकी रहेछ भने त्यो प्याक चलाउन सकिंदैन र रिचार्ज गरी दुईतर्फी सेवा सुचारु भएपछि बाँकी रहेको प्याक पुन प्रयोग गर्न सकिन्छ । 

सामान्यतः नेपाली महिनाको अन्त्य अर्थात् अंग्रेजी महिनाको १५ तारिखमा बिल हिसाब गर्दा धेरै ग्राहक झुक्किने गरेको पाइन्छ । यो अवस्थामा महिनामा थोरै मात्र रकम प्रयोग गरेको भएपनि रु. ३८३.०७ जोडेर त्यो महिनाको हिसाब गरिन्छ । मानौ कुनै ग्राहकले महिनामा रु. १०० मात्र प्रयोग गरेको भएपनि रु. ३८३.०७ नै काटिन्छ र आफ्नो रु. २८३.०७ कता हरायो भनी झुक्किएको पाइन्छ । 

बिल थाहा पाउने तरिका
पोस्टपेड मोबाइल बिलको जानकारी लिनका लागि *400#  डायल गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइटमार्फत https://gsmbl.ntc.net.np/ बाट र कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि हेर्न सकिन्छ । कम्पनीको एपबाट पनि आफूले प्रयोग गरेको पछिल्लो ५ दिनसम्मको सबै बिलको रेकर्ड समेत हेर्न सकिन्छ । 

नेपाल टेलिकमले उपलब्ध गराइरहेको पोस्टपेड मोबाइलमार्फत गरिने कलको दर प्रिपेडको तुलनामा सस्तो हुनुका साथै अन्य विभिन्न सुविधा समेत यसबाट प्रयोग गर्न सकिन्छ । यसबाट प्रयोग गरिने पोस्टपेड प्याकेज र अन्य विभिन्न सुविधाका साथै प्रयोग गर्ने व्यक्तिको व्यक्तित्व बढाउनमा समेत यसले महत्वपूर्ण भूमिका निभाइरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप