धैर्य गर्नुस् आमा, चाँडै फर्कन्छु
कोभिड–१९ को महामारीले विश्वका शक्तिशाली मुलुकलाई नै हायल कायल बनाएको बेला रेमिटेन्सले अर्थतन्त्र धानेको मेरो देश पनि अछुतो छैन ।
देशको के कुरा विदेशमा श्रम बेचेर नुन भुटुनको जोहो गर्ने परिवार त झन् काहालिनु स्वाभाविक नै भयो । विदेशिएका जनहरु पनि अहिले अत्यन्त कठिन अवस्थामा बाँचिरहेका छन् । परिवारको मोह, आफ्ना सन्तानको माया कसलाई हुँदैन र ?
मलाई पनि आमाले एकाबिहानै फोन गरेर भन्नुभयो, ‘बाबु भुटानले त आफ्नो दुई नागरिकलाई पिलेन चार्टर गरेर लिएर गयो । तिमीहरु कहिले आउँछौ... ?’
आजभोलि सुतेको बेलामा पनि फोन सिरानीमा नै राख्ने गरेको छु । राति बिहान एक कल परिवारसँग नबोली निन्द्रा नलाग्ने भएको छ मलाई । हिजो त आमाले गाउँमा असिना पानीले मकै बाली सबै नष्ट ग¥यो । च्यालिङमा ४ दर्जनभन्दा बढी घरको छानो हुरीले उढायो । सुरक्षित बस भन्नुभयो ।
हो, लगिसक्यो आमा ! आज १८ जना विदेशी नागरिक बोकेर हाम्रो ध्वजाबाहक प्लेन माल्दिब्सका लागि उढ्यो । २ हजारभन्दा बढी अमेरिकी तथा बेलायती नागरिक पनि प्लेन चार्टर गरेर घर फर्किसके हाम्रै देशबाट । केही समय धैर्य गर्नुस् आमा, म पनि चाँडै फर्कन्छु ।
यो महामारी हामीलाई मात्र हैन विश्व मानव जातिलाई परेको हो । सबैले डटेर सामना गर्नु पर्छ । म यहाँ सुरक्षित छु, आमा तपाईंहरु सुरक्षित घरभित्रै बस्नु होला । नातिनातिनालाई घरबाट यताउति हिँड्न नदिनु होला । कोरोना एक व्यक्तिबाट अर्को व्यक्तिमा छुँदा वा श्वासप्रश्वासबाट सर्ने रोग हो । यसरी संवाद गर्दागर्दै अचानक फोन काटियो । सायद आमालाई हतार थियो ।
मनमनै कुरा खेलाउँदै थिएँ । म त यहाँ सुरक्षित छु, खान बस्न अहिलेसम्म समस्या छैन । तर यहाँ बेतलबी, जागिर गुमेका र भिजिट भिसामा आएका नेपालीहरु अलपत्र परेका समाचार दिनानुदिन बढिरहेको छ । भोलिको समस्या के होला ? जहिले पनि साथीहरु भन्छन्, आत्मबल बलियो बनाउनु पर्छ, कोरोनाले छँुदैन ।
फेरि फोनको घन्टी बज्यो । कोरोनाले गर्दा खान बस्न समस्या भयो, जब पनि छैन । तपाईंहरुले राहत बाँड्दै हुनुहुन्छ रे भन्दै अपरिचितको कल आयो । एनआरएनए यूएई लगायत अन्य सामाजिक सङ्घसंस्थामा म पनि आबद्ध भएकाले मेरो मोबाइल नम्बर सामाजिक सञ्जालमा छरपस्टै थियो । सायद त्यहीँ नम्बर भेटेर फोन गरेकी थिइन् । तीन महिनादेखि उनको काम नभएकाले खान बस्न निकै गाह्रो भएको रहेछ ।
म पनि महिनौँदेखि कामबिना बसेको, त्यसमाथि पनि कोरोना पीडित भएर बसेको मान्छे । समाजिक क्षेत्रमा विगतदेखि नै काम गर्दै आएकाले मानवताको हिसाबले भए पनि सेवा गर्दै आएको थिएँ । एक दिन छोरीले फोनमा भनिन्, बाबा त्यहाँ पनि थुप्रै कोरोना सङ्क्रमितहरु भेटिएका छन् रे नि । तपाईंलाई कस्तो छ बाबा ? घर कहिले फर्कनु हुन्छ ? यही दिनदेखि मनमा सन्नाटा छाएको छ । अखबारका हरेक पाना कोरोनाकै समाचारले ढाकिन थालेछि घरमा पनि तनावको वातावरण सिर्जना भएको छ ।
मेरो जस्तै समस्या सबैको नहोला तर खाडीका धेरै कामदारको छ । देशमा रेमिट्यान्स पठाएर अर्थतन्त्रको मुख्य खम्बा बनेका नेपाली श्रमिकहरू कोरोनाको चपेटासँगै बेरोजगार बन्दै गएका छन् । नेपालबाट मुख्यतः साउदी, कतार, यूएई, बहराइन, कुवेत, ओमान तथा मलेसियामा २० लाखभन्दा धेरै नेपाली कार्यरत छन् । कोरोनाको सन्त्राससँगै धेरै नेपाली अहिले स्वदेश फर्किन चाहन्छन् । नेपाल फर्किएर सुरक्षित आफ्ना परिवारसँग बस्न चहान्छन् । उनीहरुले यो समयमा आफ्नो देशले उद्धार गरेर नेपालमै सरकारको क्वारेन्टाइनमा राखोस् भन्ने चाहन्छन् ।
तर सरकारले ठूलो सङ्ख्यामा रहेका प्रवासी नेपालीलाई उद्धार गरेर स्वदेश ल्याउन र नेपालमै सरकारी क्वारेन्टाइनमा राख्न तत्काल सम्भव नभएको भन्दै आएको छ ।
अस्ट्रेलिया, ओमन लगायत यूएई सरकारले आफ्नो देश जान चाहने नागरिकलाई आआफ्ना सम्बन्धित निकाय वा दूतावाससँग नजिक रहन अनुरोध गरिसकेको छ तर नेपाल सरकार र सम्बन्धित देशमा रहेका नेपाली दूतावासले विदेशमा अलपत्र परेका नेपालीलाई फर्काउने वातावरण मिलाउनु पर्ने देखिन्छ । झनै यूएई सरकारले छुट्टीमा अथवा काम सकेर देश फर्कन चाहने कामदारहरूको हकमा कम्पनी वा रोजगारदाताले नै टिकटको व्यवस्था गर्नुपर्ने बताएको छ । यसले कामदारलाई केही भने पनि आर्थिक राहत पुग्ने देखिन्छ ।
सर्वोच्च अदालतले विदेशमा खान, बस्न र स्वास्थ्य उपचारको अभाव झेलिरहेका वा विपतमा परेका नेपाली नागरिकको पहिचान गरी सम्बन्धित निकाय वा दूतावासलाई व्यवस्थापन गर्न भनिसके पनि यहाँ पीडितले सरकारी राहत अहिलेसम्म पाएको छैनन् । यसको व्यवस्थापन गर्न दूतावासलाई पनि गाह्रो छ ।
संसार नै आत्तिएको यो बेलामा आफ्ना नागरिकलाई स्वदेश फर्काई आफ्नै भूमिमा बस्ने व्यवस्था सरकारले गरोस । मजस्तै हजारौँ परिवारलाई हरेक रात ढुक्कले निद्रा पर्ने वातावरण सरकारले बनाओस् । यस्तो विषम परिस्थितमा हरेक नागरिकले सरकार भएको महसुस गर्न चाहन्छन् ।
विदेशमा भएका आप्रवासी नेपाली स्वदेश फर्किने वातावरण मिलाइदेओस् भन्ने चाहान्छन् । अहिले हामी पनि यही चाहिरहेका छौँ । सरकारले अभिभावकत्व दिन सक्छ । नेपाली दूतावासमार्फत् आफ्ना नागरिकको वस्तुस्थिति बारे जानकारी लिन सक्छ । कम्तीमा नआत्तिन आग्रह गर्नसक्छ ।
हजारौँ आमाहरु मजस्तै छोराछोरी कहिले आउलान् भनेर बाटो कुरिराखेका छन् । काठमाडौँमा बस्ने सबैजना गाउँ फर्किएपछि मेरी आमाले छोराई जसरी हुन्छ ‘घरमा बोलाऊ’ भन्दै आँशु खसाउँछिन् ।
धैर्य गर्नुस् आमा, हामी पनि चाँडै फर्कन्छौँ ।
यूएई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मंसिर ९ गतेदेखि सशुल्क रूपमा धरहरा सञ्चालन गर्ने मन्त्रिपरिषद्को निर्णय
-
सभामुखबाट दलको सर्वोच्चता अस्वीकार भयो : प्रवक्ता यादव
-
ग्रेनाइट उत्खननको लाइसेन्स दिन्छु भनेर ठगेको आरोपमा एकजना पक्राउ
-
उच्चतम श्रेणीको भाडादरमा टिकट बिक्री नगर्ने हिमालय एयरलाइन्सको निर्णय
-
आईएलटीएस टेस्टको शुल्क अब आइएमई पेबाट तिर्न सकिने
-
नारायणहिटीको गेटबाट ओलीको गर्जन : फाल्तु कुरा गरेर कोही भ्रमित हुँदैन