शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सिरहाका अधिकांश पालिकामा अझै राहत वितरण भएन, सुखीपुरमा ढुंगामुढा

सोमबार, ०८ वैशाख २०७७, १३ : ३०
सोमबार, ०८ वैशाख २०७७

सिरहा । सिरहाका अधिकांश स्थानीय तहले अझै राहत वितरण नगर्दा दैनिक ज्यालामजुदरी गरी जीवनयापन गर्नेहरु समस्यामा परेका छन् । 

कोरोनाभाइरस संक्रमणले विश्वनै आक्रान्त भएका बेला नेपालमा पनि चार सातायता भएको कलडाउनका कारण रोजगारी गुमाएका विपन्न, दैनिक ज्यालामदुरी गर्नेहरु समस्यामा परेका हुन् ।

नरहा गाउँपालिका वडा नं ३ खोरिया नवटोलका ४१ वर्षीय रिनादेवी मण्डलको परिवारले दैनिक जिविका चलाउनका  लागि स्थानीय घुर्मी खोलामा गिट्टी–वालुवा चाल्ने काम गर्दै आएको थियो ।  लकडाउनसँगै कामपनि रोकिएपछि उनको दैनिकी कष्टकर बनेको छ । अहिलेसम्म साहु महाजनसँग ऋण सापट लिएर गुजारा चलाइरहेको रिनादेवीले बताइन् । उनले भनिन्, ‘दैनिक काम गरेर गुजारा चलिरहेको थियो, बन्दीका कारण काम नभएपछि साहुमहाजनसँग ऋणपान गरेर अहिलेसम्म धानेका छौं, यस्तै अवस्था रहे बालबच्चालाई खुवाउन पनि समस्या हुनेस्थिति छ ।’ उनको  ५ जनाको परिवार छ ।

रिनाको घरसँगै जोडिएको ५८ वर्षीय विष्णु महराको ७ छोराछोरी सहित ९ जनाको परिवार छ । दैनिक ज्याला मजदुरी गरेर जीविका चलाइरहेका उनको लकडाउन पछि असारमा धान रोदिदिने सर्तमा साहुसँग लिएको बोनी (ज्याला) बापत लिएको अग्रिम धानले अहिलेसम्म गर्जो टरेको छ । उनले भने, ‘बन्द भएपछि काम पनि केही पाइएको छैन, गाउँमा अहिले कृषि मजदुरी गर्ने समयपनि छैन, धान रोपिदिने सर्तमा साहुसँग धान लिएको छु, त्यसैको चामलबाट जाउलो बनाएर बच्चाहरुलाई ख्वाइरहेका छौं, बन्द लम्विए अव छाक टार्नै समस्या हुनेबाला छ ।’

यहाँ सदा, मण्डल र महरा सहित करिव २५ घर परिवार छन् । सवै ऐलानी जमिनमा बसेका उनीहरुको जीविका ज्याला मजदुरीबाट चलिरहेको ३५ वर्षीय लखन सदायले बताए । उनल ेभने, ‘यहाँ भएका हामी सवै सुकुम्वासी हौं, गिट्टी चाल्ने, कृषि मजदुरी र निर्माण मजदुरी गरेर हाम्रो जीविका चलिरहेको थियो, बन्दले सवै चौपट भएको छ ।’

नरहामात्र हैन सिरहाका धेरै गाउँपालिका र नगरपालिकाले समयमा राहत वितरण गर्न नसक्दा दलित, गरिव तथा ज्याला मजदुर गरेर जीविका चलाउनेहरु समस्यामा परेका छन् ।
उनीहरुले पालिका कर्मचारी र वडाध्यक्ष आएर नाम लेखेर लगेपनि अहिलेसम्म कुनै राहत नपाएको बताए ।

नरहा गाउँपालिकाकी प्रमुख प्रशासकीय अधिकृत सुमित्रा लामाले जनप्रतिनीधि र दलिय प्रतिनिधिको संयन्त्रले ल्याएको नामावली भेरिफाई गर्ने काम भइरहेको बताइन् । खाद्यान्न सामाग्री सहजै नपाउने भएकाले पनि केही समय लागेको भन्दै १० गतेभित्र वितरण प्रकृया सुरुहुने अधिकृत लामाले बताइन् । 

त्यसैगरी विष्णुपुर गाउँपालिकाले पनि नामावली संकलन भइसकेको भन्दै भोली नै दलीय संयन्त्रको बैठक बसेर बिहीवारभित्रै वितरण कार्य सुरु गर्ने जनाएको छ । गाउँपालिका अध्यक्ष जागेश्वर यादवले भने, ‘पहिला धेरै नाम आएकाले त्यसलाई भेरिफाइ गर्न समय लाग्यो ।’

सिरहा नगरपालिकामा पनि वडाहरुमा देखिएको विवादका कारण वितरण कार्य गर्न विलम्व भइरहेको प्रमुख प्रशासकिय अधिकृत बलिराम यादवले जानकारी दिए । यादवले भने, ‘विवाद साम्य हुनेवितिकै वितरण भइहाल्छ । १० गते भित्रै वितरण गर्नेगरी हामीले काम गरिरहेका छौं ।’

सिरहाको लहान नपा, धनगढीमाई नपा, गोलबजार नपा, मिर्चैया नपा र कर्जन्हा नपासहित पाँचवटा नगरपालिकालेमात्र राहत वितरण प्रकृया सुरु गरेका छन् । बाँकी ३ नगरपालिका र ९ गाउँपालिकाले अझै राहत वितरण थालेका छैनन् ।

 यसैबीच सिरहाको सुखीपुर नगरपालिकामा राहत माग गर्दै स्थानीयले नगरपालिका कार्यालयमा ढुङ्गामुढा गरेका छन् । विपन्न, गरिव दलित तथा ज्याला मजदुरहरुले आइतबार अपरान्ह कार्यालयमा ढुङ्गामुढा गरेका हुन् ।

लकडाउनका कारण गरिब, विपन्न, ज्यालादारी गर्नेमजदुर र असंगठित क्षेत्रमा काम गर्नेहरु सबैभन्दा वढी प्रभावित छन् । तर सिरहाको सुखीपुर नगरपालिकाले हालसम्म राहत वितरणको लागि तथ्यांक संकलनमा पक्षपात गरेको र हाल सम्म राहत वितरण नगरेको भन्दै त्यहाँका पीडित स्थानीयले नगरपालिकामा ढुङ्गामुढा गरेको स्थानीय चन्द्रमोहन चौधरीले बताए ।

राहतको माग गर्दै कार्यालमा आएकाहरुलाई कर्मचारीले दुर्व्यवहार गरेपछि ढुङ्गामुढा सुरु भएको स्थानीयले बताए । ढुङ्गामुढाबाट केही कर्मचारीहरुलाई चोट पटक लागेरको र कार्यालयका झ्यालका सिसाहरु फुटेको नगर प्रमुख रामऔतार यादवले जानकारी दिए । उनले केही मोरसाइकलमा पनि क्षति पुगेको समेत बताए ।

नगरपालिकामा लामो समयदेखि प्रशासकीय अधिकृत नभएकाले काम गर्न समस्या भएको यादवले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रामभरोसी यादव
रामभरोसी यादव

रामभरोसी यादव रातोपाटीका सिरहा संवाददाता हुन् ।

लेखकबाट थप