ट्रम्पले न्यूयोर्कका गभर्नरको तारिफ गर्दै भने, ‘उनले उत्कृष्ट काम गरेका छन्’
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले न्यूयोर्कका गभर्नर एन्ड्रू कूमोको तारिफ गरेका छन् । कोरोनाभाइरसबारे ह्वाइट हाउसमा दैनिक आयोजना हुने पत्रकार सम्मेलनमा ट्रम्पले कूमोले संघीय सरकारको तरिफ गरेको भिडियो सार्वजनिक गर्दै कूमोले राम्रो काम गरेको बताए ।
ट्रम्पले एन्ड्रूलाई धन्यवाद दिँदै भने, ‘उनले सरकारसँग मिलेर भेन्टिलेटर्समा उत्कृष्ट काम गरेका छन् ।’
केही दिन अघिदेखि ट्रम्प र एन्ड्रूबीचको विवाद चरम स्थितीमा थियो ।
शुक्रबारमात्रै ट्रम्पले एन्ड्रू कूमो पत्रकार सम्मेलनमा बोलिरहेका बेला उनीविरुद्ध एकपछि अर्को ट्वीट गर्दै लगातार हमला गरेका थिए ।
ट्रम्पले कूमोले आलोचनाका लागि समय कम खर्चिन र कामका लागि धेरै समय छुट्याउनुपर्ने बताउँदै उनलाई घरबाट बाहिर निस्कन र काम गर्न भनेका थिए ।
यस्तै डेमोक्रेट नेता कूमोले पनि ट्रम्पले यदि घरमा बसेर टिभी हेरिरहेका छन् भने त्यहाँबाट उठेर काममा जानुपर्ने बताएका थिए ।
यसअघि, अमेरिकाका विभिन्न राज्यमा लागेको लकडाउन आफूले हटाउन सक्ने बताएपछि एन्ड्रू कूमोले चर्को विरोध गरेका थिए । यसमा उनलाई अन्य आधा दर्जन राज्यका गभर्नरले पनि साथ दिएका थिए ।
त्यतिबेला उनले ट्रम्प राजा नभई राष्ट्रपति भएको र उनको भनाईबाट आफूहरुले प्रतिबन्ध हटाउन नसक्ने बताएका थिए ।
यद्यपि, गत बिहिबार ट्रम्पले लकडाउन हटाउने निर्णय राज्यको गभर्नरको हुनुपर्ने र संघीय सरकारले यसमा दिशानिर्देश मात्रै जारी गर्न सक्ने बताएका थिए ।
विवाद चर्किरहेका बेला ट्रम्पले एकाएक कूमोको तारिफ गर्नु अचम्म नै मान्नुपर्छ ।
यसका साथै, ट्रम्पले हालसम्म ४१.८ लाख अमेरिकी नागरिकको कोरोनाभाइरस परीक्षण भइसकेको र सरकारले धेरैभन्दा धेरै नागरिकको कोरोना परीक्षण गराउने कोसिस गरिरहेको बताए ।
परीक्षणको मामलामा अन्य कुनै पनि देश अमेरिकाको नजिक आउन नसक्ने ट्रम्पले दाबी गरे ।
साथै, उनले कोरोनासँग जुघ्ने काममा थप आर्थिक मद्दतका लागि डेमोक्रेट पार्टीका नेतासँग कुरा गरिरहेको बताए ।
कूमोले संघीय सरकारले लकडाउन हटाउनका लागि आवश्यक आर्थिक मद्दत नगरिरहेको र यस्तोमा मद्दत बिना राज्य सरकारले अगाडिको कदम बढाउन नसक्ने बताएपछि ट्रम्प र कूमोबीच आरोप प्रत्यारोप सुरु भएको थियो ।