बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

व्यङ्ग्य : सरकार म कहाँ जाऊँ ?

आइतबार, ०७ वैशाख २०७७, १० : ३४
आइतबार, ०७ वैशाख २०७७

हे... सरकार  तिमीले लगाएको  लगातार बाइस दिनदेखिको लकडाउनले म होम क्वारेन्टाइनमा छु । छटपटी हुन्छ । के गरुँ, कहाँ जाउँ, हुन्छ । ज्वरो आएकालाई हस्पिटल भित्रै छिर्न दिँदैन भन्ने सुन्छु । तिमी सूचना नै गरेर त्यस्तालाई कारबाही हुन्छ भन्छौ । मन झनै आतङ्कित हुन्छ ।

सरकार तिमी बैठक बस्छौ । लकडाउन थप्दै जान्छौ ।  अब फेरि कति दिन थप्छौ ?  अमेरिकामा यति दिन, बेलायतमा उति दिन भन्छन् । कतार र इटलीमा एक महिना थप्यो रे भन्ने सुन्छु । भारतमा एक्काइस दिन थप्ने माग भइरहेको छ रे । म भने बेचैन छु । अब दिन गन्तीमा त छिमेकीकै पछि लाग्ने होला नि । त्यसैले तिम्रोभन्दा मोदीको बैठकको निर्णय महत्त्वपूर्ण छ, मेरो लागि ।

सरकार म कहाँ जाउँ ?  सुताइ, सुत्केरीको भन्दा बढी भई सक्यो । बाहिर निस्किउँ भने तिम्रा सुरक्षाकर्मीले बस्तु च्याप्ने सनेसोले मेरो कम्मर च्याप्लान् भन्ने डर । एक घण्टा हिरासतमा लिएको पनि देखियो । कटबाँस हानेको पनि देखियो । उठ्बस गराएको पनि देखियो । ग्याँस सिलिन्डर काँधमा बोकाएर पलेटी कसाएर राखेको पनि देखियो । आमाम्मा.... आफू त मोटरसाइकल लिएर हिँडिन्छु, त्यही काँधमा बोकाएर बसाए भने... ।

 सरकार म के गरुँ ? घर चाटाक चुटुक पारिसकेँ । भएको बारी खनी भ्याइसके । युटुब हेरेर भएभरका खानेकुरा बनाइसकेँ । घरमा भएका पुस्तक पढी सकायेँ । फिल्म पनि हेरी भ्याएँ । बच्चाहरुसँग डोरी, फुटबल, ब्याटमिन्टन आदि खेली भ्याएँ । दसैँ आउनु कता हो कता चङ्गा पनि उडाइसकेँ । टोल छेउछाउका साथीभाइ जम्मा पारेर तास खेलँु भने बूढीले मारी हाल्छिन् । साबुनले तास र नोट धोएर खेल्नेभन्दा पनि पत्याउँदिनन् ।

किराना पसलेले दिनका दिन दस रुपैयाँ बढाएर सामान बेचेको देख्दा एउटा पसल खोलुँ कि जस्तो लाग्छ । ओम्नीले नाफा खाएको देख्दा आजै कम्पनी दर्ता गरुँ कि जस्तो लाग्छ । अस्वाभाविक मूल्यमा अग्रवालले थर्मल गन बेचेको समाचारमा पढ्दा आजै वाइडबडी चार्टर गरेर गोन्जाउ जाऊँ जस्तो लाग्छ । के गर्नु सरकारले यती र ओम्नीलाई झैँ मलाई के पत्याउला र ? घरमै बसेर मास्क, ह्यान्ड सेनिटाइजर र पीपीई बनाउँ भने पनि स्वास्थ्य मन्त्रालयले के स्वीकृति देला र ? महावीरलाई त त्यस्तो  भयो ।

घरमा अलिकति थुपारेको खाद्यान्न पनि सकिन लाग्यो । वडाले वितरण गरेको राहत थाप्न जाउँ भने वडाध्यक्षले सात पुस्ता चिन्छन् । असहाय र ज्यालादारीको कार्ड के पाइएला र ? निःशुल्क भोजन खुवाउने ठाउँमा गएर पकापक खाउँ भन पनि के गर्नु, खान मास्क खोल्नै प¥यो । ससुरालीदेखि मामाघरसम्मले टेलिभिजनमा देख्छन् । सम्झँदा नि कहालि लाग्छ.. भोजका कार्ड चाङ्गका चाङ आएको थियो । लगातार भोज खान पाइन्थ्यो । तिमी भीडभाडमा नजानु, भीडभाड नगर्नु भन्छौ । बिहे, ब्रतवन्ध, बर्थ डे र पास्नी सबै लकडाउन भइहाल्यो । हत्तेरी... कस्तो निष्ठुरी कोराना तिमी... रेडियो, टिभी, मोबाइल जेमा पनि हात धो धो भन्छौ, कति हात धुनु, धुँदा धुँदा हात नै सकिएला जस्तो भइसक्यो ।

घोडे जात्रा पनि हेर्न पाइएन । मच्छिन्द्रनाथको रथ पनि तान्न पाइएन । बिस्केट जात्रा पनि औपचारिकतामै सीमित हुने भयो । फुटबल, क्रिकेट, बक्सिङ आदि हेर्न पाइएन । घरमा रहेको मोटरसाइकल खिया लागि सक्यो । यसो पास लिएर खुल्ला सडक सरर घुमुँ भने पनि जिल्ला प्रशासनले पास बाढ्न रोक्यो भन्छन् । केही दिन अघि काठमाडौँमा अलपत्र परेकालाई घर जान दिने भन्ने समाचार पढेर कम्ती खुसी भइनँ  । ढाँटेरै भए पनि काठमाडौँ बाहिर जाने मन थियो । विरोध भयो भनेर निर्णय नै भएको छैन भन्दियौ ।

 तर जे भएपनि क्यै छैन... सरकार, म तिमीले भनेको मान्छु । जति दिन भने पनि म लकडाउनमा बस्छु । कोरानाको महामारी हाम्रो देशमा फैलियो भने अरुले दान दिएको टेस्ट किट, पीपीई र मास्कले धान्ने छैन भन्ने मलाई थाहा छ  । हामीले जसोतसो बनाएको आइसोलेसन वार्डले पुग्ने छैन भन्ने पनि थाहा छ । यो बेला पहिला अमेरिकालाई त मलेरियाको औषधि दिन्न भन्ने ‘मित्रौ’ ले के मित्रता देखाउँलान् र... अरू देशले आफ्ना नागरिकलाई खोजी खोजी घर लगिसक्यो । हाम्रा घर खोज्दै महाकाली पारि आएकालाई चाहेर पनि आऊ भन्न सकेका छैनौँ ।  त्यसैले सरकार.... म तिमीले जे गर् भन्छौ, त्यही गर्छु । त्यति गर्दा त कमसे कम एक सय चार ज्वरोले पिकलिक्क भएर राष्ट्रिय रेकर्ड ब्रेक गर्दै ‘रामनाम सत्य हो’ भन्दै  प्लास्टिकको बोरामा खाल्टोमा पुरिनु त नपर्ला नि ।

 नयाँ वर्षले कोराना भगाओस् !

पशुपति, देवपत्तन 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

उमेश गुइँठे
उमेश गुइँठे
लेखकबाट थप