बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

माल्टामा पनि २ नेपालीमा कोरोना संक्रमण

शनिबार, ०६ वैशाख २०७७, २३ : ०२
शनिबार, ०६ वैशाख २०७७

लन्डन । युरोपको पर्यटकीय देश माल्टा पनि कोरोना भाइरस (कोभीड १९) को संक्रमणबाट प्रभावित भएको छ । करिब ४ लाख ९५ हजार जनसंख्या रहेको माल्टामा लगभग ३ हजार ५ सय जना नेपालीहरु बस्ने गर्दछन् । हालसम्म  दुई जना नेपाली (पुरुष)लाई कोरोनाको संक्रमण देखिएको र उनीहरुको स्थिति अहिले सामान्य रहेको गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) का सल्लाहकार सोम सापकोटाले बताएका छन् । हालसम्म माल्टामा कोरोना भाइरसका कारण ६० वर्षभन्दा माथिका ३ जनाले ज्यान गुमाइसकेका छन् ।

माल्टामा कोरोनाबाट संक्रमित संख्या ३ सय २४ जना रहेको पब्लिक हेल्थ सुपरिटेनडेन्ट चेयरमेन गाउसीले बताएकी छिन् । त्यहाँ हालसम्म २३ हजारभन्दा बढीमा कोरोनाको स्वाब परीक्षण गरिसकिएको र दैनिक रुपमा औसत ६ सय जनाको स्वाब परीक्षण गरिंदै आएको छ । लकडाउनको अनिवार्य पालनाको लागू गरिएका कारण र उपचार भएकाहरुको संख्या बढ्दै गएपछि संक्रमित संख्या पहिलाको भन्दा घट्दै गएको बताइएको छ ।     

कोरोना संक्रमणलाई नियन्त्रण गर्नको लागि माल्टा सरकारले लकडाउनको कडा नीति अपनाएको छ । खाद्यान्न र औषधि पसलबाहेक अन्य पसलहरु सबै पूर्ण रुपमा बन्द छन् । सोसिएल डिस्टान्स तथा ३ जनाभन्दा बढीको समूहमा बाहिर निस्कन प्रतिबन्ध लगाइएको छ । माल्टावासी नेपाली र स्थानीय मेयरसँगको सहकार्यमा नगरपालिकामा नेपाली भाषामा समेत प्रचार सामग्रीहरु राखिएको छ । माल्टामा नेपालीहरु विशेषगरी रोजगारीका सिलशिलामा आउने हुँदा थुप्रै नेपालीहरु लकडाउनको मारमा परेका छन् । मुख्य आयस्रोत नै पर्यटन क्षेत्र रहेको माल्टा कोरोनाबाट निकै प्रभावित बनेको छ ।

पर्यटन क्षेत्रमा परेको प्रभावका कारण थुप्रै नेपालीहरु बेरोजगार बनेकाले उनीहरुलाई खान बस्न समेत कठिनाइ हुँदै आएको सोम सापकोटाले जानकारी दिए । नेपाली दूतावास लन्डन, गैरआवासीय नेपाली संघ माल्टा, माल्टा नेपाल फ्रेन्डशिप एसोसिएसन लगायत स्थानीय मेयरको संयुक्त प्रयासमा उनीहरुको लागि आवश्यक सहयोग भैरहेको सापकोटाले बताएका छन् ।

माल्टास्थित गोल्डेन एभरेष्ट ग्रुपले पहिलाभन्दा पनि ५ प्रतिशत छुटका साथ एशिएन उत्पादनहरु बिक्री गर्नुका साथै डेलिभरीको समेत व्यबस्था गर्दै आएको छ । अहिले नाफामा भन्दा पनि समाजसेवाको दृष्टिकोणले आफूहरुले काम गर्दै आएको र अझै केहि महिनासम्मको लागि धान्न सक्ने स्टक रहेको गोल्डेन एभेरेष्टले ग्रुपले बताएको छ ।

बेरोजगार रहेका नेपालीहरुलाई मध्यनजर गर्दै कम्तिमा ४० परिवारलाई राहत वितरण गर्ने कार्य शुरु गरिएको छ । मास्क, ग्लव, सेनिटाईजर लगायतका सामग्रीहरु पाउन गाह्रो हुने हुँदा माल्टा नेप्लिज कम्युनिटीले मास्क वितरण गर्ने भएको छ । संकटमा परेकाहरुलाई माल्टा सरकारले स्वदेश फर्कन चाहेमा सहुलियतमा पठाउने व्यबस्था गर्दै फारम भर्न  अनुरोध गरेको छ । यद्यपि नेपालीहरुले ठुलो रकम खर्च गरेर आएको हुँदा जसोतसो गरेर भएपनि बस्नैपर्ने बाध्यतामा छन् । कोरोनाको कारण पर्यटन क्षेत्रमा परेको प्रभावका कारण माल्टामा नेपालीको संख्या घटना जाने स्वभाविक देखिन्छ ।

हाल रहेका मानिसहरुलाई नै व्यवस्थित गर्ने उद्देश्यले माल्टा सरकारले थप आउनलाई रोक लगाउने र कतिपय भिसा समेत खारेज गरेको बताइएको छ । माल्टाको पर्यटक क्षेत्रमा परेको असरले माल्टालाई वर्षौंसम्म प्रभाव पर्न सक्ने विज्ञहरुले बताएका छन् ।

माल्टावासी नेपालीको बारेमा नेपाली दूतावास लन्डनको चासो

माल्टामा रहेका नेपालीहरुलाई परेको असुविधालाई नेपाली दूतावास लण्डनले निकै चासोका साथ् नियाल्दै आएको छ । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) सँगको सहकार्यमा दूतावासले आवश्यक काम कारवाही गर्दै आएको हो । अहिलेसम्म दूतावासको तर्फबाट पटक–पटक भिडियो कन्फ्रेन्स सम्पन्न भैसकेको छ ।

माल्टामा रहेका नेपालीहरु, एजेन्सी र कम्पनीसँग सम्पर्क गरि नेपाली कामदारहरुलाई सहयोग गर्न अनुरोध गर्नुका साथै नेपाली कामदारहरुको भिसा रिन्यूको लागि सम्बन्धित निकायसँग अनुरोध समेत गरिसकेको नेपाली दूतावास लन्डनका उपनियोग प्रमुख शरदराज आरनले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप