हरिदेवी कोइरालाको ‘लकडाउन’ डायरी : घरीघरी त सपनाजस्तो लाग्छ
नेपाली लोक संगीतकी अब्बल तारा हुन् हरिदेवी कोइराला । नेपाल प्राज्ञ प्रतिष्ठानको प्राज्ञसमेत रहेकी कोइराला साहित्य आकाशमा पनि उत्तिकै अब्बल छिन् । उनै बहुप्रतिभाकी धनी कोइरालाको ‘लकडाउन’ डायरी यस्तो छ :
घरमै छु । यो अवस्थामा घरबाहिर निस्किने कुरा पनि भएन । अस्ति भर्खर जेठानी दिदीलाई गुमायौं । दुई–चार दिन त्यतै व्यस्त भएँ । नत्र त घरमै छु । यो अवस्थामा मनस्थिति त्यति ठिक त हुँदैन, त्यहीँ पनि के गर्ने ? मन बुझाउँनै प¥यो । अध्ययन गर्न र घरकै काममा व्यस्त छु ।
नयाँ सिर्जना
नयाँ सिर्जना गर्नका लागि फूर्सद भएरमात्रै नहुँदो रहेछ । फूर्सद पनि एकदमै स्तब्ध हुने खालको भइदियो । समाचारमा मान्छेको मृत्युबाहेक अरु केही पढ्न पाइएको छैन । यस्तो अवस्थामा मान्छेको मनस्थिति स्वाभाविक रुपमा कमजोर हुँदोरैछ । दिमागले बरोबर काम नगर्दो रैछ । तर, पनि भित्रैदेखि आत्मबल बलियो पारेर केही गर्ने प्रयास चाहीँ गर्नुपर्दो रैछ । मैेले पनि त्यहीँ नै गरिरहेकी छु । लकडाउन सुरु भएको पहिलो हप्ता त के हो के हो जस्तो भयो नि ¤ निकै नै भयभित भयौँ ।
तर, जस्तै जे भए पनि अगाडि बढ्नु पर्दो रहेछ । साहस गर्नुपर्दो रहेछ । आफूले आफैंलाई, यो जीवनलाई त परिचालित गर्नु नै छ आखिर । सम्हालिनु चाहीँ पर्छ । आफैलाई बलियो बनाउनुपर्छ । मैले पनि यही कोसिस गरिरहेकी छुँ । केही लेखिरहेकी छुँ । नयाँ नयाँ कविता लेख्ने प्रयास । गीतहरु सुन्ने प्रयास पनि भई रहेको छ ।
पढ्छु भनेर ल्याएका तर, पढ्न नभ्याएका जति पनि किताबहरु थिए, ती किताबहरु पनि पढ्दै छु । पूराना सिर्जनालाई पनि पुनर्लेखन गर्ने जमर्को गर्दै छु । यस्तै यस्तै गरेर दिन बितिरहेको छ ।
केही न केही त गर्नै प¥यो । बलियो बन्नै प¥यो । यो भयावहपूर्ण वातावरणमा पनि केही गर्ने प्रयास चाहीँ मैले गरिरहेकै छु । अझै पनि अन्यौल त सबैतिर छ, त्रसित छौँ । सबैको मनस्थिति कमजोर भईरहेको छ । डराउनु भएन । आत्मविश्वास बढाउनु प¥यो । आफैले आफैलाई बलियो ठान्नु प¥यो । सजग हुनुप¥यो । अरुलाई पनि सगज बनाउनु प¥यो । हामी होसियार बनेर सावधानी अपनाए केही हुन्न भन्ने आत्मबल चाहीँ हुनुप-यो सबैमा ।
यसो हेर्दा हामी नेपालीको आत्मविश्वास बढी नै छजस्तो लाग्छ मलाई । हामी आत्मविश्वासी छौँ । धेरै सजग पनि हामी भईरहेकै छौँ । लकडाउन पनि अनुशासित रुपमै कायम भईरहेको छ । हामी नागरिकले साथ दिईरहेकै छौँ । कोही आफ्नो ढङ्गले पनि हिँडिरहेकै छौँ । हाम्रा आफ्ना बाध्यताहरु पनि हुन् ती । समाजमा विभिन्न किसिमका मान्छेहरु छौँ । र, पनि एक अर्काको सहयागी बनेका छौँ । हाम्रो संस्कार पनि हो यो । आ—आफ्नो ठाउँबाट सक्दो सहयोग भईरहेको छ भन्ने बुझेकी छु मैले ।
सरसर्ती हेर्दा यसका सकारात्मक र नकारात्मक दुवै पक्ष देखिएका छन् । जीवन बुझ्ने सोचाईं पनि मान्छेमा फरक भएको छ । जीवनलाई फरक दृष्टिले हेर्न पनि सिकायो यो महामारीले । फरक शैलीबाट जीवनलाई हेर्न सिकाएको छ ।
आखिरमा प्रकृतिभन्दा अघि हामी चल्न नसकिदो रैछ नि त ! प्रकृति र जीवन भनेको त एक अर्काको पर्यायवाची नै रहेछन् । हामी प्रकृतिभन्दा अघि बढ्न नसक्दा रहेछौँ । हाम्रो अधिनमा रहेनछ । विज्ञानलाई पनि प्रकृतिले जित्यो । यस्तो होला भनेर त कसैले सोचेकै थिएन । नसोचेका कुराहरु भई रहँदा घरीघरी त सपनाजस्तो पनि लाग्छ के !
सपना हो कि विपना हो छुट्याउँनै गाह्रो । यत्रो जगतलाई अड्याएर राख्न सक्ने शक्ति रैछ । आध्यात्मिक भनौं या प्राकृतिक, हिजो हाम्रो दर्शनले भनेका कुराहरु कति शाश्वत रैछन् । कति सत्य रैछन् । हाम्रा पुर्खाहरु पनि कति ठूला वैज्ञानिक रैछन् । तर, हामीले हाम्रा पुर्खाहरुलाई कहिले गनेनौँ । कहिले अनुशरण गरेनौँ । एउटा आयातित संस्कृतिको अनुशरण गर्न हामी कति उत्साहित थियौँ । हामीसँग के कस्ता चिज रैछन् ? कस्तो जीवनशैली रैछ ? यी सब चिजलाई मनन् गर्ने बाटो अहिलेको परिस्थितिले देखाएको छ । समग्रमा त सबैका मन अमिलो बनेको छ । आँशुमय बनेको छ संसार । आत्मविश्वासले यो महामारीलाई जित्ने प्रयास चाहीँ हामीले छोड्नु हुन्न ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्रीसँग भारतीय स्थल सेना अध्यक्षको शिष्टाचार भेटघाट
-
नेपाल कबड्डी लिगको लोगो सार्वजनिक
-
कफी खेतीमा युवा वर्गलाई आकर्षित गर्नुपर्छ : मन्त्री अधिकारी
-
स्वास्थ्य क्षेत्रको अनुसन्धानबारे अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
-
कृषकको आर्थिक अवस्था सुधार्ने नीति बनाएर काम गर्नमा उपप्रधानमन्त्री सिंहको जोड
-
प्रियंका र सरोजको मन छुने प्रेमकथामा ‘मनको तिर्सना’