सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

कोरोनाभाइरसको त्रासका बीच थपियो अर्को पीडा

हावाहुरीले प्रदेश २ का आठवटै जिल्ला प्रभावित
शनिबार, ०६ वैशाख २०७७, १४ : ५५
शनिबार, ०६ वैशाख २०७७

काठमाडौं–गएराति आएको हावाहुरीले प्रदेश २ का आठवटै जिल्ला प्रभावित भएका छन् । हावाहुरीले गर्दा कृषिको हजारौं बिघामा लगाइएको बालीमा क्षति पुगेको छ भने कतिपय ठाउँमा घर भत्किनुका साथै टायलको छानामा पनि क्षति भएको छ । 

प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले सबभन्दा बढी कृषिमा क्षति भएको बताए । अहिले आठवटै जिल्लाबाट कृषिमा भएको क्षतिबारे तथ्यांक संकलन गर्ने कार्य जारी रहेको बताउँदै उनले आइतबारसम्ममा क्षतिको यकिन तथ्यांक दिन सकिने बताए ।

यद्यपि आठवटै जिल्लाका सम्बन्धित व्यक्तिहरुसँग कुरा हुँदा हजार विघा भन्दा बढीमा लगाइएको बालीमा क्षति पुगेको जानकारी राज्यमन्त्री यादवले दिए । ‘सबभन्दा बढी गहुँ र मकैमा क्षति भएको छ, त्यसपछि आँप, लिची, प्याज, चैते धानमा क्षति भएको पाइएको छ’, उनले भने । 

अहिले गहुँ भित्र्याउने समय भएकाले हावाहुरीले तयारी अवस्थामा रहेको गहुँमा बढी क्षति पुगेको उनले बताए । बारा जिल्लामा गहुँ भन्दा बढी मकैमा क्षति पुगेको छ । बारा आदर्श कोतवालका संजय यादव जो राजपा नेपालका केन्द्रीय सचिव पनि हुन् । उनले भने, ‘बारा जिल्लामा मात्र ६० विघा भन्दा बढीमा लगाइएको मकै खेतीमा असर पुगेको छ, गहुँ, प्याज, आँप तथा अन्य नगदे बालीको क्षति छुट्टै छ ।’

कोरोना भाइरसका कारण लगाइएको लकडाउनका कारण किसानहरु आआफ्नो घरमा रहेको बेला भएको क्षतिले झन् पीडित बनाएको उनले बताए । बारा र पर्सातिर जनता कोरोना भाइरसका कारण निकै त्रसित छन् । पर्सामा तीनजना र रौतहटमा एकजनामा देखिएको कोरोना भाइरसका कारण त्यस क्षेत्रका जनता निकै त्रसित भएका हुन् र यही बेला हावाहुरीले क्षति गर्दा झन पीडित भएको नेता यादवले बताए । हावाहुरीका कारण विजुलीका पोलहरु पनि ढलेका छन् । त्यसले गर्दा कतिपय स्थानमा बत्ती पनि आएको छैन । 

आँपमा दाना (टिकुली) लाग्ने समय हो । तर हावाहुरी तथा असिना पानीले त्यसलाई निकै असर गरेको सिरहामा रहेका पूर्वमन्त्री राजलाल यादवले बताए । उनले भने, ‘मेरो मात्र एक विघामा रहेको गहुँमा क्षति भएको छ । त्यसरी थुप्रै किसानको बाली नोक्सान भएको छ, कतिपयको घरमा पनि क्षति पुगेको छ, कोरोनाका कारण पीडित थिए नै यो हावाहुरीले झन पीडित बनाएको छ । सप्तरी र सर्लाहीमा सबभन्दा बढी आँपमा क्षति गरेको छ । यसपाली आँप राम्रो थियो तर यो हावाहुरीले सबै झारिदिएको छ ।’

पर्सा वीरगञ्ज–१८ का गोपीचन राउत कुर्मीको घरको छाना गएको छ । उनी भन्छन्, 'कोरोना भाइरसका कारण घरमा बसेका थियौं अब त घरमा छाना पनि छैन, बस्न समस्या छ ।’

पर्सा रंगौरस्थित प्रहरी चौकीको पनि छाना उडाएको छ । त्यस्तै पीडा छ, बारा बतराका चुल्हाइ मुखियाको । उनका फुसका तीनवटै घरमा क्षति पुगेको छ । उनले रातोपाटीसँग कुरा गर्दै भने, ‘भगवानले पनि कति दुख दिन जानेका होला, एक महिनादेखि दुःख पीडा सहेर घरभित्र बसिरहेका थिएँ, राति आएको हावाहुरीले छाना उडाइदियो । अब के गरौं, कहाँ जाउ जस्तो भएका छ ।’

त्यस्तै, बाराकै धुपलाल यादव, चुलाई मुखिया विन, रुपनारायण यादव, तिलाई मुखिया विन, नागेन्द्र यादव, लालबाबु यादव लगायतको घरमा पनि क्षति पुगेको छ । लालबाबु यादवले भने, ‘१५ कठ्ठामा लगाएको मकै पुरै नष्ट भएको छ, कटर र आँपमा क्षति भएको छ । पाँचको कोठाको टायल छाना भएको घर थियो सबै भत्काइ दिएको छ, एउटा कोठा बचेको छ, १३–१४ जनाको परिवार एउटैमा कोरोना भाइरसको डरले कोचिएर बसेका छौं ।’

२०७५ चैत १७ गते आएको हावाहुरीले बारा र पर्सामा २८ जनाको ज्यान गएको थियो भने थुपैै जनधनको क्षति भएको थियो । तर यसपटकको हावाहुरीले मानवीय क्षति भने भएको छैन ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप