शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालीको बचत : पुरुषभन्दा महिला अगाडि, रेमिट्यान्सको योगदान कमजोर

शनिबार, ०६ वैशाख २०७७, ०८ : १२
शनिबार, ०६ वैशाख २०७७

काठमाडौं । नेपालीको बचतमा विप्रेषण आप्रवाहको योगदान निकै कमजोर पाइएको छ । देशको अर्थतन्त्रमा रेमिट्यान्सको योगदानबारे चर्चा भइरहँदा यसले देशको पुँजी निर्माणमा योगदान गर्ने भन्दा पनि उपभोगमा मात्रै अधिकांश हिस्सा खर्च हुने नेपाल राष्ट्र बैङ्कको अध्ययनले पुष्टि गरेको हो । नेपाल राष्ट्र बैङ्कले ४ वर्षअघि गरेको उक्त अध्ययनको विस्तृत रिपोर्ट हालसालै प्रकाशन गरेको छ । सो रिपोर्टले जनताको बचत प्रवृत्तिबारे सामान्य अनुमानभन्दा भिन्नै नतिजा सार्वजनिक गरेको छ ।

उक्त रिपोर्ट अनुसार काम गर्न सक्षम रहेको उमेर समूहका सदस्यमध्ये ५३ प्रतिशतले बचत गर्छन् । ४७ प्रतिशतले भने कमाएको पैसा सबै खर्च गर्ने गरेको पाइएको छ । यद्यपि त्यसमध्ये केहीले घरमै बचत गर्ने गरेको समेत पाइएको छ ।

आयआर्जन गर्ने उमेर समूहका मानिसहरुमध्ये पनि बचतको प्रयोजन भने फरक फरक रहेको पाइएको छ । जसअनुसार जम्मा बचतकर्तामध्ये ३० प्रतिशतले आफ्नै भविष्यको जीवनयापन गर्नको लागि बचत गर्ने गर्छन् । त्यस्तै, १६ प्रतिशतले औषधोपचारको लागि, १३ प्रतिशतले विद्यालय वा शिक्षणसंस्थाको शुल्क बुझाउन, १० प्रतिशतले स्वास्थ्यबाहेक अन्य आकस्मिक खर्च गर्न, ८ प्रतिशतले अवकाशपछिको खर्चका लागि बचत गर्ने गरेको पाइएको छ ।

त्यसबाहेक, ७ प्रतिशत बचतकर्ताले घरयासी सामान वा फर्निचर किन्न, ७ प्रतिशतले विशेष सभा समारोहका लागि, ३ प्रतिशतले नयाँ व्यवसाय सुरु गर्न, २ प्रतिशतले घरको मर्मत वा सुधारको लागि तथा कृषिजन्य खर्च गर्न बचत गर्छन् भने घर किन्न वा बनाउन, जग्गा किन्न र आफ्नो मृत्युपछि बालबच्चा वा आफ्ना आश्रित सदस्यको आर्थिक सुरक्षाको लागि भनेर १–१ प्रतिशत बचतकर्ताले बचत गर्ने गरेको पाइएको राष्ट्र बैङ्कद्वारा प्रकाशित रिपोर्टमा उल्लेख गरिएको छ ।

त्यस्तै, काम गर्ने उमेर समूहअन्तर्गत बचत गर्ने ५३ प्रतिशत जनतामध्ये कसले कहाँ बचत गर्छन् भनेर समेत अध्ययन गरिएको थियो । यसअनुसार ११ प्रतिशत जनसंख्याले बैङ्कमा मात्रै बचत गर्ने गरेका छन् । ६ प्रतिशतले बैङ्क बाहेक अरु औपचारिक क्षेत्र मात्रै र १३ प्रतिशतले अनौपचारिक क्षेत्रमा आफ्नो बचत परिचालन गरेको देखिएको छ ।

बाँकी २२ प्रतिशतले भने बचतका लागि बैङ्क, औपचारिक गैरबैंकिङ क्षेत्र र अनौपचारिक क्षेत्रमध्ये एकभन्दा बढी माध्यम रोजेको देखिएको छ । यी तीनवटै क्षेत्रमा बचत गर्नेको संख्या ५ प्रतिशत रहँदा बैङ्कर अन्य औपचारिक क्षेत्रमा मात्रै बचत गर्ने ४ प्रतिशत, बैङ्क र अनौपचारिक क्षेत्रमा मात्रै बचत गर्ने ४ प्रतिशत र गैरबैंकिङ क्षेत्र र अन्य अनौपचारिक क्षेत्रमा बचत गर्नेको संख्या ९ प्रतिशत रहेको देखिएको छ । यसमा घरमा बचत गर्नेको जनसंख्या समावेश गरिएको छैन ।

बचत गर्नेमा धेरैजसो व्यक्तिले मासिक रुपमा बचत गर्ने गरेका छन् । कुल श्रमशक्तिमध्ये ५३ प्रतिशतले बचत गर्दा ३६ प्रतिशत मासिक रुपमा बचत गर्ने गर्छन् भने ३ प्रतिशतले दैनिक रुपमा तथा २ प्रतिशतले साप्ताहिक रुपमा त्यस्तो बचत गरेको देखिएको छ । बाँकी १४ प्रतिशतले भने बचत गर्ने तर नियमित रुपमा बचत नगर्ने गरेको पाइएको समेत राष्ट्र बैङ्कको अध्ययन रिपोर्टमा उल्लेख गरिएको छ ।

ग्रामीण र शहरी भेगमा बचतकर्ताको अवस्थामा ठूलो फरक पाइएको छ । गाउँमा ५१ प्रतिशतले मात्रै बचत गर्दा ३७ प्रतिशतले औपचारिक र बाँकी १४ प्रतिशतले अनौपचारिक क्षेत्रमा बचत गर्छन् । शहरी क्षेत्रमा भने कुल श्रमशक्तिमध्ये ६३ प्रतिशतले बचत गर्दा ५७ प्रतिशतले औपचारिक माध्यम प्रयोग गर्ने गरेको पाइएको छ ।

त्यस्तै पेशा वा व्यवसायका आधारमा पनि काम गर्ने उमेर समूहबीच निकै ठूलो फरक देखिएको छ । जसमध्ये तलबी कर्मचारीमध्ये ७४ प्रतिशतले बचत गर्ने गरेका छन् । मझौला तथा साना उद्योगीमध्ये ६४ प्रतिशत, रेमिट्यान्स प्राप्त गर्नेले ४७ प्रतिशत, किसानले ५५ प्रतिशत, अनियमित आय भएकाले ४२ प्रतिशत, आश्रित जनसंख्यामध्ये ४२ प्रतिशतले त्यस्तो बचत गरेको पाइएको छ । यो तथ्यांकले विदेशमा काम गरेर नेपालमा पैसा पठाउनेको बचतको अवस्था ज्यादै कमजोर रहेको देखाइएको छ ।

बचत गर्ने जनसंख्यामा पुरुषभन्दा महिला अघि देखिएका छन् । काम गर्ने उमेर समूहका ५५ प्रतिशत महिलाले बचत गर्दा सोही उमेर समूहका पुरुषमध्ये ५० प्रतिशतले मात्रै त्यस्तो बचतमा सहभागी भइको पाइएको छ । तर त्यस्तो बचतमा पुरुषले औपचारिक माध्यमको प्रयोग बढी गर्ने गरेको पाइएको रिपोर्टमा उल्लेख गरिएको छ ।

नेपाल राष्ट्र बैङ्कले सन् २०१६ मा नेपालीहरुको वित्तीय अवस्थाबारे विस्तृत अध्ययन गरेको थियो । सो अध्ययनमा नेपाल सरकारका साथै संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) र बेलायती सहयोग नियोग (युक–ेएड) ले सहयोग थियो । सो अध्ययनको विस्तृत रिपोर्ट हालसालै मात्रै नेपाल राष्ट्र बैङ्कले प्रकाशन गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शंकर अर्याल
शंकर अर्याल

अर्याल रातोपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप