कोरोना संक्रमित ६५ वर्षीया वृद्धा भन्छिन्, ‘मैले त रोगलाई जितेँ’
‘६५ वर्षको भएँ बा, दमको रोग छ त नि । दमको रोग लागेको २०/२२ वर्ष नै भइसक्यो, औषधि खान थालेको पनि १५ वर्ष भयो । अहिले खै के आयो आयो यस्तो ! आत्मबल बलियो बनाउन सके जस्तोसुकै रोगलाई पनि जित्न सकिँदो रहेछ । मैले रोगलाई जितेँ ।’
यो भनाइ कोरोनाभाइरस संक्रमित बागलुङ नगरपालिकाकी ६५ वर्षीया वृद्धाको हो ।
गत चैत २० गतेबाट धौलागिरी अञ्चल अस्पतालको आइसोलेशनमा भर्ना भएकी उनी आफू पूर्ण रुपमा निको हुने र साधारण अवस्थामा फर्किनेमा पूर्ण विश्वस्त छिन् । हामीले वैशाख ४ गते बिहीबार कुराकानी गर्दा उनको खुशीको सीमा थिएन । खुशी हुँदै सुनाइन्, ‘अस्पताल बसेको आज १५ दिन भयो पहिला–पहिलाका रिपोर्टहरु खराब आएका थिए, आज रिपोर्ट राम्रो आएछ । अब भोलि एउटा (पुनः थ्रोट) जाँच गर्ने अरे, त्यो पनि राम्रो आयो भने त म घर जान पाउँछु ।’
बेल्जियमदेखि बागलुङसम्मको यात्रा
हुन त उनी पहिला नै बेल्जियम घुमेर आएकी थिइन् । यसपाली भने घुम्ने खासै योजना थिएन । कान्छी छोरी उतै बसोबास गर्ने । नयाँ घर किनेको छु भन्दै आमालाई देखाउन बोलाइन् । आमा पनि बागलुङबाट काठमाडौं आएर भिसा आवेदन दिइन् र एक महिनाको भिसा पाइन् । लगत्तै उनी फागुन १४ गते बेल्जियम पुगिन्, मात्र एक महिनाको लागि ।
छोरीको घर हेर्ने, नाति–नातिनासँग रमाउँदै बस्ने उनको चाहना पुरा भयो । बेल्जियम बसाइमा उनी दिनभरी घरभित्रै बसिन् । टिभीमा आउने इन्द्रेणी कार्यक्रम उनलाई निकै मन पर्छ, इन्द्रेणी कार्यक्रम हेर्ने र नाति–नातिनासँग रमाएर दिन बिताइन् ।
बेल्जियम पुगेको दुई साता नपुग्दै चीनबाट फैलिएको कोरोनाभाइरसको महामारीले पुरै यूरोपलाई नै छुन थालेको खबरले उनी र उनका परिवार आत्तिन थालिसकेका थिए । तुरुन्तै नेपाल फर्कने योजना बन्यो र उनी चैत ३ गते कतार एयरवेजको क्यूआर ६५२ नम्बरको फ्लाइटबाट नेपाल फर्किन् । दोहामा ट्रान्जिट थियो । कोरोनाभाइरस सर्न सक्ने भन्दै सुरक्षा सतर्कता पनि राम्रै अपनाइएको थियो । उनी अझै पनि अन्यौल मै छिन्, कहाँबाट सर्यो होला भनेर ।
चैत ४ गते बिहान साढे १० बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज ल्यान्ड भयो । आफ्नो भूमिमा आइपुग्दा एक खालको ढुक्क महसुस भए पनि छोरी र उनको परिवारलाई छाडेर आउँदाको पीडा भने साथ मै थियो ।
उनलाई यति सजिलै रोग सर्छ भन्ने नै लागेको थिएन । विमानस्थलमा बागलुङबाट ठूला ज्वाई लिन आएका थिए । जहाजमा त्यति लामो यात्रा गर्दा कुनै पनि समस्या भएन उनलाई । तर काठमाडौं आएपछि विमानस्थलमै बान्ता भयो । लामो यात्रा अनि खाना नमिलेर त्यस्तो भएको उनी बताउँछिन् । गाडीमा हिँड्दा पनि बान्ता हुने र बागलुङसम्म यसरी पुग्न कठिन हुने भन्दै ज्वाईले पोखरासम्म जहाज मै जाने निर्णय गरे । र, उनी ज्वाईसँग पोखरासम्म जहाजमा र त्यहाँबाट जिपमा बागलुङ पुगिन् ।
बागलुङ बजारमा ठूली छोरीको परिवार बसोबास गर्ने भएकाले त्यसदिन उनी त्यहीँ बसिन् । साँझ खाना खाएपछि उनी नातिसँग एउटै कोठामा तर भिन्दै सुतिन् । बिहान पिसाब भएन । लामो यात्रा गरेको, राम्रोसँग खाना नखाएकाले समस्या भयो होला भनी नातिले औषधि ल्याइदिए । उनलाई औषधि खाएपछि केही क्षणमा पिसाब खुल्यो । आफू सामान्य रहेको भन्दै उनी दिउँसो आफ्नो घरतिर लागिन् ।
घर पुगेपछि पनि गाउँघरमा भेटघाट गरिन्, केटाकेटीहरुलाई चकलेट दिइन् । आफू राम्रोसँग घर आइपुगेकोमा उनमा भिन्दै खुसी थियो, संक्रमणको त कुनै छेकछन्द नै थिएन ।
जब कोरोना जाँच गर्नुपर्ने भयो
सामान्य अवस्थामा रहेकी उनलाई एकाएक कोरोना जाँच गर्नुपर्ने खबर आयो । आफू सामान्य भए पनि एउटै विमानमा आएकी बागलुङ नगरपालिकाकै एक १९ वर्षीया किशोरीमा कोरोनाभाइरसको संक्रमण भेटिएपछि उनको पनि कोरोना जाँच गर्नुपर्ने भयो । ६५ वर्षकी उनको पनि स्वाब परीक्षण गरियो । संक्रमणको कुनै पनि लक्षण नदेखिए पनि जाँच गर्दा रिपोर्ट पोजिटिभ आयो ।
आफूसँगै आएकी किशोरीलाई कोरोना संक्रमण भएको पुष्टि भएको खबर आउनु अघि नै उनी सेल्फ क्वारेन्टाइनमा बस्न थालिसकेकी थिइन् । विदेशबाट आउँदा संक्रमण हुन सक्ने भन्ने थाहा पाएसँगै परिवारको सल्लाहमा उनी घरमै ९ दिन एक्लै बसिन् ।
उनी भन्छिन्, ‘चैत २० गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वाब परीक्षण भयो र रिपोर्ट पोजिटिभ आयो अर्थात् आफूमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको समाचार आयो । तब मलाई विश्वास नै लागेन । किनभने मलाई कुनै पनि लक्षण नै देखिएको थिएन । तर पनि रिपोर्ट त्यस्तो आएपछि अस्पताल जाने तयारी गरेँ ।’
कोरोना संक्रमण हुन सक्ने भन्ने थाहा पाएसँगै सतर्क भएको उनले सुनाइन् । ‘आत्मबल उच्च राखेर बसेको थिएँ,’ उनी भन्छिन्, ‘१७ गते घरमा श्राद्ध थियो । १६ गते एकछाकी गरेर १७ गते श्राद्धका लागि नुहाएर आफ्ना कपडा आफैँ धोएँ । संक्रमण भएको रहेछ भने त छोरा–बुहारीलाई सर्न सक्छ भनेर आफ्नो काम आफै गरेँ । छोराले श्राद्ध ग¥यो, म भिन्दै बसेको थिए । त्यही बेलुकातिर जाँच गर्न भन्दै स्वास्थ्यकर्मी र पुलिस आए । आमालाई कस्तो छ भनी सोधे । म ठिक थिएँ । अनि शंका लागेपछि जाँच गर्न पर्छ भने, मैले नि हुन्छ बाबु भनेँ ।’
उनको चैत १७ गते थ्रोट स्वाब नमूना परीक्षणका लागि लगिएको थियो । चैत २० गते रिपोर्ट पोजिटिभ आएको खबर आयो । तर उनमा कुनै पनि डर थिएन । कोरोनाले आक्रमण गर्दा ज्वरो आउने, रुघा लाग्ने, खोकी लाग्ने भनिए पनि उनमा त्यस्तो केही समस्या भएको थिएन ।
रिपोर्ट पोजिटिभ आयो, ड्राइभर भागे, डाक्टर र पुलिसले साथ दिए
रिपोर्ट पोजिटिभ आएसँगै गण्डकी प्रदेश स्वास्थ्य कार्यालय बागलुङ र धौलागिरी अञ्चल अस्पतालका स्वास्थ्यकर्मी उनलाई अस्पताल लैजानमा जुटे । घरमै क्वारन्टाइनमा बस्दै आएकी उनलाई अस्पताल लैजान तयार गरिएको एम्बुलेन्सका चालक नै भागेछन् । संक्रमित लिन जाने भनेपछि सुरक्षा नभएको भन्दै चालक भागेपछि स्वास्थ्य कार्यालयकै चालकले उनलाई अस्पताल पु-याएका थिए ।
अस्पतालमा रहेको आइसोलेशन वार्डमा उनीभन्दा अगाडि नै बागलुङ नगरपालिकाकै १९ वर्षीय किशोरीलाई भर्ना गरिएको थियो । दुवै जना संक्रमितलाई छुट्टाछुट्टै कोठाको व्यवस्था गरिएको थियो ।
वृद्धा भन्छिन्, ‘अस्पतालमा जाँदा डाक्टरले राम्रो व्यवहार गर्नुभयो । कति दिन बस्नुपर्ने हो भनेर कपडाहरु बोकेको थिएँ । झोला बोकेर अस्पतालको भ¥याङ उक्लिन अलि गाह्रो हुन्छ भनेँ । डाक्टरले आफै झोला बोकेर कोठामा ल्याइदिनु भयो । अनि जाँच गर्नुभयो । प्रेसर बढेको रहेछ । औषधि खान दिएर नआत्ति बस्नु हामी छौं भन्नुभयो । सुरुका दिनमा नानीहरु (नर्सहरु) भने अलि डराउनु भयो तर अहिले त उहाँहरु नि डराउनु हुन्न, निकै राम्रो हेरबिचार गर्नुभएको छ ।’
उनलाई कोरोना संक्रमण पुष्टि भएसँगै गाउँघरमा पनि त्रास बढ्यो । लगत्तै उनका परिवार पनि सेल्फ क्वारेन्टाइनमा बसे । गाउँघरमा र परिवारमा उनीसँग सम्पर्कमा आएका सबैको आरडीटी (¥यापिड डाइग्नोष्टिक टेष्ट) गर्दा रिपोर्ट नेगेटिभ आएको छ ।
मैले त रोगलाई नै जितेँ
६५ वर्षीय वृद्धाको आत्मबल देख्दा जो केही आश्चर्यमा परेका छन् । उनी आफूलाई कुनै पनि लक्षण नदेखिँदा पनि सहज भएको बताउँछिन् । अनि रोगलाई त आफैले हराउन सकिन्छ भन्ने आत्मविश्वास भएकाले पनि रोगलाई जित्न सकेको बताउँछिन् ।
उनी भन्छिन्, ‘मैले त रोगलाई जितेँ भन्ने लागेको छ । प्रेसर (उच्च रक्तचाप) र दमको समस्या छ । औषधि खाइराख्छु, त्यो बाहेक अरु औषधि खाएको छैन । सबैभन्दा ठूलो कुरा आफू आत्मैदेखि इमान्दार बन्नुपर्दो रहेछ । इमान्दार भइयो भने आत्मबल आफै आउँछ । सरसफाई अनि खानपानमा विशेष ध्यान दिएको छु । दिनमा ४ बोटल पानी उमालेर अलि सेलाएपछि पिउँछु । बिहानदेखि बेलुकासम्म अस्पतालले दिएको खाना खान्छु । सामान्य चिया बिस्कुट, दुध, पाउरोटी, दाल, भात, तरकारी खान्छु । मलाई खुब भोक लाग्छ । अण्डा, माछामासु खान्न । सामान्य खानाहरु खाएको छु ।’
पहिलो र दोस्रो टेष्ट पोजिटिभ आए पनि तेस्रो पटक पिसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएको छ । यसले उनको आत्मविश्वास झनै बढेको छ । र अब गरिने चौथो टेष्ट पनि नेगेटिभ आउनेमा उनी ढुक्क छिन् ।
उता, उनीभन्दा केही दिन अगाडि भर्ना गरिएकी किशोरीको भने चौथो रिपोर्ट पनि पोजिटिभ आएको छ । उनी आफूसँगै अस्पतालको अर्को आइसोलेशन कक्षमा रहेकी ती नानीलाई आत्मबल उच्च राख्न सुझाउँछिन् । र उनी पनि छिट्टै निको हुनेमा आशावादी रहेको बताउँछिन् ।
कोरोनाले धेरैसँग चिनजान गरायो, सबैको माया पाएँ
हुन त संक्रमण भएको पुष्टि भएसँगै गाउँघरतिर सबै भयभित भएका थिए । कतै आफ्नो कारणले अरुलाई रोग त सरेन भनी उनी आफै पनि निकै डराएकी थिइन् । उनलाई आफ्नोभन्दा पनि आफ्नो कारण अरुलाई केही हुने हो कि भन्ने चिन्ता थियो । हुन त रोगबारे र बाहिरबाट आएकाहरु सतर्क हुनुपर्छ भन्ने थाहा पाएपछि भने एक्लै बसेकाले समस्या आउँदैन कि भन्ने पनि थियो । र भयो पनि त्यस्तै ।
आफूबाट अरु कसैमा पनि यो रोग सर्न पाएन, त्यसैमा उनलाई धेरै खुसी छ । घरपरिवार, आफन्त सबैतिरबाट खबर सोधखोज हुन्छ । हरेक दिन उनको बिहानदेखि बेलुकासम्मको धेरैजसो समय फोनमा कुरा गर्दैमा बित्छ ।
अस्पतालका डाक्टर, नर्स अनि कर्मचारीले पनि मायाले बोल्ने गरेको उनी बताउँछिन् । खाना कोठाभित्रै ल्याइदिने, बेला बेला के छ, कसो छ भनेर सोधखोज गर्ने गरेको उनी बताउँछिन् ।
हरेक दिन पत्रकारहरुको पनि फोन आउँछ उनलाई । मनमा लागेको खुलेर भन्ने गरेको बताउँछिन् । कसैले के सोध्छन्, त कसैले के । कति पढ्नु भएको छ भनेर सोध्छन् । उतिबेला पढ्न कहाँ पाउनु, त्यसैले त रेडियो सुनेर दिन बिताउने गरेको उनी हाँस्दै बताउँछिन् । उनले भन्ने गरेकी छिन्, ‘मैले त यो उमेरमा रोगलाई जिन्न सकेँ भने युवाहरुले त सजिलै जित्न सक्छन् । हरेस खानु हुँदैन है ।’
कोरोना संक्रमणका कारण उनले धेरै इष्टमित्र जन्माएकी छिन् । कहिल्यै नचिनेकाले पनि सोधखोज गर्ने गरेको र टाढा टाढाका आफन्तहरुले पनि खोजी खोजी फोन गरेर स्वास्थ्यअवस्थाबारे सोधखोज गर्ने अनि आत्मबल बढाउने कुरा गर्ने गरेको उनी बताउँछिन् । भन्छिन्, ‘मैले त इष्टमित्र कमाएको छु । धेरैसँग चिनजान गरायो । धेरैको माया पाएको छु । पोखराबाट मुख्यमन्त्रीले पनि फोन गर्नुभयो, बागलुङका नेताहरुले पनि फोन गरेर सन्चो विसन्चो सोधखोज गर्नुहुन्छ । नाता लगाउँदै फोन गर्नेहरु कति छन् कति । आज मैले धेरै नातेदार अनि आफन्त भेट्टाएको छु नानी, धेरै खुसी छु । सबैको मायाले रोगबाट मुक्त हुनेछु ।’
विश्व यतिबेला कोरोनाभाइरसको महामारीले आक्रान्त छ । यो भाइरसलाई परास्त गर्न सक्ने अस्त्र कसैसँग छैन । धेरैले ज्यान गुमाउनुपरेको अवस्थामा केही उदाहरण पनि छन् जसले सजिलै संक्रमणलाई परास्त गरिदिएका छन् । हामीले सुन्ने गरेका छौँ, कोरोनाभाइरसबाट संक्रमित वृद्धवृद्धाहरु निको भएर घर फर्किएका समाचारहरु । अनि उनीहरुको चमकदार अनुहार जसले भाइरससँग लड्न उमेर होइन, साहस चाहिने कुरा प्रष्टसँग व्यक्त गरिरहेको हुन्छ । यो संसारभरका मानिसका लागि सकारात्मक ऊर्जा बन्न सक्छ ।
नेपालकी ६५ वर्षीया वृद्धाको यस्तो आत्मबल अनि सकारात्मक सोचले अरु कोरोना संक्रमितलाई पनि रोगसँग लड्न पक्कै पनि बल मिल्ने छ । उनी एक पात्र हुन्, जसले आफ्नै शक्तिले रोगलाई परास्त गर्दै आइरहेकी छिन् । नेपालको सन्दर्भमा कोरोनाबाट बच्न भयभित हुने होइन कि बरु कोरोनासँग डटेर लड्न उनी जस्ताबाट ऊर्जा मिल्न सक्छ । साथै आत्मबल बलियो पार्न उनी एक प्रेरणा बन्न सक्छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य क्षेत्रको अनुसन्धानबारे अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
-
कृषकको आर्थिक अवस्था सुधार्ने नीति बनाएर काम गर्नमा उपप्रधानमन्त्री सिंहको जोड
-
प्रियंका र सरोजको मन छुने प्रेमकथामा ‘मनको तिर्सना’
-
राष्ट्रिय परिचयपत्र विवाद : सरकारको भ्याकेटले सर्वाेच्चमा सुनुवाइको पालो नै नपाएपछि...
-
निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन
-
दैलेख बस दुर्घटना अपडेट : ८ जना घाइते