बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

राहतमा कुहिएको चामल र आलु वितरण !

बिहीबार, ०४ वैशाख २०७७, २२ : ०९
बिहीबार, ०४ वैशाख २०७७

सिरहाको लहान नगरपालिकाले लकडाउन प्रभावित गरिब तथा विपन्न परिवारलाई राहतको नाममा कुहिएको आलु र चामल बाँडेको  पाइएको छ । 

 लहान नगरपालिकाले वडा नम्बर २० का दलित तथा बिपन्न परिवारलाई यस्तो गुणस्तरहीन राहत वितरण गरेको पाइएको हो । 

 राहतमा पाएको चामल र आलु कुहिएको पाइएपछि स्थानीयले ब्रम्हाण गोर्छाडीस्थित वडा कार्यालयमा फिर्ता गरिदिएका छन् । 

चामल बोकेर वडा कार्यालयमा आएकी लहान २० की शनिचरीदेवी रामले वैशाख १ गते पाएको चामल पकाएर खान नसकेपछि फिर्ता गरिदिएको बताइन् । ‘धोइपखाली गरेर पकाउँदा खान नसक्ने गरी गन्हाएपछि वडामा बुझाउ ल्याएकी हुँ’, उनले भनिन् । चर्को घाममा ब्रम्ण गाउँस्थित घरबाट टाउकोमा २० किलो वजनको चामलको बोरा बोकेर वडा कार्यालय आएका स्थानीय भिखन रामले पकाएर खान नसक्ने चामल फिर्ता गर्न आएको बताए । नगरपालिकाले वडा कार्यालय परिसरमा चामलसहितको राहत सामग्री वैशाख १ गतेदेखि ब्रम्हाण, हरिनगरा र मोतीपुर गाउँका दलित बिपन्न परिवारलाई बाँडेको थियो । 
वडाध्यक्ष गणेशकुमार चौधरीले स्थानीय दलित बिपन्नहरुले पाएको चामल गुणस्तरको विषयमा गुनासो आएको बताए । 

‘वडाका विभिन्न गाउँ टोलमा पहिलो चरणमा पहिचान गरिएका चार सय ६० घर पहिचान गरिएका दलित, गरिबमध्ये बुधबारसम्म तीन सय दुई सय २३ घरपरिवारलाई राहत दिएका छौं’ वडाध्यक्ष चौधरीले भने ‘चामलसँगै राहत सामग्री लिएर गएकाहरुले गन्हाएको चामल भन्दै गुनासो गरेका छन् ।’ पहिलो चरणमा पहिचान गर्न छुटेकाहरुको पनि लगत संकलन गरी राहत बाँडिने वडाध्यक्ष चौधरीले बताए । 

वडाध्यक्ष चौधरीले तीन दिनअघि प्याक गरिएको आलुसहितको राहत सामग्रीको पोकामा कुहिएको आलु समेत परेको पाइएपछि बुधबार दिउँसो नगरपालिकाले फिर्ता गरेर राम्रो आलु ल्याइदिएको जानकारी दिए ।

नगरले गत चैत २६ गतेदेखि पहिलो चरणमा पहिचान गरिएका आठ हजार १४ घरधुरीलाई प्रति घरधुरी २० किलो चामल, चार किलो आल, एक किलो दाल, एक किलो नुन, एक लिटर खानेतेल, नुहाउने र लुगा धुनेगरी दुई थान साबुन र नगद दुई सय रुपैयाँ बाँडेको थियो । 

नगरपालिकाले लहानस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट चामल खरिद गरेको थियो । नगरले एक हजार छ सय ५० क्वीण्टल चामल त्यहाँबाट खरिद गरी नगरका २४ वडामा वितरण गरेको हो । जसमा केही ठाउँमा कुहिएर गन्हाएको चामल परेको विषयमा जनगुनासोको विषयमा समाचार सावजनिक भएपछि कम्पनीले बुधबार नगरपालिकालाई पत्र लेख्दै बाँडिएको चामलमध्ये केही बोरामा गुणस्तर फरक देखिए तत्काल फिर्ता गरी सट्टामा अर्को चामल दिने जनाएको छ । 

खाद्यका अंचल प्रमुख गंगाप्रसाद साहले गोदामको चामल केही लामो समयसम्म भण्डारण हुने हुँदा चामलको प्रकृति नयाँ चामलको भन्दा अवश्य नै फरक हुने भन्दै नगरलाई दिएको चामल गुणस्तरहीन नरहेको दावी गरेका छन् । खाद्यले  २०७५ सालमा कार्यालयबाट धान खरिद गरी तयार भएको चामलको गुणस्तर कार्यालयले तोकेको मापदण्ड अनुरुप रहेको उनको दावी गरेको छ । 

कोरोना भाइरसको कारणले जारी लकडाउन अवधिमा नगर क्षेत्रका गरिब, बिपन्नहरुका लागि नगरपालिकाले ‘संक्रामक रोग रोकथाम, नियन्त्रण, उपचार तथा राहत कोष कार्यविधि– २०७६’ अनुसार खाद्यसँग चामल खरिद गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रामभरोसी यादव
रामभरोसी यादव

रामभरोसी यादव रातोपाटीका सिरहा संवाददाता हुन् ।

लेखकबाट थप