सामाजिक भाइरस र महामारीमा मानवशास्त्री
'अब मानवशास्त्र विषयको आयु लामो छैन जस्तो लाग्यो सर ।'
करिब दुई वर्ष अगाडि मानवशास्त्री डा. जनक राईसँग मलाई लागेको कुरा भन्दा उहाँले भन्नुभयो, 'किन र ?'
मैले भनेँ, 'मानवशास्त्रले मानवको समग्र पक्षको अध्ययन गर्ने हो । अब सबै ठाउँमा प्रविधि मात्रै प्रयोग गर्ने अनि पृथ्वीमा डरलाग्दो घटना हुने भएपछि मान्छेको अस्तित्व र मूल्य हुँदैन । मानव जातिका क्रियाकलापका आधारमा मानवशास्त्रको क्षेत्र फैलिरहेको छ | मानवशास्त्रको क्षेत्र फैलिनु भनेको मानवशास्त्रीका सोचाइ, क्षमता, र कार्यक्षेत्रको विस्तार हुनु हो |'
आज मानिस र मानव जातिले ब्यहोरेको महामारी खतरनाक छ जुन सबै मानवशास्त्रीका लागि अध्ययन योग्य विषय भएको छ । महामारीकै बेला महामारीकै बारे मानवशास्त्रीहरुले गम्भीर अध्ययन गर्न सके मात्रै यस शास्त्रको औचित्य र आवश्यकता बढ्ने देख्छु म । यसका लागि विदेशको जीवन छाडौं स्वदेशीहरुले ब्यहोरेको महामारी पनि कम त्रासद छैन । धार्चुलामा रोकेका नेपालीहरुको सरकारसँग एउटा मात्रै माग छ “आफ्नो नागरिकलाई फिर्ता लेऊ !” यस्तै महाकाली नदी पौडिएर पार गरेको व्यक्तिको भनाइ छ “बरु मरे पनि आफ्नै देशमा मर्छु ।“
राजधानी काठमाण्डौंको बीर अस्पतालको आसपासमा एक जना दैनिक ज्यालादारी श्रमिक बन्दाबन्दीले आफ्नो बौध्दमा भएको कोठामा जान नपाएको, प्रहरीले पिटेर लखेटेको, होटेल, रेस्टुरा बन्द भएर खान नपाएको, सडकपेटीमा रात, दिन, भोक, निद्रा बिताएको कारुणिक भिडियो सार्बजनिक भयो । गृह मन्त्रालय कहाँ छ, काठमाडौंमा निर्माण क्षेत्रमा काम गर्दै आइरहेका श्रमिक नागरिकहरुलाई थाहा भएन | थाहा नभएपछि पास लिने पहुँचको कुरा त एकादेशको कथा भइहाल्यो |
राज्यले अति आवश्यक व्यक्तिहरुको लागि प्रशासनबाट पास प्रदान गरेको देखिन्छ | मान्छेको आवश्यकता वर्ग वा उसको कामको स्तरबाट मापन हुने हो ? बीर अस्पतालको सडकपेटीमा दिनरात बिताउने व्यक्तिको लागि आफ्नो कोठामा गएर परिवारसँग दुई छाक खानु ठूलो आवश्यकता हुन जान्छ | माथि उल्लेखित प्रतिनिधि कथा र कथनको आधारमा नेपाल राष्ट्र-राज्य-नागरिकको सम्बन्धबारे विश्लेषण गर्न सकिन्छ |
मर्नुभन्दा बहुलाउनु बेस भन्ने उखान जीवन-मन्त्रको रुपमा केही आशा र निराशाको मिस्रित भाव बोकेर पानी र चिउराको सहायतामा ४०० कि.मि.को कठिन पैदलयात्रा गर्ने जमर्कोले राज्यको अवस्था प्रस्ट पारिदिन्छ | मर्नुभन्दा बहुलाउनु बेस भन्ने भनाइको अर्थ हामी खोज्न सक्छौं तर त्यो भावना र मर्ममा डुबुल्की मार्न मानवशास्त्री कत्तिको सक्छौं, प्रश्न यहाँ छ | मानवशास्त्रीले मान्छेको मनको भावना र मर्मलाई सामाजिक ज्ञानको रुपमा बाहिर ल्याउनुपर्दछ |
राज्यले अति आवश्यक व्यक्तिहरुको लागि प्रशासनबाट पास प्रदान गरेको देखिन्छ | मान्छेको आवश्यकता वर्ग वा उसको कामको स्तरबाट मापन हुने हो ? बीर अस्पतालको सडकपेटीमा दिनरात बिताउने व्यक्तिको लागि आफ्नो कोठामा गएर परिवारसँग दुई छाक खानु ठूलो आवश्यकता हुन जान्छ | माथि उल्लेखित प्रतिनिधि कथा र कथनको आधारमा नेपाल राष्ट्र-राज्य-नागरिकको सम्बन्धबारे विश्लेषण गर्न सकिन्छ |
राष्ट्र-राज्य-नागरिकबीच मत, कर, कानुन, नीतिनियम, ऐन, शासन र आदेशको भन्दा परको सम्बन्ध हुन्छ | नागरिकले देश, भूगोल, सम्मान र सुरक्षा खोजिरहेका छन् | राज्य र नागरिकका निश्चित अधिकार र कर्तव्य हुन्छन्, परिभाषा हुन्छन् | नागरिकका आँखाबाट आँसु आउँदा राज्य आँसु पुछ्ने रुमाल बन्नुपर्दछ | नागरिकलाई प्यास लाग्दा तिर्खा मेट्ने स्वच्छ जल बन्नुपर्दछ | भोक लाग्दा धर्तीको अन्न बन्नुपर्दछ | घाम र पानीबाट बच्ने ओत हुनुपर्दछ | राज्य भावनामै डुब्नुपर्छ भनेको होइन तर नागरिकको भावनामाथि कुठाराघात गर्नु कदापि हुँदैन | राज्य-नागरिकबीच भावनात्मक सम्बन्ध गाँसिएको हुनुपर्दछ |
अहिले राज्य-नागरिकको सामिप्यातामा खडेरी परेको सन्देश गएको छ | राज्यले आवत-जावत निषेधको निर्णय लागू गरेको छ । त्यसलाई राज्यले आदेश दिएकै भरमा नागरिकले आआफ्ना घरमा बसेर इमान्दारीपूर्वक पालना गरेको पक्कै होइन । उनीहरु विश्वका घटना देखेर/सुनेर डराएर वा सचेत भएर अनुशासित हुने क्रममा क्वारेन्टिन बसेका हुन् | मिसेल फुको, स्टुआर्ट क्रिस्चसम्मको मानवशास्त्रको अध्ययनले मानवशास्त्री पनि नागरिक समाजभित्र पर्दछ | मानवशास्त्रीले राज्यसँग जमेर प्रश्न सोध्नुपर्दछ | नागरिकलाई शिक्षा वा कर्तव्यबोध गराउनुपर्दछ | नेपाल तथा विश्वका धेरै विश्लेषकले अबको विश्व अर्थ-राजनीति र शक्तिबारे अनुमान गरिसकेका छन् | तर विश्व मानव समाज के, कस्तो हुनुपर्छ र कसरी अगाडि बढ्नसक्छ भनेर ध्यान कम दिइएको छ | अहिलेसम्म स्थापित/विकास गर्न खोजिएको राजनीति, धर्म, अर्थ, समाज-संस्कृतिका वादहरु मानव जातिको सुरक्षा, हित, प्रगति, खुसी, सन्तुष्टि, सम्मान र मुक्तिको लागि भनेर व्याख्या गरिन्छ । अपसोच तिनै ‘वाद’हरुले मानव जातिलाई झन् दु:ख, तनाव र समस्यामा राख्दैछन् | ‘वाद’ आफूमा निरपेक्ष वा साधन मात्रै हुन् | सापेक्ष वा साध्य त मानव समुदायले राज्यको सामाजिक-नागरिक भएर आत्मसम्मान, खुसी र सन्तुष्टि प्राप्त हुने क्रियाकलाप गर्ने समाज निर्माण हुनु हो, जहाँ राज्य र नागरिकको बराबर हैसियत हुन्छ | मानवशास्त्रीले विश्व मानव जगतको अबको अवस्था, समुदाय, समाज र राज्य-नागरिकबीचको सम्बन्ध मानव संस्कार, संस्कृति र सभ्यताको भविष्यको अवस्थाबारे आफ्नो धारणा कोर्नुपर्ने हुन्छ |
नेपालका अधिकांश मनावशास्त्रीले आदिवासी जनजातिसम्बन्धी विभिन्न दृष्टिकोणबाट अध्ययन, अनुसन्धान, व्याख्या र विश्लेषण गर्दै आइरहेका छन् | धिमाल समुदायबारे जनक राईको अध्ययनअनुसार तराईमा औलो रोगको उन्मूलनसँगै त्यहाँका आदिवासी जनजाति समुदाय पुर्ख्यौली थलोबाट विस्थापित हुन पुगे | अहिले कोरोना भाइरसले आदिवासी जनजाति समुदायलाई आफ्नो भूमिबाट पुन: विस्थापन वा उन्मूलन गर्ने त होइन ? यो मानवशास्त्रीले चिन्ता गर्नुपर्ने विषय हुन सक्छ |
यसबीचमा जनक राईको ‘नरे’ कविता प्रकाशित भयो | डा. डम्बर चेम्जोङको कोरोनाको कहर; गाउँ फर्कने रहर नामक लेख छापियो | स्वास्थ्यसँग सम्बन्धित डा. सचिन घिमिरेको लेख आयो | कोरोना महामारीमा स्वास्थ्य सेवा र सुशासनको नाममा डा. कपिल दाहालको लेख प्रकाशित भयो | उहाँहरु सामाजिक संजालमा पनि निकै सक्रिय हुनुहुन्छ | महामारीबाट नेपालका आदिवासी जनजाति र नेपाली समाजमा पर्ने प्रभावबारे कसैको पनि कलम चलेको पाइएन |
मानव सभ्यताको लामो इतिहास विभिन्न किसिमका प्रलय, महामारी, लडाईं र संघर्षसँग हारजित हुँदै आजसम्म आइपुगेको छ | मेरो पुस्ताको लागि यस्तो मानसिक दबाब प्रथम नै हो | म आफू पनि बिहान ओछ्यानमा हुँदादेखि राति ओछ्यानमा जाँदासम्म सूत्र नमिलेको बीजगणितको हिसाब गरेजस्तो हुँदैछु | परीक्षामा प्रश्नको उत्तर नआएर भित्र-बाहिर, यता-उता आँखा तन्काइरहेको परीक्षार्थीजस्तो हुँदैछु |
कोरोना रोकथामको लागि प्रचलित सामाजिक दूरी भविष्यमा झनै अर्को रुपमा परिस्कृत भएर राज्य-समुदायको दूरीको रुपमा खडा त हुँदैन ? ग्रामर नमिलेको नेपाली समाजमा राज्यले अनेक किसिमको दूरी निर्माण गरेको इतिहास जीवित छ | सांस्कृतिक दूरीको निर्माण र भत्काउने अवसर राज्य र समुदाय दुबैलाई समान छ | समुदाय-समाज-राज्यबीचको सामाजिक इन्जिनियरिङ निर्माण गर्नुपर्दछ | पृथ्वीमा देखापरेका हरेक महामारी, प्रलयले मूलत: आदिवासी जनजातिलाई बढी असर गर्छ तर अहिलेको कोरोना भाइरसले राजदरबार समेत अछूतो राखेन | यद्यपि यसको दीर्घकालीन असर प्रथम राष्ट्रलाई बढी पर्ने छ | २०७२ सालको महाभूकम्पले अहिलेको बागमती प्रदेशमा बढी क्षति भयो जहाँ तामाङ र नेवार समुदायको बाहुल्यता छ |
मानव सभ्यताको लामो इतिहास विभिन्न किसिमका प्रलय, महामारी, लडाईं र संघर्षसँग हारजित हुँदै आजसम्म आइपुगेको छ | मेरो पुस्ताको लागि यस्तो मानसिक दबाब प्रथम नै हो | म आफू पनि बिहान ओछ्यानमा हुँदादेखि राति ओछ्यानमा जाँदासम्म सूत्र नमिलेको बीजगणितको हिसाब गरेजस्तो हुँदैछु | परीक्षामा प्रश्नको उत्तर नआएर भित्र-बाहिर, यता-उता आँखा तन्काइरहेको परीक्षार्थीजस्तो हुँदैछु | डा. मल्लिका शाक्यले आफ्नी छोरीको स्कुलबाट आज साँझ दीप प्रज्वलन गर्दैछ भन्ने सन्देश पठाएपछि लेखेकी थिइन्, यस्ता सन्देश मेरो विचारमा अति नै बढी भयो । राज्यले दिएको आदेशविरुद्ध उनले आफ्नो मत सामाजिक सन्जालमा राखेकी हुन् | त्यसअघि भारतमा प्रधानमन्त्रीको आग्रहमा कोरोना भगाउन घन्टी बजाइएको फोटो र समाचार आएको थियो |
भारतमा छाएको नेपालमा पनि फैलिएको देखियो । गत शनिबार मलाई नि आइतबार साँझ बत्ती बालेर पूजा गर्नु महामारी लाग्दैन भनेर दुईजना पण्डित पुरोहितले बोलेको भिडिओ धेरै साथीले मेसेन्जरमा पठाए | भारतमा राज्यले नै आग्रह गर्यो, नेपालमा समाजले कार्यान्वयन गर्यो | मान्छेले दुईवटा कानुन मानिरहेका हुन्छन, राज्यको कानुन (लिखित) र सामाजिक कानुन (अलिखित) | नेपाल र भारतमा राज्यको कानुनभन्दा सामाजिक कानुन बलियो छ | सामाजिक कानुनलाई जब राज्यको कानुनको रुपमा कार्यान्वयन गरी विकास, संरक्षण र सम्बर्धन गरिन्छ तब राष्ट्र-राज्य र नागरिक-समुदायले यस्तै महामारी, प्रलयमा थप अपमान सहनुपर्ने हुनसक्छ | मानौं, महामारी दियो बलेको घरमा सकारात्मक देखा परेन र दियो नबलेको आदिवासी जनजाति र दलित समुदायको घरको मान्छेलाई कोरोना सकारात्मक देखा परेन । यस्तो अवस्थामा सम्बन्धित सभ्यताका समुदायले के कस्तो नारा लगाउन सक्छन् होला एक पटक गम्भीर भएर सोचम | कुनै पनि महामारी र प्रलय समुदायगत सभ्यता, इतिहास वा आस्थासँग सियो-धागोको जस्तो सम्बन्ध छैन | यो सब मानव जातिका गलत क्रियाकलाप र खानपिनको कारण सृजित भएको हो | आजका तपाईं हामी हिजोका परिवार, समाज र राज्यका संस्कार, संस्कृति र शिक्षाकै उपज न हौं | हामीले हाम्रो सामाजिक-राजनीतिक संस्थाबाट मानव शिक्षाको ठाउँमा विभेदको शिक्षा पाइरह्यौं |
भारत, अमेरिका, चीन, बेलायतलगायत अन्य राष्ट्र-राज्य अहिले सांस्कृतिक राष्ट्रवादमा आफूलाई उभ्याउन आंशिक सफलता प्राप्त गर्दैछन् | सांस्कृतिक राष्ट्रवाद फैलाउने आधार यस्तै असाधारण समयमा बढी हुन्छ | मानवशास्त्रीको दृष्टिमा त्यो एक 'थेरी अफ डेथ' हो | उनीहरु यसमा अति चनाखो हुनुपर्छ | उत्तराधुनिकवाद भनेको मानव सभ्यता र प्रकृतिबीचको संघर्ष पनि हो |
मानव जातिले आफ्नो स्वार्थ पूरा गर्न प्रकृतिलाई दुरुपयोग गर्दै आइरहेका छन् | परिणामत: आज मानव सभ्यतामाथि चुनौती आइलागेको छ | महामारी वा प्राकृतिक प्रकोप आफैले मान्छेको मृत्यु गराउने हुँदै होइन | कुनै रोग आफै महामारी हुँदैन, रोगलाई महामारी बनाउने पनि मानव जाति नै हो | हामीले निर्माण गरेको भौतिक संरचना र हामी आफैले बनाएको आफ्नो मिठो स्वादको खान्कीले हामीलाई मृत्युको मुखमा लैजाने हो |
मान्छेहरुले आफूलाई उच्चतम देखाउन, अरुलाई पीँधमा राख्न अनेक उपाय, विचार र गतिविधि गरिरहेका हुन्छन् | समाज र राष्ट्र-राज्यहरुले उँच र नीच हुन/देखाउन अन्य सभ्यतालाई अस्वीकार गर्दै आइरहेको देखिन्छ | राज्यले समुदायगत सभ्यताको निषेध गर्नु समग्र मानव सभ्यताको लागि रातो बत्ती बाल्नु हो | समुदायका संस्कार, संस्कृति, इतिहास र सभ्यतामा जब राज्यले अग्राधिकार प्राप्त गर्दछ अनि सामाजिक भाइरस निर्माण हुन्छ | यो भाइरस अब विश्व मानव समुदायको लागि पाठ सिक्ने पोजिटिभ भाइरस हुन सकोस् कामना गर्दछु |
[सूर्यबहादुर तामाङ मानवशास्त्रका अध्येयता हुन्]
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवरूद्ध कर्णाली राजमार्ग सञ्चालनमा
-
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइँदै
-
१० बजे १० समाचार : नारायणहिटीको आँगनबाट ओलीको ‘गाली’देखि अदालतमा दुर्गा प्रसाईंसम्म
-
आईपीटीपीमा सहभागी हुन सभामुख कम्बोडिया प्रस्थान
-
वरिष्ठ अभिनेता कृष्ण मल्ल नेपाल फिल्म सोसाइटीको अध्यक्षमा निर्विरोध निर्वाचित
-
झापाबाट खैरो हेरोइनसहित युवक पक्राउ