कोरोनाभाइरसबारे पत्ता लगाउने महिला को थिइन् ?
मानिसमा पहिलो पटक कोरोनाभाइरसको खोजी गर्ने महिला स्कटल्याण्डका एक बस ड्राइभरकी छोरी थिइन् जसले १६ वर्षमा स्कूल छोडेकी थिइन् ।
ती महिलाको नाम थियो जून अलमेडा जसले भाइरस इमेजिङको क्षेत्रमा चर्चित व्यक्तित्वको सूचीमा आफ्नो नाम लेखाउन चाहन्थिन् ।
तर कोभिड–१९ महामारीको समयमा जूनको काम चर्चा भइरहेको छ र उनको खोज चर्चाको केन्द्रमा छ ।
कोभिड–१९ एउटा नयाँ भाइरस हो तर यो कोरोनाभाइरसकै एक प्रकार हो जसको खोज डाक्टर अलमेडाले सबैभन्दा पहिले सन् १९६४ मा लण्डनको सेन्ट थोमस अस्पतालमा रहेको प्रयोगशालामा गरेकी थिइन् ।
भाइरोलोजिस्ट जून अलमेडाको जन्म सन् १९३० मा भएको थियो । स्कटल्याण्डको ग्लासगो शहरको उत्तर–पूर्वस्थित एक बस्तीमा बस्ने निकै साधारण परिवारमा उनको जन्म भयो ।
१६ वर्षको उमेरमा स्कूलको पढाई पूरा गरेपछि जूनले ग्लासगो शहरकै एक प्रयोगशालामा प्राविधिकको रुपमा काम गर्न सुरु गरिन् ।
पछि उनी नयाँ सम्भावना खोज्नका लागि लण्डन गइन् । त्यहाँ बार्थोलोमेउ अस्पतालमा आफ्नो करियर अघि बढाइन् । सन् १९५४ मा उनले भेनेजुलाका कलाकार एनरिके अलमेडासँग विवाह गरिन् ।
सामान्य रुघा–खोकीमाथि अनुसन्धानः
स्वास्थ्य क्षेत्रका लेखक जर्ज विन्टरका अनुसार विवाह गरेको केही वर्षपछि यो दम्पत्ती आफ्नी छोरीसँग क्यानडाको टोरोन्टो शहर गएका थिए । उनी तयहााको ओन्टोरियो क्यान्सर इन्स्टिच्युटमा इलेक्ट्रोनमाइक्रोस्कोपिस्टको रुपमा काम गरिन् । औपचारिक शिक्षा थोरै भएपछि उनको क्षमताका कारण उनको क्रमशः प्रोमोशन भइरह्यो ।
क्यानडाकै ओन्टारियो क्यान्सर इन्स्टिच्युटमा डाक्टर जून अलमेडाले एक इलेक्ट्रोन माइक्रोस्कोपको सहारामा आफ्नो उत्कृष्ट कौशल विकसित गरिन् । यो संस्थानमा काम गर्दै गर्दा उनले एउटा यस्तो विधिमा विशिष्टता हाँसिल गरेकी थिइन् जसको मद्दतले भाइरसको कल्पना गर्न निकै सजिलो भएको थियो ।
लेखक जर्ज विन्टरले बीबीसीसँगको कुराकानीमा भने, ‘बेलायतले डाक्टर जून अलमेडाको कामको महत्वलाई बुझे र सन् १९६४ मा उनलाई लण्डनको सेन्ट थोमस मेडिकल स्कूलमा काम गर्ने प्रस्ताव राख्यो । यो त्यहि अस्पताल हो जहाँ कोभिड–१९ बाट संक्रमित भएपछि ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसोनको उपचार भयो ।
क्यानडाबाट फर्किएपछि डाक्टर अलमेडाले डाक्टर डेभिड टायरेलसँग मिलेर अनुसन्धानको काम सुरु गरिन् । टायरेलले त्यतिबेला बेलायतको सेलिस्बरी क्षेत्रमा सामान्य रुघा–खोकीबारे अनुसन्धान गरिरहेका थिए ।
जर्ज विन्टरका अनुसार डाक्टर टायरेलले रुघा लागेका बेला नाकबाट बग्ने तरल पदार्थका विभिन्न नमूना जम्मा गरेका थिए र उनको समूहले लगभग सबै नमूनामा सामान्य रुघा–खोकी लाग्दा पाइने भाइरसमात्र देखिरहेका थिए ।
तर तीमध्ये एउटा नमूना अन्यको भन्दा बिल्कुल फरक थियो । यसलाई बी–८१४ नाम दिइएको थियो र यो सन् १९६० मा एक बोर्डिङ स्कूलका विद्यार्थीबाट लिइएको थियो ।
कोरोनाभाइरस नाम कसले दियो ?
डाक्टर टायरेलले उक्त नमूनाका परीक्षण गर्न चाहे । यसका लागि उनले डाक्टर जून अलमेडाको मद्दत लिने सोचे ।
उक्त स्याम्पल परीक्षणका लागि डाक्टर अलमेडालाई पठाइयो जसले परीक्षणपछि भनिन्, ‘यो भाइरस इन्फ्लूएन्जाजस्तो देखिन्छ तर यो त्यो होइन, यो निकै भिन्न छ ।’
र यो त्यहि भाइरस हो जसको पहिचान पछि डाक्टर जून अलमेडाले कोरोनाभाइरसको रुपमा गरिन् ।
जर्ज विन्टरले भने, ‘डाक्टर अलमेडाले वास्तवमा यो भाइरसजस्तो कण योभन्दा अघि मुसामा पाइने हेपिटाइटिस र कुखुरामा हुने संक्रमित रोग ब्रोन्काइटिसमा देखेकी थिइन् ।’
विन्टरका अनुसार डाक्टर जूनको पहिलो रिसर्च पेपर खारेज गरियो । उनले इन्फ्लूएन्जा भाइरसकै खराब तस्बिर पेश गरेको भन्दै उनको उक्त रिसर्च पेपर रद्द गरिएको थियो ।
तर स्याम्पल संख्या बी–८१४ माथि गरिएको यो नयाँ अनुसन्धानलाई सन् १९६५ मा प्रकाशित भएको ब्रिटिश मेडिकल जर्नलमा र त्यसको दुई वर्षपछि जर्नल अफ जेनरल वायरोलोजीमा तस्बिरसहित प्रकाशित गरियो ।
जर्ज विन्टरका अनुसार डाक्टर टायरेल, डाक्टर अलमेडा र सेन्ट थोमस मेडिकल संस्थानका प्राध्यापक टोनी वाटरसनले यो भाइरसको अग्लो–होचो बनावट देखेरै यसको नाम कोरोनाभाइरस राखेका थिए ।
पछि जून अलमेडाले लण्डनको पोस्टग्रेजुएट मेडिकल कलेजमा काम गरिन् । त्यहिँबाट उनले आफ्नो डक्ट्रेटको पढाई पनि पूरा गरिन् । आफ्नो करियरको अन्तिम दिनमा डाक्टर जून अलमेडा वेलकम इन्स्टिच्युटमा थिइन् जहाँ उनले इमेजिङमार्फत् थुप्रै नयाँ भाइरसको पहिचान गरिन् ।
वेलकम इन्स्टिच्युटबाट अवकाश लिएपछि डाक्टर अलमेडा योगा शिक्षिका बनेकी थिइन् ।
तर सन् १९८० को दशकमा उनलाई संरक्षकको रुपमा एचआइभी भाइरसको नोवल तस्बिर लिनका लागि बोलाइएको थियो ।
सन् २००७ मा जून अलमेडाको निधन भयो । त्यतिबेला उनी ७७ वर्षकी थिइन् ।
अब उनको मृत्यु भएको १३ वर्ष बितिसकेको छ र उनको कामले अहिले मान्यता पाइरहेको छ जसको उनी हकदार थिइन् । एक उत्कृष्ट अनुसन्धानकर्ताको रुपमा उनको स्मरण गरिँदैछ किनभने उनको अनुसन्धानकै कारण अहिलेको समयमा संसारभरी फैलिरहेको कोरोनाभाइरसको संक्रमण बुझ्न मद्दत पाइरहेको छ ।
रातोपाटीले अनुवाद गरेको बीबीसी हिन्दीमा प्रकाशित लेख
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाठेघरको क्यान्सर पीडित आमाको उपचारका लागि सहयोगको याचना गर्दै अनिता
-
जीवी राईलाई पक्राउ गर्न मलेसियाको गृहमन्त्रीसँग कुरा गरेको थिएँ : रवि लामिछाने
-
फिलिपिन्सको राजधानीमा भीषण आगलागी, दुई हजार परिवार घरबारविहीन
-
आत्मानन्द गोल्डकप : सिरिजङ्घाको विजयी सुरुवात
-
‘नेपाली साहित्यमा महिलाको भाषा आउनुपर्छ’
-
सोमबार प्रधानमन्त्रीले चीन भ्रमणका विषयमा छलफल गर्ने