मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

वर्षाको कारण रौतहटमा इँटा व्यवसायीलाई करोडौँको क्षति, हावाहुरीले ३ घर भत्कियो

बिहीबार, ०४ वैशाख २०७७, १० : ००
बिहीबार, ०४ वैशाख २०७७

रौतहट । हावाहुरी र असीनासँगै आएको वर्षाको कारण रौतहटस्थित इँटा उत्पादक व्यवसायीलाई करोडौँ रुपैयाँ बराबरको क्षति भएको छ । हावाहुरीसँगै गत राति र आज बिहान परेको मुसलधारे वर्षाको कारण जिल्लाको दक्षिणीभेगमा रहेको दर्जनौँ इँटा उद्योगमा काँचो इँटा गलेर करोडौँ रुपैयाँ बराबरको क्षति भएको हो ।

जिल्लाको उत्तर पश्चिमीभेगको तुलनामा दक्षिणतर्फ ठूलो पानी परेकाले गौर, राजपुर, यमुनामाई, बौधीमाईलगायत स्थानीय तहमा रहेका दजैनौँ इँटा उद्योगमा क्षति भएको इँटा उत्पादक व्यवसायी संघ रौतहटका अध्यक्ष रामविनोद साहले बताएका छन् ।

वर्षाबाट इँटा उद्योगहरुमा भएको क्षतिबारे विस्तृत विवरण संकलन भइरहेको अध्यक्ष साहले जानकारी दिएका छन् । वर्षासँगै बुधवार आएको असिनाले गहुँबालीमा पनि ठूलो क्षति भएको नेपाल पत्रकार महासंघ रौतहटका पूर्वसभापति प्रेमचन्द्र झाले जानकारी दिएका छन् ।

उता गत राति वर्षासँगै आएको हावाहुरीले कैयौँ घरको छाना पनि उडाएको छ । मंगलवार मध्यरातमा आएको हावाहुरीबाट दुुई स्थानमा तीनवटा घरको छाना उडाएको प्रहरीले जनाएको छ ।

जिल्लाको गुजरा नगरपालिका वडा–२ कटानीटोल स्थित दुुईजनाको घरको छाना उडाउँदा चार लाख बढीको क्षति भएको छ । स्थानिय रामसिंह मोक्तान र चमार सिंह मोक्तानको घरको छाना उडाउनुका साथै घरमा रहेको अन्न पात समेत नष्ट भएको वडा अध्यक्ष अशोक खाँ थारुले बताएका छन् ।

त्यसैगरी जिल्लाको राजपुुर नगरपालिकामा हावाहुरीबाट एकघर भत्किएर एकलाख ५० हजार बराबर क्षती भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले जानकारी दिएका छन् ।

गएरातिको हावाहुरीका कारण भएको क्षतिको पूर्ण विवरण आइनसकेको र त्यसको संकलन कार्य जारीरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप