केन्द्रीय संस्करण
विज्ञान जानकारी

कसरी मारिदिन्छ साबुन पानीले कोरोनाभाइरसलाई ?

साबुन–पानीको तुलनामा सानिटाइजर कति प्रभावकारी ?

person explore access_timeबैशाख ४, २०७७ chat_bubble_outline0

कोरोनाभाइरसको संक्रमणबाट लाग्ने कोभिड–१९ रोगको कारण अहिले विश्व ठप्प छ । यस रोगको संक्रमणबाट सबैभन्दा प्रभावित बनेको देश इटली पूर्ण रुपमा क्वारेनटीनमा छ भने चीन, बेलायत, अमेरिका, स्पेन जस्ता अतिप्रभावित देशका धेरै स्थानहरु पनि अहिले ठप्प छ । नेपालको लकडाउन पनि लम्बिएको छ ।

कोरोनाभाइरसको संक्रमणबाट जोगिनको लागि समयसमयमा साबुन–पानीले हात धोइराख्नुपर्छ भनेर विश्व स्वास्थ्य संगठन, अन्य अन्तर्राष्ट्रिय स्वास्थ्य संगठनहरु, संसारभरका चिकित्सकहरु तथा स्वास्थ्यकर्मीहरुले बारम्बार भनिरहेका छन् । हात धुँदा कम्तिमा बीस सेकेण्डसम्म साबुनको फिँजले हातका सबै कुनाकाप्चाहरुमा पुग्ने गरी मोल्नुपर्छ र त्यसपछि राम्ररी पानीले पखाल्नुपर्छ भनेर स्वास्थ्यकर्मीहरुले सुझाउने कुरा आजभोलि जताततै हेर्न र सुन्न पाइन्छ । तर कोरोनाविरुद्धको हाम्रो यो लडाइँमा साबुन–पानी किन यति धेरै प्रभावकारी छ त ? साबुन–पानीमा के छ, जसको कारण हाम्रो हातमा टाँसिएर रहेका भाइरसहरु नष्ट हुन्छन् ? आउनुहोस्, केही चर्चा गरौँ ।

कहाँबाट आयो साबुन?

एक्काइसौँ शताब्दीमा हामीलाई भाइरस र ब्याक्टेरियाविरुद्ध लड्न सघाउने पदार्थ साबुनको इतिहास भने प्राचीनकालदेखि नै सुरु हुन्छ । हाल मध्यपूर्वमा पर्ने प्राचीन सभ्यता मेसोपोटामियाको बेबिलोनियाको राजधानी बेबिलोनको उत्खननबाट बेबिलोनियनहरुले इसापूर्व २ हजार ८ सयमा नै साबुन बनाउने सूत्र थाहा पाइसकेको प्रमाणहरु पाउन सकिन्छ । उनीहरुले जनावरको बोसो वा वनस्पतिको तेललाई पानी र खरानीसँग मिसाएर साबुन उत्पादन गर्थे । त्यस्तै, प्राचीन ग्रिक तथा रोमनहरुले पनि साबुनको प्रयोग गर्थे ।

साबुन उत्पादन गर्ने तरिका र प्रविधिमा अहिले धेरै परिवर्तन आइसकेको भए पनि यसमा प्रयोग गरिने तत्वहरुमा भने खासै परिवर्तन आएको छैन । जनावरको बोसो वा वनस्पतीको तेलसँग खरानी मिसाउँदा साबुन कसरी बन्छ र यसले कसरी कपडा तथा भाँडाहरु सफा गर्छ भन्ने कुरा बेबिलोनियनहरुलाई थाहा थिएन । तेल (जनावरको बोसो वा वनस्पतीको तेल) मा क्षार मिसाउँदा तिनीहरुबीचको रासायनिक प्रक्रियापछि साबुनका अणुहरु बन्छन् । साबुनका ती अणुहरुलाई वैज्ञानिक भाषामा एम्फिफाइल भनिन्छ । खरानीमा क्षार हुन्छ र त्यही क्षार तेलसँग मिसिँदा साबुनका अणुहरु बन्छ भन्ने कुरा मानिसहरुले धेरै पछि मात्र थाहा पाए । अहिले विभिन्न किसिमका साबुनहरुको उत्पादन हुने भए पनि सबै साबुनहरु प्रमुख रुपमा तेल र क्षारबीचको रासायनिक प्रतिक्रियाबाट उत्पन्न हुने एम्फिफाइल नै हो ।

साबुनले कसरी काम गर्छ भन्ने कुरा बुझ्नको लागि सुरुमा साबुन भनेको के हो, यसको आणविक संरचना कस्तो हुन्छ भन्ने कुरा बुझ्नुपर्ने हुन्छ ।

 

कुनै पदार्थको अणुको निर्माण हुँदा दुई वा बढी परमाणुहरुले आफूसँग भएका इलेक्ट्रोनहरु कि त लिने/दिने (इलेक्ट्रोन नपुगेको अणुलाई इलेक्ट्रोन बढी भएको परमाणुले दिने) गर्छन् कि त एउटै इलेक्ट्रोन दुबैले प्रयोग गर्छन् । यसो गर्दा ती परमाणुहरुबीच एक बन्धनको निर्माण हुन्छ जसका कारण ती परमाणुहरु मिलेर बस्छन् । एउटै इलेक्ट्रोन दुबै परमाणुहरुले प्रयोग गर्दा निर्माण हुने बन्धनलाई कोभालेन्ट बन्धन भनिन्छ भने इलेक्ट्रोनहरु लिने/दिने गर्दा निर्माण हुने बन्धनलाई नन–कोभालेन्ट बन्धन भनिन्छ । कोभालेन्ट बन्धनभन्दा नन–कोभालेन्ट बन्धन निकै कमजोर हुन्छ र परमाणुहरु सजिलै छुट्टिनसक्ने हुन्छ ।

उदाहरणको लागि पानीको एउटा अणु अक्सिजनको एउटा र हाइड्रोजनका दुईवटा परमाणुहरु मिलेर बनेको हुन्छ । यसमा हाइड्रोनको परमाणुमा रहेको एउटा इलेक्ट्रोन र अक्सिजनको परमाणुमा रहेको एउटा इलेक्ट्रोन दुबैले प्रयोग गर्छ ।

तर अणुभित्र रहेका परमाणुहरुमध्ये कुनै एउटा परमाणुले इलेक्ट्रोन आफूतिर बढी तान्ने प्रकृतिको हुनसक्छ । पानीको अणुको कुरा गर्दा अक्सिजनको परमाणुले अणुभित्रका इलेक्ट्रोनहरु आफूतिर अलि बढी तान्छ । र, इलेक्ट्रोनमा नेगेटिभ चार्ज हुने भएकोले फलस्वरुप, पानीको अणुभित्र अक्सिजनको परमाणु रहेको स्थानको चार्ज अलि बढी नेगेटिभ हुन्छ भने हाइड्रोजनका परमाणुहरु रहेको स्थानको चार्ज अलि बढी पोजिटिभ हुन्छ । त्यसैले पानीको एउटै अणुभित्र पनि सबै स्थानमा चार्ज एकनासको हुँदैन । यस्ता अणुहरुलाई ध्रुवीय अणु भनिन्छ । यस्तो अवस्था सबै पदार्थका अणुहरुमा भने हुँदैन । अणुभित्र सबै स्थानमा चार्ज एकनास हुने अणुहरुलाई गैरध्रुवीय अणु भनिन्छ । तेलका अणुहरु गैरध्रुवीय हुन्छन् ।

त्यस्तै, ध्रुवीय अणुहरु ध्रुवीय अणुहरुप्रति नै आकर्षित हुन्छन् भने गैरध्रुवीय अणुहरु गैरध्रुवीय अणुहरुप्रति नै । त्यसैले पानी र तेल मिसाउँदा पानीका अणुहरु पानीकै अणुहरुसित टाँसिएर बस्छन् भने तेलका अणुहरु तेलकै अणुहरुसित टाँसिएर बस्छन् । यसै कारण तेल पानीमा घोलिँदैन ।

अब साबुनका अणुहरुको कुरा गरौँ । साबुनका अणुहरु लामा हुन्छन् । यसका हरेक अणुमा दुईवटा भागहरु हुन्छन् । टाउकोपट्टिको भाग ध्रुवीय हुन्छ भने पुच्छरपट्टिको भाग गैरध्रुवीय । टाउको ध्रुवीय हुने भएर यो पानीका अणुहरुप्रति आकर्षित हुन्छ । त्यस्तै, पुच्छर गैरध्रुवीय हुने भएकोले यो पानीका अणुहरुबाट टाढा भाग्छ र तेलका अणुहरुप्रति आकर्षित हुन्छ । साबुनको अणुमा पानीतिर आकर्षित हुने र तेलतिर आकर्षित हुने दुबै गुणहरु भएका कारण यसले पानी र तेलबीचको पुलको जस्तो काम गर्छ ।

साबुन–पानीको प्रयोग गरेर कुनै चिल्लो भाँडा मोल्दा साबुनका अणुहरुको ध्रुवीय भाग पानीका अणुहरुतिर आकर्षित हुन्छन् भने गैरध्रुवीय भाग चिल्ला कणहरुतिर । यस्तो अवस्थामा साबुनका अणुहरुले चिल्लो कणलाई घेरेर माइसेल नामक ससाना गोलाकार संरचनाहरु बनाउँछ । माइसेल बन्दा साबुनका अणुहरुको ध्रुवीय भाग पानीतिर आकर्षित हुने भएर बाहिरपट्टि फर्केको हुन्छ भने गैरध्रुवीय भाग भित्रपट्टि । यस्तो अवस्थामा भाँडा पानीले पखाल्दा माइसेलसितै चिल्ला कणहरु पनि पखालिएर जान्छन् र भाँडा सफा हुन्छ ।

साबुनले भाइरस चाहिँ कसरी नष्ट गर्छ त?

अब आयो कोरोनाभाइरसको कुरा । कोरोनाभाइरस मात्र होइन, सबै भाइरसहरु तीन चीजको समिश्रणबाट बनेको हुन्छ : न्यूक्लेइक एसिड – जसमा भाइरसको आफ्नो ‘सन्तान उत्पादन’ गर्नका लागि आवश्यक कोड निहित आणुवंशिक पदार्थ डिएनए वा आरएनए हुन्छ; न्यूक्लेइक एसिडको सुरक्षाको लागि अवश्यक प्रोटिनबाट बनेको रक्षात्मक कवच; र प्रोटिनको कवचलाई बाहिरबाट ढाक्ने आवरण लिपिड मेम्ब्रेन (झिल्ली) । लिपिड मेम्ब्रेन भने कुनैकुनै भाइरसहरुमा मात्र पाइन्छ, जस्तै इन्फ्ल्युएन्जा भाइरस र अहिले महामारी फैलाइरहेको कोरोनाभाइरस । र, यो लिपिड मेम्ब्रेनका अणुहरुमा पनि साबुनका अणुहरु जस्तै ध्रुवीय र गैरध्रुवीय भागहरु हुन्छन् । ती अणुहरु एकअर्कासित टाँसिएर झिल्ली बनेको हुन्छ । भाइरसको भित्री पदार्थहरुलाई सुरक्षा दिने यो झिल्ली दुई तहको हुन्छ । अणुका गैरध्रुवीय पुच्छरहरु एकआपसमा टाँस्सिएर दुई तहका ध्रुवीय टाउकोहरुको बीचमा रहन्छन् । यसरी टाँस्सिएर रहेका अणुहरु सबै गैर–कोभालेन्ट बन्धनमा बाँधिएका हुन्छन् । त्यसैले भाइरसको लिपिड मेम्ब्रेनका अणुहरुबीच हुने बन्धन कमजोर हुन्छ । वास्तवमा लिपिड मेम्ब्रेनको यही कमजोरीमाथि साबुनले फाइदा उठाउने हो ।

हामीले साबुन–पानीले हात धुँदा साबुनका अणुहरुको ध्रुवीय पुच्छर भाइरसको लिपिड मेम्ब्रेनका अणुहरुमा रहेको गैरध्रुवीय तहसित टाँस्सिन खोज्छन् । तर ध्रुवीय तह बाहिर हुने भएकोले साबुनका अणुहरु बाहिरी तहलाई छेडेर भित्र पस्छ । तर, साबुनका अणुहरुको टाउको भने पानीतर्फ आकर्षित हुने भएर त्यहाँ तानातानको स्थिति पैदा हुन्छ । यही तानातानको स्थितिका कारण कमजोर बन्धनमा बाँधिएर रहको भाइरसको लिपिड मेम्ब्रेन तहसनहस हुन्छ र भाइरस नष्ट हुन्छ । तर, विज्ञहरुका अनुसार यी सबै प्रक्रिया पूरा हुन कम्तिमा बीस सेकेण्ड लाग्छ । त्यही भएर साबुन–पानीले हात धुँदा कम्तिमा बीस सेकेण्ड साबुनको फिँज हातका सबै कुनाकाप्चामा पुग्ने गरी मोल्नुपर्छ ।

साबुन–पानीले हातमा भएका सम्पूर्ण भाइरसहरु नष्ट हुन्छन् नै भन्ने छैन । तर यस्तो अवस्थामा पनि साबुनका अणुहरुले चिल्लो पदार्थलाई घेरेर माइसेल बनाएजस्तै भाइरसलाई घेरेर पनि माइसेल बनाउँछ, जसकारण भाइरस र हाम्रो हातको सतहबीचको पकड तुहिन्छ । अनि हामीले हात पानीले पखाल्दा नष्ट नभएका भाइरसहरु पनि पखालिएर जान्छन् ।

साबुनपानीको तुलनामा सानिटाइजर कति प्रभावकारी?

सानिटाइजरले पनि आधारभूत रुपमा साबुन–पानीले जसरी नै काम गर्ने हो । सानिटाइजरमा रहेको अल्कोहोलले पनि साबुन–पानीले जस्तै भाइरसको बाहिरी आवरण लिपिड मेम्ब्रेनलाई नै नष्ट गर्ने हो । तर, साबुन–पानीको तुलनामा सानिटाइजरका दुई कमजोरी छन् । पहिलो, सानिटाइजर चाँडै सुक्ने भएकोले पर्याप्त मात्रामा प्रयोग गरिएन भने एक त भाइरसको लिपिड मेम्ब्रेन नष्ट गर्नको लागि समय पर्याप्त हुँदैन, अर्को हातका सबै कुनाकाप्चामा सानिटाइजर पुग्ने सम्भावना कम हुन्छ । दोस्रो, सानिटाइजर प्रयोग गर्दा हामीले हात पानीले पखाल्दैनौँ । त्यही भएर नष्ट नभएका भाइरस हातमै टाँसिएर रहेका हुन्छन् । त्यसैले साबुन–पानी नभएको स्थितिमा सानिटाइजर प्रयोग गर्न सकिने भए पनि साबुन–पानी उपलब्ध भएको स्थितिमा भने साबुन–पानी नै प्रयोग गर्न विज्ञहरु सुझाउँछन् ।

Title photo: Hand photo created by freepik - www.freepik.com

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.